Wednesday, January 16, 2013

कसरी मनाउदैछ नेवाः एकता दिवस ?

अंक ७६  ने. सं. ११३३ पोहेलाथ्व पञ्चमी बुधवाः २०६९ माघ ३ गते  बुधवार Jan 16, 2013

आउदो माघ ७ गते आइतवार ऐतिहासिक नगर कीर्तिपुरमा

कसरी मनाउदैछ नेवाः एकता दिवस ?

५०० जनाको स्वयं सेवक दस्ता

सांस्कृतिक झाँकी सहितको तालँचावाट जुलुस ११ बजे 

तःगःवपि/नगाउँ दोवाटोमा सभा

आउँदो पोहेलाथ्व नवःमि अर्थात माघ ७ गते आइतवार कीर्तिपुरमा नेवाः एकता दिवस कसरी मनाउने हो ? कति नेवार समुदाय सहभागी हुने हो ? भनी कीर्तिपुरवासीको मात्र नभई स्वयं नेवार समुदायकै चासोको विषय बनेको छ । 

नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिको आयोजनामा र नेवाः स्वायत्त राज्य मंकाः परिषद् कीर्तिपुरको संयोजनमा हुने नेवाः एकता दिवसको लागि मंकाः संघर्ष समितिले कीर्तिपुर बाहेक काठमाण्डौं, ललितपुर, भक्तपुर नगरका साथ साथै नेवाः वस्ती र गाउँ÷गाउँमा समेत ब्यापक  तयारी गरिरहेको अवस्था छ । 

यसै वीच नेवाः स्वायत्त राज्य मंकाः परिषद् कीर्तिपुरले पनि कीर्तिपुरमा नेवाः एकता दिवस मनाउन ब्यापक रुपमा तयारी गरिरहेको छ । 

गत पुष २७ गते शुक्रवार मात्र नेवाः स्वायत्त राज्य मंकाः परिषद् कीर्तिपुरले कीर्तिपुरमा क्रियाशिल सामाजिक संघ÷ संस्थाहरूको एक बृहत्त भेला आयोजना गरिएको थियो । सो भेलामा नयाँबजार क्लब, अमल्सी सुधार समाज, कीर्तिपुर स्वयं सेवक समाज, इन्द्रायणी परिवार क्लब, सन स्टार क्लब, नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखा लगायतका दर्जनौं संघ÷संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए । सो भेलाले नेवाः एकता दिवसका लागि संघ÷संस्थाको तर्फवाट ५ सय जनाको स्वयंसेवी दस्ता निर्माण गर्ने निर्णय गरेको थियो । 

त्यस्तै गरि पुष २८ गते लाय्कूमा विभिन्न गुथि, सांस्कृतिक समूह, आःखा खलः, जातिय संघ संस्थाको भेला भयो । नेवाः एकता दिवसको दिनमा सम्पूर्ण सांस्कृतिक समूहको तर्फवाट आ—आफ्नो संस्कृतिक बाजागाजा सहित सहभागि हुने प्रतिबद्धता जनाएको थियो । 

त्यसैगरि पुष २९ गते आइतवार कीर्तिपुरमा क्रियाशिल महिला समूहहरू मिसा पुचः÷मां पुचः गरि करिव १ सय वटा समूहका प्रतिनिधिहरूको वृहत्त भेला भयो । सो भेलामा नेवाः एकता दिवसको आवश्यकता ? नेवाः स्वायत्त राज्यको आवश्यकता लगायतका विषयमा नेवाः स्वायत्त राज्य मंकाः परिषद् कीर्तिपुरका अध्यक्ष मण्डलका संयोजक पञ्चलाल महर्जन, अध्यक्ष मण्डला सदस्यहरू नजरराम महर्जन, कृष्णहरी महर्जन र राममान सिंहले प्रशिक्षण दिनु भएको थियो । महिला संजालका अध्यक्ष सुनिता शाक्यको सभापतित्वमा भएको सो भेलामा महिला समूहहरूले आ—आफ्नो ब्यानर सहित नेवाः एकता दिवसमा सहभागी हुने प्रतिबद्धता जनाएका थिए । 

यसै वीच पुष २९ गते कीर्तिपुर नगरपालिकामा कीर्तिपुरमा रहेका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुखहरूको भेला भयो । सो भेलाले नेवाः एकता दिवसको दिनमा सुरक्षाको जिम्मा प्रहरीले लिने, ट्राफिक व्यवस्थापनको जिम्मा ट्राफिक प्रहरीले, खानेपानीको जिम्मा काठमाण्डौं उपत्यका खानेपानी लि. कीर्तिपुले लिने, विजुलीको जिम्मा नेपाल विद्युत प्राधिकरणले लिने, टेलिफोन टावरका लागि घुम्ति सेवा संचाल गर्ने, प्राथमिक उपचार र औषधीको जिम्मा विष्णुदेवी स्वास्थ्य केन्द्र र नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखाले लिने प्रतिबद्धता जनाएको थियो । 

यसै क्रममा आज माघ ३ गते ज्यापु महागुथि कीर्तिपुरले पनि आफ्ना सदस्यहरूको बृहत्त भेला गर्ने भएको छ । मंगल उच्च माविमा साँझ ४ बजेवाट हुने सो भेलामा नेवाः एकता दिवसमा आफ्नो पहिचान सहितको उपस्थिति हुने बारे छलफल हुने बताइएको छ । 

यसै वीच नेवाः एकता दिवसमा भाग लिन काठमाण्डौंको कालिमाटीवाट पनि जुलुस कीर्तिपुरसम्म ल्याउने तयारी भइरहेको छ । सो जुलुस कीर्तिपुरको तालँचामा पुगेपछि सो स्थानवाट सांस्कृतिक झाँकी सहितको जुलुस निकालिने भएको छ । जुलुस विहान करिव ११ बजेवाट सुरु हुने र जुलुस नयाँबजार, पांगा दोवाटो, पांगाको ढोकासी, लाछि, सिकुछेँ हुदै नगाउँ, बाहिरिगाउँ, कुतुझ्वः, कुतिसाः, समल, द्यःध्वाखा, गःछेँ, लाय्कू, बाघभैरव, इताछेँ, तःननि, तुंझ्वः, मूलढोका, पाँगा दोवाटो हुदै नगाउँ दोवाटो अर्थात तगःवपिमा पुगी विशेष समारोहमा परिणत हुने बताइएको छ । 

No comments:

Post a Comment