Wednesday, January 16, 2013

नेवाः राज्य प्राप्तिका लागि नेवाः एकता दिवस

अंक ७६  ने. सं. ११३३ पोहेलाथ्व पञ्चमी बुधवाः २०६९ माघ ३ गते  बुधवार Jan 16, 2013

सन्दर्भ नेवाः दिवस

नेवाः राज्य प्राप्तिका लागि नेवाः एकता दिवस

नजरराम महर्जन

नेपाल सम्वतको पोहेलाथ्व नवमिको दिनलाई नेवारहरूले नेवाः एकता दिवसको रुपमा विगत ४ वर्षदेखि मनाउँदै आइरहेका छन । 

२०६२÷०६३को जन आन्दोलनले नेपालमा २५० वर्षदेखि एकात्मक शासन चलाई आइरहेका शाहवंसलाई सत्ताच्युत गरियो । साथैं देशलाई संघीयतामा लैजाने पनि निर्णय भयो । नयाँ संविधान बनाउन संविधान सभाको निर्वाचन भयो । उक्त निर्वाचनमा भाग लिने अधिकांश ठूला भनिने पार्टीले पहिचान सहितको संघीयता स्विकारेर आ–आफ्नो चुनाव घोषणा पत्रमा उल्लेख गरियो । सोही अनुसार जनताले पार्टीहरूलाई चुनावमा भोट दिएर संविधान सभामा पठायो । संविधान बनाउन दुई वर्षको समय तोकेको थियो ।

संविधान सभामा कस्तो संविधान बनाउने भन्ने बारे छलफल भैरहेको बेला जनताले आफ्नो पहिचान सहितको संघीयता रहेको संविधान बनाउन सभासदहरूलाई दवाव दिन आफ्नो राज्य आफै घोषणा गर्न थाले । यसै विच २०६५पौष ११ गते पोहेलाथ्व नवमिको दिन लाखौं लाख नेवार समुदाय  दशरथ रंगशालामा भेला भएर नेवाः स्वायत्त राज्यको घोषणा गरियो । त्यही  दिनको सम्झनामा नेवारहरूले प्रत्येक वर्ष पोहेलाथ्व नवमिको दिन नेवाः एकता दिवसको रुपमा मनाउँदै आइरहेका छन । जुन यो साल माघ ७ गते परेको छ ।

यो दिवस मनाउनुका उद्देश्य नेवारहरूले नेवाः स्वायत्त राज्यको लागि संघर्ष गर्दै आइरहेका नेवारहरूलाई हामी आन्दोलनमा छौ, हाम्रो आन्दोलन सकिएको छैन भन्ने सन्देश दिनु हो ।

संविधान सभामा राज्य पुनर्सरचना समितिले पहिचान सहितको १४ प्रदेशको खाका तयार पारे । छलफलको लागि जब यो खाका बाहिर आयो । एकात्मक सोच भएका ठूला दलका नेताहरूले यसको विरोध गरे । यसको विरुद्ध षडयन्त्र  रच्न थाले । जनताबाट चुनिएका सभासदहरूको बहुमतले   स्विकारेको पहिचान सहितको १४ प्रदेशलाई     नमान्ने । एउटा आयोग बनाउने कुरा भयो । ठूला दलहरूको प्रतिनिधिको रुपमा मनोनित गरेका सदस्यहरू भएको राज्य पुनर्सरचना आयोग गठन गरियो । जसले पहिचान सहितको १० राज्यको खाका तयार पारियो । बहुमतले पारित गरी प्रतिवेदन पेश गरियो ।   परिवर्तन नचाहने एकात्मक सोचवादी नेताहरूले त्यसलाई स्विकार गरिएन । पहिचान सहितको संघीयता पक्षधर आदिवासी जनजातिहरूले पहिचान सहितको संघीयता ल्याउन तीन दिनसम्म देश थप्प पारे । संविधानसभा घेराउ गरे । तर पनि केही लागेन । संसदभित्र सभासदहरू संविधान सभाको वैठक बस्न माग गर्दै संविधान सभा भित्र नारा जुलुस गर्न थाले । तैपनि परिवर्तन विरोधी, एकात्मक सोच भएका नेताहरूको कानमा त्यो स्वर पुगने । सविधान सभाको वैठक बोलाएर भोटिंग गराउनु पथ्र्यो । यदि भोटिंग    गराएको भए पहिचान सहितको संघीयतामा दुई तिहाई बहुमत पुग्थ्यो । त्यसैले संविधान सभाको बैठकमा छलफल गर्नुको बदला कोठामा बैठक बसी संविधान सभाको म्याद सक्याएर संविधान सभा भंग गराइयो । यसरी दुई वर्षको लागि चुनिएको संविधान सभाको म्याद ४ वर्षसम्म  हुँदा पनि जनताले चाहेको परिवर्तन असक्षम नेताहरूको कारण  प्राप्त भएन । पहिचान सहितको संघीयता विरोधीहरूले संघीयताको विरुद्ध अनेकौं तिकडम वाजी गर्न थाले । पहिचान सहितको संघीयता पक्षधरहरूलाई काउन्टर दिन अखण्ड सुदूर पश्चिम, अखण्ड पश्चिम भनेर उक्साउन थाले ।  पहिचान सहितको संघीयता विरुद्ध भए नभएका अफवाह फैलाउन थाले । पहिचान सहितको राज्य दियो भने देश टुक्रिन्छ, एउटा राज्यले अर्को राज्यमाथि नाका वन्द गरिदिन सक्छ, जातिय दंगा हुन्छ भन्ने अनर्गल प्रचार गर्न थाले ।

काम चलाउ सरकारले देश चलाइरहेको नौ महिना नाघि सकेको छ । सहमतिय सरकार बनाउने नाममा देशलाई अनिर्णयको बन्दी बनाइयो । मंसिर ७ गते चुनाव गर्ने भनिएको त्यो भएन । अब बैशाखमा चुनाव गराउने भनेको त्यो पनि नहुने छाँट आएको छ । यसको मतलब कुनै पनि ठूला दलहरू चुनाव चाहँदैनन् । 

देशको यस्तो जटिल अवस्थामा नेवाः एकता दिवसको महत्व अझ बढेको छ । काठमाडौं उपत्यकाका नेवारहरूले २०६५ सालमा जनस्तरबाटै दशरथ रंगशालामा भेला भएर नेवारहरूको आदिभूमि नेपालमण्डललाई नेवाः स्वायत्त राज्यको घोषणा गरिएको     थियो । त्यो घोषणा महज रहरबाजीले गरिएको होइन । त्यस घोषणाप्रति नेवारहरू अहिलेसम्म अडिग छ भन्ने देखाउन यो एकता दिवस मनाउँदै आइरहेका छन ।

नेवाः प्रदेश नदिनको लागि षडयन्त्र गरिरहेका नेताहरूलाई खवरदारी गर्न पनि यो एकता दिवसको महत्व बढेको छ । २५० वर्षदेखि उत्पिडनमा  पारिएका नेवारहरूले त्यो उत्पिडनबाट मुक्ति पाउन यो संघर्ष गरिरहेका छन । लोकतान्त्रिक गणतन्त्रमा पनि एकल जातिय हालि मुहालि चलाईरहेको छ । तीस प्रतिशतको अल्पमत जातीले  सतरी प्रतिशतमाथि शासन   गरिरहेका छन । राज्यको हरेक क्षेत्रमा निर्णय गर्ने ठाउँमा तीस प्रतिशत का व्यक्तिहरू बसेका छन । उनीहरूले अरूलाई माथि उठाउनै चाहँदैनन् । आदिवासी जनजातिहरूलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गरिरहेका छन ।

०६३/६४ को मधेश आन्दोलनले मधेशलाई केही अधिकार पाएका छन । उनीहरू जतिसुकै पार्टीमा विभाजन भएपनि मधेशको मामिलामा सबै एक ढिक्का भएर प्रस्तुत    हुन्छन् । त्यस्तै हामी नेवारहरू पनि जुनसुकै पार्टीमा लागेको भए पनि नेवाः राज्यको मामिलामा सबै एक ढिक्का हुनुपर्छ । हामी विभिन्न पार्टीमा विभाजित भएर नेवाः स्वायत्त राज्य प्राप्त हुन सक्दैन । हामीले पहिले हामी नेवार हौं त्यसपछि मात्र पार्टीको कार्यकर्ता हौं भन्ने विचार राख्नु पर्छ । अनि मात्र हामीले हाम्रो लक्ष्य प्राप्त गर्न सक्छौं । यही सन्देश दिन हामीले नेवाः एकता दिवस मनाउँदै आइरहेका छौं । हाम्रो आन्दोलन जारी छ, हामी संघर्षमा छौं, नेवाः स्वायत्त राज्य नलिइ छाड्दैनौं, राज्यको हरेक क्षेत्रमा समानुपातिक सहभागिता चाहन्छौं भन्ने सन्देश दिन आउने माघ ७ गते नेवाः एकता दिवस मनाउन गैरहेका छौं ।

नेपालको हरेक राजनैतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निभाउँदै आइरहेको कीर्तिपुरमा यसपाली नेवाः एकता दिवस मनाउन गैरहेको छ । यो कीर्तिपुरवासीको लागि गर्वको कुरा हो ।

No comments:

Post a Comment