राज्यलक्ष्मी महर्जन शाक्य ः एक परिचय
कीर्तिपुरलाई पृथ्वीनारायणको हमलाबाट कसरी जोगाउने भन्दै आफै युद्धमा होमेकि लडेकी कीर्तिपुरको बिरंगना कीर्तिलक्ष्मी जतिकै सक्रिय रोगसँग लडेर पनि कीर्तिपुर समाजमा आशा बाँडिरहेकी योद्धा एवम् कसरी कीर्तिपुरलाई सम्पन्न बनाउन सकिन्छ सोची रहने विचार राज्यलक्ष्मी हुन् । हिजो बैरिबाट बचाउने चाह हुनु र आज विकृति विफलतामा सफलता खोज्नु एउटै हो कि जसलाई पुनरआगमन मान्न सकिन्छ कि ?
कीर्तिलक्ष्मी जस्तै राज्यलक्ष्मी नामैमा एउटा गहिरो अर्थ छ । “देशको ढुकुटी“ भन्ने भावार्थ बोकेको यो नाम धारण गरेर जन्मिएकी राज्यलक्ष्मी महर्जन शाक्यको जीवन भने कुनै साधारण कथा होईन् । संघर्ष, पीडा, आँसु र साहसका प्रत्येक पानामा उनले आफ्नो जीवनलाई लेखेकी छिन् ।
वि.सं. २०३६ साल कार्तिक २२ गते, कीर्तिपुरको पाँगा सिकुछेँमा, स्व. कृष्ण बहादुर महर्जन र स्व. ईश्वरीमाया महर्जनका कान्छी सुपुत्रीको रूपमा जन्मिएकी उनी, जीवनले उनलाई असाधारण बाटोतर्फ डो¥याउनेछ भन्ने कुरा त्यतिबेला कसैलाई थाहा थिएन् ।
२०५१ साल मंसिर १६ गते, परम्परागत संस्कार अनुसार विजय शाक्यसँग लगनगाँठो कस्दै उनले वैवाहिक जीवनको यात्रा सुरु गरिन् । यात्राबाट प्राप्त सांसारिक सुख, दुई सुपुत्र रोहित र विनित आज विदेशमा अध्ययनरत छन् । तर आमाको साहस र संघर्षको कथा भने उनीहरूको आत्मामा गहिरो छाप बन्न बाँकी नै छ ।
२२ फेब्रुअरी २०१७, यो दिन उनको जीवनमा आँधी झैँ आयो । डाक्टरहरूले उच्चारण गरेका शब्दहरू “चौथो चरणको क्यान्सर” ले उनको आत्मालाई क्षणभरमा चिरफार गरिदियो । संसार अन्धकारले ढाकिए झैँ लाग्यो । “अब जीवनको घडी रोकिँदैछ कि ?” भन्ने प्रश्नले उनको मन भत्काइरह्यो । तर, राज्यलक्ष्मी हार मान्ने नामकी थिइनन् ।
महँगो उपचार, लगातार अस्पतालका यात्रा, असह्य पीडा, बारम्बार शल्यक्रिया... यो सबै उनले आफैंले आफ्नै काँधमा बोकिन् । ११ पटक शल्यक्रिया भइसकेपछि पनि उनले आँसु पुछ्दै भनेकी थिइन्, “म रोगी होईन्, रोगसँग लड्ने योद्धा हुँ।” १२औं शल्यक्रियाको तयारी भइरहेकै बेलामा पनि उनको आत्मबल अडिग रह्यो । शरीर क्यान्सरसँग थाक्थ्यो, तर उनको मन अझै अटुट साहसले भरिएको रहन्थ्यो । सारकोमा बोन म्यारो क्यान्सर चौथो चरणबाट घटेर दोस्रोमा पुगेको खबरले उनलाई मात्र होईन्, सम्पूर्ण समाजमा आशाको दीप प्रज्वलित भएको छ ।
समाज र उद्यमशीलताको आकाशमा राज्यलक्ष्मीको जीवन रोगसँगको मात्र युद्ध होईन्, समाजलाई उज्यालो बनाउने यात्रा समेत हो । उनले बीबीए अध्ययन सकेपछि व्यवसाय, उद्यमशीलता र समाजसेवामा समान तिव्रता दिएर अघि बढिन् । उनी आवद्ध संघसंस्था यश प्रकारका छन् ः
नेपाल इन्डस्ट्रियल फेडरेसन महिला औद्योगिक विकास समितिकी सदस्य, सातै प्रदेश संयोजक
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश पर्यटन विकास समितिकी प्रमुख
कीर्तिपुर उद्योग वाणिज्य संघकी संस्थापक अध्यक्ष
झिगु मार्ट, जानकीधाम होटल प्यालेस, झिगु होमस्टे, मनकामना क्राफ्ट एण्ड क्रिएशनमा नेतृत्व
स्वाभिमानी पब्लिकेशन प्रा.लि. र जनधारणा राष्ट्रिय साप्ताहिकमा प्रबन्ध निर्देशक
नेपाल रेडक्रस सोसाइटी, महिला अधिकार, मानवअधिकार, पत्रकारिता र कारागारमै जीवन परामर्श
यी सब भूमिकाले उनलाई एक बहुआयामिक व्यक्तित्व बनायो । उनले सधैँ “समयसँगै आफैलाई रुपान्तरित गर्दै अघि बढ्नु नै जीवनको सार” ठानेकी छिन् ।
शरीरमा रोगको चपेटा थियो, तर आत्मामा उज्यालो । धेरैजसो मानिसहरू यति ठूलो पीडासँग हार मान्थे । तर राज्यलक्ष्मीले भने रोगलाई मात्र जितिनन्, अरुलाई पनि “जीवन लड्नकै लागि हो” भनेर सिकाइन् ।
उनले महिलाको सशक्तीकरण, उद्यमशीलताको विकास, समाजसेवा र मानवअधिकारका क्षेत्रमा आफ्नो सम्पूर्ण आत्मा अर्पण गरिन् । गाउँ–गाउँ पुगेर तालिम, प्रोत्साहन, लगानीका अवसरहरू सिर्जना गर्दै उनले “एक महिला उठ्यो भने समाज उठ्छ” भन्ने सन्देशलाई कर्ममार्फत उतारिन् ।
अन्तमा, राज्यलक्ष्मी महर्जन शाक्य केवल नाम मात्र होईन्, यो साहसको प्रतीक हो, जीवनसँगको संघर्षमा नझुक्ने आत्मबलको प्रतिरूप हो । उनले जीवनलाई आफ्नै शब्दमा यसरी परिभाषित गरेकी छन्, “रोग शरीरमा बस्छ, तर हारलाई कहिल्यै मनमा बस्न दिनु हुँदैन।” उनको यही अटूट धैर्य, सकारात्मक सोच र दृढ इच्छाशक्तिले उनलाई रोगसँग लड्ने मात्र होईन्, समाजलाई उज्यालो दिने प्रेरणादायी दीप बनाएको छ । राज्यलक्ष्मी महर्जन शाक्य, रोगभन्दा बलियो जीवन, समाजभन्दा गहिरो सेवा, अनि प्रेरणाको शाश्वत स्रोत हुन् । उहाँको सुस्वास्थ्य दीर्घायुको कामना गर्दै निजी क्षेत्रलाई अगाडि बढाउनको निम्ति कीर्तिपुरमा औद्योगिक ग्राम स्थापना गर्नको लागि उहाँको कार्य अझै शीघ्र सफलताको कामना मेरो तर्फबाट पनि गर्न चाहन्छु । उहाँको अग्रणी भूमिका रहने कुरामा समाज विश्वस्त हुनुपर्छ ।
कीर्तिपुर सन्देश ७०८ अंकमा प्रकाशित प्रस्तोता ः प्रशान्त महासागर
No comments:
Post a Comment