Thursday, December 7, 2023

कीर्तिपुर सन्देशमा मभिंपुखु बारे ८ वर्ष पहिले छापिएको समाचार

कीर्तिपुर सन्देशमा मभिंपुखु बारे ८ वर्ष पहिले छापिएको समाचार

कीर्तिपुर नगरपालिकाले कस्तो कारवाही गर्छ ?

मभिंं पोखरीमा माटोले पु¥यो स्थानीयवासीको समर्थन, नपा अन्यौल

वर्ष ४ अंक ४६ (संयुक्तांक २००) ने. सं. ११३५ अनलाथ्व अष्टमी बुधवाः २०७२ आषाढ ९ गते बुधवार 


खासीबजारस्थिर मभिंपुखु पुरियर यस्तो हालतमा पुगिसकेको थियो

अब यस्तो बन्ने भयो



कीर्तिपुर सन्देश÷

कीर्तिपुर नगरपालिकाले कीर्तिपुरबाट प्रकाशित हुने प्रत्येक पत्रिकाहरु र नगरपालिकाको प्रत्येक वडा कार्यालयमा भवन÷घर हटाउँदा आउने भग्नावशेष जथाभावी रुपमा सार्वजनिक जग्गा÷ पोखरी÷बाटोमा थुपार्ने गरेको पाइएकाले सो नगरी न.पा.ले तोकेको स्थानमा मात्र थुपार्न अपिल प्रकाशित गरेको थियो । सो अपिललाई वेवास्ता गरी जथाभावी भग्नावशेष फालेमा स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा १६५ अनुसार कारवाही अगाडी बढाउने जानकारी दिएको थियो । सो सार्वजनिक सूचना प्रकाशित भए पनि कीर्तिपुर वडा नं.५ खासीबजारस्थित मभिं पोखरीमा धमाधम घर भत्काएर आएका भग्नावशेष (माटो) फाल्न ल्याइरहेका छन् । यस्तै किसिमले माटो फालीरहेमा हप्ता दुई हप्ताभित्र सो पोखरी भरिने देखिन्छ । तर नगरपालिकाले केही गरेको छैन । अरु टोलका मानिसहरु ऐतिहासिक पोखरी नास हुन लागेको देखेर चिन्तित छन । नगरपालिकाले केही प्रतिक्रिया दिएको छैन । 

यसै सन्दर्भमा यस सम्वाददाताले स्थानीय व्यक्तिहरुसँग बुझ्दा उहाँहरुको भनाई यस्तो रह्यो, “पहिले पानी खानको लागि धाराको व्यवस्था

नहुँदा पोखरी बनाइएको थियो । अहिले घर घरमा धारा भइसकेको छ । अहिले यो पोखरी फोहर फाल्ने ठाउँको रुपमा परिणत भएकोले कुनै औचित्य रहेन ।”

कोही कोहीले यसो पनि भने “स्थानीयबासीको घर भत्काएर आएको माटो फाल्न लैजान बाटो छैन, यहाँ नजिक भएकोले फालेका हुन ।”

स्थानीयवासीको भनाई अनुसार यसपालीको भुइँचालोले खुल्ला ठाउँ हुनुपर्छ भन्ने ज्ञान दिएको छ । यस पोखरीलाई पुरेर बरु बगैंचा बनाएर यसको संरक्षण गर्ने बताउनु हुन्छ ।

अहिले नगरपालिकाले नयाँबजारको सांगुरो ठाउँमा नगरपालिका भवन बनाउन लागेको छ त्यो पनि पहिलेको पोखरी नै हो ।

बरु त्यहाँ बनाउनुको सट्टा यस पोखरीमा बनाउन आएको भए राम्रो हुन्थ्यो भन्ने सुझाव समेत दिए ।

यो प्रश्न जेठ ३ गते बाघभैरवस्थानमा भएको अन्तरक्रिया कार्यक्रममा पनि उठेको थियो तर यसको सटीक जवाफ कसैले पनि दिएको थिएन । कीर्तिपुर नगरपालिकाका कार्यकारी अधिकृत नूरहरि खतिवडाले यो बारेमा हामीलाई केही जानकारी छैन । त्यहाँ माटो फाल्न

हामीले भनेको छैन । यसको बारेमा हामी बुझ्छु अनि के कदम चाल्नु पर्ने हो चालुंला ।

पहिले पोखरीकै रुपमा राख्नु पर्छ भनेका स्थानीयवासीहरु समयको क्रमसँगै पोखरी पुरेर सार्वजनिक बगैंचा बनाएर पोखरीको संरक्षण गर्ने सोचमा पुगेका छन । हेरुँ अब कीर्तिपुर नगरपालिकाले के कदम चाल्ने हुन ।

मभिंपुखु पुनःनिर्माणको लागि शिलान्यास 


कीर्तिपुरको मभिंपुखुको २०७२ देखि अहिलेसम्मको कथा

कीर्तिपुर नगरपालिका वडा नं.३ खासीबजारस्थित मभिंपुखु सुन्दरीकरण गर्ने काम तीन वर्षदेखि रोकीराखेको थियो । उक्त पोखरी निर्माण गरिरहेको बेलानै कसैले अख्तियारमा मुद्दा हालीदिएको कारण पोखरीको काम रोकिएको थियो ।

अख्तियारको मुद्दा सकिएपछि अहिले   पोखरी पुनः निर्माण गर्न लागिएको हो । 

गत मंसिर १५ गते एक कार्यक्रमका बीच शिलान्यास कार्यक्रम गरियो । वडा नं.३ का वडाध्यक्ष सुविन्द्र महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका नगर प्रमुख राजकुमार नकर्मी, विशिष्ट अतिथि - कीर्तिपुर न.पा. उपप्रमुख शुभलक्ष्मी शाक्य सुनिता, विशिष्ट अतिथि- काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन वोर्डका निर्देशक संजिव विक्रम राणा, अतिथिहरुमा - कीर्तिपुर नपा.का प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटा, कीर्तिपुर प्रहरी प्रमुख - राजु लामा, कीर्तिपुर प्रहरी ट्राफिक शाखा विनोद जोशी हुनुहुन्थ्यो ।


व्यवसायीको नामः एरिसा/सुरक जे.भि.ले २ करोड ६९ लाख रुपैयाँमा ठेक्का पाएको छ ।

कीर्तिपुर न.पा.का प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बास्कोटाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रमुख अतिथिको रुपमा मन्तव्य राख्नेक्रममा नगर प्रमुख राजकुमार नकर्मीले कीर्तिपुर डाँडालाई चारैतिरबाट पोखरीले घेरिएको शहर थियो । तर अहिले कुनै पोखरीमा कलेज बन्यो, कुनै पोखरीमा अस्पताल बन्यो । खासीमा तीनवटा पोखरीहरु बचेका छन । मभिं पोखरीको बारेमा केही जानकारी दिनुहुँदै पोखरीको पानी सफा राख्न दीखु बोरिंगको पानी यस पोखरीमा ल्याउने जानकारी दिनुभयो ।


विशिष्ट पाहुना उपमेयर शुभलक्ष्मी शाक्यले मभिं पोखरी बनाउन ठेक्का पाएको ठेकेदारलाई यो पोखरी समयमै बनाउन अनुरोध गर्नुभयो । यो पोखरीको सदुपयोग गर्नु स्थानीयवासीको जिम्मेवारी हुने छ । यस पोखरीको माध्यमबाट आय आर्जन गर्ने उपाय खोज्न सल्लाह दिनुभयो ।

विशिष्ट पाहुना काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका निर्देशक संजिव विक्रम राणाले कीर्तिपुरका पोखरीहरुको पुनःनिर्माण गरी सौन्दर्यकरण गर्ने जिम्मा बोर्डलाई दिनु भएकोमा धन्यवाद दिनुभयो । यो भन्दा पहिले पनि पलपुखुको पुनःनिर्माण र सौन्दर्यकरण खानेपानी बोर्डकै लगानीमा बनेको थियो । यो पोखरी पनि उपत्यका खानेपानी बोर्डको आर्थिक सहयोगमा बन्न लागेको जानकारी दिनुभयो ।

सभापतिको आशनबाट ३ नं. वडाका वडाध्यक्ष सुविन्द्र महर्जनले कुनै पनि पूर्वाधार बनाउँदा देखावटी मात्र होइन राम्ररी बनाउनु पर्छ । यो पोखरी पुनःनिर्माण भएपछि यो बाटोमा हिंड्ने वटुवाहरुले वाह ! भन्न सकोस । पोखरी भन्नाले पानी अड्ने हुनुपर्छ । पानी नअड्ने पोखरी पोखरी नै हुँदैन । राम्रो क्वालिटीको सामान प्रयोग गरेर राम्ररी बनाउन ठेकेदारलाई अनुरोध गर्दै सभा विसर्जन गर्नुभयो ।




No comments:

Post a Comment