Thursday, December 14, 2023

पालुबः ज्ञानमाला सामुदायिक भवनको शिलान्यास

 पालुबः ज्ञानमाला सामुदायिक भवनको शिलान्यास



कीर्तिपुर सन्देश/मंसिर २४ 

बुद्ध मन्दिर संरक्षण समिति, कीर्तिपुर ४ टुसाल पालुबको आयोजनामा २०८० मंसीर २४ गते आईतबार पालुबःस्थित बुद्ध मन्दिर परिसरसँगै पालुब ज्ञानमाला सामुदायिक भवनको शिलान्यास कार्यक्रम सम्पन्न भयो । पालुबः ज्ञानमाला सामुदायिक भवनको शिलान्यास कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्य, नेपाल राष्टिूय ज्ञानमाला समितिका अध्यक्ष एवं वरिष्ठ गायिका रमना श्रेष्ठ, कीर्तिपुर नगरपालिका वडा नं. ४ का कार्यवाहक वडा अध्यक्ष दिनेशचन्द्र दाहाल, बुद्ध मन्दिर संरक्षण समितिका संरक्षक शान्तकुमार महर्जन र जग्गादाता तथा संरक्षण समितिका सल्लाहकार मिलन समेतले सामुहिक रुपमा शिलान्यास गरिएको थियो । कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहको सभापतित्व संरक्षण समितिको अध्यक्ष बुद्ध महर्जनले गर्नु भएको थियो । 



कार्यक्रमका सभापति बुद्ध महर्जनले आफ्नो मन्तब्यको क्रममा ‘समाज समृद्ध बनाउनका लागि भौतिक पूर्वाधारहरुको विकासले मात्रै पूर्ण हुन सक्दैन । समाज विकासको लागि आजको आवश्यकता भनेको नैतिक, सामाजिक, सांस्कृतिक विकास आजको आवश्यकता हो । आज एक भाईले अर्काे भाईको कुनै मतलब गर्दैन । बाटोमा कोही लडेर घाईते भएमा टुलुटुलु हेरेर आफ्नो बाटो लाग्छन्  । हरेक पलपलमा स्वार्थ जोडिएका छन् । पिता पूर्खाले जोगाएर राखेको भाषा, संस्कृति र परम्परा पश्चिमाको प्रभावमा करिब सुसुप्त र लोप अवस्थामा पुगेको छ । तसर्थ आजको आवश्यकता भनेको भौतिक विकास भन्दा सामाजिक, सांस्कृतिक विकासको आवश्यकता छ । त्यसको लागि नगरपालिकाले  सामाजिक र नैतिक विकासका अवधारणा सहितका कार्यक्रमहरुको लागि विशेष ध्यान दिन जरुरी 



छ । बुद्ध मन्दिर संरक्षण समिति र पालुब ज्ञानमाला भजनखलःले सामाजिक र नैतिक मूल्य मान्यताको विकासका लागि ज्ञानमालाका माध्यमबाट अगाडी बढ्दै गरेको बताउनु भयो । नेपाल राष्टिूय ज्ञानमाला समिति, कीर्तिपुर चन्द्रागिरि क्षेत्रीय उपसमितिमा आवद्ध भई जनजनको नैतिक र सामाजिक रुपान्तरणका लागि अगाडी बढ्दै गरेको छ । 

आउँदो २०८० फागुन १९ गते कीर्तिपुर, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकाका कूल १८ वटा ज्ञानमाला भजनखलःहरु बीच प्रतियोगितात्मक ज्ञानमाला भजन प्रस्तुती कार्यक्रम कीपुल्चा, चन्द्रागिरि नगरपालिका स्थित यहिपश्शिको ज्ञानमाला भजनखलःको ब्यवस्थापनमा पाँचौं संस्करण हुँदैछ । सो कार्यक्रमको उद्देश्य भगवान बुद्धले दिनुभएको अहिंसा, मैत्री, करुणा, सामाजिक सद्भावना, नैतिक आचरणको विकासका निम्ति रहेको र त्यस कार्यक्रमको निम्ति कीर्तिपुर नगरपालिको वार्षिक बजेटमा हरेक वर्ष समावेश गर्नु पर्नेमा जोड दिनु भयो ।’

कार्यवाहक वडा अध्यक्ष दिनेशचन्द्र दाहालले पनि सामाजिक सद्भाव र मानविय नैतिक विकास गर्न सके भौतिक विकास बिस्तारै हुँदै जाने र हाल मानविय हीन भावनाको विकासले गर्दा हाम्रा सामाजिक परम्परा सद्भाव जस्ता विषयहरु ओझेल पर्दै गएको छ । पालुब ज्ञानमाला भजन खलःले त्यसलाई चिर्न सकोस् साथै आगामी दिनमा भजन खलःलाई एक सेट बाद्यबादनको सामान उपलब्ध गराउने बचन पनि दिनु भयो । नेपाल राष्टिूय ज्ञानमाला समितिका अध्यक्ष रमना श्रेष्ठले बुद्ध मन्दिर संरक्षण समितिले विगतदेखि बुद्ध शासन स्थापनार्थ गर्दै आएका विविध रचनात्मक कार्यक्रमहरु सबैका लागि प्रेरणा र अनुकरणीय रहेको बताउनु भयो । जग्गा दाताले आफ्ना दिवंगत मातापिताको मनसुवालाई शिरोपर गरी आजको जमानामा २ आना जग्गा दिनु भनेको ८ उत्कृष्ट दानमध्ये एक दान बिहार दान गर्नु भएकोले यसको आनुभवले दाताको पिता पुर्खाहरुको उद्धार हुनेछ भन्दै साधुबाद दिनुभयो । 

प्रमुख अतिथी कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभ लक्ष्मी शाक्यले बुद्ध मन्दिर संरक्षण समितिका अनुकरणीय कामहरु समितिका सम्पूर्ण सदस्य र टोलका सबै टोलबासीको सकृयाताको निचोड रहेको बताउनु भयो । निर्माण हुने भवन केबल कार्यक्रमको प्रयोजनार्थ मात्र नभै ज्येष्ठ नागरिक, महिला, बालबालिका केन्द्रित नियमित कार्यक्रमका लागि उपयोग गर्न सके यसको महत्व बढ्ने बताउनु भयो । राम्रा कामहरु गर्न खासै बजेटको अभाव नरहेको यसको लागि सामुहिक र संस्थागत सकृयता आवश्यक रहेको बताउनु भयो । बुद्ध मन्दिर संरक्षण समितिका रचनात्मक कार्यक्रमहरुमा नगरपालिकाको सधैं साथ र सहयोग रहनेछ भन्नु भयो । 

कीर्तिपुर नगरपालिकाले चालु आर्थिक वर्ष ०८०÷८१मा नगर स्तरीय कार्यक्रम अन्तरगत बिनियोजन गरेको रु. १५ लाख बजेटबाट उक्त सामुदायिक भवन निर्माण हुन लागेको हो । दानबीर जग्गादाता मिलन श्रेष्ठ र सुजन श्रेष्ठबाट आफ्ना दिवंगत पुजनीय पिता तथा माता रामलाल श्रेष्ठ र कमला श्रेष्ठको मनसुवा बमोजिम बुद्ध मन्दिर संरक्षण समितिको भवन निर्माणार्थ मन्दिर सहित कूल २ आना जग्गा दान दिनु भएको थियो । उक्तदान स्वरुप प्राप्त भएको जग्गामा सो भवन निर्माण हुन लागेको हो । बुद्ध मन्दिर संरक्षण समितिका अध्यक्ष बुद्ध महर्जनसँग कीर्तिपुर सन्देशले कुरा गर्दा निर्मित भवन कलात्मक ढाँचामा निर्माण हुन लागेको र उक्त भवनको भुई तल्लामा विभिन्न सामाजिक कार्यक्रम, बीचको तल्ला हाललाई खुल्ला रहने र सो तलामा ज्ञानमाला भजन लगायत सामाजिक कार्यक्रम संचालन हुनेछ भने तेश्रो तलामा ज्येष्ठ नागरिकका लागि दिवा सेवाका रुपमा सचालन गर्ने र संरक्षण समितिको कार्यालयका रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनु भयो । सो कार्यक्रममा दीप प्रज्वलन, राष्टिूय गान, ज्ञानमाला आब्हान गान, सामुहिक पंचशील प्रार्थना र पुण्यानुमोदन सहितको कार्यक्रम तालिका रहेको र कार्यक्रमको उद्घोषण बुद्ध मन्दिर संरक्षण समितिका सचिव नील कुमारी महर्जनले गर्नु भएको थियो । 


No comments:

Post a Comment