Thursday, July 27, 2023

सहकारीको ऋण नतिर्ने सदस्यहरुलाई नगरपालिकाद्वारा प्रदान गरिने सेवा सुविधा रोक्का गरिने

 सहकारीको ऋण नतिर्ने सदस्यहरुलाई नगरपालिका द्वारा प्रदान गरिने सेवा सुविधा रोक्का गरिने

आजकल सहकारीहरूको अवस्था नाजुक हुँदै गईरहेको छ । कतिपय सहकारीहरूले बचतकर्ताको बचत रकम भुक्तानी गर्न नसकेको अवस्था छ । जसले गर्दा जनता आफ्नो पैसा फिर्ता नपाउला भनेर डराइरहेका छन । जसले गर्दा नगरपालिकाको सहकारी शाखामा सहयोगको अपिल गर्न जान थालेका छन । कीर्तिपुर नगरपालिकाले कीर्तिपुरस्थित सहकारीहरुको अनुगमन गर्दा सहकारीबाट ऋण लिएका ऋणीहरूले समयमा साँवा ब्याज नतिर्दा बचत फिर्ता गर्न अप्ठ्यारो भएको अनुभव गरी कीर्तिपुर नगरपालिका सहकारी शाखाद्वारा सहकारी संस्थाका ऋणी सदस्यहरूलाई ऋण चुक्ता गर्ने सम्बन्धि सूचना जारि गरिएको छ ।

सूचनामा भनिएको छ— सहकारी संस्थाहरूबाट ऋण लिइ निर्धारित समय भित्रै सोको साँवा व्याज चुक्ता गर्न पटक पटक ताकेता गर्दा समेत ऋण चुक्ता नगरेका कारण सहकारी संस्थाहरूमा सदस्यको बचत फिर्ता गर्न समस्या परेकाले ऋण असुलीमा सहजीकरण गर्न विभिन्न संघ संस्थाहरूबाट अनुरोध भै आएका सन्दर्भमा यो सूचना प्रकाशित गरिएको छ । सहकारी संस्थाबाट ऋण लिएका सदस्यहरूले ऋण तिर्न नपर्ने वा नतिर्ने भन्ने जस्ता वित्तिय अराजकतापूर्ण भनाई तथा ब्यवहारहरू यदाकदा देखिएका छन् । कोहि कसैले आफुले लिएको ऋण तिर्नु नपर्ने कल्पना गरेको भएमा त्यो आफैंका लागि प्रत्युत्पादक हुने र त्यस्ता गतिविधि नियन्त्रण गर्न कीर्तिपुर नगरपालिकाबाट हदैसम्म कठोर कानुनी कारवाही गरिने कुरामा स्पष्ट पार्न चाहान्छ । यसर्थ कीर्तिपुर नगरपालिकाको नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थाहरूका सम्पूर्ण ऋणी सदस्यहरूलाई समयमै ऋणको साँवा, व्याज, किस्ता भुक्तानीका लागि कीर्तिपुर न.पा. हार्दिक अनुरोध गर्दछ । निर्देशन विपरित कार्य गरेमा कीर्तिपुर नगरपालिका सहकारी ऐन, २०७४ को दफा ५८, ६२ र ६१ तथा सहकारी नियमावली, २०७५ बमोजिम धितो रोक्का रहेको भए त्यस जायजेथाबाट र धितो रोक्का नभए रोक्का गरि असुलीका लागि प्रकृया अगाडि बढाउनुका साथै तोकिए ब्मोजिम कीर्तिपुर नगरपालिकाद्वारा प्रदान गरिने सेवा सुविधा रोक्का  गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।

No comments:

Post a Comment