Thursday, July 13, 2023

पाँगामा सार्वजनिक पोखरी संरक्षण समिति गठन यो भन्दा अगाडि प्रयासको नालीबेली

 

पाँगामा सार्वजनिक पोखरी संरक्षण समिति गठन यो भन्दा अगाडि प्रयासको नालीबेली

कीर्तिपुर नगरपालिका वडा नं=५ मा रहेको च्वय् दहन र क्वय् दहन नामले चिनिने दुईवटा सार्वजनिक पोखरीहरु किता नं=१९ क्षेत्रफल ५–११ (पाँच रोपनी एघार आना_ र कि=नं=१०७ क्षेत्रफल ७–२ -सात रोपनी दुई आना रहेका छन । उक्त जग्गाको जग्गा धनी दर्ता श्रेस्तामा स्पष्टसित पोखरी भनेर लेखेको छ । जग्गा धनीको नाममा मिनाहा भनेर लेखेको छ । त्यस्तै नापी विभाग नापी शाखा कार्यालयको श्रेस्तामा पनि स्पष्ट रुपमै पोखरी लेखिएको छ । 



२०७६ सालमा सार्वजनिक जग्गा छानविन गर्न एउटा भूमि आयोग गठन भयो । उक्त आयोगमा सार्वजनिक पोखरी व्यक्तिको नाममा परेको यसलाई बदर गरी सार्वजनिक नै राख्न पाउँ भनेर पत्रकार नजरराम महर्जनले ईमेल मार्फत उजुरी दियो । सो सम्बन्धमा कारवाही भएर वडा नं.५ लाई सर्जमिन गरेर पठाउन पत्र आयो । जस अन्तर्गत सर्जमिन भयो । त्यस्तै रबिन्द्र महर्जनको संयोजक र नजरराम महर्जन सहसंयोजक भै सार्वजनिक पोखरीलाई सार्वजनिक नै गराउनु पर्छ भनेर हस्ताक्षर अभियान संचालन गरी ९०० जना पाँगालीहरुको हस्ताक्षर सहित भुमिसुधार मन्त्री पदमा अर्याल, संघीय सांसद राजेन्द्र कुमार के.सि., बागमती प्रदेश सांसद पुकार महर्जन र मेयर रमेश महर्जनलाई ज्ञापन पत्र दिएका थियौं ।


gS;f


सार्वजनिक पोखरी सार्वजनिक गराउनको लागि मन्त्री परिषदबाट निर्णय गराउनु पर्ने जानकारी आएपछि तत्कालिन नेकपा एमालेका केन्द्रिय सदस्य केशरत्न बज्राचार्य मार्फत मन्त्री पद्मा अर्यालसमक्ष कुरा राख्दा उहाँले हुन्छ म आगामी मन्त्री परिषद बैठकमा पेश गर्न सचिवलाई भन्छु भन्नु भएको थियो । काम नहुँदै सरकार धल्यो । सरकार फेरियो । शशि श्रेष्ठ भुमिसुधार मन्त्री हुनुभयो । उहाँ पाँगामा लालपुर्जा वितरण गर्न आउनु भयो । त्यतिबेला पनि उहाँलाई भेटेरै सार्वजनिक पोखरी सार्वजनिक बनाउन पहल गरि दिन अनुरोध गरें । उहाँले हुन्छ साथीहरुसँग सल्लाह गरेर आउनुस भन्नुभयो । माओवादी साथीहरुलाई भनें । हुन्छ भन्नुभयो तर काम भएन । अहिले फेरि माओवादी नेता प्रचण्ड प्रधानमन्त्री भएको छ । 

यसै सन्दर्भमा सो पोखरी सार्वजनिक नै बनाउन संघर्ष गर्नको लागि सर्वदलिय सहभागितामा सार्वजनिक पोखरी संरक्षण समिति गठन गरिएको छ । जसमा अध्यक्ष–बैकुण्ठ महर्जन (नेकपा माओवादी केन्द्र), सचिव—सुशिल महर्जन –नेकपा एमाले), कोषाध्यक्ष–प्रशान्त महर्जन (नेमकिपा), सदस्यहरुमा बद्रिलाल महर्जन, रविन्द्र महर्जन रहनु भएको छ ।

सल्लाहकारहरुमा पूर्व मन्त्री दिलिप महर्जन, बागमति प्रदेश मन्त्री पुकार महर्जन, वडा नं.५ र वडा नं.८ का सदस्यहरु लगायतका २१ जना रहेका छन ।

आगामी श्रावण ६ गते विहान ७ बजे दहनमा भेला भएर छलफल गर्ने भएको छ । आशा गरौं अब त कसले जस लिने भन्ने होडवाजी नहोला । सबैजना एक ढिक्का भएर लाग्ने नै छ । ललिता निवासको जग्गा फिर्ता हुन सक्छ भने, ललितपुरको सप्तपाताल पोखरी फिर्ता हुन सक्छ भने सदियौंदेखि हामीले उपभोग गर्दै आइरहेको पोखरी कसरी सार्वजनिक नहोला ? माथिको पलपोखरी सार्वजनिक गराउन जसरी पाँगालीहरु एक जुट भएका थिए अहिले पनि एक जुट भएर लाग्ने आशा गरौं ।

कीर्तिपुर सन्देश साप्ताहिक संयुक्तांक ४८८ मिति २०७७ चैत्र १८ गते बुधवार प्रकाशित

पाँगा कीर्तिपुरको दुई वटा सार्वजनिक पोखरीहरु हडप्ने प्रयासमा

प्रस्तोता ः नजरराम महर्जन

साविक बालकुमारी वा.नं.१ क हाल कीर्तिपुर न.पा. वा.नं.५ मा रहेको कि.नं.१९ क्षेत्रफल ५–११–० र कि.नं.१०७ क्षेत्रफल ७–२–० गरि १२ रोपनि १३ आना भएको २ वटा सार्वजनिक पोखरी हडप्न भूमाफियाहरू अनेकौं तिकडम गरिरहेका छन ।

जुन पोखरी २०२१ को साविक नापीको समयमा फिल्डबुकमा पोखरी जनिएको थियो । उक्त कित्ता जग्गाहरू २०२४÷११÷१८ गते स.से.हर्ष जङ्ग

कार्की का.ई. चोभार कार्कीगाउँको नाममा दर्ता भई तह–तह हक हस्तान्तरणबाट हाल राजेन्द्रजंग कार्की र सुरेन्द्रजंग कार्कीको नाममा नामसारी गरि ल्याएको छ । यसको विरुद्ध पाँगावासीहरूले सरकारी सार्वजनिक र गुठि जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग २०७६ सिंहदरबारमा सार्वजनिक पोखरी कसरी व्यक्तिको नाममा जग्गाधनी पूर्जा बन्यो भनेर उजुरी राख्दा सो सम्बन्धी बुझ्न सरकारी सार्वजनिक र गुठि जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग २०७६ सिंहदरबारले कीर्तिपुर नगरपालिकामा पत्र पठायो । पत्रको व्यहोरा यस्तो थियो ।

सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग २०७६, सिंहदरवार, काठमाण्डौ

विषय ः खुलाई पठाईदिने बारे ।

श्री कीर्तिपुर नगरपालिका,

नगर कार्यपालिकाको कार्यालय, काठमाण्डौं

उपर्युक्त सम्बन्धमा तँहा नगरपालिका अन्तर्गत साविक बालकुमारी वा.नं.१ क हाल कीर्तिपुर न.पा. वा.नं.११ मा रहेको कि.नं.१९ क्षेत्रफल ५–११–० र कि.नं.१०७ क्षेत्रफल ७–२–० साविक नापीको समयमा फिल्डबुकमा पोखरी जनिएको उक्त कित्ता जग्गा २०२४÷११÷१८ गते स.से.हर्ष जङ्ग कार्की का.ई. चोभार कार्कीगाउँको नाममा दर्ता भई तह–तह हक हस्तान्तरणबाट हाल राजेन्द्रजंग कार्की र सुरेन्द्रजंग कार्कीको नाममा रहेको सो कित्ता जग्गा सरकारी सार्वजनिक पोखरी थियो वा व्यक्ती विशेषको पोखरी हो ? जो जे बुझ्नुपर्ने हो बुझी पछिसम्म फरक नपर्ने गरी खुलाई ५ (पाँच) दिनभित्र यस आयोगमा उपलब्ध गराई दिनु हुन आदेशानुसार अनुरोध छ ।

खेम नारायण पौडेल शाखा अधिकृत 

यस पछि पाँगामा सार्वजनिक पोखरी संरक्षण संघर्ष समिति, पाँगा, कीर्तिपुर २०७६ स्थापना भएको थियो । जसमा संयोजक ः रविन्द्र महर्जन, सदस्यहरू ः ज्ञान वहादुर महर्जन, प्रशान्त महर्जन, विष्णुकुमार महर्जन, सुशिल महर्जन, हिराबहादुर महर्जन, गुजय सिंह सल्लाहकार समिति ः नजरराम महर्जन, दिलिप महर्जन, नरेश महर्जन, केशरमान महर्जन, बद्रीलाल महर्जन, नरायण महर्जन, वडाध्यक्ष की.न.पा. वडा नं.५ राजेन्द्र कुमार महर्जन, वडाध्यक्ष की.न.पा. वडा नं.८ विनोद महर्जन रहेका छन ।

यसपछि की=न=पा= वडा नं=५ ले सर्जमिन गराई यस्तो पत्र पठाएको थियो ।

विषयः स्पष्ट रूपमा एकिन गरी पठाएको सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा त्यस कार्यालयको मिति २०७७÷५÷२५ च.न.३२४ को पत्र प्राप्त भै व्यहोरा अवगत भयो । सो सम्बन्धमा यकिन गर्न यस वडा कार्यालयबाट स्थानीयवासीहरूसँग सर्जमिन गरी बुझी, प्राप्त व्यहोरा यसै पत्र साथ राखी पठाएको व्यहोरा अनुरोध छ ।

साविक काठमाडौं जिल्ला बालकुमारी गा.वि.स.वार्ड नं.१ कि.नं.१९ र १०७ को क्रमशः क्षेत्रफल ५–११–०–० र ७–२–०–० को दुवै कित्ता जग्गा हाल कीर्तिपुर न.पा.वार्ड नं.५ मा पर्दछ । परापूर्वकालदेखि स्थानीय जनताले सार्वजनिक रूपमा प्रयोग गर्दै आएको उक्त पोखरीहरू हर्षजंग कार्की र निजको नामबाट नामसारी गरी लिने राजेन्द्रजंग र सुरेन्द्रजंग कार्कीले नामसारी गरी लिई निजहरूको नाममा श्रेस्ता कायम गरी लिए पनि उक्त दुवै कित्ता जग्गा सार्वजनिक उपभोग भैरहेको सार्वजनिक हक निहित जग्गा भएकोले तत्कालिन बालकुमारी गाउँ विकास समितिको मिति २०४९÷१०÷०५ पत्रबाट मालपोत कार्यालय काठमाडौं समक्ष निजहरूले दुषित तथा गैरकानुनी रूपमा गराएको दर्ता बदर गरी पाउँ भनी माग

दावी भैरहेको र मालपोत कार्यालयबाट समेत निजहरूको माग बमोजिम दोहोरो दर्ता लगत वदर नहुने भनी मिति २०७०÷०९÷२४ मा निर्णय भैसो उपर राजेन्द्रजंग समेतको पुरावेदन परि पुनः प्रमाणको मुल्यांकन गरी निर्णय गर्नु भन्ने पु.वे.अ. पाटनबाट २०७२÷०१÷०६मा फैसला भएको भन्ने निजहरूको निवेदन माग भएको भन्ने पत्रमा संलग्न निवेदनबाट देखिन्छ । यी दुवै कित्ता पोखरी परापूर्वकालदेखि स्थानीय

जनताले सार्वजनिक रूपमा उपभोग गरी आएका सार्वजनिक उपभोगको पोखेरी हो । हर्षजंगले दुषित रूपमा दर्ता गरी निज राजेन्द्रजंग समेतले नामसारी गरी लिएका मात्र हुन । 

सार्वजनिक पोखरीको जग्गा नापी फिल्डवुकमा पोखरी जनिएको सार्वजनिक पोखरी भएकोले निजहरूले दुषित रूपमा दर्ता नामसारी गराएको हुँदा निजहरूको नाममा दर्ता गराएको उल्लेखीत कि.नं. १९ र १०७ को पोखरीको दुषित दर्ता मालपोत ऐन अन्तर्गत खारेज गरी निजहरूको नामको दर्ता श्रेस्ता समेत कट्टा गरी सार्वजनिक पोखरीको जग्गा कायम गर्नु पर्ने व्यहोरा अनुरोध छ । आजसम्म पनि यो आयोग जिवित छ कि

छैन थाहा पाउन सकेको छैन । सर्जमिनको कपि आयोग, नगरपालिका मेयर, भुमिसुधार मन्त्री, मालपोत कार्यालयमा पठाएका थिए । अहिले आएर राजेन्द्रजंग कार्की र सुरेन्द्रजंग कार्कीले वडाध्यक्षलाई सार्वजनिक पोखरी उनीहरूको नाममा सिफारिस गरि दिन धम्कि आएको भन्ने वडाध्यक्षबाट थाहा पाएको छ ।

यो पोखरी सम्बन्धी मुद्धाको बारेमा नगरपालिका, वडा कार्यालय कसैलाई थाहा छैन । कसरी उनीहरूको नाममा लालपुर्जा बन्यो ? यो अनुसन्धानको विषय भएको छ । यी दुईटै पोखरीको हाल राजेन्द्र जंग कार्की र सुरेन्द्र जंग कार्कीको नाममा आएको लालपुर्जाको तस्वीर । यस लालपुर्जामा पनि कैफियतमा दोहोरो भनेर लेखेको छ । जसको अर्थ हो यसको स्वामित्व सार्वजनिक पनि हो भन्ने बुझाउँछ । सार्वजनिक पोखरी हो भन्ने यत्रो प्रमाण हुँदा हुँदै यी पोखरी व्यक्तिको नाममा दर्ता हुनु भनेको दिउँसै रात पार्नु होइन ? यो जग्गा सार्वजनिक गराउन पाँगाबासीहरू भूमिसुधार मन्त्रालय, प्रधानमन्त्री कार्यालयमा मार्च पास गर्न पनि तयार रहेको संयोजक रबिन्द्र महर्जनले बताउनु भएको छ ।



No comments:

Post a Comment