Wednesday, July 12, 2023

कीर्तिपुर नगरपालिकाका निवर्तमान उपप्रमुख सरस्वती खड्कासंगको अन्तरंग संवाद

 कीर्तिपुर नगरपालिकाका निवर्तमान उपप्रमुख सरस्वती खड्कासंगको अन्तरंग संवाद

मेरो भूमिका पार्टीले फरक दिएको छ, तर म स्थानीयका सवालहरुकै बीचमा छुः सरस्वती रिजाल खड्का  पूर्वउपप्रमुख

स्थानीय तह निर्वाचन सम्पन्न भएको एक बर्षको अबसरमा हामीले विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुसंग स्थानीय सुशासन र आर्थिक परिवेशलाई आधार बनाई कुराकानी गर्ने गरेका छौं । यसै सिलसिलामा हामीले कीर्तिपुर नगरपालिका पुर्व उपप्रमुख सरस्वती रिजाल खड्कासंग कीर्तिपुरमा अघिल्लो कार्यकालले गरेका काम कर्तव्य, अहिलेका जनप्रतिनिधिहरुको काम र जन अपेक्षाका विषयमा छलफल गरेका छौं । यस कार्यक्रम “हाम्रो कीर्तिपुर समृद्ध कीर्तिपुर”मा पत्रकार नजरराम महर्जनले गर्नुभएको कुराकानीको सम्पादीत अंशः


Najar Ram Maharjan

पछिल्लो समय तपाई देखिरहनु भएको छैन कतै तपाई विलिन त हुनुभएको छैन, आजकल केमा व्यस्त हुनुहुन्छ ?

—हामी राजनीतिक तथा सामाजिक प्राणी हौं । हामी अहिले जुन पार्टीमा आवद्ध छौं त्यो भित्र नै रहेर सामाजिक कार्यका गतिविधि गरीरहेका छौं । राजनीतिक विलिन भएको भन्ने सवालमा भने निर्वाचन भन्दा पहिले मलाई कसैले चिन्नुहुन्नथ्यो, निर्वाचित भईसकेपछि विभिन्न सामाजिक कार्यहरुमा संलग्न भईरहँदा धेरैले चिन्नुभयो, पहिले नचिनेकाहरुले पनि चिन्न थालियो । अहिले पनि म कतै गएकी छैन, किर्तिपुर नगरभित्रै बसेर काम गरीरहेकी छु । यहाँका प्रत्येक ठाउँ, टोल र बस्तीमा गएर विभिन्न कामहरुमा संलग्न पनि भईनै रहेकी छु । सामाजिक सञ्जालमा विभिन्न गतिविधिहरु सञ्चालन गरेर जानकारी तथा सूचित गरीरहने काम गरेका छौं । यसरी आफ्नो सामाजिक दायित्व तथा विभिन्न गतिविधिहरुमा निरन्तर लागिरहेकै हुन्छु । तर हराएको, विलिन भएको भन्दा पनि अग्रपङ्तिमा नआउँदा अरुलाई त्यस्तो लागेको हुन सक्छ तर विभिन्न कामहरुमा भने अहिले पनि निरन्तर सक्रिय रुपमा लागिरहेकै नै हुन्छु ।

तपाईले उपमेयरमा दोहो¥याएर टिकट पाउनु भएको भए जित्छु भन्ने लागेको थियो कि थिएन?

टिकट दिने भन्ने निर्णायक कुरा यही कीर्तिपुरबासीको भएको हुनाले कीर्तिपुरबासीहरु जे ठीक लाग्छ मलाई पनि त्यही नै ठीक लाग्छ । उहाँहरुको हेराई र मेरो हेराई उस्तै हो त्यसमा कुनै भिन्नता छैन, त्यसैले बितेका कुरामा यसो गरिदिए हुन्थ्यो भनेर भन्दा पनि आगामी दिनमा सोच्दा ठीक होला ।

उपमेयर भनेको खाली एउटा स्टाफ मात्र हो, मेयरको पछि मात्र लाग्छन्, उनको खासै केही काम र अधिकारहरु हुँदैन भन्छन्, के यो साँचो हो ?

—यो कुरा साँचो होईन । हामी संघीय गणतान्त्रिक लोकतन्त्र नेपाल बनिसकेपछि संविधानले नै व्यवस्था गरेको स्थानीय तहमा उपप्रमुखको न्यायिक तह समितिको प्रमुख हो । उपप्रमुख भएर पनि न्यायिक समितिको प्रमुख भएर काम गर्दा न्याय सम्पादन गर्ने कुराहरुमा महत्वपूर्ण भूमिका हुन्छ । त्यस सँगसँगै अरु मुख्य चारवटा कामकुराहरुमा पनि उप–प्रमुखको महत्वपूर्ण भूमिका हुन्छ । विषयगत समितिको प्रमुख भएर काम गर्नेमा उप–प्रमुखको प्रमुख भूमिका रहन्छ । आर्थिक पाटोहरुमा उसको प्रमुख हात नरहला तर सामाजिक कामहरु देखि लिएर योजना अनुगमनका कुराहरुमा, बजेट तर्जुमाका विषयहरुमा, परिचालनका विषयहरुमा, सुशासनको कुराहरुदेखी लिएर राजस्व निर्धारण जस्ता महत्वपूर्ण विषयहरुमा उप–प्रमुखको प्रमुख भूमिका रहन्छ । त्यस्तो महत्वपूर्ण जिम्मेवारी हुँदाहुँदै मेयरले मात्र लगाएको अ¥हाएको काम गर्ने भन्ने चाहिँ पटक्कै होईन । त्यो त कानूनले नै व्यवस्था गरेको छ नि । स्थानीय सरकार सञ्चालन ऐनमा गाउँपालिका नगरपालिका प्रमुखदेखि उपप्रमुख, वडाध्यक्ष, वडासमितिदेखि कार्यपालिकाको काम कर्तव्य र अधिकार प्रष्ट रुपमा निर्धारण गरिएको छ । त्यसकारण यो धारणा चाहिँ गलत हो ।

तपाईले पाँच वर्ष उपप्रमुखको कार्यकाल बिताउनु भयो, यो अवधिभरीको कार्यकाल सफल, असफल कस्तो रह्यो?

—मैले मेरो आफ्नो कार्यकाल सफल बनाएँ भन्ने मेरो बुझाई छ । मैले मात्र होईन नगरबासीले पनि त्यही नै रुपमा बुझ्नुभएको छ भन्ने लाग्छ । कानूनत मलाई जति पनि जिम्मेवारी दिनुभएको छ, ती सम्पूर्ण जिम्मेवारी पूरा गरेकी छु, अझ विशेषतः न्यायिक समितिको संयोजक रुपमा काम गर्नुपर्ने मेरो महत्वपूर्ण जिम्मेवारी थियो जसमा सयौं मुद्दामामिला विषयका कुराहरु थिए, त्यसलाई हामीले मेलमिलापको माध्यमबाट हुन्छ या न्यायिक समितिबाट जसरी हुन्छ ती विषयका समस्याहरु यहीं सुल्झायौं । केही समस्या नसुल्झिंदा जिल्ला अदालत पनि गयौं । त्यहाँ न्यायिक समितिले गरेका कुनै पनि मुद्दाका निर्णयहरु बदर भएर आएन सदर भएरै आयो । मेरो आफ्नो कार्यकालको अन्तिम समयसम्म आईपुग्दासम्म पनि सयौं मुद्दामामिलाका विषयहरुमा जम्मा पाँच वटालाई छोडेर अरु सबै मुद्दामामिलाहरु फर्यौट गरि निस्केको अवस्था थियो । यसरी समन्वयका साथ हामीले सबैलाई समेतेर काम गरेको कारणले गर्दाखेरी आफ्ना कामहरु जुन जुन थिए्, ती सबै जिम्मेवारीपूर्णका साथ निभाएको कारण मलाई आफ्नो कार्यकाल सफलतापूर्वक नै सम्पन्न गरें भन्ने मलाई लाग्छ ।

तपाईको पालादेखी ‘समृद्ध कीर्तिपुर’ भन्ने नारा थियो, के हो यो समृद्ध कीर्तिपुर र समृद्ध कीर्तिपुर बनाउन तपाईको कत्तिको योगदान रह्यो ?

—हामी उम्मेद्धार हुँदाखेरी नै हाम्रो पार्टीको नेतृत्व तथा नगर प्रमुख रमेश महर्जनको नेतृत्वमा बसेर टिमले नै बनाउनुभएको हाम्रो कीर्तिपुर समृद्ध कीर्तिपुर भन्ने नारा हो र यसलाई हामीले अभियानको रुपमा सुरु ग¥यौं । समृद्धि भन्ने बित्तिकै मानव संशाधनका विकासदेखी लिएर सामाजिक पाटो, सुरक्षा तथा आर्थिक पाटो आदि सबै विषयका कुराहरु जोडिन्छन् । त्यसलाई समृद्ध कसरी बनाउने भन्ने । समृद्धिलाई एक हिसाबले लोक कल्याणकारी व्यवस्था पनि भन्न सकिन्छ । त्यही लोक कल्याणकारी कार्य गर्न हामीले एउटा टिम भित्रै बसेर सडक बाटोघाटो, पूर्वाधार विकास तथा निर्माणका कुराहरुदेखी लिएर स्थानीय जनताको जुन किसिमको खानेपानीको विकराल समस्या थियो त्यो समस्या समाधान गर्न हामी जनताहरुको घरघरमै पुगेर अवलोकन गरी हाम्रो प्रयासबाट जति पनि समाधान गर्न सक्थयो, त्यसपछि हामीले पूर्ण रुपमा नसके पनि व्यापक रुपमा खानेपानी समस्याको समाधान ग¥यौं । त्यसैगरी ढल निकासका कुराहरुमा पनि हामीले कार्य ग¥यौं । २०७१ को भुकम्पले पुरातात्विक महत्वका पाटी, फल्चा, मठ–मन्दिर जस्ता संरचनाहरु जुन क्षतविक्षेत भएका थिए, ती सबै संरचनाहरुलाई हाम्रै कार्यकालको अवधीमा नै बनाएर त्यसलाई पर्यटनसँग जोडेर ऋार्थिक रुपमा समृद्धिको बाटोमा लग्ने प्रयास ग¥यौं । त्यस्तै महिलाहरुको सवालमा महिलाहरुलाई रोजगारी सिर्जना गरेर, विभिन्न सीप सिकाउनेदेखी लिएर स्वास्थ्यका कार्यक्रम जस्तै सुगरप्रेसरका औषधि निःशुल्क वितरण गर्ने ज्येष्ठ नागरिकका लागि स्वास्थ्य परिक्षण ईत्यादि विभिन्न गतिविधि ग¥यौं । तर, सबै कुराहरु नै भने त हामीले पूरा गर्न सकेनौं किनकि त्यो समय कोभिडका कारण हामीले करिब दुई वर्ष हामीले काम नै गर्न पाएनौं, त्यो समय काम र विकास भन्दा पनि कसरी बच्ने,बचाउने भन्ने कुरामा हाम्रो ध्यान गयो । त्यसैले हाम्रो कार्यकालको अवधीभर हामीले जति सक्यौं, समृद्धिलाई नै महत्वमा राखेर हामीले काम गरेका थियौं ।

तपाईको दृष्टिकोणमा सुशासन भनेको के हो र तपाईको कार्यकालमा तपाईले कत्तिको सुशासनको अनुभव गर्नुभयो ?

—सुशासन भनेको असल शासन हो । हाम्रो कार्यकालमा सुशासनको कुरा गर्नुपर्दाखेरी हामी निर्वाचित भएर आउँदा सम्म त नगरपालिकाको भवन पनि थिएन, बस्ने ठाउँ पनि थिएन, हामी जेनतेन एउटा सामुदायिक भवनमा हामी बसेका थियौं । त्यो अवस्थामा सहज रुपमा काम गर्ने वातावरण पनि थिएन । यसरी हामीले त्यतिबेलादेखिको हामीले छोड्दाखेरिको अवस्थालाई हेर्ने हो भने नक्सा पास देखी लिएर भवन निर्माणका कार्यहरु व्यवस्थित रुपमा गतिविधिलाई अगाडि बढायौं ।


No comments:

Post a Comment