Friday, January 6, 2023

 पदयात्रा र पर्यटन



–म. केशव, किपू

     मानव सभ्यताको प्राचिन कालखण्डमा पदयात्रा खाद्यान्नको जोहो गर्न कालान्तरमा राज्यको विस्तारसँगै युद्धमा सरिक हुन र आधुनिक युगमा मनोरञ्जन र आरोग्यका निम्ति पदयात्रालाई प्रयोग गर्दै आइरहेको पाइन्छ । आफूलाई आवश्यक जल र खाद्यान्नको प्रबन्ध गरी एक दिने छोटो दुरीको पैदल यात्रालाई सामान्यतया “हाईकिङ्ग” अथवा “पदयात्रा” भनी अर्थयाउन सकिन्छ । जुनसुकै मौसम र समयमा एक स्थानबाट अर्को स्थानमा आउजाउ गर्न परापूर्वकालदेखि हाईकिङ्ग गरिन्थ्यो । घोडा, खच्चर, बयलगाढा ऊठ जस्ता भूमार्गमा प्रयोग गरीने साधन साम्भ्रान्त र पुँजीपति वर्गको पहुँचमा मात्रै सिमित भएकाले सर्वसाधारणका निम्ति पदयात्रा सहज तथा बाध्यकारी माध्यम थियो । रोमन साम्राज्यको विस्तारले गर्दा युरोपमा भुमार्गको निमार्ण सुखा चैत्रको आगलागीझैं फैलिएसंगै हाइकिङ्ग संस्कारको प्रभाव पनि फैलिदै गयो । पूर्वमा गुरूकुल संस्कार व्यवस्थित एव मजबुद थियो, शिक्षादिक्षा ग्रहण गर्ने पौराणिक परम्पराले पनि हाईकिङ्ग वा पदयात्रालाई बलियो टेको दिएको मान्नुपर्दछ । नेवाः समुदायमा पनि तीर्थटनका निम्ति हाईकिङ्ग गरिन्थ्यो । नेपालभाषाको चलचित्र सिलुलाई एउटा दृष्टान्तको रूपमा लिन सकिन्छ ।

तस्वीर ः दुर्गालाल शाही

        धार्मिक, पौराणिक,साँस्कृतिक, पर्यटकिय, पुरातात्विक, साहसिक गरी विविध अदभूत आयामहरूमा पदयात्रालाई जोड्न र मोड्न सकिन्छ । निरंकुश पञ्चायाती व्यवस्थाको अवसान तथा बहुदलीय व्यवस्थाको उदयले विभिन्न आर्थिक द्वारहरू खुल्न थाले । पर्यटकिय द्वारलाई नेपालले आर्थिक विकाशको बहुआयममिक बरदानको रूपमा बदल्न सक्नुपर्दछ । सेताम्य विराट शिखर, हरिया वन–डाडाकाँडा, छमछम बग्ने खोला, अतुलनीय उर्वर भूबनौट, साँस्कृतिक विविधता ,अदितीय मौसम एव आतिथ्य संस्कार पर्यटनका भिमसेनझैं बलिया आधारशिलाहरू हुन् । यस्तै आधारशिलाहरूमध्ये पदयात्रा पनि एक अदितीय आधारशिलाका रूउमा गणना गर्न सकिन्छ । हाइकिङ्गलाई भाई र ट्रेकिङ्गलाई दाईको रूपमा सम्बोधन गर्दा फरक नपर्ला । दुबैका आआफ्नै गहन गुणहरू छन् । यस अंकमा भाईको मात्रै चर्चा परिचर्चा गरिनेछ ।


तस्वीर ः दुर्गालाल शाही

      “आहारविहार”, “आरोग्य” र “अर्थ”सँग जोडी पदयात्रालाई चिरफार गर्दा रोचक अनि रसिलो होला । वि.स २०७४ सालबाट ईजी हाईक, किपू नामक संस्थाले आरोग्यलाई प्रधानमन्त्र बनाई निशुल्क तथा शशुल्क नियमित मासिक हाईकिङ्ग नियमित सञ्चालन गर्दै आइरहेको छ । सामाजिक सञ्जालमार्फत पंक्तिकार पनि वि.स.२०७५ सालबाट नियमित पदयात्रामा सहभागि हुदैआइरहेको छ । ईजी हाईक, किपूले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदा आहार अन्तर्गत शाकाहारी भोजनलाई प्रोत्सहान तथा मद्यपान र धुमपानलाई निषेध गरिनु स्तुतियोग्य छ । काठमाडौं उपत्यका तथा ठूला शहर एव सदरमुकाममा हाईकिङ्गलाई व्यवसायिक रूपमा जिविकोउर्पाजन गर्ने गतिलो स्रोतको रूपमा रूपान्तरण गर्दै लगिरहेको पनि पाउन सकिन्छ, आर्थिक दृष्टिकोणले यस्ता प्रयत्नसामु नतमस्तक हुनै पर्दछ । आहारविहार, आरोग्य र अर्थलाई ईजी हाईक, कीपूले पनि आत्मसाथ गर्दा संस्थाको आभूषण अझै तेजस्वी हुने पक्का छ ।

      नविन साथीसंगी तथा गणतव्यको फाराकिलो परिधिमा रमाउन पाइने, डिप्रेसन, माइग्रेन, कम्मर एव घुडा दुख्ने, अपच, प्रेसर, चिनी रोग, अधिक तौल जस्ता रोगको कैदबाट प्राकृतिक छुत्कारा मिली आरोग्य लाभ हुने, आर्युवेदिक बुटिहरू पहिचान गर्ने ज्ञानको बृद्धि, सन्तुलित आहारको आदत हुने जस्ता असंख्यौ शुभलाभहरू प्राप्त हुन्छन् । चम्पादेवी, चन्द्रागिरी, चित्लाङ्ग, जामाच्व, शिवपुरी, डोलेश्वर–आशापुरी,बाघद्वार, चिसापनी, दल्चोकी,मणिचुड, जर्सिङ्गपौवा, नगरकोट,फुल्चोकी, ध्याम्पेडाँडा, ककनी, सूर्यचौर, बल्थली, नमोबुद्ध आदि उपत्यका वरीपरीका सुचिरपरिचित हाईकिङ्ग गन्तव्यहरू हुन् ।उपत्यकाको वरिपरि रहेका विश्व सम्पदासूचिमा समावेश भएका ८ धार्मिक तथा सांस्कृतिक धरोहर र निधिले पनि उपत्यकामा हाईकिङ्गको आकर्षण श्रीबृद्धि भएको छ । होमस्टे, होटल, रेष्टुरेण्ट,केबुलकार, जिपलाइन, वाटरपार्क,मनोरञ्जनात्क स्थाल आदि जस्ता पर्यटकिय पूर्वाधारको निमार्णका कारण पर्यटकको संख्यामा भएको बृद्धिले उक्त स्थान वरिपरि आर्थिक गतिविधिहरूपनि बनमारा र तीतेपातीझैं झाङ्गिदै गइरहेको प्रष्टै छ ।

     पदयात्राका केहि चुनौतीहरू नभएका होइनन् ।चाउचाउ, चकलेट, पेय पदार्थका बोटल लगायत प्लाष्टिकजन्य फोहर पदयात्राको प्रचण्ड चुनौती हो भने पर्यटकीय पूर्वाधारको शंङखेकिरा गतिमा विकास हुनु अर्को महत्वपूर्ण तर दुखदायी चुनौति हो । पर्यटनसँग सम्बन्धित निकायले चुस्त र दुरूस्त गति र मतिले कार्यसम्पादन गर्न नसक्नुलाई पनि चुनौति नमान्न सकिन्न ।

निष्कर्शः

    अतिथि देव भवः मूलमन्त्र धारण गर्ने हामी नेपालीले पदयात्रा अन्तर्गत आहारविहार, आरोग्य र अर्थ गरी त्रिकोणात्मक आयामलाई बैज्ञानिक गठबन्धन गरी पर्यटन विधालाईसुनौलो जलप लगाउन सके एकतर्फ लाखौंको संख्यामा वर्षेणी ऊर्जावान् युवा मुग्लान पस्नु पर्ने बाध्यता हट्ने देखिन्छ अर्कोतर्फ जल, जङ्गल, जमिन र जडिबुटिले झैं आर्थिक उर्पाजन गर्दै पर्यटन विधाले कुल ग्रार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, दिगो रोजगारी, राष्ट्रिय आम्दानीमा अतुलनीय सकारात्मक र रचनात्मक योगदान दिने पक्का छ । सुनको अण्डा दिने पर्यटन क्षेत्रमा चौतर्फि हात्तेमालो पनि आज उत्तिकै आवश्यक छ ।


No comments:

Post a Comment