Sunday, June 12, 2022

की.न.पा.एमालेका पराजित उम्मेदवार केशरत्न बज्राचार्यसंग एक छिन

 की.न.पा.एमालेका पराजित उम्मेदवार केशरत्न बज्राचार्यसंग एक छिन 



कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकाका लागि कीर्तिपुरमा मेयर पदमा उम्मेदवारी दिएका उम्मेदवाहरुको अन्तवार्ताका लागि तयार गरेका प्रश्नहरु । प्रश्नको उत्तर आउन ढिला भएका कारण, निर्वाचन आचारसंहिताको लागू भएपछि प्रकाशित गर्न नपाएको नेकपा (एमाले)का मेयर उम्मेदवार केशरत्न बज्राचार्यसंगको अन्वर्तार्ता


१) यसपालिको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिने अन्तिम दिनमा तपाईलाई माथिबाट मेयरको टिकट दिएका कारण कीर्तिपुर एमाले कार्यालयमा ब्यापक असन्तुष्ट पोख्ने काम देखियो, नाराबाजि लगायतका घटना भयो, यो घटना र कीर्तिपुरका एमाले कार्यकर्ताहरुले दिएको आक्रोशलाई तपाई कसरी लिनु हुन्छ ?

—कीर्तिपुर जनताकै आवाजका रुपमा स्थापित भईसकेको कीर्तिपुर सन्देश साप्ताहिक पत्रिका मार्फत मेरा विचार र मसँग सम्बन्धित केहि गलत प्रचारलाई निराकरण गर्न जुन माध्यम दिनुभयो । त्यसको लागि धन्यवाद । हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) कीर्तिपुर नगर कमिति, जिल्ला कमितिले म लगायत निवर्तमान मेयर क.रमेश महर्जन र क.लक्ष्मी कुमार महर्जन गरी तिनजनाको नाम स्थानीय निर्वाचन २०७९ बैशाख ३० गतेको लागि नगर प्रमुखको प्रत्यासीको रुपमा सिफारिस गरेर पठायो । प्रदेश कमितिबाट म केश रत्न बज्राचार्य नगर प्रमुखको उम्मेदवार र क.बिन्दु महर्जनलाई नगर उप प्रमुखको उम्मेदवारको निर्णय भई आयो । प्रश्न यसो सुन्दा बहिरी खुल्ला आँखाले जे देख्यो साँच्चै त्यस्तै मात्र बुझाई राख्ने हो भने एक खालको आक्रोश हुनु स्वाभाविक हो तर वास्तविकता के हो त भन्ने कुरा पार्टी कमिति सम्बन्धित सदस्य कमरेडहरुलाई यथार्थ जानकारी छ । जुन बुझ्न र बुझाउनुमा कमजोरी भयो या गराईयो । जसले गर्दा दुःखद घटना घट्यो या घटाइयो । जुन पार्टी सदस्यहरुलाई मात्र होइन, सम्पूर्ण शुभचिन्तक, शुभेच्छुक समर्थकहरुमा निराश छाइदियो भने विपक्ष पार्टीहरु स्वाभाविक रुपमा उत्साहित भए जुन हरेक दृष्टिकोणमा अप्रिय छ । उम्मेदवारीकै सम्बन्धमा हामीले बुझ्न र बुझाउनै पर्दछ कि नगर प्रमुखका लागि हाम्रो पार्टीमा ५ जना पार्टी सदस्यहरुले उम्मेदवारी दिनु भएको थियो जसमा एक जना कमरेड छनौट प्रक्रियामै आउनु भएन भने अर्को एक जना कमरेडले उम्मेदवारी फिर्ता लिनु भयो । हामी तीन जना बाँकी रह्यो । क.रमेश महर्जन, क.लक्ष्मी कुमार महर्जन र म केश रत्न बज्राचार्य । पार्टी जिल्ला कमितिको सर्कुलर थियो सकेसम्म नगर कमितिबाट सर्व सहमत भए एक जनाको सिफारिस गरी माथिल्लो कमितिमा पठाउनु नसकेको खण्डमा बढिमा तीनजनाको मात्र सिफारिस गरी पठाउन भनेको थियो । जसमा हामी तिन जना दावेदारहरु मध्य माथिल्लो प्रदेश कमितिबाट जसलाई निर्णय गराएर पठाए पनि पार्टीको निर्णय स्वीकार गर्दै चुनावी मैदानमा सशक्त रुपमा एक जुट भएर जाने भन्ने हामीले लिखित सहमति नै गरेका थियौ । थप के सहमति थियो भने पार्टी कमितिबाट आधिकारीक निर्णय नआएसम्म कसैले पनि होहल्ला, प्रचार प्रसार नगर्ने नगराउने भन्नै थियो तर को कसले कुन कारण अनावश्यक आधारहिन हल्ला गरियो त्यसमा आपूm अनविज्ञ छु ।

२) तपाईले माओवादी, नयाँशक्ति, हुदै एमालेमा अत्यन्तै छिटो छिटो रुपमा पार्टी परिवर्तन गर्नु भयो, विगतमा नयाँ शक्तिको समयमा पनि कीर्तिपुरमा वडा अध्यक्षदेखि प्रदेशमा समेत उम्मेदवार, दुई दुई पटक पराजय भोग्नु भएका तपाईले पहुँचको आधारमा यसपालि कीर्तिपुरमा मेयर पदको टिकट एमालेको तर्फवाट पाउनु भएका कारण एमालेमा लामो समयदेखि योगदान गर्दै आएका ब्यक्तित्वहरु निराश भएका छन् भनिन्छ, यस्तो अवस्थामा कसरी चुनाव जित्नु हुन्छ ?

—पक्कै पनि आपूm कम्युनिष्ट राजनीतिक प्रंशिक्षणबाट माओवादी पार्टीको सदस्य बाटै राजनीतिक यात्रा शुरु गर्दै आएको हो । यसमा कुनै दुईमत छैन । माओवादी पार्टीभित्र विचारको अन्तर संघर्ष हुँदा अब बैकल्पिक शक्तिको आवश्यकता भन्दै डा.बाबुराम भट्टराईले नयाँ बहस शुरु गर्नु भयो जस अनुसार नयाँ शक्ति पार्टी निर्माणमा लागेका पनि हौ र २०७४ सालको स्थानीय चुनावमा नयाँ शक्ति पार्टीलाई चुनाव चिन्ह नपाएकोले संघीय समाजवादी फोरम नेपाल पार्टीको चुनाव चिन्ह मसाल लिई कीर्तिपुर न.पा.वडा नं.१० को वडा अध्यक्षमा चुनाव लडेको थिएँ । आपूm लामो समयदेखि विभिन्न सामाजिक अभियानमा सबैसँग सहकार्य गर्दै आएको हुँदा त्यस चुनावमा जुन जनमत प्राप्त भयो त्यो जनमतको कदर गर्दै सामाजिक उत्तरदायित्व बहन गर्दै राजनीतिक यात्रालाई पनि थप सशक्त रुपमा लान जुन होसला दिनुभयो म सबैमा हार्दिक आभार कृतज्ञता व्यक्त गर्न चाहन्छु । जुन पृष्ठभूमिमा नयाँ शक्ति पार्टीबाटै संघ र प्रदेशको चुनावमा प्रदेश सदस्यको उम्मेदवार भई जनतामाझ पुगेकै थिएँ । जुन चुनावमा आपूm पराजित त भएँ तर आपूmले पाएको त्यो सदभाव, सल्लाह, सुझाव जुन मेरो लागि आगामी राजनीतिक यात्राका सन्दर्भमा मार्ग निर्देशन भयो जसका कारण म गर्व गर्दछु । रह्यो पार्टी छिटो छिटो परिवर्तन गर्नु भयो भन्ने विषय जसको कुनै तुक छैन किनभने देशको राष्ट्रिय राजनीतिक तरलता तपाई हामी सबैलाई चेत नै छ कि राजनीतिक पार्टीहरुको जोड घटाउ, स्थानीय चुनावका लागि एउटा पार्टीसंग गठबन्धन  छ त संघ र प्रदेशको लागि अर्को पार्टीसंग । जुन अवस्थामा माओवादी पार्टीबाट नयाँशक्ति पार्टी जानु भनेको अरु पार्टीमा प्रवेश गर्नु होइन, त्यसबेला हामी बैकल्पिक शक्ति निर्माण अभियानमा माओवादी पार्टी भित्र विचारको बहस गरी नयाँ पार्टी निर्माणमा लागेका हौं । तर आज नयाँ शक्ति पार्टी कहाँ छ र कुन अवस्थामा गठबन्धन गरेर चुनाव लड्दै छन सबैलाई थाहा छ । म अहिले त्यस विषयमा जान चाहन्न तर मैले स्पष्ट गर्न चाहेको विषय कहाँ हो र त भन्दा जुन राष्ट्रिय राजनीतिमा एक खालको तरलता सृजना भयो, त्यस परिस्थितिमा अब नेपालको राजनीतिक कम्युनिष्टहरुको मूल आधार भनेको नेकपा (एमाले) नै हो जसले समग्रमा नेपालको राष्ट्रिय राजनीतिको नेतृत्व गर्दछ । यो एउटा राष्ट्रिय अभियान हो जुन अभियानमा नेकपा (एमाले, माओवादी पार्टी र नयाँ शक्ति पार्टी एकताको घोषणा गरेका पनि थिए तर नयाँ शक्ति पार्टी ४८ घन्टा पनि नबित्दै बाहिरीनु भयो । आज कुन पार्टी कता छ आ–आफ्नो व्याख्या विश्लेषण होला त्यो आ–आफ्नै ठाउँमा होला ।जुन राजनीतिक घटनाक्रममा म आफु समेत नेकपा (एमाले)मा पार्टी एकताको क्रममा भनुं या पार्टी प्रवेश नै भनुं म गर्वका साथ नेकपा (एमाले) भित्र समाहित भएँ यसमा कुनै आश्चर्यको विषय नै छैन, नेकपा (एमाले) विकसीत नेकपा (एमाले) हो जुन नेकपाको निरन्तरता पनि हो जहाँ एकताकोक्रममा जोडिएका नेतृत्वहरु पनि छन् । नयाँ नेतृत्वको विकास, नेतृत्वहरुको बुद्धि विकास र परिस्थितिको आवश्यकता हो भन्ने आधारबाट बुझ्नु पर्दछ । केही सामन्ती सोच भएका र सिमित क्षेत्र भित्र राखेर आफ्नो प्रभुत्व जमाउन खोज्ने बाहेक आम व्यक्तिहरु साथ सहयोग समर्थन रहेको छ जुन भ्रम छ त्यो हत्छ भन्ने विश्वास लिएको छु । सबैसंगको सहकार्य, सहयोग सदभावलाई उच्च सम्मान गर्दै जाने भएकोले हामीलाई जनताको सेवा गर्ने मौका दिनु हुन्छ र सबैको साथ समर्थनमा हामी जित्छौं भन्ने विश्वास छ ।

३) कीर्तिपुरका निर्वतमान मेयरले समुदायका कामहरु धेरै गरे, सम्पदा पुनः निर्माणदेखि स्थानीय पाठ्यक्रम स्थानीय मातृभाषामा पठन पाठन, सांस्कृतिक संरक्षित क्षेत्र घोषणा समेत गरि कानुन समेत बनाउने काम गरे । यो काम कतै एमालेको लाईन भन्दा भिन्न भएकै कारणले निर्वतमान मेयर आकांक्षि हुदाहुदै उहाँलाई टिकट नदिइकन तपाईलाई दिने काम पार्टीले गर्नु कीर्तिपुरवासीको भवनाको विपरित छ भन्नेहरु पनि छन, यसलाई तपाई कसरी लिनु हुन्छ ?

—हाम्रा निवर्तमान मेयर रमेश महर्जनज्यूको नेतृत्वमा रहेको कीर्तिपुर नगरपालिका स्थानीय सरकारले कीर्तिपुरलाई ऐतिहासिक, धार्मिक, पुरातात्वीक, सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गरी यसका केह िपूर्वाधार समेत निर्माण गरी कीर्तिपुरको पहिचानलाई संस्थागत गर्ने निती निर्माण पनि भइसकेको हुँदा त्यसलाई थप व्यवस्थित गरी समृद्ध कीर्तिपुर बनाउने उद्देश्यले नै नेतृत्वको व्यवस्थापन समेतलाई मध्यनजर गरी उम्मेदवारी छनौटमा पार्टी गम्भीर भएको महसुस गर्न सक्छौं, यसमा हामी सबै उत्साहित नै छौं, केही सिमित व्यक्ति जो आफ्नो प्रभुत्व जमाउन चाहन्छ, आफ्नो सिमित घेरा भित्र राख्नु पर्दछ भन्ने संकिर्ण सोच राख्दछ । त्यस्ता केहि व्यक्ति आक्रोस हुनु स्वाभाविक नै हो । जुन त्यो क्षणिक हुन्छ र उहाँहरु पनि ढिलो चाँडो हामीलाई साथ दिनु हुनेछ भन्ने विश्वास लिएको छु । सिमित व्यक्तिका कारणलाई देखाएर आम कीर्तिपुरवासीलाई दोष देखाउने दुश्प्रयास गर्नु हुँदैन । कीर्तिपुरवासी तपाई हामी सबैको भावनालाई कदर गर्नै पर्दछ ।

४) कीर्तिपुरका कार्यकर्ताहरुको भवाना अनुसार नभई तपाईलाई पुहँचका आधारमा टिकट दिएका कारणले कीर्तिपुरमा एमालेकै पुराना नेता कार्यकर्ताहरुले अन्तरघाट गर्दैछ भन्ने चर्चा छ, यसलाई तपाई के भन्नु हुन्छ ?

—पहुँचको आधारमा मात्र टिकट दियो भन्ने भ्रम हटाउनु पर्दछ, मैले अघि नै भनिसकें, सिफारिस तल नगर कमिटिदेखि नै भई गएको हो । तहगत निर्णय भई आएको हो त्यसैले अन्तरघाट हुन्छ भन्ने लाग्दैन, बाहिर विभिन्न हल्ला सुन्छु पनि तर म त्यसका विश्वास गर्दिन, पार्टी सबैको हो हामी सबै जिम्मेवार हुनु पर्दछ यसमा कसैको दुई मत छैन र हाम्रो निर्वाचन परिचालन समितिको संयोजक निवर्तमान मेयर क.रमेश महर्जन आफै हुनुहुन्छ ।

५) नेपाली कांग्रेस, माओवादी केन्द्रका उम्मेदवारको तुलनामा तपाई अनुभवदेखि राजनीति हरेक दृष्टिकोणले जुनियर देखिन्छ, यस कारणले तपाई अरु उम्मेदवारको तुलनामा लोकप्रिय हुन सकिरहेको छैन भनिन्छ नि तपाईलाई कस्तो लाग्छ ?

—पक्कै पनि जनताले उम्मेदवारहरु बीच सृजनात्मक तुलना गर्नै पर्दछ तर तपाईंको प्रश्न जुनसुकै आधारमा गरेको भए तापनि म अरु पार्टीबाट उम्मेदवार हुन भएका सबैलाई सम्मान नै गर्छु । मेरो आदर पनि छ, त्यसैले लोकप्रिय भन्ने विषयमा कसैको कमीकमजोरीलाई देखाए म लोकप्रिय छु भनि राख्नु मेरो नैतिकताले दिंदैन, केवल यति मात्र मेरो निवेदन छ कि सबैको साथ सहयोग सल्लाह सुझावमा सहकार्य र सहअस्तित्वलाई मनन् गरी कीर्तिपुर सामाजिक मुद्दाहरुमा, विकास निर्माणमा सेवागर्ने मौका पाउँदै आएको छु । मलाई पूर्ण विश्वास छ, सेवागर्ने मौका दिनु हुनेछ ।

६) तपाईको राजनीतिको पृष्ठभृुमि पहिचान, समुदायको अधिकार, आदिवासी अधिकार, भाषा जातिदेखि नेवाः स्वायत्त राज्यको पक्षधर, तर तपाई अहिले पहिचानको आधारमा राज्य पुनर्सरचना गर्ने पक्षमा नभएको, आदिवासी जनजाति लगायत समानतावादी समुदायको विपक्षमा रहेको पार्टी भन्ने गरेको एमालेको उम्मेदवारी बन्नु भएको छ भनिन्छ । यो बेमेल भयो भन्नेहरु छन्, यसलाई तपाई कसरी लिनु हुन्छ ?

—मैले मेरो राजनीतिक पृष्ठभूमि अघि पनि प्रष्ट पारि सकें जस्तो लाग्छ कम्युनिष्ट विचारबाट नै प्रशिक्षित भएर राजनीतिक यात्रा शुरु गरेको हुँ । त्यसभन्दा पहिले नै सामाजिक अभियान आफ्नो जिम्मेवारी निभाउँदै पनि आएको हुँ, त्यसैले समग्र राजनीतिक मुद्दामा आफु सिक्दै आएको छु । ती मुद्दाहरुलाई थप सृजनात्मक रुपमा लैजान अग्रज अनुभवी विज्ञहरुसंग सहकार्य गर्दै पनि छु । ती मुद्दाहरुमा आपूm सचेत पनि छु । नेकपा (एमाले) त्यस्तो पार्टीको रुपमा पाएको छु । जहाँ सबैको समानताको अभिभावकत्व ग्रहण गर्दछ त्यसैले म गर्व गर्छु आज म नेकपा (एमाले) भित्र जनताको कार्यकर्ताको रुपमा छु ।

७) कीर्तिपुरका प्रमुख विषय मध्ये त्रिवि र कीर्तिपुरवासीको सवाल पनि हो । तपाई विगतमा लामो समय सम्म त्रिवि विरुद्धको आन्दोलनमा पनि होमिएका ब्यक्तित्व हुनुहुन्छ, तपाई त्रिविको समस्या कसरी समाधान गर्न चाहानु हुन्छ ?

—त्रिभुवन विश्वविद्यालय (त्रि.वि) जुन देशकै केन्द्रिय विश्वविद्यालय हो । हामीले गर्व गर्नु पर्दछ कि कीर्तिपुरको आँगन मै छ । तर दुर्भाग्य कीर्तिपुर र त्रि.वि. विचको त्यो चिसोपना अझै पनि मेटाउन सकेको छैन । कमजोरी कसको त्यो छलफलको विषय बन्छ कि बन्दैन, संघर्ष विभिन्न समूहका नाममा, विभिन्न राजनीतिक दलका नाममा, संधै संस्थाका नाम धेरै संघर्ष भए वार्ता पनि अझ भन्ने हो भने सम्झौता पनि भए त्यसमध्ये एउटा उल्लेखनीय संघर्ष हो नेवाः स्वायत राज्य मंकाः परिषद कीर्तिपुरको आन्दोलनको नेतृत्व तपाई हामीले स्पूmर्तरुपमा गरेका थियौं, अध्यक्ष मण्डलका अध्यक्ष पञ्चलाल महर्जन (नेकपा माओवादी), राममान सिंह (नेपाली कांग्रेस) नजरराम महर्जन तत्कालिन नेकपा एमाले, कृष्णहरि महर्जन (नेपाः पार्टी बाट अध्यक्ष मण्डलका सदस्य थिए भने श्रीकृष्ण ज्यापु महासचिव, म केशरत्न बज्राचार्य सचिवको जिम्मेवारीमा थिएँ । जुन समय त्रि.वि. र कीर्तिपुर विचको त्यो चिसोपनालाई समाधान गर्न मेरो नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता शुरु पनि गरेका थियौं । घटनाक्रम सबैमा ताजा नै छ यो चुनावी मैदानमा दोष कसैलाई थुपार्न चाहन्न तर यति भन्न चाहन्छु त्रि.वि. र सम्बन्धित पक्ष छिटोभन्दा छिटो समाधान होस भन्ने चाहन्छ, नेतृत्वमा इमान्दारीता र इच्छाशक्ति हुनु प¥यो समाधान हुन्छ ।

८) नेवाः आदिवासीहरुले यसपालि नेवाः अडान पत्र तयार गरेको छ । अडान पत्र तपाईलाई पनि दिएको छ, तपाईको पार्टीलाई पनि दिएको छ । यो अडान पत्रप्रति तपाईको भनाई के छ ?

—नेवाः आदिवासीहरुले जुन अडान पत्र तयार गरेको छ । त्यो जायज छ । त्यो आवश्यकता पनि र धेरै अघिल्लो हाम्रै नेतृत्वको स्थानीय सरकारले संवोधन गरी लागु पनि गरीसकेको अवस्था छ । बाँकी मुद्दाहरुमा पनि तपाई हामी सबै सम्बन्धित पक्षहरुको समेत सक्रिय सहभागीता गराई कार्यान्वयनमा पहल गर्ने छौं ।

९) कीर्तिपुरमा तपाई मेयर पदमा जित्नु भयो भने कीर्तिपुरलाई कस्तो कीर्तिपुर बनाउने तपाईको योजना छ ?

—हामीलाई विश्वास छ, सेवा गर्ने मौका दिनु हुने छ, हामी कीर्तिपुरलाई समग्रमा समृद्ध कीर्तिपुर, सभ्य कीर्तिपुर, सफा सच्छ कीर्तिपुर बनाउने छौं विशेषत शिक्षा(स्वास्थ्य(खेलकुदमा विशेष योजना बनाई योग्यता क्षमता, सोच विकास गरी श्रम र उत्पादनमा जोड दिई रोजगारीको पनि सृजना गर्छौं, कीर्तिपुरलाई पुरातात्विक धार्मिक ऐतिहासिक, सांस्कृतिक पर्यटनको गनतब्य स्थल पनि बनाउँछौ । जस अनुसार हामीले हाम्रो पार्टीको घोषणा पत्रको मुल मर्म र भावनालाई आत्मासाथ गरी कीर्तिपुर विकासका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेका छौं ।

No comments:

Post a Comment