Friday, January 7, 2022

ज्ञानमाला बौद्ध हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

 ज्ञानमाला बौद्ध हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

कीर्तिपुर सन्देश÷

२०७८ पौष १७ गते शनिबार नेपाल राष्ट्रिय ज्ञानमाला समिति मातहत गठित कीर्तिपुर चन्द्रागिरि क्षेत्रीय उपसमितिको आयोजनामा कीर्तिपुर र चन्द्रागिरि नगरपालिका क्षेत्रीय स्तरीय “ज्ञानमाला बौद्ध हाजिरी जवाफ प्रतियोगिता” पुष्पलाल स्मृति प्रतिष्ठानको हल पुष्पलाल पार्क, चम्पादेवीमा भब्यताका साथ सम्पन्न भयो । 

हाजिरी जवाफ प्रतियोगितामा कीर्तिपुर नगरपालिकाका ९ वटा ज्ञानमाला भजन खलःहरु र चन्द्रागिरि नगरपालिकाका ४ वटा ज्ञानमाला भजन खलःहरु समेत गरी कूल १३ वटा ज्ञानमाला भजन खलःहरुका बीच हाजिरी जवाफ प्रतियोगिता भएको थियो । 

कीर्तिपुर नगरपालिकाका उपप्रमुख सरस्वती रिजाल खड्काज्यूको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नेपाल राष्ट्रिय ज्ञानमाला समितिका अध्यक्ष तथा वरिष्ठ गायिका रमना श्रेष्ठ, कीर्तिपुर नगरपालिका वडा नं. ४ का कार्यवाहक वडा अध्यक्ष अनिल बास्कोटा, नेपाल राष्टिूय ज्ञानमाला समितिका महासचिव ईन्द्रमुनी शाक्य, सदस्य राजभाई शाक्य अतिथीको रुपमा उपस्थित हुनुहुन्थ्यो । श्रामणेर धम्म पियोज्यूबाट पञ्चशील प्रदान गरि सुरु गरिएको सो कार्यक्रम क्षेत्रीय समितिका संयोजक तथा नेपाल राष्ट्रिय ज्ञानमाला समितिका मध्यमाञ्चल उपाध्यक्ष जुलुम शाक्यज्यूको सभापतित्वमा र क्षेत्रीय उपसमितिका सचिव बुद्ध महर्जनले कार्यक्रम संचालन गर्नु भएको थियो । 

कार्यक्रमको समुद्घाटन मन्तब्यमा प्रमुख अतिथीज्यूले ज्ञानमाला बुद्ध धर्मको एक महत्वपूर्ण अंग भएको र बुद्ध धर्मको प्रचार प्रसारमा ज्ञानमालाको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । 

बुद्ध धर्ममा मानव जगतको मात्र नभई प्राणि जगत मुक्ति र कल्याण समेटीएको छ । बुद्ध धर्मले मानव सभ्यतालाई नैतिकवान र कर्मशील बनाई बहुजन हित र सुखको पाठ सिकाउंदै एउटा  समुन्नत समाज सिर्जना गर्न महत्वपूर्ण भूमिका निभाएको बताउनु भयो । 

बुद्ध धर्मले आर्थिक सामाजिक, सांस्कृतिक र धार्मिक रुपले मानव समाजलाई सुसंस्कृत बनाउन मार्गदर्शन दिएको छ । तसर्थ यस्ता कार्यक्रमको लागि नगरपालिकाले बजेट समेत बिनियोजन गरेको छ । कार्यक्रम अति नै प्रशंसनीय रहेको र यस्ता कार्यक्रम गर्दा नगरपालिकासँग पनि समन्वय गरि अगाडी बढ्नु भएमा कीर्तिपुर नगरपालिका सहयोग गर्न सधैं तत्पर रहने पनि बताउनु  भयो । 

नेपाल राष्ट्रिय ज्ञानमाला समितिका अध्यक्ष तथा वरिष्ठ गायिका रमना श्रेष्ठले यो हाजिरी जवाफ प्रतियोगिता ज्ञानमाला क्षेत्रकै पहिलो हाजिरी जवाफ प्रतियोगिता भएको बताउनु भयो । कार्यक्रमले उपासक र उपासिकाहरुलाई अध्ययनशील बनाएको बताउनु भयो । ज्ञानमाला गाएर बुद्ध धर्म प्रचार प्रसार गरिरहेकोमा हाजिरी जवाफ प्रतियोगिताले धर्ममित्रहरुलाई अझ तिखारिने मौका मिलेको पनि बताउनु भयो । 

श्रामणेर धम्म पियोज्यू र नेपाल राष्टिूय ज्ञानमाला समितिका अध्यक्ष रमना श्रेष्ठज्यूले निर्णायकको भूमिका निभाउनु भएको थियो भने महासचिव ईन्द्रमुनी शाक्यज्यूले अंक ब्यवस्थापन र समय सूचकका रुपमा राजभाई शाक्यज्यूले जिम्मेवारी निभाउनु भएको थियो । 

प्रश्न कर्ता शोभा महर्जनले आफ्नो हाजिरी जवाफ प्रतियोगिता संचालनलाई कुशलता, रोचक र प्रशिक्षण मूलक ढंगले संचालन गर्नुहुँदा प्रश्नहरु माथिको जवाफहरुले सिंगो हलमा उपस्थित दर्शकहरुकालागि एउटा अविश्मरणीय पाठशाला बनाएको थियो । कार्यक्रममा करीब ५०० उपासक उपासिकाहरु उपस्थित भएको र उक्त कार्यक्रम मितब्ययी बनाउन खाजाको व्यवस्था स्वयं खलः पूचले नै गर्नु पर्ने गरि कार्यक्रम संचालन गरिएको र चियापानको व्यवस्था भने पालुबः ज्ञानमाला भजन खलःका उपासक उपासिकाहरुले गर्नु भएको सचिव बुद्ध महर्जनले बताउनु भयो । 

प्रतियोगिताको पहिलो प्रश्न प्रमुख अतिथीले सोध्नु भएकोमा आनन्दादी लोकेश्वर ज्ञानमाला भजन खलः (मैत्री) समूहले सही उत्तर दिई शुरु  भएको सो प्रतियोगितामा पवित्र कुटी ज्ञानमाला भजन खलः, पाँङ्गा (प्रणिधी)ले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । टोली नेता देवकुमारी महर्जन, केवन केशरी महर्जन र मन्दिरा महर्जनले पवित्र कुटी ज्ञानमाला भजन खलःको प्रतिनिधित्व गर्नु भएको थियो । नगाँ ज्ञानमाला भजन खलः, नगाँ, कीर्तिपुर (क्षान्ति)ले द्वितीय स्थान हासि गर्न सफल भएको थियो । टोली नेता चेतना महर्जन, सकुन्तला महर्जन र शंकर महर्जनले नगाँ ज्ञानमाला भजन खलःको प्रतिनिधित्व गर्नु भएको थियो । 

अपेक्षा ज्ञानमाला भजन खलः, तापाख्यः चन्द्रागिरि (दान)ले तृतीय स्थान हासिल गर्न सफल भएको थियो । टोली नेता बिमला महर्जन, सूर्जकुमारी श्रेष्ठ र आशामाया श्रेष्ठले अपेक्षा ज्ञानमाला भजन खलः को प्रतिनिधित्व गर्नु भएको थियो । त्यसैगरी यहिपश्शिको ज्ञानमाला भजन खलः, किपुल्चा, चन्द्रागिरि (प्रज्ञा)ले सान्त्वना स्थान हासिल गर्न सफल भएको थियो । टोली नेता शान्ति महर्जन, कान्छा श्रेष्ठ र पूर्ण माया महर्जनले यहिपश्शिको ज्ञानमाला भजन खलःको प्रतिनिधित्व गर्नु भएको थियो । 

प्रतियोगितामा प्रथम द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने खलःहरुलाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार २ हजार नगद पुरस्कार प्रमाणपत्र र पदक वितरण गरिएको थियो । उक्त कार्यक्रममा सहभागिता जनाउने सबै खलःहरुलाई सहभागिताको प्रमाण पत्र र सहभागी सबै प्रतियोगिहरुलाई पनि सहभागिताको पदक वितरण गरिएको थियो । 

कार्यक्रम सफलताको श्रय क्षेत्रीय उपसमितिका सबै पदाधिकारी सदस्यहरुको सक्रियता र नेपाल राष्टिूय ज्ञानमाला समितिका अध्यक्ष, महासचिवज्यूको प्रेरणा हुन् । कार्यक्रम आयोजनाको मूल उद्देश्य अनुरुप पूर्ण रुपमा सफल भएको र लगतै बस्ने क्षेत्रीय समितिको बैठकबाट सबल र दुर्वल पक्षको समिक्षा गर्दै आगामी दिनमा अझ शशक्त र परिणाममुखी कार्यक्रमहरु गर्दै जाने योजना रहेको सचिव बुद्ध महर्जनले बताउनु भयो ।


No comments:

Post a Comment