Saturday, November 27, 2021

वडा नं. १० अन्तर वडा भलिबल च्याम्पियन

 वडा नं. १० अन्तर वडा भलिबल च्याम्पियन




—प्रदिप महर्जन

कीर्तिपुर सन्देश साप्ताहिक

इन्द्रायणी परिवार क्लब तथा कीर्तिपुर न.पा.वडा नं. २ को संयुक्त आयोजनामा भएको अन्तर वडा भलिबल प्रतियोगिता–२०७८ मा  कीर्तिपुर न.पा. वडा नं. १० ले वडा नं. ९ लाई पराजित गरी च्याम्पियन बन्न सफल भएको छ । 

गत शनिवार भएको फाइनल प्रतियोगितामा वडा नं. १० ले वडा नं. ९ लाई ३–१ सेटको जीत निकाली नगद रु ३० हजार हात पार्दै च्याम्पियन बनेको हो । पहिलो सेट २१–२५ ले हारेको वडा नं. १० ले खेलमा पुनरागमन गर्दै तीन लगातार सेट २५–१८, २५–२० र २५–१४ ले आफ्नो पक्षमा पार्दै जीत निकालेको हो । निकै अनुभवी खेलाडीहरु भएको वडा नं. ९ ले पहिलो सेटमा चुनौतिपूर्ण सहज जीत निकालेर पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता प्रदान गर्न नसक्दा हार ब्यहोर्नु परेको हो । हारसंग नगद रु २० हजारमा चित्त बुझाउन बाध्य भयो । 

उक्त अन्तर वडा प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट भएका खेलाडीहरुलार्य प्रमाण पत्र र ट्रफीबाट सम्मान गरिएको थियो ।

१.बेष्ट स्पाइकर—शुभ रत्न महर्जन वडा नं.१०

२.बेष्ट ब्लकर — प्रज्वल महर्जन वडा नं.१०

३.बेष्ट सर्भर सर्भर —मुकेश महर्जन वडा नं.१०

४.बेष्ट सेटर —देबिन्द्र महर्जन वडा नं २

५.बेष्ट लिबेरो —मनकेश महर्जन वडा नं.१०

६.बेष्ट कोच — महेश महर्जन वडा नं. १०

७.बेष्ट प्लेयर –सिद्धार्थ महर्जन वडा नं.९

८.बेष्ट राइजिङ प्लेयर — अनिल खड्गी वडा नं.३

९.बेष्ट भोलिन्टियर — मिम महर्जन

फााइनल खेल पश्चात प्रमुख अतिथि वडा नं.२ का अध्यक्ष रमेशमान डंगोलले विजेता टिम वडा नं. १० का खेलाडी, मेनेजर र प्रशिक्षकलाई मेडल ट्रफी र प्रमाणपत्र वितरण गर्नु भयो । त्यस्तै द्वितिय हुने टिम वडा नं. ९ का खेलाडी, प्रशिक्षक एवं व्यवस्थापकलाई विशिष्ट अतिथि वडा नं. १० का अध्यक्ष अमन महर्जनले मेडल, प्रमाणपत्र र ट्रफी वितरण गर्नु भयो भने तेस्रो स्थान हुने वडा नं. २ का खेलाडी प्रशिक्षक र र व्यवस्थापकलाई मंगलव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख एवं कीर्तिपुर खेलकुद विकास समाजका अध्यक्ष प्रदिप महर्जनले वितरण गर्नुभयो । सो भन्दा पहिला तेश्रो स्थानको लागि वडा २ एले ३ लाई ३–२ सेटको अन्तरले जीत निकाल्दै तेश्रो स्थान सहित नगर रु.१० हजार हात पारेका थिए । वडा नं.२ ले वडा नं.३ लाई २५–२३ अंकले जितेका थिए तर खेललाई नियन्त्रण गर्न नसक्दा दोश्रो सेट १९–२५ ले गुमाउँदा खेल १–१ले बराबरीमा रह्यो । तेश्रो सेट पनि वडा नं.३ ले जित निकाल्दा वडा २ एले हार्ने निश्चित भइसकेको थियो । तर वडा २ ले खेलमा सुधार एवं पुनरागमन गर्दै तेश्रो र चौथो सेट क्रमशः २५–११ र १५–११ले आफ्नो पक्षमा पार्दै तेश्रो हुन सफल भएको हो ।



२ गते अपरान्ह भएको पहिलो सेमीफाइनल खेलमा वडा १० ले वडा २ को ए टिमलाई कडा प्रतिस्पर्धामा ३–२ सेटले पराजित गरी फाइनल पुग्न सफल भएको थियो । उक्त खेलमा पहिलो सेट २२–२५, दोश्रो सेट २५–११, तेश्रो, चौथो र पाँचौं सेट क्रमशः २२–२५, २५–१३ र १५–३ अंकले वडा १० ले आफ्नो पक्षमा पार्न सफल भएका थिए । त्यस्तै अर्को सेमीफाइनलमा वडा ९ ले वडा ३ लाई २५–१९, २५–२३ र २५–१२ ले सोझो सेटमा पराजित गरी फाइनलमा स्थान बनाउन सफल भएका थिए । शनिवार भएको पुरस्कार वितरण समारोहमा ३० वर्षदेखि निरन्तर भलिबल खेलाडी एवं प्रशिक्षक भएर भलिवल खेलको विकासमा लागिरहनु भएका भलिबल राष्ट्रिय प्रशिक्षक महेश महर्जनलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । त्यस्तै राष्ट्रिय रेफ्री राजकुमार महर्जन लाई पनि सम्मान गरिएको थियो । 



प्रस्तोता ः प्रदिप महर्जन


No comments:

Post a Comment