Thursday, October 21, 2021

चौथो मार्टिना स्मृती हाइकिङमा ऐक्यवद्धता कार्यक्रम–२०२१ सम्पन्न

 चौथो मार्टिना स्मृती हाइकिङमा ऐक्यवद्धता कार्यक्रम–२०२१ सम्पन्न


प्रदिप महर्जन

आश्विन ३१ गते आइतबार, ईजिहाइकिङ समूह कीर्तिपुरद्वारा आइतबार एक कार्यक्रमका साथ पदयात्रा गरी मार्टिना स्मृती हाइकिङ कार्यक्रममा चौथो पटक ऐक्यबद्धता जाहेर गरेको छ । प्रत्येक वर्ष अक्टोबर १७ का दिन ईटाली, नेपाल, भारत, अर्जेनटिना, ब्राजिल, स्पेन, स्विट्जरल्याण्ड लगायत १७ राष्ट्रमा एक साथ आयोजना गरिने यो कार्यक्रम नौ वर्षदेखि हुँदै आएको छ । 

यो पदयात्रा कार्यक्रम इटालीयन नागरिक तथा युवा साहसी पर्वतारोही स्व. मार्टिना एनड्रोयलाको सम्झनामा हुने गर्दछ । यस वर्ष नेपालमा चौथो पटक आयोजना गरिएको थियो । हाइकिङ पदयात्रा सुरु गर्नु पूर्व हाइकिङमा ऐक्यबद्धता कार्यक्रमका संयोजक नारायण महर्जनले यस प्रकारको कार्यक्रम नेपालमा कसरी सुरु भयो भन्ने कुराको बारेमा जानकारी दिनु भएको थियो । नारायण महर्जनका अनुसार इटालीको त्रेभिजो शहर की २२ वर्षिय साहसी पर्वतारोही मार्टिना एन्ड्रोयला सन् २०११ अक्टोबरमा कार दुर्घट्नामा परि मृत्यू भए पछि उहाँको सम्झनामा यो पदयात्रा कार्यक्रम आयोजना गर्दै आएको छ । 



नेपालमा यो कार्यक्रम कसरी सुरुवात भयो भन्नेबारे जानकारी दिने क्रममा नारायण महर्जनले जानकारी दिंदै भन्नु भयो की उहाँ सन् २०१८ मा इटाली भ्रमण गएको बेला त्रेभिजो शहरको एउटा कार्यक्रममा उहाँको पितासँग भेट भएको र सोहीक्रममा नारायण महर्जन पनि कीर्तिपुर नगरपालिकाको वडा २ को अध्यक्ष पदको उम्मेदबार भएको कुरा थाहा पाएपछि यस प्रकारको कार्यक्रम गर्नको लागि प्रश्ताव राख्नु भएको कुरा बताउनु भयो । त्यस पछि नेपाल फर्केर साथीहरुसँग कुरा गर्दा सबैले मञ्जुरी जनाए पछि यो पदयात्रा कार्यक्रम निरन्तर रुपमा भएको कुरा बताउनु भयो ।


 
इटालीमा यो कार्यक्रम नवौं पटक भयो भने नेपालमा चौथो पटक आयोजना गरेको कुरा इजिहाइकिङ समूहका संयोजक अशोक कुमार भन्सारीले बताउनु भयो । अशोक कुमार भन्सारीका अनुसार यस प्रकारको Solidarity Walk  नेपालमा कीर्तिपुरको इजिहाइकिङ समूहले मात्र गर्ने कुरा पनि बताउनु भयो । 



यस वर्ष Solidarity Walk को नारा Walk Solidarity for smile, Friendship and Love रहेको थियो । नारायण महर्जनका अनुसार यसै कार्यक्रमले गर्दा कीर्तिपुर नगरपालिका र त्रेभिजो  शहर वीच भगिनी सम्बन्ध स्थापना गर्न पनि सफल भएको र इटालीबाट कीर्तिपुरमा विभिन्न कार्यक्रमका लागि सहयोग गर्दै आएको कुरा पनि जानकारी दिनु भयो । 

यस वर्ष Solidarity Hiking  पदयात्रा कार्यक्रम कीर्तिपुर तःगवपीमा ७ बजे भेलाभई माक्वाःचा योगाताँ, ढुङ्गाअया, विष्णुदेवी मन्दिर, तप्ख्योचा, मच्छेनारायण स्थान, चूनदेवी, मातातिर्थ, शान्तीवन, गोदाम पुगेर सम्पन्न भएको थियो । 

यस कार्यक्रममा जम्मा १७ जना सहभागी भएका थिए ।


No comments:

Post a Comment