Monday, October 25, 2021

संकटमा स्याःबजि बनाउने परम्परा

 संकटमा स्याःबजि बनाउने परम्परा


             


लेखक ः श्रीकृष्ण महर्जन

नेवाः मात्र हैन सबैलाई मनपर्ने समेबजिका लागि नभई नहुने भनेको स्याःबजि हो । स्याःबजिको अर्थ खोज्ने हो भने सिया बजि हुदै स्याः बजि भएको हो । सिया भनेको भुतेको र बजि भनेको चिउरा हो । यसको अर्थ भुतेको बजि हो । समेबजिमा हुने पञ्चतत्व मध्ये एक तत्व भनेको स्याःबजि हो । स्याःबजि विना समेबजिको कल्पना गर्न सकिदैन । त्यसैले अहिलेको समयमा पनि चिउरा मात्र राखेर हुदैन समेबजिमा स्याःबजि सांकेतिक रुपमा भए पनि राख्नुपर्ने मान्यता छ । मानिसदेखि संसार नै पाँचवटा तत्व अर्थात पञ्चतत्वले निर्माण भएको नेवाः समुदायको संस्कृतिले मान्ने गरिन्छ । पञ्चतत्वमा समेबजिमा स्याःबजि भनेको आकाश तत्व हो । कालो भतमास भनेको वायु तत्व हो भने अदुवा जल तत्व, मासु पृथ्वी तत्व र अय्ला अर्थात रक्सी तेज तत्व हो । साझा रुपमा भन्दा समेबजि भन्ने यी पञ्च तत्वले पुजा गर्ने र पछि त्यसैलाई फिर्ता लिने साथै आफै देवता भएको महसूस गरि संघर्षमय जीवनमा अघि बढ्ने नेवाः समुदायको मौलिक दर्शन हो । कुनै पनि ढुंगा होस अथवा घरै किन नहोस यी पञ्चतत्वले पुजा गर्ने नेवाः समुदायको मौलिक संस्कृति हो ।


स्याःबजि गाउँ


कीर्तिपुर नगरपालिका वडा नं. ४ भित्र पर्ने स्याःबजि गाउँ अर्थात गाम्चा एक किसिमले मौलिक वस्ती हो । पुरानो कीतिपुर वस्तीवाट पश्चिम दक्षिणतिर र नगाउँवाट पश्चिम र भट्क्यापाटीवाट उत्तर दिशामा पर्ने गाम्चा नेवाः भित्र पनि महर्जनहरुमात्र बसोबास गर्दे आएको वस्ती हो । इतिहासमा भण्डारपुर भनी नामांकरण गरिएको यो नेवाः मौलिक किसिमको वस्ती हो । आफ्नै किसिमको पहिचान भएको यस वस्तीमा अरु नेवाः समुदायको वस्तीमा जस्तै जात्रा पर्वहरु रहेका छन् । कीर्तिपुर, नगाउँ, पांगा लागायत क्षेत्रमा जात्रा हुने बखुमदः जात्राको क्रममा गाम्चामा पनि विष्णुदेवीको जात्रा गर्ने चलन छ । विष्णुदेवीको जात्रा गर्ने खटमा नेपाल संवत ७१३ उल्लोख गरिएका छ । सो समयमा मर्मत गरिएको उल्लेख छ । यसबाट करिव मल्लकालमा नै गाम्चा वस्तीको विकास भइसकेको हुनुपर्छ भन्ने मान्यता रहेको छ । हाल यो वस्तीमा करिव ७० घरघुरी रहेका छन् । २०४६ साल अघि सम्म जम्मा ४२ घर धुरी रहेको थियो यस वस्तीमा । यस वस्तीलाई दुई भागमा विभजन गरिएको छ । माथिल्लो वस्ती र तल्लो वस्ती गरिएको छ ।



स्याःबजिको प्रयोग

स्याःबजि मूल रुपमा नेवाः संस्कृतिमा प्रयोग गर्दै आएका छन् । कीर्तिपुरको गथु प्याखं (बाघभैरव नाच), हरिसिद्ध नाचदेखि भक्तपुरको नवदुर्गा नाच, त्यसैगरि रातो मच्छिन्द्रनाथदेखि नासः द्यः अर्थात नात्थेश्वरलाई समेत पुजा गने भनेको यी पञ्चतत्व सहितको समेबजिले नै पुजा गर्ने नेवाः समुदायको परम्परा हो । नेवाः समुदायले आफ्नो मैलिक देवताको रुपमा जुन जुनलाई मान्छ ती देवी देवतालाई समेबजिले नै पुजा गने चलन छ । समेबजि बाजा बजाउने बेलादेखि नृत्य गर्ने समयमा पनि समेबजि दिने गरिन्छ । समेबजि नेवाः समुदाय भित्र अत्यन्तै लोकप्रिय खाजा सेट हो । समेबजिले पुजा गर्ने मात्र हैन समेबजि प्रसादको रुपमा समेत दिने गरिन्छ । स्याःबजि बिना समेबजि कल्पना पनि गर्न सकिदैन । जहाँ समेबजिले पुजा गरिन्छ त्यहाँ नेवाः समुदायको संस्कृति जोडिएको छ भन्दा केहि फरक पर्दैन । प्रत्येक बर्ष इन्द्र जात्राको पुर्णिमालाई समेबजि पुन्हि अर्थात समेबजि पूर्णीमा एक पर्वको रुपमा मान्ने गरिन्छ । सो दिनमा समेबजि आफूले मात्र खाने हैन सार्वजनिक रुपमा प्रत्येक घर घरवाट समेबजि दान दिनुपने पनि चलन रहेको छ । नेवाः समुदायको संस्कृति सम्वन्धित समेबजिका लागि नभै नहुने स्याःबजि उत्पादन गर्ने वस्ती स्याःबजि गां अर्थात गाम्चा नै हो । समेबजि एक प्रकारको सबैलाइ मनपने खाजा सेट हो । जुनसुकै बेलामा पनि प्रयोग गर्न सकिने र नेवाः संस्कृति अनुसार मौलिकता दिनुपरे समेबजि नै खुवाउने गरिन्छ । पछिल्लो समयमा नेवाः समुदाय भित्र मात्र हैन अरु समुदायले पनि खाजाको रुपमा समेबजि नै दिने गर्न थालेका छन् ।

स्याःबजि उत्पादन गर्नेहरु

स्याःबजि गाउँमा २०४६ साल अघि सम्म ४२ सै घर धुरी आर्थत सबै घरधुरीवाट नै स्याःबजि उत्पादन गरिन्थ्यो । पछि घट्दै गएछ । हाल जम्मा १३ परिवारले स्याःबजि उत्पादन गर्दै आएका छन् । स्याःबजि उत्पादनका लागि २०७६ सालमा असल छिमेकि र वल्र्ड भिजनको सहयोगमा धान कट्ने कल राखेको थियो । सो कल संचालन गर्नका लागि स्याःबजि लाबा गाम्चा समूह गठन गरिएको छ । सो समुहमा आबद्ध भएका १३ परिवारले स्याःबजि उत्पादन गर्दै आएका छन् । उक्त समुहका पदाधिकार र सदस्यहरु यस प्रकार छन् अध्यक्ष रामभगत महर्जन, उपाध्यक्ष दारा सिं महर्जन, सचिव नानीछोरी महर्जन, कोषाध्यक्ष कन्चन महर्जन, सल्लाहाकार रामकृष्ण महर्जन र सदस्यहरुमा हरि बहादुर महर्जन, सरु महर्जन, ज्ञानी महर्जन, कान्छा महर्जन, हिराकाजि महर्जन, साइकला महर्जन, चन्द्रमाया महर्जन र गिता महर्जन रहेका छन् ।



स्याःबजि उत्पादन

स्याःबजि बनाउनका लागि सबै भन्दा पहिला धान चाहिन्छ । धानलाइ पखालेपछि वा फयेकेगु भनी बताउने गरिन्छ ।  उसिन्ने र मिलमा लगि धान कुट्ने गरिन्छ । त्यसपछि चिउरालाई निफन्ने गरिन्छ । त्यसपछि पंचा अर्थात पांगो मातो राखी हँिडिमा भुट्ने गरिन्छ । यसरी स्याःबजि तयार हुन्छ । आज भन्दा करिव २० बर्ष अघि सम्म धानलाई परम्परागत रुपमा उगलय् लुसिं ल्हुइगु अर्थात उगःमा लुसिले कुट्ने चलन थियो भने त्यसपछि स्थानीय एक सिम्सीले आधुनक कल राखेपछि कलमा धान कुट्ने गरियो र हाल स्याःबजि गाउँमा नै धान कुट्ने मेसिन रहेको छ । स्याःबजि उत्पादन  गर्दा विशेष गरि बजारमा जाने र धान कुट्न मिलमा जाने काम पुरुषले गर्ने अन्य काम भने महिलाले गर्दै आएका छन् ।

स्याःबजि उत्पादनको खर्च

धान १ पाथीको करिव १३० रुपैंया पर्छ । एक पाथी धानलाई गाउँमा नै भएको कलमा कुट्दा ३० रुपैंया लाग्छ । भुट्नका लागि आगो बाल्नका लागि काठ दुई किलो बराबर करिव ३० रुपैंया लाग्छ भने धान उसिनका लागि करिव ५ किलो काठ बराबर करिव ७५ रुपैंया लाग्छ । एक माना पांगो माटो बराबार करिव ४ रुपैंया पर्छ । एक पाथी धानको करिव साढे एक पाथी स्याःबजि उत्पादन हुन्छ । यस अर्थमा उत्पादनका लागि करिव २०० रुपैंया खर्च हुन्छ । स्याबजिको मुल्य पनि पाथीको १३० मा नै दिने हो । यस अर्थमा एक पाथी धानको स्याःबजि उत्पादन गर्दा करिव २६० रुपैंया आउछ । उत्पादन गर्नका लागि २०० रुपैंया खर्च हुन्छ भने त्यसबाट आउने २६० रुपैंया मात्र हो ।

यसमा पनि धान कुट्न कलमा जानुपने, करिव एक मुरी स्याःबजि हँिडिमा भुट्न एक जाना पुरै एक दिन लाग्छ ।  बजारमा लानु पने । यो सबै हेर्दा स्याःबजि उत्पादन गर्दा खासै आम्दानी नभएको तर अरु काम नभएकाले मात्र आफूहरुले यो कामलाई निरन्तरता दिदै आएको रामकृष्ण महर्जन लगायतले बताएका छन् । स्याःबजि उत्पादन गर्दा धेरै मेहनत गर्नुपर्ने तर फाईदा नहुने भएकै कारणले १३ जना मध्ये अव दुई जनाले यो कामलाई छोड्ने तयारी गरिरहेको समेत स्याःबजि लाबा गाम्चा समुहका पदाधिकारीहरुले बताएका छन् ।

स्याःबजिको खपत

सबैभन्दा बढि समेबजि खपट हुने समयमा नै स्याःबजि पनि खपट हुने हो । सबै भन्दा बढि समेबजि पुन्हि अर्थात इन्द्र जात्राको समयमा नै स्याबजि खपट हुने गरिन्छ । दशैंको समय सम्म पनि स्याःबजिको खपट बढि हुने गरेको पाइन्छ । कीर्तिपुरको गाम्चामा उत्पादन हुने स्याःबजि काठमाण्डौ, ललितपुर, भक्तपुरदेखि उपत्यकाका सबैजसो वस्तीहरुमा पनि पुग्छन् । स्याःबजि बिशेष गरि काठमाण्डौको इन्द्रचोक, असन, ललितपुरको मंगलवजार र भक्तपुरमा खपट हने कुरा स्याःबजि गाउँवासी बताउछन् । स्याःबजि आफूहरुले बजारमा राखेपछि नेपालका विभिन्न जिल्लामा मात्र हैन विदेशमा समेत नेवाःहरुले लाने गरेको पनि स्याःबजि उत्पादन गर्दै आएका रामभगत महर्जनले बताएका छन् ।

पांगो माटोको समस्या

स्याःबजि उत्पादनका लागि सबै भन्दा समस्या अहिले पांगो माटो भएका कुरा स्याःबजि लाबा गाम्चा समूहका सदस्यहरुले बताएका छन् । पहिला पहिला कीर्तिपुरको दुधपोखरी क्षेत्र हाल सशस्त्र प्रहरी रहेको क्षेत्रवाट पांगो माटो ल्याउने । आज भन्दा करिव २५ बर्षअघिदेखि स्थानीयवासीले त्यहाँबाट पांगो माटो ल्याउन दिइएन । त्यसपछि कीर्तिपुरको झुल क्षेत्र हाल सिभिल होम भएको क्षेत्रवाट पांगो माटो ल्याउने गरेकोमा त्यहांबाट पनि करिव १५ बर्ष अघिदेखि ल्याउन दिएन । त्यसैले हाल आएर विभिन्न खेटमा खाल्डो खन्दै ल्याउनेहरुसंग किन्नुपर्ने बाध्यता छ । त्यो पनि अव करिव ५ बर्ष भित्र खेटमा घर निर्माण भएपछि खेटवाट पनि पांगो माटो ल्याउने अवस्था हुदैन । यदि पांगो माटो भएन भने स्याःबजि उत्पादन नै बन्द हुने समुहका पदाधिकारीले बताएका छन् ।

स्याःबजि उत्पादन बन्द हुने संकेत

विगतमा स्याःबजि गाउँवाटै गोलफकी समेत उत्पादन हुन्थ्यो । गोफर्कका लागि स्याःबजि भन्दा पनि मेहनत गर्नुपर्ने । सस्तो धान पनि नपाउने र तराईवाट गोलफकी ल्याउन थालेको साथै उपत्यकाकै बालाजु, कोटेश्वर लगायत क्षेत्रमा मेसिन समेत रहेका कारण आफुहरुले उत्पादन गने भन्दा मेसिनले उत्पादन गर्ने सस्तो हुने भएकाले स्याःबजि गाउँमा उत्पादन नै बन्द भएको पनि समुहका सदस्यहरुले बताएका छन् । अव स्याःबजि उत्पादनका लागि पांगो माटोको समस्या हुदै गएको र धानको भाउ पनि बढ्दै गएका कारण परम्परागत काय बन्द हुने अवस्थामा पुगेको समुहका सल्लाहकार रामकृष्ण महर्जनले बतएका छन् । उहाँका अनुसार यसरी नै जाने हो भने स्याःबजि गाउँवाट ५ बर्ष पनि स्याःबजि उत्पादन गर्न सकिने अवस्था हुदैन, सबैले यो काम छोडी अर्कै कामको खोजीमा जाने समेत बताउनु भएको छ । यदि स्याःबजि गाउँमा स्याःबजि उत्पादन गर्ने परम्परागत कामलाई निरन्तरता दिने हो भने स्थानीय सरकारले विशेष ध्यान दिनुपने र पांगो माटोका लागि व्यवस्थापन गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।

लेखक ः श्रीकृष्ण महर्जन
साभार विजनेस दर्शन अंक ३




No comments:

Post a Comment