Friday, September 3, 2021

कीर्तिपुरमा नेवाः पोशाक लगाउन पाइने

 कीर्तिपुरमा नेवाः पोशाक लगाउन पाइने


आदिवासी नेवाः समुदायको मौलिक पोशाक लगाउन मन छ भने कीर्तिपुर अवश्य आउनु होला । 


कीर्तिपुर नगरपालिका वडा नं. १० ले शनिबार वडाका महिला समूहहरूलाई नेवाः भेषभुषा र सिलाईसँग सम्बन्धित सामग्रीहरू हस्तान्तरण गरेको छ । 

जसमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई समेत आकर्षित गर्ने एक महत्वपूर्ण माध्यम नेवाः समुदायको मौलिक पोशाक पनि रहेका छन् । प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले वडा नं.१० मा रहेको श्रृजनशील महिला समूह र कीर्तिपुर महिला जागरण समूहलाई आयमूलक हुने सामग्रीहरू हस्तान्तरण गर्नु भएको हो । 

हस्तान्तरित सामग्रीमा श्रृजनशील महिला समूहलाई नेवाः पोशाकहरू रहेका छन् । पुरुषले लगाउने नेवाः पोशाक (तःपाःलं सेट) त्यसैगरी महिलाले लगाउने नेवाः पोशाक (हाकु पतासी, जांगा सुरुवा र गरगहना सेट) रहेका छन् । ती नेवाः पोशाकहरू स्थानीय चिलंच्व बाहाः घुम्न आउने आन्तरीक तथा बाह्य पर्यटकहरूले मन पराएर फोटो खिचाउने र त्यसबापत केही शुल्क लिने जसले गर्दा महिला समूहले आय आर्जन समेत गर्न सकिने र पर्यटकहरू पनि खुशी हुने अपेक्षा गरिएको छ । 

पोशाक हस्तान्तरण गर्नुहुँदै प्रमुख अतिथि नगर प्रमुख महर्जनले कीर्तिपुर नगरपालिकाले नगरलाई सांस्कृितक संरक्षित क्षेत्र समेत घोषणा गरेर ऐन समेत बनाइसकेको अवस्थामा नेवाःको पहिचान झल्कने नेवाः शैलीका घरहरू बनाइनु आवश्यक रहेको बताउनु भयो । यो कार्य अब यस वडा नं. १० चिलंच्वबाट नै शभुारम्भ गर्न सकिने भएकोले यहाँका महिला समूहहरू क्रियाशील हुन अनुरोध गर्नुभयो । 

नगर प्रमुख महर्जनले यस्ता नेवाः शैलीका घरहरू मात्र हेर्न पनि थुप्रै पर्यटकहरू पहिले पनि आएका थिए र अब पनि आउने भएकोले स्वतः रुपमा स्थानीयको आय आर्जन हुने बताउनु भयो । नेवाः शैलीका घर बनाउँदा नगरपालिकाले अनुदानसमेत दिने व्यवस्था गरेको बताउनुहुँदै नगर प्रमुख महर्जनले यसै महिनामा पहिलो चरणमा कीर्तिपुरमा नेवाः शैलीका घर बनाएकाहरूलाई अवस्था हेरेर ४÷५ लाख अनुदान दिने समेत बताउनुभयो । 





 त्यसैगरी कीर्तिपुर महिला जागरण समूहलाई पिको गर्ने, लक गर्ने र सिउने मेशिनका साथै सानिटरी प्याड बनाउने मेशिन हस्तान्तरण गरेको हो । यसले महिला समूहहरूले आय आर्जन गर्ने कुरामा विश्वास व्यक्त गरेका छन् । 




कीर्तिपुर नगरपालिका वडान.ं १० द्वारा आयोजित कार्यक्रममा सभापति वडा अध्यक्ष अमन महर्जनले स्वागत गर्नु भएको थियो भने नगर उप–प्रमुुख सरस्वती खड्का, वडा नं. १ का अध्यक्ष हर्ष महर्जन र वडा नं २ का अध्यक्ष रमेशमान डंगोलले पनि आ–आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रम वडा नं. १० का सदस्य तथा कार्यपालिका सदस्य संगीता उप्रेती श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।


No comments:

Post a Comment