Tuesday, August 24, 2021

शिक्षक सेवा आयोगमा नियुक्त भएकी नन्द कुमारी महर्जन (नानी मिस)लाई चिनौं

 शिक्षक सेवा आयोगमा नियुक्त भएकी नन्द कुमारी महर्जन (नानी मिस)लाई चिनौं




प्रस्तोता— नजरराम महर्जन

नन्द कुमारी महर्जन उहाँको वास्तविक नाम भए पनि मानिसहरुले मायाले या सम्मानपूर्वक “नानी मिस” भनेर बोलाउने गरिन्छ । काठमाडौंको दक्षिण पश्चिम क्षेत्र कीर्तिपुरमा सबैले चिनेका समाजसेवी, शिक्षाविद, मानव अधिकारवादी नन्द कुमारी महर्जन नेपाल सरकार, शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त हुनुभएको छ । हुन त उहाँको सिफारिस त नौ महिना पहिले नै भइसकेको थियो । मन्त्रि मण्डलले निर्णय नगर्दा त्यतिकै थाँती रहेका थिए । शेरबहादुर देउवाको मन्त्रिपरिषदले निर्णय गरेर नेपाल सरकार, शिक्षक सेवा आयोगलाई पूर्णता दिएका थिए ।

उहाँ संस्थापक क्याम्पस प्रमुख रहेको जनाधार सामुदायिक क्याम्पस, उहाँ प्रधानाध्यापक भई निवृत्त भरण हुनु भएको जनसेवा मा.वि.ले उहाँलाई बधाई दिनुका साथै अभिनन्दन गरिएको थियो ।



साउन २३ गते शनिवार जनसेवा स्कुलको सभाहलमा व्यवस्थापन समितिका अध्यक्ष माधव लाल महर्जनको सभापतित्वमा भएको उक्त अभिनन्दन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवराज महर्जनले स्वागत मन्तव्यका साथै नन्द कुमारी महर्जनको जीवनी बारे संक्षिप्त विवरण दिनु भएको थियो । 

उक्त कार्यक्रममा की.न.पा.का मेयर र उपमेयरलाई बोलाइएको भए तापनि उहाँहरु उपस्थित हुनु भएन । विशेष अतिथि बागमती प्रदेश सभासद पुकार महर्जनले नानी मिसलाई दोसल्ला ओढाई सम्मान गर्नुभयो । आफ्नो मन्तव्य राख्ने क्रममा प्रदेश सभासद पुकार महर्जनले नेपाल सरकारले नानी मिसको योग्यता र इमान्दारिताको मूल्यांकन गरी शिक्षक सेवा आयोगको सदस्य पदमा नौ महिनादेखि थाती रहेको नियुक्ति गरेर अहिले सम्मान गरिएको बताउनु भयो । यो ठूलो जिम्मेवारी बहन गर्न नानी मिस सक्षम हुनेमा आपूm ढुक्क भएको बताउँदै कार्यकाल सफलताको शुभकामना दिनु भयो । 



त्यस्तै जनसेवामा पढेर गएका विद्यार्थी हाल एमबिबिएस डाक्टर पास गरी पाटन अस्पतालमा कार्यरत डा.उमाकान्त तिवारीले नानी मिसको विद्यार्थी भएर पढ्दाको क्षण सम्झँदै नानी मिसको व्यवहारको कारण अहिले उहाँको दुईजना बहिनी र एक जना भाई पनि सफल भएको बताउनु भयो । 

नन्दकुमारी (नानीमिस)लाई जनसेवा मा.वि., जनाधार सामुदायिक क्याम्पस, कर्मचारी विकास कोष, विद्यार्थी समूहहरुले पनि बधाई तथा अभिनन्दन गरिएका थिए ।

सभापतिको आशनबाट माधव लाल महर्जनले नानी मिससँग विद्यालयमा काम गरेको अनुभव सुनाउँदै नानी मिसलाई काम बाहेक खाने, पिउने केहीको मतलब राख्दैन, कसरी स्कुललाई अगाडि बढाउन सकिन्छ भन्ने मात्र ध्याउन्न राख्नु हुने बताउने भयो । आज जनसेवा मा.वि.को यत्रो भौतिक, शैक्षिक विकासमा नानी मिसको ठूलो हात रहेको बताउनु हुँदै शिक्षक सेवा आयोगमा पनि राम्ररी काम गरेर कीर्तिपुरको इज्जत राख्न सकोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

त्यसपछि अहिलेसम्म पनि हरेक शनिवार दिनको ३ वटासम्म संघ संस्थाले उहाँलाई सम्मान गरिरहेका छन । यस्तो सम्मान पाउनु हुने नन्द कुमारी महर्जनलाई चिनौं ।

नानी मिसको संक्षिप्त जीवनी यस प्रकार छ ।

२०१९ साल पुस १३ गते बुबा अकल दास र आमा ज्ञानी माया महर्जनको कोखबाट ४ जना छोराहरु पछि सबभन्दा कान्छी छोरीको रुपमा जन्मनु भएको थियो । उहाँले पाँगाको जनसेवा स्कुलबाट २०३५ सालमा एसएलसी पास गर्नुभयो । २०३८ सालमा त्रि–चन्द्र कलेजबाट आई एस्सी, २०४२ सालमा त्रि–चन्द्र कलेजबाटै बी.एस्सी, २०५१ सालमा त्रिभुवन विश्वविद्यालयबाट बी.एड, २०४७ सालमा त्रि.वि.वि.बाट एम एस्सी र पछि एम फिल गर्नु भएको छ ।



२०३८ फागुण ८ गते प्राइमरी लेबलको विज्ञान शिक्षकको रुपमा जनसेवा स्कुलमा प्रवेश गर्नु भएको थियो ।  २०३८ साल चैत १ गते नि.मा.वि.को विज्ञान विषयको शिक्षकमा नियुक्ति हुनुभयो । उहाँ २०४३ साल मंसिर १ गते मात्र नि.मा.वि.को विज्ञान शिक्षकमा स्थायी हुनुभयो । २०४५ साल बैशाख २० गते मा.वि.को अस्थाई शिक्षकमा नियुक्ति हुनुभयो । २०४७ बैशाख २२ गते वि.व्य.समितिले उहाँलाई सह प्रधानाध्यापकमा नियुक्ती गरियो । २०४८ साल असार ३० गते मा.वि.शिक्षकमा स्थायी हुनुभयो । २०४९ असार १५ गते सह प्रधानाध्यापक हुनुभयो । २०६२ असोज १६ गते माध्यमिक स्तर दोश्रो श्रेणीमा प्रमोशन हुनुभयो । २०६२ मंसिर २० गते का.मु.प्रधानाध्यापक, २०६३ भाद्र १९ गतेदेखि १० प्लस २ को कोअर्डिनेटर र २०६६ असार २५ गतेदेखि प्रधानाध्यापक भै काम गर्नुभएको थियो ।

उहाँलाई २०६१ कार्तिक २० गते नेपाल सरकारले गोरखा दक्षिण बाहु चौथोले सम्मान गरिएको थियो ।

उहाँ केवल शिक्षकमा मात्र सिमित रहनु भएन । पाँगामा महिलाहरुलाई सचेतना फैलाई महिला समूहहरु गठन गर्नुमा पनि उहाँको ठूलो योगदान रहेको छ । लूनिभाः मिसा पुचः लगायत धेरै महिला समूहहरुमा उहाँ सल्लाहकारको रुपमा रहनु भएको छ ।

माओवादी जनयुद्धको समयमा नेपाल मानव अधिकार संगठन कीर्तिपुर शाखाको अध्यक्ष हुँदा निर्भिकसाथ काम गर्नु भै थुप्रै कीर्तिपुरवासीलाई सेनाको चंगुलबाट बचाउनु भएको थियो । १९ दिन जनआन्दोलनको बेला उहाँले निभाउनु भएको भूमिकाको लागि नेपाल मानव अधिकार संगठनले पुरस्कृत गरिएको थियो । उहाँलाई ज्यापु संस्कृति विकास कोषले ज्यापु सरस्वती पदकबाट पनि सम्मान गरिसकिएको छ । 

जनसेवा मा.वि.मा उच्च शिक्षा अर्थात् प्लस टु कक्षा राख्न सार्वजनिक सुनवाई गर्दा कतिपयले यस्तो पाँगाजस्तो गाउँको दक्षिण कुनामा रहेको स्कुलमा प्लस टु पढ्न को आउँछ भनेका थिए । तर नानी मिसले हरेस हार्नु भएन । उहाँको मिहेनतले प्लस टु शानदार चल्यो । त्यति मात्र होइन, उहाँकै पालामा इलेक्ट्रिकल इन्जिनियरिंगको कक्षा समेत थप्न सफल भयो । प्लस टुको शानदार कक्षा संचालन पछि पाँगाका शिक्षाप्रेमी,बुद्धिजिविहरुको सहयोगमा जनसेवा मा.वि. भवनमै जनाधार सामुदायिक क्याम्पस स्थापना भयो । उहाँ उक्त क्याम्पसको संस्थापक प्राचार्य हुनुभयो । उहाँले स्कुलदेखि क्याम्पससम्मका सबै विद्यार्थीहरुलाई चिन्नु हुन्छ । कुनै दिन कोही विद्यार्थी कलेज आएन भने फोनबाट कारण सोध्नुहुन्छ । कोही विरामी भएको छ भने उहाँ घरमै गएर सहयोग गर्नु हुन्छ ।

जनसेवामा नेपालको ७७ जिल्ला मध्ये ७४ जिल्लाका विद्यार्थीहरु पढने गर्छन । विद्यालयको प्रचार विद्यालयमा पढेर गएका विद्यार्थीहरुले प्रचार गर्ने गर्छन । गाउँबाट आउँदा नै जनसेवा मा.वि.को ठेगाना लिएर आउँछन ।

२०७२ सालको महाभूकम्पको बेला उहाँले पिडितहरुको सहयोगको लागि सर्वप्रथम आफैले चन्दा दिएर संकलन गर्नुभयो । युवा स्वयंसेवकहरुको सहयोगमा पिडितहरुलाई राहत दिन सफल हुनुभयो । उहाँ देशमा आउने हरेक आपत विपतमा सहयोग गर्न अगाडि आउनु हुन्छ । नेपालमा कोभिड–१९ को महामारी हुँदा उहाँ लायन्स क्लब अफ काठमाडौं किपूका अध्यक्ष हुनुहुन्थ्यो । उहाँको अध्यक्षतामा “तपाईंको मास्क खोई ?” अभियान चलाउँदा कीर्तिपुर नगरपालिकाभरका महिला समुह, विभिन्न सामाजिक संघ संस्थाहरुले सहयोग गरी अत्यधिक सफलता प्राप्त गर्नु भएको थियो । त्यस्तै पिईपि भन्ने संस्थाको उहाँ अध्यक्ष हुनुहुन्छ । त्यस संस्थामा आवद्ध ७५ जना बालबालिका वाहेक पनि अन्य आवश्यक परेका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरु गरी १२५ जनालाई खाद्यान्न सहयोग गरिरहनु भएको छ ।

सामाजिक सेवाको पर्याय नै नन्दकुमारी महर्जन बनीसकेका छन । कीर्तिपुर सामुदायिक सेवा केन्द्रका उहाँ सचिव हुनुहुन्छ । सचिवको नाताले हरेक समय, हरेक कुरामा जनतालाई सुसुचित गराउन उहाँ लाग्नु हुन्छ । यस्तै अगाडि बढेर सेवा गर्दा उहाँ आफै पनि कोभिड–१९ पोजिटिभमा पर्नु भएको थियो । उहाँ १६ दिनपछि मुक्त हुनुभयो ।


No comments:

Post a Comment