Thursday, July 29, 2021

ब्यक्ति/ब्यक्तित्व ः ‘कान्छा मगर गन्धर्व’

ब्यक्ति/ब्यक्तित्व ः ‘कान्छा मगर गन्धर्व’


देश चिनाउन ठूलो मान्छे बन्नुपर्दैन, 

देश चिनाउने नै ठूलो मान्छे बन्छ.......!

                                            विरेन्द्र शाक्य

    सामाजिक सञ्जालमा भेटिएको प्रस्तुत तस्विरले मेरो अन्तरमनलाई भित्रैसम्म स्पर्श ग¥यो । साथै करिब चार दशकअघिको मेरो बाल मस्तिष्कमा संग्रहित पुराना स्मरणहरु ताजा बन्न पुग्यो । प्रस्तुत तस्विरका पात्रको तत्कालिन कीर्तिपुरको समाजमा चलन चल्तिको नाम ‘कान्छा मगर गन्धर्व’ हो । तीन दशकको मेरो लेखन यात्रामा आजसम्म विषय प्रसंगले पात्र चयन हुन नसकेका यी बाजेका स्मरणमा केहि शब्दहरु खर्चिन विवश तुल्याएको छ आज मलाई । यस अर्थमा सामाजिक सञ्जाल र सञ्जालमा यो तस्विर पोष्ट गर्ने पात्रलाई पनि सलाम ।

     बायाँ हातमा सारंगी बाजा बोकी कीर्तिपुरको टोल–टोल चहार्दै हिंड्ने यी गन्धर्व बाजेका थुप्रै स्मरणहरु आज मेरो मन मस्तिष्कमा ताजा भएका छन् । ०३० को दशकमा हालको चिलंचो विहारका पाटीहरुमा संचालित तत्कालिन मंगल प्राथमिक विद्यालयमा प्राथमिक तहको शिक्षा हासिल गर्दाका ताका चिलंचो विहारमा हरेक दिन झुल्कने यी कान्छा गन्धर्व बाजे आज झल्झली सम्झिरहेको छु म । सादा भेषभुषामा हातमा उहि सारंगी । कीर्तिपुरमा विदेशी पर्यटकहरु उल्लेख्य संख्यामा घुम्न आउने ती दिनहरु । पर्यटकहरुसंग सारंगीको ¥याईं ¥याईं आवाजका साथ गफिंदै हिंडेका देख्थ्यौं । पर्यटकका झुण्डलाई कान्छा बाजेको सारंगीको सुमधुर धुनले मन्त्रमुग्ध बनाएका दृश्य आज पनि आँखा वरिपरि झुम्मिन आउँछन् । खासगरि मंगलवार र शनिवार कान्छा बाजेको दिनचर्या कीर्तिपुरमै बित्ने गर्दथ्यो, अरु दिन उपत्यकाका विभिन्न अरु पर्यटकीय स्थलहरुमा पनि भेटिन्थे उनी । कीर्तिपुरको समाजमा बालक(बच्चाहरुदेखि महिला, बृद्धबृद्धाहरुसमेत माया र स्नेहले बोल्थे उनीसंग ।

          हालको कीर्तिपुर नपा ९ वडा ढोकासी टोलमाथि स्थानीयको चलन चल्ति भाषामा दोक (द्वंको?) टोलमा गन्धर्व समुदायका केहि परिवारको बसोबास थियो, त्यत्तिबेला । नेपालको मौलिक लोकबाजा सारंगी नै जीविकाको मुख्य साधन थियो । कान्छा मगर गन्धर्व बाजेसंगसंगैका समकालिन केहि पात्रहरुका अनुहार पनि झल्झली याद छ, तर नाम भने भुलेको छु । जीविकाको मुख्य स्रोत कीर्तिपुरकै पेरिफेरिको समाज थियो । खेती, किसानी नै कीर्तिपुरेको मुख्य पेसा भएका बेला अल्पसंख्यक गन्धर्व र देउला जातजातीको अवस्था आर्थिक, सामाजिकरुपमा पनि अत्यन्त दयनीय थियो । विकासमा पछि परेको तत्कालिन कीर्तिपुरको जनजीवन दयनीय भएपनि राष्टिूय, अन्तर्राष्टिूयरुपमा चर्चित ईतिहासका कारण विदेशी पर्यटकहरुको रोजाईमा पर्ने गरेका कारण विशेषगरि साताका मंगलवार र शनिवार कीर्तिपुर डाँडाको बस्तिका टोलहरु विदेशी पर्यटकहरुले भरिभराऊ हुन्थे । त्यसरी आउने पर्यटकहरुले साथमा केहि न केहि कोसेलीका रुपमा बोकेर आउँथे र स्थानीय बालबच्चा र बृद्धबृद्धाहरुलाई बाँड्थे । केहि नबोकेकाहरु धेरैले पैसा नै बाँड्ने गर्दथे । 

यसरी नै कीर्तिपुरको समाजमा आफ्नो परिवारको जहाज डोहो¥याएका कान्छा मगर गन्धर्वले गरिबी अवस्थामा पनि कत्ति पनि हिम्मत हारेनन् । जसोतसो परिवारको पालनपोषणमा उनको दैनिकी बित्ने गर्दथ्यो । पाटनको मंगलबजार, भक्तपुर, स्वयम्भु, पशुपतिनाथ जस्ता प्रख्यात पर्यटकीय धार्मिकस्थलहरु चहार्दै बिताए उनले आफ्नो अधबैंसे जीवन । कीर्तिपुरको समाजमात्र होइन, सिंगो उपत्यकामै परिचित अनुहार हुन्, कान्छा मगर गन्धर्व बाजे । ०३० कै दशकमा नेपालमा छायांकन गरिएको हिन्दी चलचित्र ‘हरेरामा रहेकृष्णा’मा पनि आफ्नो सारंगी बाजासहित झुल्किएका छन् । कान्छा मगर गन्धर्व आज भौतिकरुपमा हामीमाझ छैन, तर उनको पुस्ता र सारंगीको आवाज भने जीवन्त नै छ । उनका जेठो छोरा रामशरण नेपाली आफ्नो आवाज र सारंगीले नै नेपाली लोकसंगीतमा छोटो समयमै ख्याती कमाउन सफल भए । नेवार समुदायमा हुर्के, बढेका उनले ‘ह्यांगु सिन्ह, ह्यांगु कोखा’ गीतबाट आज पनि उनी नेपालभाषाको गीत, संगीत क्षेत्रमा अजर अम्बर छन् । त्यस्तै माहिलो छोरा हरिशरण नेपालीले पनि सारंगीको धुनलाई नै आफ्नो परिचय बनाएका छन् । चारवटा मसीना तारहरुमा गुञ्जिने सारंगी बाजालाई उनले १६ वटा तारहरुमा विस्तार गरी नयाँ प्रयोग गर्दै पुर्खापिताको बिंडो थाम्न सफल भएका छन् । साहिंलो छोरा शिवशरण नेपाली संगीत क्षेत्रमा नभएपनि हस्तकलाका कयूरियो सामान उत्पादन, बिक्रिको आफ्नो पुख्र्यौली पेसा अंगाल्दै जीविका चलाउँदै आएका छन् भने कान्छो छोरा भीमशरण नेपाली तबला वादककको रुपमा संगीत क्षेत्रमै जमेका छन् । छोरी शान्ति नेपाली पनि आफ्नो सुमधुर आवाजमार्फत् गीत, संगीत क्षेत्रमा उपस्थिति जमाउन सफल छिन् भने रामशरण नेपालीका छोरा श्याम नेपाली आज आफ्नो अथक मिहेनतले नेपालको मौलिक बाजा सारंगीलाई विश्व संगीतमा जगत्मा चिनाउन सफल त भएकै छन्, अमेरिकाको प्रख्यात विश्वविद्यालयमा सारंगी बाजाको प्रशिक्षण र प्राध्यापन पनि गराउँदैछन् । भीभाशरण नेपालीका छोरा विश्व नेपाली नेपाली संगीत क्षेत्रमा जमिसकेका छन् । स्व. कान्छा मगर गन्धर्वका चार पुस्तासम्म आज आ–आफ्नो कला क्षमताले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा नेपाली र नेपालीको परिचय र पहिचान राख्न प्रयासरत छन् । कीर्तिपुरको समाजमा जन्मे, हुर्केका एक गन्धर्व परिवार आज देश चिनाउन सफल हुुदैछ । निश्चय पनि यो समस्त कीर्तिपुरबासीको गर्वको कुरा हो । तसर्थ, देश चिनाउन ठूलो मान्छे बन्नुपर्दैन, देश चिनाउने मान्छे नै ठूलो बन्छ । हरिशरण नेपालीका छोरा किरण नेपाली र श्याम नेपालीका छोरा प्रिन्स नेपाली पनि संगीत आकासमा आशालाग्दो ढंगले जम्दैछन् । स्व. कान्छा मगर गन्धर्वप्रति हार्दिक नमन !  


No comments:

Post a Comment