Friday, July 2, 2021

गुंजिरहेको आवाज कीर्तिपुरका नेवारहरुको वास्तविक कथा समेटिएको उपन्यास

   गुंजिरहेको आवाज कीर्तिपुरका नेवारहरुको वास्तविक कथा समेटिएको उपन्यास 




नजरराम महर्जन


कीर्तिपुरका नेवारहरुको वास्तविक कथा समेटिएको उपन्यास 

(उपन्यासको यस खण्डमा आपूm जन्मेको ठाउँ छाडेर कीर्तिपुरकै पाँगाबाट कीर्तिपुरमा बसोबास गर्न आउँदा सामाजिक जीवन कस्तो हुन्छ भन्ने देखाउन खोजेको छ । ) 

मंसिर महिनाको विहान । सधैँझै विहान सवेरै उठेर भाइकाजी जर्सिंगाः ढुङ्गेधारामा मुख धुन गयो । जाडो महिना भएर होला त्यहाँ पानी थाप्न आउनेहरूको भीड थिएन । मुख धुन आउने एक दुई जनामात्र थिए । ढुङ्गेधाराको एउटा खुड्किला छोप्ने गरी पानी जमिरहेको छ । पानी थाप्न पाईला राख्ने ठाउँ छैन । खुड्किलामा बसेर ढुङ्गेधारा समातेर मुख धोयो । त्यहाँ नजिक पीपल र बर्माको रूख छ । ढुङ्गेधारामा मुख धोएर ती रूखहरूमा पानी दिने चलन छ । पानी चढाउन अंजुलीमा पानी थाप्न मिलेन । पीपलको रूखमा पानी नचढाईकन ऊ घरमा आयो । घरबाट बाँसको टुक्रा र साबेल लिएर फेरि जर्सिंगालमा गयो । त्यहाँ जम्मा भएका फोहर साबेलले उठाएर बाटो छेउमा राख्यो । तैपनि पानीको नाली खुलेन । बाँसको टुक्रा नालीको प्वालमा घुसारेर चलायो । एकैचोटि पानी ह्वारारा निकास भयो । पानी सुक्यो । अनि त्यहाँ जम्मा भएका फोहर साबेलले उठाएर माथि किनारा राख्यो ।



(यो उपन्यास लेखेको बेला अर्थात जनप्रतिनिधि आउनु अघि बेबारिसे अवस्थामा रहेको जर्सिंगाः नामको ढुङ्गेधारा । पानी थाप्न आउने कोठा भाडा लिएर बस्नेहरु हुन । फोहर गर्ने पनि उनीहरु नै हुन । तर सफा गर्ने जिम्मा चाहिं भाइकाजीजस्ता स्थानीय व्यक्तिहरुको ।)  

कीर्तिपुर नयाँबजारस्थित यो ढुङ्गेधारा पहिले ठूलै ध्वारारा पानी आउँथ्यो । अहिले पानी सुकेर त्वारर मात्र भएको छ । कीर्तिपुर डाँडाको भिरालो जमिनमा पहिले एउटा पनि घर थिएन । रूख, झारपातले भरिएका थिए । अहिले घरै घर भइसक्यो । मुहान सुकेपछि पानी सुक्ने त स्वाभाविक नै भयो । त्यति पानीले पनि त्यहाँ टोलका मानिसहरूले धेरै सहयोग पाईरहेका छन । मानिसहरूलाई नुहाउन, लुगा धुने काम आइरहेको छ । यो धारामा पानी नआएको भए यो ढुङ्गेधारा पनि पुरीसक्यो होला । यहाँ पानी थाप्ने, नुहाउनेमा डेरामा बस्नेहरु नब्बे प्रतिशत छन । यस ढुङ्गेधारामा फोहर गर्नेहरु पनि उनीहरु नै हुन । उनीहरूलाई यहाँ फोहर होस् या सफा होस कुनै मतलव छैन । 

पहिले पुर्खाहरूले कति दुःख गरेर बनाईराखेका ढुङ्गेधारा, पोखरी, इनारहरू धमाधम मासिंदै छन् । निखासी पोखरी मासेर कलेज बनायो । एउटा गःसी पोखरीमा स्वास्थ्य केन्द्र बनायो । अरु कति पोखरी पुरी सकेका छन लेखाजोखा गर्न बाँकी छ । जर्सिंगाको नजिक कीर्तिपुरका तःननि टोलका मानिसहरूले दश दिनको काजक्रिया गर्दा कपाल काटेर नुहाएर बर्खि लुगा लगाउने चाकः पोखरी मासेर कीर्तिपुर नगरपालिका भवन बनाई सकेको छ । यस्तै मनमा कुरा खेलाउँदै ऊ घर आयो । बाँस र सावेल घरमा राखेर ऊ शिवालय घुम्न गयो । 

आजकल शिवालय विहान घुम्ने राम्रो ठाउँ भइसकेको छ । देउता घुम्ने भनूं कि विहान घुम्ने भनूं, जे भने पनि हुन्छ । शिवालय घुमेर आएका युवा युवतीहरू बाटोमा थुप्रै भेटिए । ऊ जस्तो बुढा बुढीहरू भने एक दुई जनामात्र फर्किरहेका छन् । आज थिंलाथ्व सप्तमी सातगाउँले बखुमदः जात्रा । आज पांगालीहरूको छ्वय्लाभू, नगाउँलेहरूको मूयाः । आज एक जना पनि पाँगालीहरू घुम्न आएको भेटिएन । छ्वय्लाभू भएर घुम्न नआएको होला ।

“आज पांगालीहरूको जात्राको छ्वय्लाभू भएर कोही पनि भेटिएन । तिमीले छ्वय्लाभू मान्ने होइन ?” कीर्तिपुरका अस्टले सोध्यो ।

उसलाई के भनूं, के भनूं भएर “अँ” मात्र भनेर फत्ताफत्त अगाडि बढ्यो । पहिले त यति बेला द्याम्म हुस्सु लाग्थ्यो । बाटाको किनाराको घाँस माथि सेतो कपडा सुकाई राखेको जस्तो बरफले ढाकेको हुन्थ्यो । खेतको नालीमा अलिकति पानी जमेको ठाउँमा बरफ जमेको हुन्थ्यो । खोई ? आजकल त बरफ देख्नै नपाउने भइसक्यो । वातावरण पनि त्यति चिसो हुन छाडिसक्यो । पहिले हरियो वन र खेत भएको ठाउँमा अहिले सिमेन्ट र कंक्रितको घर, पीच बाटोले भरीसक्यो । वातावरण नै तातीसक्यो, अनि कहाँबाट जाडो हुन्छ ? ऊ बेलाको कुरा अब त स्मृतिमा रहने भयो ।

भाइकाजी शिवालय घुमेर घरमा आयो । त्यति घुमेर आउँदा उसलाई थकाई लागेकोजस्तो भयो । कोठामा बसेर एकछिन आराम ग¥यो । अब पहिलेजस्तो हिंड्न नसक्ने भयो । पहिले अहिलेजस्तो बस थिएन । मोटरसाईकल पनि थिएन । कोही कोहीको मात्र साइकल हुन्थ्यो । होइन भने मानिसहरू काठमाडौं, ललितपुर, भक्तपुर जहाँ जान परे पनि पैदलै हिंड्थ्यो । बाटोमा पैदल यात्रीहरूको घुईंचो हुन्थ्यो । कति रमाईलो हुन्थ्यो । अब त एक पाईला हिंड्न नपर्ने गरी बस छ । मोटरसाईकल, कार भनेजस्तो सवारी साधन छन् । अहिले त पुरुष हो कि महिला हो सबै मोटरसाइकल चढ्ने भइसक्यो । आजकल मानिसहरू कति शौखिन भइसक्यो कीर्तिपुरबाट नगाउँ, पाँगासम्म जान पनि मोटरसाइकल कुदाएर हिंड्छन् ।

एकछिन पछि उसको श्रीमती गंगा उसिनेको अण्डा, पाउरोटी र चिया लिएर कोठामा आइन् । दुवैजना लोग्ने स्वास्नी चिया पिउँदै कुरा गर्न थाले ।

“आज पाँगालीहरूको छ्वय्लाभू हामीले पनि मनाउने होइन ?” चिया पिउँदै उसले स्वास्नीसँग सोध्यो ।

“खोई, पाँगालीहरूको छ्वय्लाभू आज मानूं कि कीर्तिपुरेहरूको छ्वय्लाभू भोली मानूं ?”

“किन आज मानूं कि भोली मानूं भनिरहेकी ? हामी पाँगाली हौं, आज पाँगालीहरूको छ्वय्लाभू । अघि घुम्न जाँदा अस्तदाइले आज तिमीहरूको छ्वय्लाभू होइन भनेर सोधेको थियो ।”

“हामी पाँगाली भनूं कि कीर्तिपुरे भनूं ? जन्म भयो पाँगामा, बस्न आएँ कीर्तिपुरमा । पाँगाको जात्रा मानूं कि कीर्तिपुरको जात्रा मानूं ? हामीलाई कस्तो अप्ठ्यारो ?”

“हामी कीर्तिपुरमा बसेको भए पनि हाम्रो खेतवारी, गुथि सबै पाँगामा छन । आधा उमेर त पाँगामा बिताएर आएकै हो । हामी यहाँ बस्न आएको कति वर्ष भइसक्यो । तैपनि हामीलाई पाँगामि नै भन्ने गर्छ । कीर्तिपुरमा बस्न आए पनि हामीलाई कीर्तिपुरे भन्दैनन् । त्यसैले हामीले हामी पाँगाली नभनेर के गर्ने ? हाम्रो पहिचान नै पाँगामि हो ।”

“यसपाली छोराका साथीहरू कीर्तिपुर जात्रा हेर्न आउने रे । त्यसैले आज तःखा नपकाउने । आजदेखि तःखाः बनायो भने कीर्तिपुरे जात्रा आउँदा धेरै दिनको बासी हुन्छ । त्यसैले भोलिमात्र तःखा बनाउने विचार गरेको छु । हुन्न ?” स्वास्नी चाहिंले आफ्नो विचार राखिन्, “के गरूँ ! अब कीर्तिपुरमा बसेपछि कीर्तिपुरको चाड पनि मनाउनै प¥यो ।”

“हुन्छ, उसोभए हामीले दुई दिन नै जात्रा मनाउनु पर्ने भयो । मेरा साथीहरू पाँगा जात्रा हेर्न आउने भनेका छन ।”

“हरे ! यसपाली एकचोटि पाँगाको जात्रा राम्ररी हेरूँला भन्ने विचार गरेको थिएँ, हेर्न नपाउने भयो । बिहे गरेर आए देखिनै एकचोटि पनि पाँगाको जात्रा राम्ररी हेर्न पाएको छैन । जहिले पनि जात्राको बेला पाहुनाहरूलाई खुवाउन खाना बनाउँदै फुर्सद हुँदैन । पूजा जाँदा खतमा राखेको देवता हेरेर आउने हो । खत जात्रा कहिल्यै हेर्न पाइएन । छोरालाई बुहारी ल्याएको पनि जागिरदार प¥यो । हाम्रो जात्रा भनेर उसको अफिसमा विदा छैन । झन उसका साथीहरूसमेत जात्रा देखाउन ल्याउँछ । यसपाली पाँगा जात्रामा होइन, कीर्तिपुर जात्रामा बोलाऊ भनेको त तिम्रो साथीहरू आउने भयो ।”

“पाहुनाहरू आउनु भन्दा अगाडि खाना जोरजाम गरेर पाहुनहरूसँगै जात्रा हेर्न गए भइहाल्यो नि ।”

“पाँगामा जात्रा देखाएर पाँगामै पाहुना सत्कार गर्न पाएको भए हुन्थ्यो । तिम्रो साथीहरूलाई पनि कीर्तिपुर जात्रामा नै आउ भनूंन । पाँगा जात्रा पहिले हेरी नै सके । यसपाली एकचोटि कीर्तिपुर जात्रा हेर्न आउ भन्न मिल्दैन ?”

“हुन्छ, भनेर हेर्छु । त्यसो त जात्रा हेर्न आउने भनेर भोज खान आउने त हो नि । जात्रा भन्दा पनि तःखा मिठो, नमिठोको कुरा हुन्छ । तःखा खान जात्रा हेर्न आउने हो । तःखा नबनाउने भए पनि छ्वय्ला पोल्न भए पनि मासु ल्याउनु प¥यो ।”

“हुन्छ, फल मासु एक किलो जति ल्याउनु । अँ, भोलि तःखा बनाउन छाला भएको मासु तीन धार्नी भोलि लिन आउँला भन्नु । भए खुट्टा एउटा, राँगाको टाउको आधा पनि राख्नु भन्नु होला ।”

“किन नि त्यत्रो मासु ? पहिलेजस्तो कान्छो छोराको साथीहरू पनि आउँला भनूं भने छोरा नै नभएको बेला को आउला ?”

“विस्वको अफिसका साथीहरूले यसपाली प्रमोशन भएको भोज खुवाउने होइन भन्दा जात्रा हेर्न आउनु भोज खुवाएर पठाउँछु भनेको रे । यसपाली उसका बीस जनाजति साथीहरू आउँछ रे । अनि बुहारीका साथीहरू पनि आउँछन् ।”

उसले केही पनि बोलेन । ऊ चिया पिएर मासु लिन गयो । ऊ तल जाँदा बुहारी लीलावती भ¥याङ्गमा साबुन पानीले सफा गरीरहेकी छिन् ।

“बुबा, अलि विस्तारै आउनुस् साबुन पानीले धोएको चिप्लीएला ।” बुहारीले भन्यो ।

“तिम्रो सासुले भनेको आज छ्वय्ला भू नमनाउने, भोलि मात्र मनाउने रे । त्यसैले आज सफा नगरे पनि हुन्छ ।”

“आज अलि अलि सफा गरीराखे भोलिलाई सजिलो हुन्छ ।” लीलावतीले भनिन् ।

ऊ मासु पसलमा गयो ।

“तःखा बनाउने मासु लिन आएको हो ?” उसले केही भन्नु अगाडि नै मासु पसलेले भन्यो । 

“आज तःखा पकाउने होइन, भोलि मात्र पकाउने ।”

“पाँगालीहरूको आज तःखाः बनाउने भनेर अघि नै लाहुरे भैंसीको मासु लिएर गइसक्यो ।” पसलेले भन्यो ।

“यसपाली पाँगाको जात्रा मनाउने होइन, कीर्तिपुरको जात्रा मनाउने ।” उसले भन्यो ।

“पाँगाली भएर पाँगाको जात्रा मनाउने होइन ?” मासु लिन आइरहेका एकजनाले भन्यो ।

“खोई, पागाको जात्रा मानूं कि कीर्तिपुरमा बसेर कीर्तिपुरको जात्रा मनाउँ भइरहेको छ ।”

“आपूm जहाँ बस्ने त्यहाँको जात्रा मनाउने नि ।” मासु लिन आइरहेका अर्को व्यक्तिले भन्यो, “जात्रामा बोलाउनु पर्ने पाँगामा होला नि । पाँगा जात्राको बेला पाँगामा बोलाउन गएर जात्रा हेरेर आउने । कीर्तिपुरको जात्रामा पाँगालीहरूलाई बोलाउने । हामी त त्यस्तै गर्छौं ।”

“अँ, त्यस्तै गर्ने विचार गरेको छु । बहिनी पाँगामा छिन् । पाँगाको जात्रामा उनलाई बोलाउन जाने । कीर्तिपुरको जात्रामा उनी कीर्तिपुरमा आउनेछिन् ।” उसले मासु पसलेलाई भन्यो, “भोलि तःखा बनाउन छाला भएको मासु तीन धार्नी, खुट्टा एउटा र टाउको आधा राखी राख्नु, आजै भनेर जान्छु । अर्को ठाउँमा भन्न जान्न ।”

“के गर्ने खुट्टा लिएर । खुट्टामा के खाने छ र ?” मासु लिन आउने एक जनाले भन्यो ।

“तःखा राम्रो बनाउन खुट्टा नभै हुन्न ।”

“टाउको आधा होइन सिंगो राखीराख्छु । आधा बनाउँदा झन्झट हुन्छ ।” मासु पसलेले भन्यो ।

हुन्छ भनेर टाउको हल्लाउँदै एक किलो मासु लिएर ऊ घर आयो ।

भान्सामा मासु राख्यो । बुहारी खाना पकाउँदै छिन् । छोरा पनि भान्सामै बसेर चिया पिउँदै छ ।

“बुबा, यसपाली एकचोटि खसिको टाउको ल्याएर तःखाः पकाउनु पर्ला, हुन्न ?” उसको छोराले सोध्यो ।

“किन ?” उसले उत्सुक भएर सोध्यो ।

“यसपाली हाम्रो अफिसका क्षेत्री–बाहुन साथीहरूसंग हाकिम पनि जात्रा हेर्न आउने रे । उनीहरूले राँगा मासुको तःखाः खान्छ कि खाँदैन ।

“मन लागे खान्छ, मन नलागे खाँदैन । भोजमा तःखाः मात्र त हुँदैन नि । छ्वय्ला हुन्छ, बरु खसिको मासु झोल राखेर पकाउँला । त्यही राखी दिन्छु । खसिको मासुको तःखा हुँदैन । उनीहरूले तःखा नै खान्छ कि खाँदैन । हामी नेवारहरुको वाहेक क्षत्री–बाहुनले तःखाः नै बनाउँदैन ।” उसले भन्यो ।

छोरोचाहिं चुप भयो । बुहारीले उसलाई पनि चिया दियो । चिया लिएर ऊ आफ्नो कोठामा आयो । उसको श्रीमती गंगा घरमा छैन । कहाँ गयो होला ? पसलमा गयो होला । छोरासँग लिएर आएको पत्रिका पढ्न लाग्यो । चिया पिउँदै मनमा कुरा खेलाउन लाग्यो ।

छोराको हाकिम र साथीहरू क्षत्री–ब्राम्हण भयो भन्दैमा खसिको मासुको तःखाः बनाउनु पर्छ भन्ने के छ ? तःखाः भनेको नेवारहरूको विशेष परिकार हो । जाडो महिनामा मात्र बनाउने तःखाः । अरू बेला पकाउँदैमा तःखा जम्छ र ? तःखा बनाउन पनि त त्यति सजिलो छैन । दिनभरि पकाउनु पर्छ । कति दाउरा चाहिन्छ, नुन, तेल मिलाउन जान्नु पर्छ । बरु हाकिमलाई मात्र होइन, सबैलाई पुग्ने गरीकन खसिको मासु पकाउने विचार ग¥यो ।

पत्रिका पढ्दा पढ्दै एउटा समाचारले उसलाई आकर्षित ग¥यो । वीरगंजमा एकजना केटाले आफ्नो प्रेमिकालाई भगाएर भारतको मुजफरपुरमा आफन्तको घरमा लगेर राखेछ । एक महिनापछि केटी पक्षले उनीहरूलाई फेला पारेछ । उनीहरूलाई फकाई फुल्याई वीरगंज ल्याएछ । पछि केटीलाई घरमा थुनेर केटलाई पिटेर मारिदियो ।

यो समाचार सुनेर उसलाई आफनो बिगतको सम्झनायो । पहिलेको कुरा सम्झँदै उ मुस्कुराउन थाल्यो ।


No comments:

Post a Comment