Thursday, April 23, 2020

नखाएको विष —४

नखाएको विष —४ 
थुुनुवाको डायरी



दोश्रो दिन
२०६७/०६/२२ (८ अक्टोवर २०१०) शुक्रवार 
विहान ५ः३० बजे नम्बर खुल्यो । बाहिर गएँ । प्रहरी हिरासतबाट ल्याएको टुथपेस्ट र ब्रुस लिएर मुख धुन गएँ । प्रहरी हिरासतमा भन्दा यहाँ अलि खुकुलो महसुस भयो । पर्खाल मुनिमुनि घुम्न लागेँ । कति घुम्ने, कहाँ जाने ? मेरो मन बिचलित भयो । पसलमा गएर एउटा कापी र कलम किनेँ । मन विचलित छ । साथी पञ्चलाललाई सम्झेँ । उसलाई पत्र लेख्ने विचार गरेँ । कहाँ बसेर लेखूँ ? म पूmलवारीमा गएँ । एउटा बेञ्चमा बसेर पत्र लेखेँ ।
प्रिय मित्र पञ्चलाल,
अशेष अनुराग । कुशलै छु कुशलताको कामना गर्दछु ।
जिन्दगीमा कल्पनै नगरेको यस्तो घटना पनि हुँदोरहेछ । मानिसहरू भन्छन् खाएको विषमात्र लाग्छ तर मलाई नखाएको विषले पोल्यो । समयको परिवन्दले मलाई कहिल्यै नसोचेको ठाउँमा ल्याइपु¥यायो ।
पञ्चलालजी, अब मेरो भविष्य के हुने हो, मलाई थाहा छैन । तपाई वकिल हुनुहुन्छ । मेरो यो मुद्दाको के फैसला हुन्छ तपाईंलाई अवश्य थाहा होला । तपाईंलाई थाहा भएकै कुरा हो हिजो जिल्ला अदालतमा मेरो बयान लियो । मैले इन्कारी बयान दिएको छु । ०६७÷०६÷०१ गते हामी कीर्तिपुर यातायातको अफिसमा त्रि.वि.कर्मचारीहरूसँग मिटिंग गर्दै थियौँ । ७ः३० बजे त हामी छुट्टिएका थियौँ । त्यो दिन म पाँगामा गएकै थिईनँ । मेरो चारित्रिक साक्षीको लागि विद्यार्थीहरू अनिशा र सरिता, प्रधानाध्यापकहरू नन्दकुमारी र प्रदीप, शिक्षक दुर्गा बहादुरलाई राखेको छु । बच्चाहरूको मेडीकल रिपोर्ट पनि आइसकेको छ । रिपोर्टमा भनिएको छ — निजको स्वास्थ्य साधारण छ । —निजको कन्याजाली च्यातिएको छैन —निजको शरीरमा कतै नया“ चोटपटक लागेको देखिदैन । 
त्यसैले पञ्चलाल, थुनछेकको बहसमा धरौटीमा छुट्ने ठूलो आशा थियो । जव न्यायाधीशले फैसला सुनाउनु भयो । म छांँगाबाट खसेकोजस्तो भएँ । “पुर्पक्षको लागि थुनामा राख्ने” आदेश बमोजिम अहिले म भद्रवन्दी गृह त्रिपुरेश्वरमा छु । मेरो छोरालाई कानूनी कुरो केही पनि थाहा छैन । त्यसैले तपाईंले सहयोग गरी दिनुहोला । भ्वाइस अफ चिल्ड्रेनको डायरेक्टर कृष्ण कुमार थापालाई भेटेर मलाई किन फसाएको भनेर सोध्नुहोस् ।
पूmलबारीमा बसेर पत्र लेखिरहेको थिएँ । माईकबाट तीनचोटि मेरो नाम बोलायो । मसँगै बसिरहेका एकजनाले भन्यो, “ल तपाईंको भेटघाट आयो ढोकामा जानुहोस् ।”

म ढोकामा गएँ । नजरराम महर्जन भनेर बोलायो । छोरा निरज उठेर आयो । उसलाई भेटघाटस्थलमा राख्यो । मलाई माईक कोठामा जान भन्यो । म माईक कोठाको झ्यालमा बसेँ । झ्यालमा जाली राखेको थियो । बाहिर निरज बस्यो । कुराकानी भयो ओढ्ने ओछ्याउने ल्याउनु पर्छ भनेर सोध्यो । बिछ्यौना यहाँको साईजमा बनाउनु पर्छ । सिरक र बाल्टिन ल्याईदेउ भनेँ । एकैछिनमा हामीलाई उठायो । निरजले मासु र चिउरा ल्याएको रहेछ । गेटमा टिफिन क्यारियर चेक गरेर मलाई दियो । खानेकुरा त ल्याइदियो तर कहाँ राख्ने ? कहीँ राख्ने ठाउँ छैन । टिफिन क्यारियर लिएरै हिडेँ । यो देखेर एकजनाले भन्यो,“राख्ने ठाउँ छैन भने खाना खाने भान्सामा राख्नुहोस् । खाने बेला मगाएर खाए भैहाल्छ ।”

मैले त्यस्तै गरेँ । दिनभरि कहाँ जाऊँ, के गरूँ भएर म यताउता गरिरहेँ । एकजना मभन्दा जेठो बुढो मानिस भेटेँ । ऊ मसँग बोल्न आयो । मैले के अभियोगमा आएको भनेर परिचय मागे । मैले आफ्नो परिचय दिए“ँ । उसले पनि आफ्नो परिचय दियो । बिछ्यौना कहाँ कसरी बनाउने भनेर सोधेँ ।

“यहाँ थापा दाइ भन्ने मान्छे छ । उसलाई भनेर छिट्टो बिछ्यौना बनाउन लगाउनुहोस् । बिछ्यौना भएपछि भित्र ठाउँ पाउनु हुन्छ ।” उसैले मलाई थापा भन्ने मान्छे चिनाई दियो । बिछ्यौना र तकिया बनाउन एक हजार एकसय पचास रुपैयाँ लाग्छ भन्यो । मैले एक हजार रुपैयाँ पेश्की दिएँ । दुई दिनभित्र बनाई दिन्छु भन्यो ।

हनुमानढोका खोरमा गएदेखि चुरोट पिउन पाएको थिइन । मलाई चुरोटको तलतल लाग्यो । पसलमा गएर एउटा शिखर चुरोट मागेँ । तीन रुपैयाँमा एउटा चुरोट दियो । बाहिरको भाउमै चुरोट दियो । यहाँ जेलभित्र पनि बाहिरकै भाउमा दिँदो रहेछ । चुरोट लिएर डाँडामा गएँ र डाँडाको अग्लो पर्खालको बिच भागमा कालो रंगले पोतेर सेतो इनामेलले लेखिराखेको अक्षरमा मेरो आँखा प¥यो । ठूलठूलो अक्षरले लेखिराखेको छ ।

“तिमी त्यो व्यवहार अरूलाई कहिल्यै नगर जुन तिमीलाई अरूले गरेको मन पर्दैन ।”
यो वाक्यले मलाई धेरै प्रभाव पा¥यो । आज साँझ खाना खाएर म टी.भी. हलमा झोक्य्राएर बसिरहेको थिएँ । यदुनाथजी आउनुभयो । उहाँले भन्नुभयो, “यहाँ झोक्य्राएर बस्नुभन्दा ओम शान्ति जाऊँ । समय पनि कटिन्छ, ज्ञान पनि हुन्छ ।”

यहा“ त्यतिकै बसिरहनुभन्दा ओम शान्तिमै जान मन लाग्यो । ओम शान्तिमा गएँ । मुरली सुनेँ । त्यहाँबाट फर्केर टी.भी. हलमा गएँ । आज पनि त्यहीँ सुतें ।
तेस्रो दिन
२०६७/०६/२३ (९ अक्टोवर २०१०) शनिवार 
आज पनि विहान सबेरै उठेर मुख धोएँ । ग्राउण्डमा आधाघण्टा घुमेँ । प्रहरी खोरमा कुजिएको मेरो खुट्टा अहिले यहाँ घुमेर अलिअलि खुलिरहेको थियो । होटलमा गएर चिया पिएँ । सहयोगको लागि नन्दकुमारीलाई पत्र लेख्ने विचारले पूmलवारीमा गएँ । एउटा बेञ्चमा बसेर पत्र लेख्न थालेँ ।

प्यारी बहिनी नन्दकुमारी,
शुभाशिर्वाद । कुशलै छु कुशलताको कामना गर्दछु ।
जिन्दगीमा पहिलोपल्ट तिम्रो नाममा यो पत्र लेख्दैछु । अस्ति अदालतमा तिम्रो आँखामा टलपलाएको आँशुले मलाई धेरै चोट पु¥यायो । तर के गर्ने ? तिम्रो आँशु मैले पुछ्न सकिनँ । अहिले म यी ठूलाठूला पर्खालले घेरिएको ठाउँ जसलाई भद्रवन्दी गृह भनिन्छ जहाँ म कैदी जीवन बिताईरहेको छु ।
यो मेरो रहर होइन, बाध्यता हो । जिन्दगी एउटा पहेली हो । जिन्दगीमा कहिल्यै नसोचेको घटना पनि हुँदो रहेछ । हामी सामाजिक कार्यकर्ता हौँ । समाजसेवा गर्दा विभिन्न अवरोध आउन सक्छ । सत्यको बाटो कठिन हुन्छ । त्यो कठिनाइको सामना गर्नु नै हाम्रो बहादुरीपना हो । अहिले म यही सोचले आफ्नो स्थितिको सामना गरिरहेको छु ।

मानवीय सेवा नै ठूलो धर्म ठानी आपूmले जन्माएका मात्र आफ्नो सन्तान होइनन् यस धर्तीमा जन्म लिएका प्रत्येक बच्चालाई आफ्नो सन्तान ठानी माया गर्दै आइरहेको थिएँ । अर्काको बच्चालाई आफ्नो ठानी माया गरेको फल आज म भोग्दै छु । आज मैले सजायँ पाएँ भने हाम्रा साथी–सङ्गीहरू, आफन्तहरू कसैले पनि अर्काको बच्चालाई आफ्नो ठानी माया गर्ने छैनन् । यस धर्तीमा दया, माया र स्नेहको परिभाषा फेरिने छन् ।

बहिनी, अदालतमा मेरो चरित्रको साक्षीको रूपमा सरिता, अनिशा, नन्दकुमारी, दुर्गाबहादुर र प्रदीपलाई राखेको छु । सायद तपाईंहरू अदालतमा उपस्थित हुनु पर्नेछ । यो कुरा सबैलाई जानकारी दिनु । अदालतमा के वयान गर्ने हो मैले सिकाईरहनु पर्दैन होला । तपाईहरू आफै विद्वान हुनु हुन्छ ।

मैले बच्चाहरूलाई घरबाट निकाल्ने भनेपछि संरक्षणको लागि गएका उनीहरूलाई “भ्वाइस अफ चिल्ड्रेन”ले उक्साएर ममाथि यस्तो जघन्य आरोप लगायो । अहिले ती तीनजना केटीहरू अन्तरदृष्टि नेपाल भन्ने कुलेश्वरको संस्थाले संरक्षण गरिराखेको छ रे । मेरो केस नसकिएसम्म उनीहरूलाई त्यहाँबाट बाहिर पठाउँदैन होला । यसो हुँदा उनीहरूको पढाई बिग्रियो । मेरो ६ वर्षको लगानी खेर गयो । ती तीनजना केटी र “भ्वाइस अफ चिल्ड्रेन”ले गर्दा अरू ७० जना वालवालिकाको भविष्य अन्धकार हुने भएको छ । यदि मैले सजायँ पाएँ भने हाम्रा सहयोगीहरू कसैले पनि सहयोग गर्ने छैनन् । 

बहिनी, भोलि अदालतले के फैसला गर्ला त्यो आफ्नो ठाउँमा छँदैछ । विना प्रमाणको आरोप लगाएको हो । त्यसैले मैले सफाइ पाउँछु भन्नेमा विश्वस्त छु । नेपालको कानूनले महिला तथा बालबालिकालाई यति अधिकार दिएको छ कि हो होइन नै नसोची सजायँ दिन पनि सक्छ । जे भए पनि धन्दा नमान । सत्यको विजय अवश्य हुनेछ ।
तिम्रो दाजु
                 नजरराम महर्जन

मैले यो पत्र छोरालाई दिनुभन्दा अगाडि नाईके दाइहरूलाई पढाउनु पर्छ । नाईके दाइले स्वीकृति दिएपछि निरजलाई दिएँ । निरजले मलाई सिरक, बाल्टिन, मग सबै सामान ल्याई दियो ।

आज छोराले सिरक र तन्ना ल्याई दिएको छ । त्यसैले सुत्दा मजा आउने भयो । तर, यहाँ जिउ छुवाएर सुत्नु पर्छ । जिउ छुवाएर सुत्दा मलाई निन्द्रै लाग्दैन । घरमा श्रीमतीसँग त जिउ छुवाएर नसुतेको ५ वर्ष भैसक्यो । आज यहाँ वाध्यतावश सुत्नु परिरहेको छ । त्यसैले त भन्छ मानिस परिस्थितिको दास हो ।

चौथो दिन 
२०६७ असोज २४ (१० अक्टोवर २०१०) गते आइतवार 

मैले यहाँ दुई तीन जना साथीहरू बनाइसकेको थिएँ । विहान ९.४५ बजे कीर्तिपुर दर्पण साप्ताहिकको सम्पादक नरेश बटाला भेट्न आयो । मैले उसमाथि आरोप लगाएको हो भनेर सोध्यो । निर्मलाको नजिकको मान्छे तपाईं । तपाईंले नै उनलाई भ्वाइस अफ चिल्ड्रेनमा लगेको भन्ने सुनेको छु । हो कि होइन भनेर सोधेँ । उसले होइन भन्यो । यदि त्यसो नभए अरू कसैसँग बच्चाहरूलाई भेट्न किन दिएन ? तपाईंलाई मात्र किन भेट्न दिइयो त ? मेरो सवालमा ऊ नाजवाफ भयो । होइन होइन मात्र भनिरह्यो । ठिकै छ उसो भए बकपत्रमा मेरो विरुद्ध नबोल भन ।

“अहिले म घर जाँदै छु । घरबाट फर्केर आएपछि सम्झाई दिन्छु” भनेर गयो ।
म घाम तापिरहेको बेला छोरा निरज र भरत आए । उनीहरूसँग कुराकानी भयो । ज्वजलपा पत्रिका प्रकाशित भइरहेको थियो । यसलाई निरंन्तरता दिने छोराले प्रतिवद्धता जनायो । म खुशी भएँ । छोराले मलाई ज्वजलपा पत्रिका र रेडियो दियो । 

“मलाई भेट्न प्रत्येक दिन आउनु पर्दैन” मैले छोरालाई भनेँ । छोराले मलाई केही खानेकुरा दिएर गयो ।
म घरबाट निस्केको १८ दिन भयो । मैले एकचोटि पनि नुहाएको थिइन । प्रहरी खोरमा नुहाउने कुरै भएन । त्यसैले आज नुहाउनु प¥यो भनेर दिनेशको बाल्टिन लिएर पानी नाईके दाइ कहाँ गएँ । एक बाल्टिन पानी दियो । जसरी तसरी नुहाएँ । जिउ अलि हलुका भयो । नुहाएर घाम तापिरहेको थिएँ । नन्दकुमारी र देवराजले भेट्न आए । 

ममाथि भूmठा आरोप लगाएर वन्दी बनाएकोमा दुबैजनाले चित्त दुखाए । मैले पत्रमा लेखेको कुराको बारेमा कुराकानी भयो । नन्दकुमारीले बच्चाहरूलाई भेट्न जाँदा भेटै गर्न दिइएन रे । निरूसग मात्र भेट गर्न दियो रे । 

“मिस हामीलाई बचाउनुहोस् । हाम्रो जीवन वर्वाद भयो ।” भनेर निरू रोइन रे ।
उनीहरूसँग छुटेर आएपछि निरजले ल्याएको ससेज चिउरासँग खाएँ । ३ बजेतिर पञ्चलालले भेट्न आए । 
“पुर्पक्ष हान्छ भनेर सोचेकै थिइन । हान्यो । अब १७ नम्बर पुनरावेदनमा जाने । अहिलेसम्म कृष्णकुमारले भेट्नै चाहेको छैन । जसरी पनि ऊसँग भेटेर कुरा गरेर बकपत्रमा मिलाउने प्रयास गर्छु ।” पञ्चलालले भन्यो ।
पञ्चलालको कुरा सुनेर मेरो मनमा अलिकति आशाको दियो बल्यो ।
ऊसँग पनि छुटेर आएँ । जेलभित्र आएर साथीहरूसँग कुराकानी भयो । बकपत्रमा मिलाउन सकेँ भने मैले सफाइ पाउन सक्छु नत्र खतरा छ भन्यो । अब मसँग सबैजनाले मेरो केसको बारेमा सोध्न थाले । जवरजस्ती करणी उद्योग भन्दा “ल तपाईंलाई फसायो” भन्छन् । यो जवरजस्ती करणी उद्योग भनेकै मान्छे फसाउने मुद्दा हो रे । आफ्नो शत्रु पनि ढाल्न पाउने, उद्योग मात्र गरेको हो करणी नै गरेको होइन भन्दा आफ्नो इज्जत पनि जोगिने । यो शीर्षकको मुद्दामा न्यायाधीशले २ देखि ६ वर्षसम्म कैद सजायँ दिएको छ । यो डलरधारी संस्थाले यस्तै केस छान्छ । यसरी केस लड्नको लागि विदेशबाट हजारौं डलर आउँछ । 

यस्तो कुरा सुनेपछि मेरो मनमा डर पैदा भयो । मलाई ती बच्चाहरूप्रति रिस पनि उठ्न थाल्यो । कस्तो बैगुनी केटीहरू । मेरो माया ममता सबै बिर्सि दिए । मलाई ‘बा, ड्याडी’ भनी नथाक्ने केटीहरू एकैचोटि मेरो दुश्मन बन्न गए । यो सतीले सरापेको देशमा राम्रो काम गर्नेको भलो हुँदैन भन्छन् । साँच्चीकै होजस्तो लाग्यो ।

म पूmलवारीमा एक्लै झोक्य्राएर बसिरहेको थिएँ । अस्ति म आएको दिन नै आएको सुरेश साह मेरो नजिक बस्न आयो । ऊ पनि जवरजस्ती करणी उद्योग मुद्दामा नै आएको रहेछ । मैले उसलाई ऊ कसरी जेल परेको भनेर सोधें । उसले बतायो —
ऊ भारतको विहारको सुगौली घर भइ काठमाडौंको भोटेबहालमा एक जना मारवाडीको घरमा भान्सेको काम गर्दै आइरहेको थियो । २५ वर्षे लक्का जवान ठिटोलाई ३८ वर्षे साहुनीले बेला बेलामा उसबाट यौन आनन्द लिन्थिइन् । दुई वर्षदेखि यो सिलसिला चल्दै थियो । एक महिना पहिले पनि त्यस्तै यौनानन्द लिइरहेको बेला साहूजी आएछ । साहूजीलाई देख्नासाथ साहूनीले आपूm बच्नको लागि हारगुहार मागिन् । साहूले रंगेहात समातेर केटोलाई पिट्यो । पुलिस बोलाएर सुम्पियो । अहिले पुर्पक्षको लागि थुनामा पठाएको छ ।

पाँचौं दिन 
२०६७/०६/२५ (११ अक्टोवर २०१०) सोमबार

आज मैले मर्निंग वाक पनि गरिनँ । हिजो छोराले रेडियो ल्याई दिएको थियो । त्यही रेडियो सुनेर एक घण्टा समय बिताएँ । त्यसपछि सुगर फ्री बिस्कुट एकपुरी लिएर होटलमा गएँ । एक गिलास दूधसँग विस्कुट खाएँ । आजकल प्रत्येक क्षण मलाई घरको याद आइरहेको थियो । मेरो श्रीमती कृष्णा म बिना कसरी दिन काटिरहेकी होली ? म हनुमान ढोकामा १४ दिन बसेँ । उनी एकचोटि पनि मलाई भेट्न आइनन् । 

“मलाई भेट्न तिम्रो ममी किन नआएकी ?” मैले छोरासँग सोधेको थिएँ ।
“तपाईंलाई हतकडी लगाएर ल्याएको हेर्नै सक्दिन भन्नुहुन्छ ।” छोराले भनेको थियो ।
मेरो श्रीमती कृष्णा, मलाई कति माया गर्छिन् । कति मेरो चिन्ता लिन्छिन् ।

मेरो बिछ्यौना बनायो कि बनाएन हेर्न ग्राउण्डमा गएँ । मैले बिछ्यौना बनाउन दिएको मान्छे थापा ग्राउण्डको पश्चिम कुनामा बसेर बिछ्यौना बनाइरहेको थियो । मेरै बिछ्यौना बनाइरहेको रहेछ । भरेसम्ममा बनाएर दिन्छु भन्यो ।

खाना खानु आधा घण्टा अगाडि मैले डायबिटिजको औषधी खानुपर्छ । औषधी खान बिहान बेलुका अस्पतालमै जानुपर्छ । म अस्पतालभित्र छिरेको मात्र थिएँ । “नजरराम महर्जन, नजरराम महर्जन, नजरराम महर्जन” भनेर तीनचोटि माईकबाट बोलायो । माईकबाट तीनचोटि बोलाउनुको अर्थ हो कोही भेट्न आएको छ । ओहो ! यति चाँडै को आएको होला भनेर औषधी नै नखाईकन ढोकामा गएँ । नेकपा एमाले केन्द्रिय सदस्य अच्यूत मैनाली बारा र एमाले पर्सा जिल्ला सदस्य जुनेद अंसारी आएका रहेछन् । म झ्यालभित्र उनीहरू झ्याल बाहिर बसेर कुरा गर्न थाल्यौं ।

“म जेलमा परेको तपाईंले कसरी थाहा पाउनु भयो ?” मैले सोधेँ ।
“भाउजूले नीलमलाई खवर गर्नु भएको रहेछ । नीलमले टीनालाई फोन गरिन् । टीनाले मलाई । म यहाँ काठमाडौंमा भएको बेला दाइलाई भेटेर जाउँ भनेर आएको ।” अच्यूत मैनालीले भन्यो, “कस्तो ग्रायण्ड डिजाइनले तपाईंलाई फसाएको रहेछ । तपाईजस्तो महिलावादी नेता, महिलावादी साहित्यकारलाई यस्तो भूmठा आरोप लगाइएको रहेछ । वारा, पर्सा, मकवानपुर, रौटहटका तपाईंलाई चिन्ने कसैले पनि विश्वास गरेका छैनन् ।”

“आजकल कानूनले महिला तथा बालबालिका सम्बन्धी जुन अधिकार दिएको छ । त्यसको पुरा दुरूपयोग गरिरहेको छ ।” जुनेद अंसारीले भन्यो, “दस पन्ध्र वर्ष पहिले भारतमा पनि यस्तै हुन्थ्यो । त्यहाँ पनि यस्तै निर्दोष मानिसहरूले सजायँ पाउन थालेपछि संसदमा कुरा उठ्यो । बिना प्रमाण जाहेरी दिएकै भरमा गिरफ्तार गर्न पाउने अधिकार खोसी दियो । अब यहाँ पनि त्यस्तै आवाज उठाउनु पर्छ ।”

“अहिले दाइ कीर्तिपुर नगर कमिटीमा हुनुहुन्छ । कीर्तिपुर नगर कमिटीले केही पनि सहयोग गरेन ?” अच्यूत मैनालीले सोध्यो ।
“खोई थाहा छैन । कसैले केही भन्न आएको छैन ।” मैले भनेँ ।
“अहिले सबैजना दशैँको लागि घर गइसकेको छ । दशैँपछि सक्दो सहयोग गर्छु ।” अच्यूतले भन्यो ।

“हामी पर्सा जिल्लाबाट पनि पार्टीमा लेखेर पठाउँछौं । यस्तो बेलामा त पार्टीले सहयोग गर्नु पर्छ । कसैले आरोप लगाउ“दैमा सत्य सावित हुन्छ र ?” जुनेदले भन्यो ।
“ल, ल, उठ्नुस् समय सकियो ।” भनेर मलाई झ्यालबाट उठायो । हामी छुट्टिएर आयौँ ।

उनीहरूले सहयोग गर्छु भनेपछि मेरो मन अलि हलुका भयो ।
पर्सा र वारा जिल्लाका नेताहरूले भेट्न आए । हिम्मत दिएर गए । तर आफ्नै गाउँ ठाउँका नेता कार्यकर्ताहरू कसैले आजसम्म मलाई भेट्न आएका थिएनन् । न त नेपाल टुहुरा कल्याण संघबाट नै कोही आए ।

No comments:

Post a Comment