Friday, July 5, 2019

कीर्तिपुर न.पा.को आ.व.२०७६/०७७ को प्रस्तावित नीति, कार्यक्रमको चिरफार

कीर्तिपुर न.पा.को आ.व.२०७६/०७७ को प्रस्तावित नीति, कार्यक्रमको चिरफार

कीर्तिपुर सन्देश साप्ताहिक
  कीर्तिपुर नगरपालिकाको पाँचौं नगरसभा गत असार १० गते सुरु भयो । सो नगरसभामा प्रस्तुत गरेको २०७६÷०७७को नीति तथा कार्यक्रमको जानकारी दिन असार ११ गते पत्रकार सम्मेलन गरि पत्रकारहरुलाई जानकारी दिइयो ।

उक्त नीति तथा कार्यक्रमको सरसरती अध्ययन पछि र नगरपालिकाको २ वर्षे गतिविधि नियालिरहेका हाम्रा संवाददाताले बुँदागत निम्नबमोजिम चिरफार गरेका छन ।

नागरिक वडापत्र निर्माण गर्न नसकेको ः— स्थानीय तहको निर्वाचन पश्चात् नगरपालिका तथा १० वटा वडा कार्यालय र यसका लागि कर्मचारीको सामान्य व्यवस्थापनका कामहरु भए । तर नगरपालिकावाट उपलव्ध हुने सेवा कसले, कसरी प्रवाह गर्ने हो अहिलेसम्म टुंगो नलगाउनु लाजमर्दो कुरा हो । स्थानीय निकायवाट स्थानीय सरकारमा परिणत भई सकेको र जनप्रतिनिधीहरुले कीर्तिपुर नगरपालिकाको कार्यभार सम्हालेको २ वर्ष बितिसक्दा पनि एउटा नागरिक बडापत्र समेत निर्माण हुन नसकेको कुरा स्मरणिय छ ।

गत वर्षको समीक्षा नगरेको ः — कुनै पनि सरकार वा संस्थाको नीति, कार्यक्रम वा वजेट आउँदा साविकको वा गत वर्षको समीक्षा आउनु पर्ने त्यो समेटिएको छैन ।

सहकारीहरुलाई तर्साएको ः- नगरपालिका क्षेत्रमा सहकारीकर्मीहरुमा त्रास फैलने गरी कीर्तिपुरमा कडाईका साथ अनुगमन गरिएको छ । त्यस्तै नक्सा पास प्रक्रिया, योजना संचालन प्रक्रिया तथा सेवा प्रवाहमा धरै ढिलासुस्ती बढेको छ भने वडा पिच्छे सेवा प्रवाह विधि फरक फरक रहेको छ । यसलाई सम्वोधन गरिने कुरामा विश्वस्त बनाउने नीति तथा कार्यक्रम छैन ।

 विकास आयोजना गर्भमै तुहिने खतरा ः- साँच्चिकै आयोजनाका रुपमा अगाडि वढाउन खोजिएको नगरपालिकामा दूरगामी प्रभाव छाड्न सक्ने सल्यानस्थान केन्द्रित जग्गा विकास आयोजनामा भने आवश्यक ध्यान केन्द्रित गर्न नसक्दा आयोजना नै गर्भमा तुहिने खतरा वढेको छ ।

वजेटको सबै रकम खर्च हुन्छ कि हुँदैन ः—  श्रोत साधन कम भएर विकासमा पछि परेको भनिएको नगरपालिकामा रकम खर्च गर्न नसकेर करोडौं रकम जिम्मेवारी सारिएको स्थिति थियो । यस पटक कति हुने हो हेर्न वाँकी छ ।

योजना छनौटको आधार नभएको  ः— वडास्तरिय वजेटको आकार तथा नगरस्तरिय योजना छनौटको कुनै आधार दिइएको छैन ।

आ.व.को अन्तमा गरिने विकास काममा परिवर्तन नआएको ः— स्थानीय तहको निर्वाचन अघि कर्मचारीवाट संचालन भएको बेला नगरपालिकामा सबै जसो योजनाहरु पानी पर्ने समयमा वा आर्थिक वर्षको अन्ततिर मात्र गर्ने भनि आलोचना गरिए पनि त्यो संस्कार रोगवाट जनप्रतिनिधी हरु पनि मुक्त हुन सकेन । केहि हप्ता भित्र करोडौं खर्च गरेर गरिएको ग्राभेलको औचित्य र प्रभावकारिता माथि त धेरै ठाउँवाट प्रश्न नै उठाईए ।

 योजनाको असमानता ः— लागत सहभागितामूलक योजनालाई नवधनाध्यहरुको बस्ती वा क्षेत्रमा मात्र केन्द्रित हुने र आफ्ना ठेकेदार प्रतिनिधी, कार्यकर्ता वा उपभोक्ता पोस्ने योजना हुने खतरा छ ।

गतवर्षको प्रगति निराशाजनक ः— खानेपानी, सरसफाई, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार निर्माणमा विशेष जोड दिइएको गत वर्षको वजेट तथा कार्यक्रमको प्रगति निराशाजनक रहेको छ । लक्षित र प्रवद्र्धनात्मक योजनाहरु जनप्रतिनिधी तथा पार्टी कार्यकर्ताहरुको सम्पर्क घेरा भन्दा वाहिर पठाउन हम्मे हम्मे परेको देखिन्छ ।

सीसीटिभि प्रयोग विहिन ः- साविकमा महानगरिय प्रहरी वृत्तसँग समन्वय गरेर राखिएको सिसिक्यामेरामा अधिकांश सबै प्रयोजन विहिन भएको देखिन्छ । यसवाट कुनै पाठ नसिकि, कमि कमजोरी नठम्याई अर्को कार्यक्रम ल्याउने भनिएको छ ।

आधिकारिक अभिलेखको अभाव ः— नगरपालिका भित्र धेरै विषयमा अध्ययन र तथ्याँक संकलन पनि धेरै पटक धेरै संस्थासंग सहकार्यमा अगाडि वढे र यस वर्ष पनि त्यसका लागि विभिन्न कार्यक्रमहरु राखिएका छन् । तर पहिलेका संकलन र उपलव्धीहरुकोे न कुनै आधिकारिक अभिलेख छ न त सुरक्षा र उपयोग ।

शंकास्पद खर्चको उल्लेख नभएको ः— गत वर्ष सामुदायिक चौपाया तथा कुकुरको व्यवस्थापनका नाममा भएका शंकास्पद खर्चका विषयमा कुनै उल्लेख छैन ।

कीर्तिपुर अस्पतालमा ध्यान विष्णुदेवी अस्पताल सहित दर्जन वटा नगरपालिका मातहतका सरकारी स्वास्थ्य संस्थालाई क्षमता विकास गरी सेवामूलक ढंगले र सक्षमतापूर्वक परिचालन गर्ने भन्दा नगरपालिकाको ध्यान केहि सिमित व्यक्तिहरुको मात्र व्यवस्थापन तथा हालिमुहाली रहेका संस्थाहरुवाट संचालित कीर्तिपुर अस्पताल, कीर्तिपुर आँखा अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुलाई अनुदान, सहयोग गर्नमा लालायित भएको स्पष्ट नै हुन्छ ।

कीर्तिपुरको पुरानो वस्तीलाई प्राथमिकता ः —कीर्तिपुर नगरपालिकाको पर्यटकिय क्षेत्र भनेको कीर्तिपुरको पुरानो बस्ती मात्र हो भन्ने किसिमको सन्देश जाने गरी त्यस सम्वन्धी अध्ययन भए । नगरपालिकावाट संचालित विभिन्न मेला, महोत्सव, योजना, आयोजना तथा कार्यक्रमहरु पुरानो वस्ती मात्र केन्द्रित गरेर अगाडि वढाईकोमा नयाँ नीति तथा योजना पनि यसवाट अछुतो नहुनेमा ढुक्क हुने स्थिति छैन ।

गफ मात्र ः — धेरै वर्ष अघिदेखि को पर्यटन सूचना केन्द्र स्थापना तथा संचालन गरी पर्यटन प्रवेश शुल्क लगाउने गफ यस पाली पनि दोहोरिएको छ ।
पानीको समस्या यथावत ः— नगरपालिकाको मात्र हैन, सबै तहका सरकारका जन प्रतिनिधीहरुको कीर्तिपुर नगर क्षेत्रमा खानेपानीको समस्या समाधान गर्ने भन्ने मूल चुनाबी नारा थियो । करोडौं वजेट लगानी पनि भएको छ । १० औं करोड विनियोजन पनि गर्ने तर कुनै उपलव्धीमूलक रुपमा कार्यान्वयन नगरी मेलम्चीको आश देखाउने काम मात्र भयो ।

यदि कार्यान्वयन हुने हो भने यसपालीका नीति तथा कार्यक्रममा राम्रा पक्षहरु थुप्रै छन जसमा
१.कीर्तिपुर नगरपालिका भित्रका घरहरुलाई भौगोलिक सूचना प्रणाली (GSI) का माध्यमबाट घर नम्बरिङ्ग गरिने

२.कीर्तिपुर नगरपालिका स्थायी ठेगाना भई विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त गर्ने व्यक्तिहरुलाई नगरपालिकाबाट सम्मान गरिने,

३.नगरपालिका क्षेत्रभित्र वसोवास गर्ने प्रत्येक जात, जाति एवं समुदायहरुको प्राचीनकालदेखि चल्दै आएको मौलिक संस्कृति, भाषा भेषभुषा चाडपर्व लाई संरक्षण र प्रवद्र्धन गर्दै लैजाने,

४.नियमित र सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरिने

५.प्रत्येक वडामा बाल उद्यानको स्थापना र संचालन गरिने,

६.प्रत्येक वडामा ज्येष्ठ नागरिक केन्द्र स्थापना गरिने,

७.एक वडा एक खेलस्थल अभियानलाई निरन्तरता दिने,

८.स्थानीय भाषा र लिपिलाई पठनपाठनमा समावेश गराइने,

९.प्राविधिक विद्यालय स्थापनालाई प्राथमिकतामा राखिने,

१०.आवश्यकता अनुसार विद्यालयलाई बिलय (मज) गराउने,

११.सामुदायिक विद्यालयको बाल विकास केन्द्रमा कार्यरत सहजकर्ताहरुलाई पोशाक तथा अन्य सुविधा थप गरिने,

१२.स्वास्थ्य सेवाको विस्तार गर्न विष्णुदेवी अस्पताललाई उचित ठाउँमा स्थानान्तरण गरिने,

१३.कीर्तिपुर नगरपालिकाद्वारा प्रवद्र्धित कीर्तिपुर अस्पतालबाट यसै वर्षदेखि डायलिस सेवा संचालन गरिने,

१४.महिला स्वास्थ्य स्वयमसेवीहरुको क्षमता अभिवृद्धि गरिने,

१५. स्थानीय पत्रिका तथा प्रकाशनलाई बढावा दिइने,

१६.स्थानीय भाषा, संस्कृति र लिपि विकासका लागि कार्यक्रम ल्याइने,

१७.दाफा, बाजागाजा, जात्रा, अभिलेख, मठमन्दिर लगायत सांस्कृतिक एवं ऐतिहासिक खोज तथा अनुसन्धान तथा प्रकाशन कार्यक्रम ल्याइने,

सकारात्मक नीति तथा कार्यक्रमहरु थुप्रै छन । यिनीहरु केवल काजमा मात्र सिमित हुने हो कि कार्यान्वयनतिर पनि ध्यान दिने हो हेर्न बाँकी नै छ ।

No comments:

Post a Comment