Sunday, March 24, 2019

बोधिमाई मोडर्न एग्रो फरेष्टी प्रा.लि. घुम्दा

बोधिमाई मोडर्न एग्रो फरेष्टी प्रा.लि. घुम्दा

नजरराम महर्जन


गत फागुण १९ गते कीर्तिपुरका युवा व्यवसायी दिनेश दर्शनधारीको नेतृत्वमा रहेको मोबिल्याण्ड इन्भेष्टमेन्ट कम्पनीद्वारा संचालित बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं.८ मा रहेको बोधिमाई मोडर्न एग्रो फरेष्ट्री प्रा.लि. घुम्ने मौका पाएँ । हामी यहाँबाट दुईटा प्राइवेट गाडीमा गएका थियौं । आइतवार बेलुका ७ बजे हामी सिमरा पुग्यौं । त्यहीं बास बस्यौं ।

बिहान उठेर आउँदा बाहिर टन्न कुहिरो लागिरहेको थियो । जुन काठमाडौंभन्दा फरक थियो ।होटलमा नास्ता गरेर पहिले हामी गढीमाई दर्शन गर्न गयौं । त्यहाँबाट बोधिमाई मोडर्न एग्रो फेरेष्ट्री प्रा.लि.मा गयौं । वीरगंज सिमरा हाइवेबाट १.५ किलोमिटर टाढा  रहेछ । कच्ची बाटो भएर त्यहाँ पुग्यौं ।

त्यो फरेष्ट्री पुग्ने बितिकै साइनबोर्ड भएको ठूलो ढोकाले स्वागत गरे । ढोकाबाट छिर्ने बित्तिकै बीचमा १६ फुटे बाटो दायाँ बायाँ सिमेन्टको पिलर राखेर तारवारले घेरिएका थिए । आँखाले भ्याउन्जेल हरियाली थिए । कहिं बाँसको झांग, कहिं जंगलजस्तो झ्याप्प बोट विरुवाहरु हेर्दाखेरीनै आँखालाई शितलता प्रदान गरे । अनि बनको विकास गर्न रुख रोपिराखेको हेर्न गएँ । करीव ८ देखि १० फीटको दुरीमा मलेसियन साल रोपिएको छ । त्यो बीचमा २ लाईन कुरिलको विरुवा रोपिएको छ जसले जरा गाडी सकेका छन । मलेसियन सालको रुख पनि हुर्किसकेका छन । तीन चारफुट अग्लो भइसकेका छन । बाटोको अर्को साइडतिर गएँ । त्यहाँ अष्ट्रेलियन टीक, महोगानीको बोट रोपेका छन । ५० बिघामा फैलिएको सो नीजि वनक्षेत्रमा १५ बिघाजति खाली ठाउँ थियो । त्यहाँ कुनै विरुवा रोपिएको थिएन । बाटोबाट अलि पर पाइपबाट पानी झरिरहको देखेँ । जहाँ मानिसहरु नुहाउन र बच्चाहरु पानीमा खेली रहेका छन ।

करीव एक घण्टा घुमिसकेपछि अफिसमा गएँ । अफिस पनि एकदमै व्यवस्थितरुपले बनाईएको छ । त्यहाँ स्थानीय व्यक्तिहरु आएका छन । त्यहाँ कुराकानी भयो । अघि खाली देखेको जमिनमा माछा पालनको लागि
पोखरी बनाउने कुरा भयो । पोखरी खन्नको लागि कति खर्च लाग्छ भन्ने हिसाब किताब भयो । ७ बिघा जमिनमा विभिन्न साइजका ११ वटा पोखरी बनाउने योजना थियो । ११ वटा पोखरी बनाउन स्क्याभेटर प्रयोग गर्दा प्रतिघण्टा रु.२५ सयको दरले रु. ६८ लाख लाग्ने बतायो ।

दिनेशले मोबाइलको क्यालकुलेटरमा हिसाव गर्न थाल्यो । तुरुन्तै एक ठाउँमा फोन गर्नुभयो । सायद सिप्रदीमा फोन गर्नु भएको होला । स्क्याभेटर स्टकमा छ कि छैन भनेर सोध्नुभयो । चेनवाला होइन पाँग्रावाला चाहिएको, कति मूल्य पर्छ भनेर सोध्नुभयो । उताबाट के जवाफ आयो थाहा भएन ल हामी आजै स्क्याभेटर किन्न आउने सबै मिलाएर राख्नुहोला भन्नुभयो ।

कुराकानीपछि उहाँले भन्नुभयो, “हामीलाई स्क्याभेटर पछि पनि चाहिरहन्छ । ६८ लाख तिरेर भाडामा लिनुभन्दा आफ्नै किन्ने विचार गरें । एउटा स्क्याभेटरको ४६ लाख पर्छ । क्यास पेमेन्ट गरें भने २० प्रतिशत छुट पाउने छ ।”
उहाँको प्रश्तावमा सबैले सहमति जनाए । त्यसपछि हामी फेरि घुम्न गयौं । अफिसको बगलमा एउटा खुला सेड बनाइराखेको छ । त्यस सेडमा २६ वटा उन्नत जातको भैंसी पालन गर्ने योजना रहेछ । पछि डेरी नै खोल्ने योजना पनि रहेछ । जसको लागि भारतको हरियाणामा सम्पर्क भइसकेको छ । अलि पर निरन्तर पानी आइरहेको पाइप धारा देखें । त्यसको बारेमा उहाँले भन्नुभयो ।
त्यो पानी ७०० फुट तलसम्म बोरिंग गरेर निकालेको पानी हो । मोटर चलाउनु पर्दैन आफै आइरहेको छ । पानी पिउन योग्य छ । जाँच गराइसकेको छु । पछि मिनिरल वाटर प्लान्ट राख्ने योजना पनि छ ।

उहाँको हरेक कुराले म प्रभावित भएँ । मानिसमा सोच्ने शक्ति हुनुपर्छ । योजना र दृढ संकल्प हुनुपर्छ जे काम पनि सफल हुन्छ । कति दूरदृष्टि रहेछ । स्क्याभेटर भाडामा लिनुभन्दा किन्नु नै फाइदा देखेपछि तुरुन्तै किन्ने योजना बनाउनु भयो । हामी सिमरा फर्कियौं । सिमराको मौसम पनि काठमाडौं जस्तै रहेछ । जति गर्मी होला भनेर सोचेर गएको थिएँ, त्यति गर्मि थिएन । सिमरास्थित सिप्रदीको अफिसमा गयौं । कुराकानी भयो उहाँले नगद दिने भनेपछि ३८ लाखमा स्क्याभेटर दिने भयो । एन आइसी एशिया बैंकको चेक काट्नुभयो ।

कम्पनीले बैंकको सिमरा शाखामा सम्पर्क राख्यो । चेक क्यास हुन्छ भने पछि तुरुन्तै ड्राइभर बोलाएर स्क्याभेटर बाहिर निकाल्यो । चेक जाँच गरियो । त्यहाँको मेनेजरलाई जिम्मा लगाएर तुरुन्तै पूजा पनि गरियो । आज होइन भोलि स्क्याभेटर लैजाने निर्णय भयो ।
त्यही साँझ हामी काठमाडौं फक्र्यौं । बाटोमा दिनेशले भन्नुभयो, “अहिले पोखरी खनेर माछा पालन गर्दा नेपाल सरकारले अनुदान पनि दिन्छ । पोखरी खन्नको लागि प्रति कट्ठा रु. ५ हजार अनुदान दिन्छ । माछाको लागि चाहिने दाना पनि सरकारले नै दिन्छ । महिनामा एकचोटि जे.टि.ए.ले निरिक्षण गरि सरसल्लाह पनि दिन्छ । करिब ५० जनाजति युवाहरुलाई यहिंबाट रोजगारी दिन सकिन्छ । स्थानीयलाई बढी प्राथमिकता दिने योजना छ ।” हरेक किसिमले किफायती र फाइदाजनक योजना रहेछ । खर्च घटाउनु पनि त आम्दानी गर्नु हो । स्क्याभेटर किनेर पनि फाईदा नै हुने भयो ।

करीव ४ वर्ष पहिले सुरु गरेको योजना हो । त्यतिबेला मलाई पनि लगानी गर्न भन्नुभएको थियो । यति टाढा कसरी सकिन्छ भनेर मैले लगानी गरिनँ अहिले अपशोच लागेको छ । आजको आधुनिक जमानामा प्रविधिको विकासले गर्दा काठमाडौंमा बसी जितपुर सिमराको हरेक गतिविधि नियाल्न सक्दोरहेछ । कुनै पनि काम गर्न समूह चाहिन्छ । समूह मिलेर गरेपछि जे काम पनि गर्न सकिन्छ भन्ने यो एउटा नमुना बनेको छ ।

No comments:

Post a Comment