Thursday, January 24, 2019

चोभारको सुख्खा बन्दरगाह सम्बन्धि चोभार संरक्षण समितिका संयोजक पञ्चलाल महर्जनसंग गरिएको कुराकानी

चोभारको सुख्खा बन्दरगाह सम्बन्धि चोभार संरक्षण समितिका संयोजक पञ्चलाल महर्जनसंग गरिएको कुराकानी



पंचलाल महर्जन

सुख्खा बन्दरगाह जस्तो राष्ट्रिय गौरवको योजना चोभारमा ल्याउँदा पनि तपाईहरुले विरोध गर्नु भयो, किन ?

—हामीले सुख्खा बन्दरगाहको बिरोध गरेका होईनौं । यो देशको बिकास र समृद्धिको लागि धेरै सुख्खा बन्दरगाह चाहिएला, चाहिन्छ । हामी बुझ्छौं । हाम्रो यति मात्र भनाई हो की राष्ट्रको लागि यति महत्वपुर्ण योजना निर्माण गर्दा उपयुक्त स्थानमा बनाओस र लामो अवधिसम्म अनवरत रुपमा सञ्चालन होस् भन्ने हेतुले सुख्खा बन्दरगाह चोभारमा उपयुक्त छैन भन्ने हो । स्पष्ट रुपमा भन्नु पर्दा सुख्खा बन्दरगाहको जुन प्रकृति, चोभार क्षेत्रको विशेषता अनुसार यो न त योजना अनुसारको ठाउँ भयो न त ठाउँ अनुसार नै योजना भयो । अतः राष्ट्रलाई आवश्यक गौरवको योजना अरु धेरै उपयुक्त स्थानमा लगियोस् भन्ने आग्रह हो । बातावरणीय, साँस्कृतिक, धार्मिक, भौगोलिक सबै हिसावले सुख्खा बन्दरगाह चोभारमा उपयुक्त छैन । मानव वस्ती वीचमा सुख्खा बन्दरगाह निर्माण अन्तर्राष्ट्रिय मापदण्ड विपरित छ ।


सुख्खा बन्दरगाह बनाउने बिषय त आज भन्दा पाँच बर्ष अघि देखि कै कुरा होईन र ? किन अहिले आएर मात्र बिरोध ?

—हामीले सुख्खा बन्दरगाहको प्रारम्भिक समय देखि चोभार क्षेत्रमा हुनु हुदैन भनि आफ्नो मत राखिरहेका छौं । यति मात्रै होईन हामीले त अझ २०५८ साल देखि नै यहाँको पर्यावरणीय समस्या, जग्गाको समस्या सम्बोधन नभई यहाँ कुनै पनि योजना अगाडी बढ्न सक्दैन भनेर लगातार आवाज उठाई रहेका छौं । हिजो सामान्य छलफल, सरसल्लाह, लिखित निवेदन र मुद्धा मामिलाको रुपमा अगाडी बढेको थियो त्यति धेरै मिडियाबाजी भएको थिएन । जब सरकार आफ्नै सहमतीलाई उल्लंघन गरेर अगाडी बढ्यो र जनताले स्वतस्फुर्त विरोध र संघर्ष गरे त्यसपछि सञ्चार माध्यमले व्यापक स्थान दियो । यसैले हिजो भएको गतिविधिका बारेमा जानकारी नभई एकाएक प्रचारमा आएपछि धेरैमा यस्तो पर्न गएको हो । त्यसैले यहाँको समस्या समाधानको बिषयमा र चोभारमा सुख्खा बन्दरगाहको उपयुक्त योजना नभएको बिषयमा शुरु देखि नै आवाज उठाई आएको हो । कसैमा पनि
भ्रम नहोस् ।

केहि स्थानीयको मात्र विरोध हो भनेर सरकारी पक्षले खिसि गरिरहेका छन् नी त । यथार्थ के हो ?

—यस बिषयमा दोहोरो तरिकाले बुझ्न जरुरी छ । पहिलो यदि केहि सिमित व्यक्ति कै मात्र बिरोध हो भने पनि हामीले उठाएको माग र एजेण्डा सहि कि गलत यसरी हेर्नु पर्दछ । यदि सहि र राम्रो माग र एजेण्डा हो भने एकै जनाले उठाएको भए पनि सुनुवाई हुनु पर्दछ । गलत भए लाखौंले गरेको भए पनि त्यसको सुनुवाई हुनु जरुरी छैन । दोस्रो प्रभावित हजारौं जनता आफ्नो समस्या पहिले सम्बोधन गर, त्यस पछि मात्रै अन्य योजना भनेर निरन्तर सडकमा उत्रेको बिषय कसरी केहि स्थानीय हुन्छ ? यहाँहरुलाई थाहै छ शिलान्यासको दिन सरकारी पक्षले अघोषित कफ्र्यु नै लगाएर आतंकित पार्दा समेत  ५४ जना गिरफ्तारमा परेका थिए । सयौंको जुलुस सहित कालो झण्डा प्रदर्शन भएको थियो । यदि उनीहरुले भने जस्तो केहि व्यक्तिहरुको मात्रै विरोध हुँदो हो त हजारौं हजार सुरक्षाकर्मी परिचालन आवश्यक नै थिएन ।

यसरी राष्ट्रिय गौरवको योजना निर्माणमा अवरोध सृजना भयो वा विरोध भयो भने तपाईहरुलाई त विकास विरोधी भन्लान के भन्नु हुन्छ ?

—हाम्रो समस्या र मागलाई नबुझ्ने जो कोहीले पनि त्यो भन्न सक्दछ । तर हामीले सुख्खा बन्दरगाहका बारेमा राखेका विचार र समस्या सम्बोधनको लागि राखिएको माग बुझ्नेले हामीलाई त्यस्तो कदापी भन्दैन । हामीले समुदायस्तरबाटै चोभार क्षेत्रमा गरेका विविध विकासका योजना जस्तै मञ्जुश्री पार्क, मञ्जुश्री बाल उद्यान, मञ्जुश्री पिकनिक स्थल, बिश्वकै सबैभन्दा अग्लो मञ्जुश्रीको प्रतिमा, मञ्जुश्री भ्यु प्वाईन्ट, मञ्जुश्री गुफा तथा गल्छी अवलोकन स्थल दशकौं अघि देखि (केहि निर्माण सम्पन्न गरि केहि निर्माण प्रक्रियामा रहेको) निर्माण गरि सञ्चालनमा ल्याएर चोभार क्षेत्रलाई सिंगो देशको नमुना पर्यटकीय आकर्षणको थलोको रुपमा विकास गर्न आधार निर्माण गरि सकेका छौं । यसर्थ चोभारलाई पर्यटकीय नगर कै रुपमा विकास गरौं । सुख्खा बन्दरगाहलाई अन्य उपयुक्त स्थानमा निर्माण गरेर चोभार क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्रको रुपमा बिकास गरौं जसले चोभार क्षेत्रबाट देश र जनताले सुख्खा बन्दरगाहबाट भन्दा अत्याधिक फाईदा हुन्छ । यसो भन्दा हामी त झन बिकासबादी पो भयौं भन्ने लाग्छ ।


स्थानीयबासीहरुको वास्तविक मागहरु के के हुन ? जनताले बुझ्ने भाषामा बुँदागत रुपमा भनिदिनुस न ?

—एकै वाक्यमा भन्नु पर्दा स्थानीयहरुको समस्या र माग भनेको जग्गाको समस्या, कर्मचारीको समस्या, स्थानीय जनताको मानवीय एवं भौतिक क्षतिको क्षतिपुर्तिको समस्या हुन् । अहिले जहाँ सुख्खा बन्दरगाह बनाउने भनिएको छ । त्यो हिमाल सिमेन्ट कारखानाको जग्गा हो । हिमाल सिमेन्ट कारखानाको नाममा रहेको ८१६–१४–०–० जग्गा बि.सं. २०६१÷१०÷१६ मा नेपाल औद्योगिक विकास निगमले लिलाम बिक्रीको सुचना निकाले पछि यहाँको सचेत जनताले पुनरावेदन अदालत पाटनमा निषेधाज्ञा सहितको परमादेश रिट निवेदन दिएका थिए । यहि मुद्धाको कारण लिलाम बिक्रि रोकियो र जग्गा प्राप्ती ऐन २०३४को दफा ३४ बमोजिम जग्गा एउटा प्रयोजनको लागि लिईएको जमिन त्यो प्रयोजन सकिए पछि साविकले पाउनु पर्ने भनि जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले दिईएको निवेदन टुंगो लगाउनु भनि जिल्ला प्रशासन कार्यालयका नाममा परमादेश जारी भएको मिति २०६२÷९÷१३को फैसला छ । यसको विरुद्ध सरकारी पक्ष सम्मानित सर्बोच्च अदालतमा पुनरावेदन परि सम्मानित सर्बोच्च अदालतले पुनरावेदन अदालतको फैसलालाई नै सदर गरी पुनरावेदकको पुनरावेदन पुग्न नसक्ने फैसला २०६३÷११÷११ मा गरिएको अवस्था छ । यसर्थ जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा दिईएको मिति २०६१÷११÷६ द.नं. ६४८० को निवेदन टुंगो लगाउनु भन्ने हामी स्थानीयहरुको पहिलो माग हो । जग्गासँग सम्बन्धित अर्को समस्या हिमाल सिमेन्ट कारखानाको नाममा रहेको जग्गाका अलावा अहिले सुख्खा बन्दरगाह निर्माणका लागि थप २१५–३–१–२ जग्गा बिना आधार प्रमाण जनताको नाममा हालसम्म पनि स्वामित्व कायम (लालपुर्जा नखिचिएको), भोगचलनमा रहेको, खरिद बिक्री, हकहस्तान्तरण, धितोबन्धक भईरहेको जग्गा तत्काल फिर्ता हुनु पर्छ भन्ने माग हो । दोस्रो हिमाल सिमेन्ट कारखाना बन्द भएको आज १८ बर्ष भईसकेको छ तर आज सम्म कम्पनीका ४१६ जना कर्मचारीले १९ महिनाको तलब पाएको छैन । त्यो तलब तत्काल पाउनु पर्छ भन्ने माग हो । तेस्रो हिमाल सिमेन्ट कारखाना सञ्चालनमा हुँदा स्थानीय जनप्रतिनिधीको रोहवरमा तत्कालिन कारखानाले पु¥याएका मानवीय एवं भौतिक क्षतिको न्यायोचित क्षतिपुर्ति दिने लगायतका सम्झौता कार्यान्वयन गर्नु पर्ने
माग छ ।


भनेपछि तपाईहरुले राख्नुभएको माग सम्बोधन भयो भने सुख्खा बन्दरगाह बनाउन दिनु हुन्छ ?

—मैले अघि पनि भने हाम्रो माग, समस्या एउटा पक्ष हो । सुख्खा बन्दरगाह चोभारमा उपयुक्त होईन भन्ने अर्को पाटो हो । अतः हामीले राखेका माग त सम्बोधन हुनै पर्ने न्यायोचित र जायज माग हो । जनताको सरकारले जनताका यी समस्याको यथाशक्य चाँडो टुंगो लगाउनु पर्दछ । त्यस पछि सुख्खा बन्दरगाह जस्ता अनुपयुक्त योजना होइन बिकल्पका रुपमा चोभारको पहिचान सुहाउँदो सरकारकै प्राथमिकतामा रहेका अन्तराष्ट्रिय सम्मेलन केन्द्र, अन्तराष्ट्रिय प्रदर्शनी स्थल, सगरमाथा अध्ययन केन्द्र जस्ता वातावरण मैत्री, पर्यटन प्रवद्र्धनका योजनाहरुको बारेमा सोच्न सकिन्छ ।


प्रधानमन्त्रीले शिलान्यास गरि राख्दाको त्यहाँको बातावरणको बारेमा बताई दिनुस न ?

—माघ ३ गते शिलान्यासको दिन बिहानैदेखी हजारौं हजार सशस्त्र प्रहरी, जनपथ प्रहरी, सादा पोशाकका प्रहरी छ्यापछ्याप्ती खटाईएको थियो । स्थानीय घरबाट निस्कने बित्तिक्कै पक्राउ गरि रहेका थिए । घरबाट बाहिर ननिस्कन उर्दी नै जारी गरिएको थियो । जनताको घरको कौशी कौशीमा प्रहरी तैनाथ थियो । बातावरण निकै आतंकित थियो । बाटोमा गुड्ने गाडीलाई छिटो छिटो जान दवाव दिईरहेका थिए । अघोषित कफ्र्युको अवस्था थियो । हामी सयौंको संख्यामा कालो झण्डा सहित नारा जुलुस गरि लामो मुठभेड पछि जुलुसलाई तितर बितर पारिएको थियो । ५४ जनालाई गिरफ्तार गरि लगिएको थियो । अघोषित कफ्र्युका बिच स्थानीय जनप्रतिनिधी वडाध्यक्ष, मेयर, उपमेयर, प्रादेशिक सभासद, संघीय प्रतिनिधीसभाका सभासदहरुले बहिष्कार गरिएको शिलान्यास अत्यन्तै प्रहरीकै वीचमा गरिएको थियो । संक्षिप्तमा भन्नु पर्दा गणतान्त्रिक व्यवस्थामा राष्ट्रिय गौरवको योजनाको शिलान्यास यति लज्जाजनक भयो कि गणतन्त्रकै धज्जी समेत उडेको छ ।

प्रहरी सेना परिचालन गरेर जबरजस्त भए पनि शिलान्यास भयो अब काम अघि बढ्ला नी ?

—सरकारी रवैयाले नै यो योजना अगाडी नबढ्ने पुष्टी भएको छ । लोकतान्त्रिक व्यवस्थाको धज्जी उडाउने गरी भएको शिलान्यास कार्यक्रम पैसा सिध्याउने खेल मात्र हो । शिलान्यास भएन काम नभएका धेरै योजनाहरु छन् ति सुचीमा यो योजना पनि पर्नेछ ।

आगामी संघर्षको कार्यक्रम के लिएर जानु हुन्छ ?

—चाहे जतिसुकै दमन गरे पनि हाम्रा माग पुरा नहुञ्जेल हामी निरन्तर संघर्ष गर्ने छौं । सरकार जतिसुकै असंयमित र गैरजिम्मेवार भए पनि हामी सचेतता पुर्वक जिम्मेवार नागरिक भएर शान्तिपुर्ण ढंगले कार्यक्रम गरिरहने छौं ।

तत्काल मुर्त कार्यक्रम के छ ?

—आजको दिन सम्म हाम्रा चोभार संरक्षण समितिका सदस्य बिष्णु फुयाल शर्मालाई झुठो मुद्धा लगाएर प्रहरी हिरासतमा राखिरहेकोे छ । हामी उहाँको ससम्मान तत्काल रिहाइको माग गर्दै शान्तिपुर्ण धर्ना कार्यक्रम दिनेछौं  । हाम्रो माग उल्लेख गरि सम्बोधन गराउन स्मरण पत्र बुझाउन कीर्तिपुर नगरपालिका भरि हस्ताक्षर संकलन गर्ने, राष्ट्रिय विज्ञहरुको उपस्थितीमा बृहत अन्तक्रिया कार्यक्रम गर्ने जस्ता शान्तिपुर्ण, प्रभावकारी दवावमुलक कार्यक्रम गर्नेछौं ।

No comments:

Post a Comment