Friday, January 25, 2019

सुख्खा बन्दरगाहको काम कीर्तिपुर नगरपालिकाले रोक्ने !

सुख्खा बन्दरगाहको काम कीर्तिपुर नगरपालिकाले रोक्ने !
नयाँ ढंगबाट आन्दोलन गर्ने चोभार संरक्षण समितिको तयारी 




कीर्तिपुर सन्देश साप्ताहिक
माघ ६ गते सोमबार कीर्तिपुर नगरपालिका चोभार क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण कार्य रोक्न तथा कर्मचारी र जग्गा र स्थानीय मुद्दा सम्बोधन गर्न नगरपालिकाको तर्फबाट आवश्यक पहल गर्न चोभार संरक्षण समितिले कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनलाई ज्ञापनपत्र बुझाएको थियो । सुख्खा बन्दरगाह निर्माणको विरोधमा आन्दोलन गर्दै आएको संस्था चोभार संरक्षण समितिका संयोजक पञ्चलाल महर्जनको नेतृत्वमा सो समितिका पदाधिकारी तथा स्थानीयवासीहरु नगरपालिकाको कार्यालयमा पुगेका थिए । संयोजक महर्जनले कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनलाई सो ज्ञापन पत्र बुझाएको थियो । ज्ञापनपत्र बुझ्नु हुँदै नगर प्रमुख रमेश महर्जनले उप–प्रमुख सरस्वती खड्का, वडाध्यक्ष न्हुच्छे बहादुर महर्जनको उपस्थितिमा जनताका समस्याहरु पहिले समाधान नगरी कुनै पनि योजना अघि नबढाउन सरकारलाई आग्रह गर्न नगरपालिकाले आधिकारिक निर्णय गर्ने तथा सुख्खा बन्दरगाह निर्माण कर्ता नेपाल ईन्टरमोडल यातायात बिकास समितिलाई नगरपालिकाको अनुमति बिना कुनै पनि भौतिक संरचना निर्माण नगर्न रोक्का पुर्जी जारी गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।


यसैवीच चोभार संरक्षण समितिले विज्ञप्ति जारी गरी राज्यले बल प्रयोग गरि सुख्खा बन्दरगाहको शिलान्यास गरेको घटना र स्थानीयवासीलाई गिरफ्तार गरेकोप्रति घोर आपत्ति जनाएको छ । गत माघ ३ गते सो घटना भएको हो भने सोहि दिन समितिले विज्ञप्ति समेत जारी गरेको थियो । विज्ञप्तिमा भनिएको छः ‘चोभारको साविक हिमाल सिमेण्ट कारखानासंग भएको संझौता कार्यान्वयन, जग्गा प्राप्ति ऐन, २०३४ संग सम्वन्धी समस्या, हिमाल सिमेण्टका नामवाट नेपाल सरकारका नाममा पछिल्लो पटक जग्गा नामसारी गर्दा गैर कानूनी रुपमा थपिएका जग्गा, कर्मचारीहरुको वाँकी तलब भुक्तानीसंग सम्वन्धीत समस्या, स्थानीय जनताको समस्या समाधान पश्चात मात्र अर्को योजना थाल्ने गत २०७५, मंसिर–४ गते उद्योग मन्त्री मातृका यादववाट जारी भएको प्रतिवद्घताको खिल्ली उडाएर यस समितिका संयोजक पंचलाल महर्जन सहित पचासौं जना स्थानीय पिडित जनतालाई विहानैदेखि घर, पसल, वाटोवाट समेत धरपकड गरेर एकाएक भूमिगत शैलीमा, स्थानीय सरकारको अधिकार क्षेत्रमा ठाडो हस्तक्षेप गरी, सबै तहका जनप्रतिनिधीको असहमति र अनुपस्थितिमा चोरवाटो अपनाएर माघ ३ गते गरिएको शिलान्यास कार्यक्रम प्रति घोर विरोध तथा आपत्ती प्रकट गर्दछौं । शिलान्यास कार्यक्रम गर्न नेपाल सरकारले गरेको दमन, धरपकड र जनताको विचार र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकमाथि भएको क्रुर दमनप्रति घोर विरोध तथा खेद प्रकट गर्दछौ । जनताको भावना विपरित विभागिय उद्योग मन्त्री आफैंले स्थानीय पिडित जनतासंग गरेको पछिल्लो समझदारी समेत लत्याएर गरिएको सुख्खा बन्दरगाह (ड्राईपोर्ट) को शिलान्यास, निर्माण कार्यक्रम तत्काल रोकी जनताको माग तत्काल पूरा गर्न, गराउन आग्रह गर्दछौं । अन्यथा जनताका न्यायोचित मागहरु पूरा गर्न, गराउन जुन सुकै स्तरको संघर्षको कार्यक्रम संचालन गर्न पनि समिति पछि नहट्ने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।’ यसैवीच चोभार संरक्षण समितिले नयाँ ढंगवाट आन्दोलन गर्ने समेत जनाएको छ ।

No comments:

Post a Comment