Sunday, January 20, 2019

के पढ्ने ? किन पढ्ने ?

के पढ्ने ? किन पढ्ने ?



डा. चन्द्रमान वज्राचार्य

If Wealth is lost, nothing is lost.
If health is lost, something is lost.
If Character is lost, everything is lost.

के पढ्ने ? किन पढ्ने ? अत्यन्त साधारण प्रश्न हो यो । यसको उत्तर एक वाक्यमा पनि हुन सक्छ र एउटा पुस्तक पनि बन्न सक्तछ । तर हाम्रो समाजमा कि एउटा प्रमाणपत्र पाउन र त्यसपछि एउटा नोकरी पाउनु यसको धारणा यो बनेको छ  । यसरी अन्ततः पढ्नु भनेको एउटा नोकरी पाउनका लागि भएको छ । विद्यार्थीहरू गेस
पेपर, गाईड चीट बनाएर परीक्षा हलमा चोर्ने गरिन्छ । यो काममा उनीहरू सफल भएमा बढी नम्बरकासाथ राम्रो स्थान पनि हासिल गर्न सक्तछ । त्यसपछि राम्रो प्रमाणपत्र पाउँछ र आफ्नो पहुँचका मान्छे भएपछि राम्रो नोकरी पाइहाल्छ । अनि पढ्ने किन ? पढ्नै नपर्ने गरी प्रमाणपत्रमात्र खुसुक्क पाउने भए यी विद्यार्थीहरूले पढ्ने काम शायद गर्दैनथे अथवा  हरेकलाई एउटा एउटा नोकरीको व्यवस्था मिलाइदिएको भए पढ्ने काम पटक्कै गर्दैनथे होला । आमाबाबुले पनि आफ्ना बालबच्चाहरूलाई पढाउँदैनथे होलान् । के पढ्नु भनेको साँच्चै एउटा प्रमाणपत्र पाउन र एउटा नोकरी पाउनका लागि मात्रै हो  त ? आखिर यस्तो विचारको विकास किन भइरहेछ नेपालमा ? त्यस्तो वातावरणको निर्माण किन र कसरी भयो ? परीक्षा हलमा चोर्न नदिएको आरोपमा विद्यार्थीहरूले आ–आफ्नै कापी च्याटाच्याट गर्ने, क्याम्पसकै शिशाहरू तोडफोड गर्ने कामसम्म हुनुमा राज्यले चिन्ता लिनुपर्छ कि पर्दैन ? तर राज्यको यहाँनिर कुनै गुञ्जाइस देखिंदैन । नेपालको शैक्षिक अवस्था आजको सन्दर्भमा यही
छ ।

              पढ्ने किन ? आज भौतिक उन्नतिले शिखर चुम्दै गरेको २१ औं शताब्दीमा पुगेर पनि यो प्रश्नबारे चर्चा चलाउँदै छु । के यो अनावश्यक र वाहियात काम होला र ? हाम्रो समाज जतिसुकै बूढो भए पनि, जतिसुकै अनुभव अनूभुति भए पनि पढ्नुको अर्थ भने नबुझेका धेरै छन् । मैले ठाउँ ठाउँमा, व्यक्ति व्यक्तिमा सोध्ने गर्दछु– पढ्ने  किन ? जवाफमा सन्तुष्टि पाइँदैन । दुःख लाग्छ ।  हाम्रो समाजमा केही वर्षअघिसम्म अक्षराम्भ गर्दा सबभन्दा शुरुमा ‘न मो वा गी श्व रा य’ सातवटा अक्षरबाट शुरु हुन्थ्यो । शुरुमै यी सातवटा अक्षर किन पढाइन्थ्यो र यसको कारण र अर्थ भने उच्च शिक्षा हासिल गरिसक्दा पनि के हो के हो, कुन चरोको नाम हो बुभिंmदैन, थाहा हुँदैन । न गुरुले सिकाउने प्रयास गर्दछ, न विद्यार्थीले नै सिक्ने जिज्ञासा राख्दछ । कलिलो विद्यार्थीहरूको अवस्थामा प्रश्न गर्न जानिंदैन भनूँ, तर वयस्क भएपछि त अर्थ खोज्नुपर्दछ नि, होइन र ? जब ‘न मो वा गी श्व रा य’ कै अर्थ बूढो भएपछि पनि बुभिंmदैन भने किन पढ्ने ? भन्ने कुरोको ज्ञान हुन्छ भनेर ठोकुवा गर्न सकिन्छ र ?  पढ्नु भनेको के हो ? यो प्रश्नावली बनाएर सोधेमा उत्तर पाउँदछौं –पढ्नु भनेको पुस्तक पढ्नु हो, त्यो पनि विशेषगरी पाठ्यक्रममा आधारित पाठ्यपुस्तक । स्कुल र कलेजमा गएर शिक्षकहरूको कुरा सुन्नु हो । अहिलेका विद्यार्थीहरूलाई पढ्नु भनेकै पाठ्य पुस्तकमात्र भन्ने शिक्षा दिँदै आएकाले त्यसरी बुझ्नु स्वाभाविक छ । तसर्थ विद्यार्थीहरूमा ‘पढ्ने किन ?’ भन्ने बारेमा स्पष्ट जानकारी छैन । एउटा राष्ट्र चलाउनका लागि विभिन्न दक्ष जनशक्तिको आवश्यकता पर्ने भएकाले राज्यले राष्ट्रिय शिक्षाको व्यवस्था गरेको हुन्छ । यसमा  राज्यको स्वार्थ नै नेपालको लागि दक्ष जनशक्ति उत्पादन गरी समुन्नत राष्ट्रको निर्माणको लागि टेवा पु¥याउनु हो । यसको लागि राज्यले पर्याप्त लगानी समेत गरेको हुन्छ । तर एउटा प्रमाणपत्र र एउटा नोकरी पाउनका लागि पढिन्छ भने त्यो शिक्षाकै अपमान र उपेक्षा होइन र ? के एउटा नोकरी प्राप्त भएपछि पढ्नु पर्दैन त ? आर्थिक पछौटेपनको कारण उब्जिएको यो विचार धारणाको दोष राज्यको होइन र ?

         पाठ्यपुस्तक पढ्नु पनि निश्चितै रूपमा पढ्नु नै भए पनि यो पढ्नुको सीमित अर्थ हो । त्यसबाहेक अन्य पुस्तकहरू र पत्रपत्रिकाहरू पढ्नु पनि पढ्नु नै हो । नेपालभाषाका एक सुप्रसिद्ध जनकवि दुर्गालालले लेखेका छन् पढ्नु भनेको आपैmभित्र  गहिरी गहिरी पस्नु डिग्री धरीकन म उठें भन्नु सम्झ रसातल खस्नु  मान्छेलाई सबैभन्दा मनपर्ने के हुन्छ ? व्यक्ति व्यक्तिको उत्तर जति नै फरक भए पनि अन्ततः सबैको आशय एउटै हुन्छ –जीवन । सबैलाई आ–आफ्नो जीवन सबभन्दा मन पर्छन् । हामीले हरेक दिन, हरेक क्षण जे काम गर्दछौं, हाम्रै जीवनको लागि गर्दछौं । तसर्थ पढ्नु भनेको हाम्रो जीवन पढ्नु हुनुपर्छ । आफ्नो निजी जीवन, पारिवारिक जीवन, सामाजिक जीवन, राष्ट्रिय जीवन आदि इत्यादि पढ्नुका विस्तृत अर्थ हुन् । एस एल सीको परिक्षाफल प्रकाशित भएपछि अब कुन विषय पढ्ने भन्नेबारे विद्यार्थीहरूलाई समस्या आएको हुन्छ । पढ्ने  किन ? भन्ने प्रश्नको उत्तरमा कसैले भन्ने गर्दछन्– डाक्टर बन्न, इन्जिनियर, प्रोफेसर बन्न र पैसा कमाउन अनि धनाढ्य भएर सुख सयल गर्न । तर शिक्षक, साहित्यकार बनेर चेतनाको दियो बाल्छु भन्ने व्यक्ति पाउन मुश्किल छ । हाम्रो समाजको मान्यता रहेको छ जुन काम गर्दा पैसा धेरै कमाउन सक्छ त्यो काम सामाजिक प्रतिष्ठा भएको काम हुन्छ र आय आर्जन नहुने निन्दनीय काम हुन्छ । शिक्षक र कवि कलाकार हुँदा आय–आर्जनको व्यवस्था नहुँदा गरीब हुनुपर्ने हुन्छ । तसर्थ म शिक्षक हुन्छु वा म साहित्यकार वा कलाकार हुन्छु भन्ने भावना राखेर पढ्नेहरूको संख्या नगण्य मात्रामा देखिन्छ ।

     प्रकृतिले हामीलाई विचार गर्न मस्तिष्क प्रदान गरेको छ । तर हामी मस्तिष्क प्रयोग गर्दैनौं र मस्तिष्कमा खिया लाग्छ । अनि ‘पढ्ने किन ?’ भन्ने कुराको उत्तरसमेतमा सन्तुष्टि पाउन सत्तैmनौं । नयाँ नौलो विचारको उद्गमस्थल मस्तिष्कमा नै खिया परेपछि हामीमा नयाँ र सही विचार कहाँबाट  आउँछ ? नयाँ कार्यशैलीको निर्माण कसरी हुन्छ ? अनि हिजोकै मान्छे, हिजोकै रीतिरिवाज, हिजोकै समाज व्यवस्था हिजोकै सबै । खोई  परिवर्तन ? कहाँ छ परिवर्तन ? 

       राजतन्त्रको अन्त्यको घोषणा हुँदैमा सहज र सरल ढङ्गमा परिवर्तन संभव हुँदैन । नयाँ विचार, नयाँ नेतृत्व, नयाँ नीति, नयाँ  वातावरणमा मात्र देशमा युग  परिवर्तन भएको सार्थक अनुभूति गर्न सकिन्छ ।
कैयौं रकम लगानी गरी विदेशसम्म गई कम्प्युटर इन्जिनियर पढेर आएको नेपालीले नेपालमा त्यही कम्प्युटरलाई देउताको रूपमा पूजाआजा गरेको हुन्छ । के कम्प्युटर पनि नयाँ देउता हुनसक्छ ? कम्प्युटर निर्माण गर्ने व्यक्तिको धारणामा के देउताको पनि श्रृष्टि गरेको हुन्छ ? नेपालीहरूमा यस्ता वेमेलका विचारहरू आउनका कारण हाम्रो संस्कृति संस्कार हो । जहाँ पनि जुनैलाई पनि देउता ठानेर पूजा गर्ने हाम्रो संस्कृति संस्कारअनुसार नै कम्प्युटरलाई पनि पूजा गर्न थाले । हामीमा पढ्ने किन ? भन्ने धारणा नभएकैले अहिलेसम्म नेपालमा सियोसम्म पनि बन्न नसकेको र विदेशीको भरमा बाँच्नुपर्ने बाध्यता रहिआएको छ । तसर्थ नेपाललाई हिजोकै नेपालकै अवस्थामा राख्ने हो भने पुरानै ढङ्गले सुगाको रटाई भैंm रटाई रहौं अन्यथा पाश्चात्य मुलुकभैंm नेपाललाई पनि बनाउने हो भने त हाम्रो ‘पढ्ने किन ?’को स्पष्ट धारणा आउनुप¥यो । कि लाग यता कि लाग उता । दुबै डुङ्गामा खुट्टा राखेर यात्रा गर्न सकिंदैन ।

       डुङ्गामा प्वाल पर्न गएमा डुङ्गा नै डुब्छ र यात्रुहरूको जीवन  मरणकै सवाल उठ्न थाल्दछ । त्यस्तैगरी देश डुबेमा सबै देशवासीहरूको अस्तित्वको प्रश्न उठ्दछ । तसर्थ हामीले हाम्रो देश ठीक ढङ्गले चलिरहेको छ छैन
हर क्षण चिन्ता लिनैपर्छ ।

           यसबारे हामीहरूले पढ्नै पर्छ र पढाउनै पर्छ । आज हाम्रो देश लथालिङ्ग भई भताभुङ्ग भइरहेको छ । यसका खास खास कारणहरू के के हुन्, हामीले पढ्नै पर्छ । गरिब असहाय नेपालीहरूलाई बाँच्न धौधौ परेको छ तर नेताहरू कसैलाई वास्ता छैन, किन ? देशको राष्ट्रियता खतरामा परिसकेको छ, यसबारे एक शब्द नबोल्नुको
कारण के हो ? संसार असीमित विषय भएको खुला पुस्तक हो, जुन विषय मनपर्छ, पढ्न सकिन्छ । तर आवश्यक छ मनभित्रको आँखा खोल्न । हाम्रो बाहिरको आँखाले बाह्य संसारमात्र देख्छ भने भित्री आँखाले भित्री संसार नै देख्छ । वास्तवमा बाह्य संसारभन्दा भित्री संसार निर्णायक र महत्वपूर्ण हुन्छ । तसर्थ जब मनभित्रको आँखा खुल्छ तब मात्रै ‘पढ्ने किन ?’ भन्ने प्रश्नको पूर्ण जवाफ प्राप्त हुन्छ । भित्री आँखा नखुलेकै कारण पढ्नु भनेको केवल प्रमाणपत्र र नोकरी पाउनुमात्र  धारणा रहेको हो । आजको शिक्षामा भित्री आँखा छैन, केवल बाहिरी आँखामात्र छ विशेष गरी प्लस टु का विद्यार्थीहरूमा  । उनीहरूको लागि पढ्नु भनेको आमाबाबुको सेवा गर्नको लागि होइन, आफ्नो समाज र मातृभूमिको लागि होइन, केवल पैसाको लागि हो । पैसामा यति रमाएका छन् कि पैसाको अगाडि न आमाबाबु न आफ्नो मातृभूमि नै उनीहरूको लागि आवश्यकता पर्दछ । तसर्थ आजका विद्यार्थीहरूमा सामाजिक चेतना, दायित्वहीनता, अनुशासनहीनता, उच्छृङ्खलताको सीमा नाघिंदै छ । उच्च शिक्षा हासिल गरेर उच्च स्तरको तलब खाने एक छोराले आफ्नी वृढा अशक्त आमालाई घरमा एक्लो छोडेर विदेशमा पैसाको प्यासमा जाँदा त्यस आमाको हालत के भयो होला ? त्यस्तो अशक्त अवस्थामा पनि आपूmलाई हेरचाह गर्ने कुनै सन्तान आपूmसित नहुँदा उनको कुन मनोदशा भयो होला ? के छोरा भएर आमाको यो मनोदशा पढ्नु पर्दैन ? के निज छोराले आफ्नी आमाबाट साँच्चै स्याबासी पाउने छ कि धिक्कार पाउने छ ? एउटा छोराले आमाबाट स्याबासी पाउने हो कि धिक्कार पाउने हो ? के पढ्ने किन पढ्ने ? आमालाई रूवाउनका लागि हो ? मातृभूमिको बेवास्ता गर्नको लागि हो ? आफ्नै आमाको दुःख, पीडा र छटपटी नै नबुझ्ने छोरोले जिन्दगीको
बारेमा के नै पो बुझेको हुन्छ र ? आमाबाबु र मातृभूमिप्रति  छोराछोरीले सेवा गर्नुपर्ने शिक्षा दिन नसकिने त्यस्तो शैक्षिक व्यवस्था देशकै लागि घातक हो र त्यस्तो शिक्षा व्यवस्था तुरून्त परिवर्तन गर्नुपर्छ ।

         क्रान्तिपूर्व चीनका एकजना विद्यार्थी जापानमा डाक्टर पढ्न जाँदा त्यहाँ उनले जापानीहरूले चिनियाँहरूलाई बेइज्जति र अपमान गरेको र चिनियाहरू मजा मानेर हेरिरहेको फिल्म देखेपछि उनको मन परिवर्तन भयो र सर्वप्रथम देशको स्वतन्त्रता र स्वाधीनताको लागि लड्नुपर्ने र तमाम चिनियाँ जनतालाई जाग्रत गराउनुपर्ने आवश्यकता बोध  गरी जापान छोडेर चीनमा नै बसेर साहित्य लेख्न थाले । चीनको क्रान्तिमा उनले साहित्यमार्पmत ठूलो योगदान गरे र उनी सांस्कृतिक आन्दोलनका कमान्डरको रूपमा विश्वमा प्रसिद्ध भए । उनी थिए चीनका विश्वविख्यात साहित्यकार लु स्युन ।

        नेपालमा पनि डा. बाबुराम भट्टराईको यस्तै उदाहरण पाइन्छ । उनी परीक्षामा जहिले पनि पहिलो स्थानमा पर्ने मेघावी छात्र हुन् र उनीलाई अमेरिकाले सम्मानका साथ अमेरिकामा नै बस्न अनुरोध गर्दा पनि त्यहाँ नबसेर नेपाली जनवादी क्रान्तिको लागि ज्यान हत्केलामा राखेर १० वर्ष जनयुद्ध समेत गर्दै आएका छन् । आज देशमा उनको जुन इज्जत  गौरवको स्थान छ, यदि उनी आर्किटेक्टमात्र भएको भए यो स्थान उनलाई प्राप्य हुने थिएन । तसर्थ हामी पैसाको मान्छे बन्ने कि देशको मान्छे बन्ने ? आपूm र आफ्नो परिवारको लागि मात्र बाँच्ने कि देशको लागि बाँच्ने ? आफ्नो परिवारको मात्र सम्मान पाउने कि देशकै सम्मान पाउने ? छनौट गर्ने पूर्ण अधिकार हामी आपैmमा छ । जसले तुच्छ विचार लिन्छ ऊ तुच्छ नै हुन्छ, तर जसले महान् विचार लिन्छ, ऊ महान् नै बन्छ । तसर्थ पढ्नु भनेको मनको आँखा खोल्नु हो । अन्धपरम्परा अन्ध रीतिरिवाजबाट मुक्त भई  जागरणतर्पm उन्मुख हुनु हो । जीवनको सार्थकता बुझ्नु हो । जीवनको बाटो पहिल्याउनु हो । मान्छे पूर्ण रूपमा मान्छे भएर बाँच्नुको लागि हो । न्याय, समानता, स्वतन्त्रता र स्वाधीनताको लागि संघर्ष लागि हो । समग्रमा समाजमा अँध्यारो नष्ट गरेर उज्यालो ल्याउनको लागि हो ।

             समाज र देशको अँध्यारो पक्षको बारेमा चिन्तित भएर पढ्ने व्यक्ति महान् हुन्छ । जुन देशमा महान् व्यक्तिहरूको जन्म हुन्छ, त्यो देशको महानताको उचाई पनि बढ्दछ । हामी नेपालीहरूले पनि यस विषयमा चिन्तित भएर केवल आफ्नो लागि होइन, समाज र देशको लागि पढ्नु पर्दछ ।

No comments:

Post a Comment