Friday, December 14, 2018

कीर्तिपुर कोटघरको अवलोकनका लागि पत्र

कीर्तिपुर कोटघरको अवलोकनका लागि पत्र
तत्कालै अवलोकन गर्न नदिने, कोटघरमा एउटै साइजको ३८ वटा तरवार
कीर्तिपुर सन्देश साप्ताहिक

          कीर्तिपुरको इतिहास लेख्दै गर्दाको यो समयमा कीर्तिपुरको कोटघरमा रहेका हतियार, कोटघर र त्यहाँ रहेको विभिन्न सम्पदाहरुको बारेमा कीर्तिपुरवासीले धेरै चासो लिन थालेका छन् ।

यसैवीच कीर्तिपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदा अध्ययण परियोजनका संयोजक प्रा. डा. टेकबहादुर श्रेष्ठले कीर्तिपुर नगरपालिकामा ऐतिहासिक तथा सामरिक सम्पदाबारे भनी गत मंसीर २३ गतेको मिति राखी कीर्तिपुरको क्वाच्वःमा रहेको कोटघरको अवलोकनका लागि व्यवस्था मिलाउन हुनु भनी निवेदन दर्ता गरेको थियो ।

सो निवेदनमा भनिएको छ ‘विक्रम संवत २०७५ कार्तिक ७ गते बुधवारको कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकाको पृष्ठ ४ मा प्रकाशित कीर्तिपुरको दरबार क्षेत्र र कोटघर अवलोकन शिर्षकको समाचारमा कोटघरमा करिव तीन दर्जनभन्दा बढी हतियार रहेको भनी उल्ल्ेख भएको हुँदा कीर्तिपुर नगरपालिकाद्धारा प्रदत्त कीर्तिपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदा विषयक लघु अनुसन्धान हुदै रहेकोले यी सामरिक सम्पदालाई पनि यो अनुसन्धान प्रतिवेदनमा समावेश गर्न उपयुक्त हुने देखिएकोले कोटघरका यी सम्पदाका साथै जलघडीपोखरी र सुरुङ अवलोकन गर्ने व्यवथा मिलाई दिनुहुन निवेदन गर्दछु । पुनश्च कीर्तिपुरका आराध्य देवता बाघभैरव मन्दिरभित्र पनि केहि सांस्कृतिक सम्पदा हुन सक्ने बुझिएकोले यो स्थानको पनि अवलोकन गर्नाका साथै लाय्कुस्थित बाजा संग्रालयमा सुरक्षित बाजाहरु अवलोकन गर्ने व्यवस्था गरिदिनु हुन पनि अनुरोध गर्दछु ।’

त्यसपछि कीर्तिपुर नगरपालिकाका प्रशासन शाखा प्रमुख सानुबाबु परियारले मंसीर २३ गतेकै मितिमा कोटघरका अध्यक्षको नाममा पत्र पठाएको थियो । सो पत्रमा भनिएको छ ः ‘उपरोक्त सम्वन्धमा यस नगरपालिकाबाट कीर्तिपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदा विषयक लघु अनुसन्धान भईरहेकोले त्यस कोटघरमा ऐतिहासिक तथा महत्वपूर्ण सम्पदा भएकाले सो सम्वन्धी अवलोकन गर्नका साथै जलघडी पोखरी र सुरुङ को बारेमा आवश्यक सूचना संकालनका लागि परियोजनाका संयोजक श्री प्रा. डा. टेकशादुर श्रेष्ठ सहित अन्य सदस्यहरुलाई भ्रमणमा आउने भएकोले आवश्यक सहयोग र समन्वय गरिदिुन निर्देशानुसार अनुरोध गरिन्छ ।’

यसरी पत्राचार भएपछि सो विषयमा कीर्तिपुर सन्देशले कीर्तिपुरको आगम कोटघर गुथिका अध्यक्ष आकर्षण प्रधानलाई सम्पर्क गर्दा उहाँले अहिलेको अवस्थामा तत्कालै कोटघरमा अवलोकन गर्न र हतियार देखाउने काम हुन नसक्ने बताउनु भएको छ । उहाँले कोटघर भनेको नेवाः समुदायको आगं हो र यो क्षेत्रमा केहि गर्नु परेमा सबै गुथियारहरुको सहमति चाहिन्छ, बरु त्यहाँ भित्रका विवरण भने प्रा. डा. टेकबहादुर श्रेष्ठलाई जनकारी गराएको समेत बताउनु भयो । प्रधानले कोटघरमा ३८ वटा तरवार रहेको बताउनु भएको छ । ती हतियारहरु एउटै साइजक भएको र कीर्तिपुरको बाघ भैरव मन्दिरमा प्रदर्शनीमा राखेका हतियार जस्तै कोटघरमा रहेको समेत बताउनु भयो । बरु बाघभैरमा रहेका हतियार भन्दा अलि लामो लामो रहेको समेत उहाँले बताउनु भयो । कोटघरको नाप नक्सा समेत प्रा. डा. श्रेष्ठलाई बताएको समेत उहाँले कीर्तिपुर सन्देशलाई बताउनु भएको छ । ती हतियारहरु पृथ्वीनारयाण शाहसंग युद्धमा प्रयोग भएको हो वा हैन भन्ने कुरा आफूहरुलाई पनि थाहा नभएको समेत बताउनु भयो ।

कोटघरसंग सम्वन्धित २९ परिवार रहेको र त्यसमा पनि ३ सय सदस्य रहेका कारण अव गुथिमा सहमति भयो भने मात्र अवलोकनको वातावरण मिलाउन सकिने समेत अध्यक्ष आकर्षण प्रधानले बताउनु भयो ।
Publish -Date 2075/08.26 Kirtipur Sandesh Issue 375

No comments:

Post a Comment