Thursday, May 17, 2018

पालुबः कीर्तिपुरमा बुद्ध पुजा तथा ज्ञानमाला भजन

पालुबः कीर्तिपुरमा बुद्ध पुजा तथा ज्ञानमाला भजन






सानुमाया चौधरी

         २०७५ बैशाख २२ गतेका दिनमा कीर्तिपुर नगरपालिका वडा नं. ४ पालुब टोलस्थित बुद्ध मन्दिर संरक्षण समितिले २५६२औं बुद्ध जयन्ती, बुद्ध मन्दिर सरक्षण समितिको पाँचौं र पालुब ज्ञानमाला भजन खलःको चौधौं वार्षिकोत्सबको उपलक्ष्यमा आयोजित ‘बुद्ध पूजा तथा ज्ञानमाला भजन’ भब्यताकासाथ सम्पन्न भयो । कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष बुद्ध महर्जनले, प्रमुख अतिथी कीर्तिपुर नगरपालिका वडा नं. ४का वडा अध्यक्ष राजेन्द्र बानियाँ र विशिष्ट अतिथिको रुपमा श्रद्धेय मेदङ्कर भन्तेज्यू उपस्थित हुनुहुन्थ्यो । प्रमुख ज्ञानमाला भजन खलःका रुपमा समग्र ज्ञानमाला भजन खलः, त्रिरत्न विहार, कीर्तिपुरका अध्यक्ष तथा नेपाल राष्ट्रिय ज्ञानमाला समितिका अध्यक्ष जुलुम शाक्य, त्यस्तै संरक्षण समितिका संरक्षक सन्तबहादुर महर्जन, बुद्ध पूजा समितिका अध्यक्ष बीरमाया महर्जन, श्रीकीर्ति ज्ञानमाला भजन खलःका सचिव महन्त बहादुर महर्जन, पालुब ज्ञानमाला भजन खलःका गुरु श्रीकृष्ण महर्जन र जग्गा दाताद्वय कमला श्रेष्ठ र हरिलाल महर्जन समेत अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

         उद्घाटन समारोहका प्रमुख अतिथि कीर्तिपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष राजेन्द्र बानियांले नेपाल भूमिका पुत्र, राष्ट्रिय विभूति भगवान गौतम बुद्धले प्रतिपादन गर्नु भएको धर्म नै नेपालको मूल धर्मका रुपमा हामीले ग्रहण गर्नु पर्ने कुरामा जोड दिनु भयो । आज देश विकराल सामाजिक विकृतिबाट गुज्रिरहेको अवस्थामा बुद्ध धर्मको सार ग्रहण गर्ने हो भने देशले पक्कै काँचुली फेर्ने कुरामा जोड दिनु भयो । साथै स्थानीय निकायको ऐन र नियम नबनेसम्म आफूले पाउने पारिश्रमिक नबुझेको र त्यस पछि आफुले पाउने पारिश्रमिक रकम अनाथ, बालबालिकाहरुको लागि खर्चने पनि बताउनु भयो ।

       उक्त कार्यक्रममा भिक्षु मेदङ्करबाट पंचशिल प्रदान गर्नुकासाथै धर्मदेशना गर्नु भएको थियो । समितिका सचिव नील कुमारी महर्जनले उद्घोषण गर्नु भएको सो कार्यक्रममा सदस्य लक्ष्मी महर्जनले  स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो ।

        सभाको विसर्जनको क्रममा कार्यक्रमका सभापति बुद्ध महर्जनले संसारको एकमात्र धर्म ‘बुद्ध धर्म’ विज्ञान, ब्यवहार र समाजिक दृष्टिकोणले  मानव जीवनलाई सतमार्ग र सुमार्गमा लान सक्ने धर्म भएको र यो धर्मको अनुशरणमा जाँदा आफैलाई पत्तै नहुने गरि आफ्नो सोच, विचार र दैनिक जीवनमा परिवर्तन भएको बताउनु भयो । वहाँले नेपालमा हिन्दू राष्ट्रको कुरा उठिरहंदा नेपालीहरुले हाम्रै देशका भूमिपुत्र, राष्ट्रिय विभुती गौतम बुद्धले प्रतिपादन गर्नु भएको धर्म बिर्सन नहुने बताउनु भयो । वहाँले बुद्ध धर्मको प्रचार प्रसार गर्ने लक्ष्यका साथ बुद्ध मन्दिर संरक्षण समितीको गठन भएको र यसको अलावा सो समितिको अग्रसरतामा वरिपरिका विकास निर्माण, सामाजिक जनचेतनाका कार्यक्रम, सरसफाई, पानी ब्यवस्थापन, बाटो मर्मत तथा ब्यवस्थापन, सौर्य उर्जा सडक बत्ति, आँगेटारस्थित मन्दिर परिसर मर्मत तथा जग्गा संरक्षण लगायतका थुप्रै कार्य गरेको र उक्त कुरा सामाजिक परिक्षणका रुपमा यस गरिमामय कार्यक्रममा जानकारी गराएको बताउनु भयो । छिट्टै नै जेष्ठ नागरिक लक्षित केही कार्यक्रम लिएर यस वर्ष विशेष अर्काे कार्यक्रम गर्ने लक्ष्य रहेको समेत बताउनु भयो ।
तीन चरणमा विभाजित कार्यक्रममा उद्घाटन तर्फको सत्र समापन पश्चात्, बुद्ध पूजा कार्यक्रम थालनी भएको र त्यस लगत्तै ज्ञानमाला भजन कार्यक्रम शुरुआत भएकोमा प्रमुख अतिथी ज्ञानमाला भजन खलःका रुपमा श्री समग्र ज्ञानमाला भजन खलः, त्रिरत्न विहार, गुत्पौ, कीर्तिपुरबाट ५० भन्दा बढी उपासक उपासिकाहरुले ज्ञानमाला प्रस्तुत गरेको थियो । अन्य अतिथी भजन खलका रुपमा बुद्ध पूजा समिति, कीर्तिपुर, भाजंगल ज्ञानमाला भजन खलः भाजंगल, कीर्तिपुर, अनुमोल ज्ञानमाला भजन खलः इटागोल, कीर्तिपुर, मच्छेनारायण भजन मण्डल, चन्द्रागिरी, मच्छेगाउँ, उपेक्षा ज्ञानमाला भजन खलः, चन्द्रागिरी, टौखेल, करुणा मिसापुचः ज्ञानमाला भजन खलः चन्द्रगिरी, बोसिगाउँ लगायतले ज्ञानमाला प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथी ज्ञानमाला भजन खलःलाई सम्मान समेत गरिएको थियो ।
कीर्तिपुर सन्देश साप्ताहिक अंक ३८६ मिति २०७५ जेठ २ गते बुधवार प्रकाशित

No comments:

Post a Comment