Tuesday, July 25, 2017

नागरिकद्वारा कीर्तिपुर नगरपालिकाका मेयर उपमेयरलाई शुभकामना प्रदान

नागरिकद्वारा कीर्तिपुर नगरपालिकाका मेयर उपमेयरलाई शुभकामना प्रदान





कीर्तिपुर सन्देश साप्ताहिक /
मंगलवार किपू नागरिक संवाद केन्द्रका सदस्यहरु भेला भएर कीर्तिपुर नगरपालिकाका  नव निर्वाचीत मेयर रमेश महर्जन र उपमेयर सरस्वती खड्कालाई बधाई दिंदै पाँच वर्षको कार्यकालको  सफलताको लागि शुभकामना पनि दिए । नेपालभाषालाई कीर्तिपुर नगरपालिकामा कामकाजको भाषाको रुपमा प्रयोग गर्ने नव निर्वाचीत मेयर रमेश महर्जनको उद्घोषलाई सम्मान गर्दै नेपालभाषाको संरक्षण र संबद्र्धन र प्रबद्र्धन गर्न किपू नागरीक संवाद केन्द्रले सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्दै संयोजक रजनी मिलाले एउटा पत्र मेयरलाई हस्तान्तरण गर्नुभयो ।

उक्त पत्र बुझाउनु अघि श्रीकृष्ण महर्जनले वाचन गर्नु भएको थियो । उपमेयर सरस्वति खडकाले वडा नं.४ मा तामांगहरुको पनि बसोबास भएकोले नेपाली भाषा, नेपालभाषाको साथै तामांग भाषा र संस्कृतिको पनि संरक्षण, संवद्र्धन र प्रवर्धन नगरपालिका तत्पर रहेको बताउनु भयो । नव निर्वाचित मेयर रमेश महर्जनले विद्यमान नगरपालिकाको नियम अनुसार काम गर्न साह्रै अप्ठ्यारो भएको बताउनुभयो । अब नयाँ नियम संशोधन भएर आएपछि काम गर्न सजिलो हुने अपेक्षा गर्नुभयो । २०५४ सालं कीर्तिपुर नगरपालिकाया मेयर हीराकाजी महर्जनको पालामा पनि नेपाल भाषाको संरक्षण संवद्र्धन गर्न खोज्नु भएको थियो सर्वोच्च अदालतको आदेशले गर्दा काम अगाडी बणउन नसकेको सम्झना गराउनुभयो । मेयर महर्जनले किपू नागरिक संवाद केन्द्र र बुद्धिजिवीहरुको सहयोग पाएमा कीर्तिपुर नगरपालिकामा नेपालभाषालाई कामकाज भाषाको रुपमा प्रयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । साथै उहाँले कीर्तिपुरमा नेवाः पहिचानलाई कायम राख्न नेपालभाषा, नेवाः संस्कृति नेवाः लिपि लगायतका विषयमा नागरिक सरोकार केन्द्रसंग सहकार्य गरि अघि बढ्ने बताउनु भएको थियो । उहाँले नेपालभाषालाई कामकाजि भाषाको रुपमा नगरपालिकामा प्रयोग गर्नका लागि नागरिकको ठूलो भुमिका रहने र अहिलेको अवस्थामा नेपालभाषाको संरक्षण सम्वद्र्धन साथै विकासका लागि औपचारिक शिक्षाको रुपमा स्कूलमा र अनौपचारिक शिक्षाको रुपमा टोल टोलमा अभियान संचालन गर्नुपर्ने बताउनु भएको थियो ।

कीर्तिपुरमा बस्ने सबै गैर नेवाः समुदायले पनि नेपालभाषा सिक्नु पर्छ भन्ने पक्षमा आफू रहेको बताउदै मेयर महर्जनले कीर्तिपुर नगरपालिकामा नागरिकले भर्ने विभिन्न किसिमका फारमहरुलाई नेपालभाषामा पनि बनाउन दिनका लागि अनुवाद गर्न नागरिक समाजलाई नै सो फारमका प्रतिलिपि हस्तान्तरण गर्नु भएको थियो । साथै उहाँले नेवाः समुदायको नामवाट रहेका विभिन्न स्थानहरुलाई नेपालभाषामा राख्नका लागि पनि सबै नागरिकले सहयोग गर्नुपर्ने बताउनु भएको थियो । कार्यक्रम प्रयाग मान प्रधानले संचालन गर्नु भएको थियो ।

कीर्तिपुर सन्देश साप्ताहिक अंक २९८, २०७४ जेठ १८ गते प्रकाशित

No comments:

Post a Comment