Tuesday, July 25, 2017

कीर्तिपुर नगरपालिकामा स्थानीय तह चुनावको मतदाताको समिक्षा

कीर्तिपुर नगरपालिकामा स्थानीय तह चुनावको मतदाताको समिक्षा

कीर्तिपुर सन्देश साप्ताहिक/
गत बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले प्रमुख उपप्रमुख सहित १० वटा वडामा ७ वटा वडामा वडाध्यक्ष जितेका छन । नेपाली कांग्रेसले ३ वटा वडामा वडाध्यक्ष जितेका छन । त्यस्तै नेकपा माओवादी केन्द्रले एउटा वडामा पनि विजय हासिल गर्न सकेन ।

यतिबेला निर्वाचित प्रमुख उपप्रमुख र वडाध्यक्षहरुले शपथ ग्रहण पछि कार्यालयमा गएर काम सम्हालिसकेका छन । यस चुनावको समिक्षा पार्टीहरुले औपचारिक रुपमा गरेको  नगरेको बाहिर आएको छैन । तर चार जना मानिसहरु भेला हुने ठाउँ, चिया पसल आदिमा भने मतदाताहरु आ–आफ्नै किसिमले चुनावको समिक्षा गर्न थालेका छन ।

२०७० सालको दोस्रो संविधान सभाको चुनावमा की. न.पा.को १९ वटा वडाको मात्र मत गणना गर्दा २ हजार मतले एक नम्बरमा ने.का. थियो भने माओवादी केन्द्र दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा रहेका थिए । अहिलेको निर्वाचनमा तेस्रो स्थानमा रहेको एमालेलाई पहिलो र पहिलो स्थानमा रहेको नेपाली कांग्रेसलाई दोस्र्रो स्थानमा र दोस्रो स्थानमा रहेको माओवादी केन्द्रलाई तेस्रो स्थानमा पु¥याइ दिएका छन । यसैलाई आधार मानेर अहिले मतदाताहरु आ–आफ्नै किसिमले समिक्षा गर्न थालेका छन ।

नेपाली कांग्रेसको हारको बारेमा मतदाताहरु खरायो र कछुवाको दौडसँग तुलना गरेर समिक्षा गरिरहेका छन । एक नम्बरमा रहेका नेपाली कांग्रेस हामी जितिहाल्छौं नि भनी ढुक्क थियो । तेस्रो स्थानमा रहेको नेकपा एमालेले पहिलोस्थान ओगट्न चुनाव हुनुभन्दा धेरैदिन अगाडिदेखिनै प्रमुखको उम्मेदवार तय गरेर जनता सामु पठाइसकेका थिए । नेपाली कांग्रेसले भने उम्मेदवार नै चयन गर्न सकिरहेको थिएन । कहिले कसको नाम, कहिले कसको नामको हल्ला चलिरहेको थियो । उम्मेदवारी दर्ता गर्ने दुई दिन अगाडिसम्म एकजनाको नाम चर्चामा थियो । जसको बारेमा मतदाताहरुले एक मन बनाईसकेको थियो । तर उम्मेदवारी दर्ता गर्ने बेलामा नगर प्रमुख, उपप्रमुख र वडाध्यक्ष लगायत धेरै उम्मेदवारहरुको नाम परिवर्तन गरियो । जसको परिणाम निर्वाचनमा हार व्यहोरिनु प¥यो । नेकपा एमालेरुपी कछुवा विस्तारै लगातार दौडिरह्यो, खरायोरुपि नेपाली कांग्रेस कछुवाभन्दा म दौड्न सक्छु भन्ने घमण्डले आराम गरिरहँदा चुनावरुपी दौडमा हारे ।

माओवादी केन्द्रको बारेमा महाभारतको कथा जोडिन थालेका छन । माओवादी केन्द्र दश वर्षे जनयुद्धबाट आएको पार्टी भएकोले मास पार्टी बन्न सकेको छैन । सबै वडामा वडा कमिटी चलायमान गर्न सकेन । माओवादी केन्द्रमा पनि नगर प्रमुखको उम्मेदवार को भन्ने समयमा मतदाताहरुलाई भन्न सकेन । कहिले कसको नाम, कहिले कसको नाम हुँदाहुँदै अन्तमा मात्र उम्मेदवारको चयन गरियो । सोभन्दा पहिले माओवादीबाट छुट्टिएर गएको बाबुराम भट्टराईको नेतृत्वको पार्टी नयाँशक्ति नेपाल पार्टीले संघीय समाजवादीको चुनाव चिन्ह लिएर चुनावमा भाग लिने भएपछि चुनावमा तालमेल गर्न वार्ता भएको थियो । जसमा नयाँ शक्ति पार्टीले उपमेयर र वडा नं.१० को वडाध्यक्ष माग गरिएको थियो । माओवादी केन्द्र उपमेयर पद दिन तयार तर १० नं.वडाको वडाध्यक्ष दिन तयार भएन । महाभारत कथामा पाण्डवले पाँच गाउँ माग्दा कौरवले दिन इन्कार गरेपछि महाभारत युद्ध भयो । कौरवले हस्तिनापुर राज्य नै गुमाउनु प¥यो । दुई पार्टी मिलेर चुनाव लडेको भए माओवादी केन्द्रले उपपमुख र ३ वटा वडा जित्ने देखिन्थ्यो । अहिले वडा नं. १० मा ३ जना नसस र वडा नं.८ मा एकजना नसस गरी ४ जना नससमा चित्त बुझाउनु प¥यो । नेपाली कांग्रेसको हारको कारण अरु नभई आफ्नै कार्यकर्ता र मतदाताहरु रहेका बताइरहेका छन । चिया गफमा एकजना नेपाली कांग्रेसका कार्यकर्ताले कांग्रेस पार्टीको हारमा डा. योगी विकाशानन्दको कथा सम्झाउनु भयो ।

एक पटक एउटा कुकुर र एउटा गधा बिच शर्त लाग्यो । एउटा सिंहाशन खाली थियो । जो दौडर पहिला त्यहाँ पुग्छ उही सत्ताको सिंहासनमा बसेर राज्य गर्न पाउँछ ।

दौड शुरु भयो, कुकुर खुशी थियो । उसले सोच्यो कि म छिटो दौड्न सक्छु, गधालाई त म यत्तिकै हराउन सक्छु । तर उसलाई के थाहा ? हरेक गल्ली, चोकमा धेरै कुकुरहरु छन र उसलाई अगाडि जान दिंदैनन् । भयो पनि यस्तै, हरेक चोकमा स्थानिय कुकुरहरुले उसलाई ज्यानै लिने किसिमको हमला गरे । ऊ धेरै कुकुरहरुसंग लड्दै लड्दै जसोतसो सिंहाशन भएको ठाउँमा पुग्यो । त्यतिबेलासम्म गधा आरामले सिंहाशनमा बसेर मज्जाले बसिरहेको देख्यो ।

हतोत्साहित, आत्तिएको घायल कुकुरले भन्यो, “काश ! मेरो आफन्तहरु नै मसित नलडेको भए यो गधा यो सिंहाशनसम्म मभन्दा पहिले कहिल्यै पुग्दैन थियो ।

मतपत्र गन्ती गर्दाको दृश्य हेर्दा नेपाली कांग्रेससँग यो कथा ठ्याक्कै मिल्छ । सही उम्मेदवार चयन गर्न नसक्दा अन्तरघातको कारण ३ वटा वडा र नगरप्रमुखले समेत हार व्यहोर्नु परेको बताइएको छ ।

अर्काथरि भन्छन्, कीर्तिपुरवासी परिवर्तन चाहन्छ । कहिले पनि एउटै पार्टीलाई हालीमुहाली गर्न दिएको छैन । कीर्तिपुरवासी गुण र दोषको आधारमा निर्णय गर्छन । २०५४ सालमा एमालेलाई भारी बहुमतले जिताएको थियो, २०५६ सालमा नेपाली कांग्रेसलाई, २०६४ सालमा माओवादी पार्टीलाई, २०७० सालमा नेपाली कांग्रेसलाई भारी बहुमतले जिताएका थिए । अहिले एमालेलाई भारी बहुमतले जिताएका छन । जितमा मात्तिएर एमालेले पनि केही काम गर्न सकेन भने भोलि उसलाई पनि हराउन सक्छ । हा¥यो भनेर आत्तिनु हुँदैन । जनताको मन जित्न अहिलेदेखि नै काममा लागिरहेमा भोलिको दिन आफ्नो बनाउन सकिन्छ ।

कीर्तिपुर सन्देश साप्ताहिक अंक २९८, २०७४ जेठ १८ गते प्रकाशित


No comments:

Post a Comment