Sunday, March 5, 2017

ज्येष्ठ नागरिक सेवा केन्द्र पाँगाप्रति ज्येष्ठ नागरिकहरुको धारणा

ज्येष्ठ नागरिक सेवा केन्द्र पाँगाप्रति ज्येष्ठ नागरिकहरुको धारणा


Jagat Maya Maharjan

तपाईंको छोटकरीमा संक्षिप्त परिचय दिनुहोस

—म जगतमाया महर्जन, मेरो आमा स्व.मैया महर्जन र बुबा स्व.गोपाल महर्जन हुनुहुन्छ । म नगाउँमा जन्मेको हुँ । अर्थात मेरो माईतिघर नगाउँ हो ।

तपाईंको कति वर्षको उमेरमा कोसँग विवाह भएको थियो ।

— म १४ वर्षको उमेर हुँदा पाँगा दथलको स्व.मंगलकृष्ण महर्जन (नाती) संग विवाह भएको थियो । त्यतिबेला लोग्ने स्वास्नी भन्ने नै थाहा थिएन । म करीव ६ वर्षसम्म त माइतीमै बसें ।

तपाईंको श्रीमानको देहान्त भएको कति वर्ष भयो ?

—पोहोरसालको गथु प्याखँभन्दा १२ वर्ष पहिलेको गथु प्याखँ देखाएको बेला मेरो श्रीमानको निधन भएको थियो । अब कति वर्ष भयो भन्दा १३ वर्ष भयो भन्नुपर्छ ।

तपाईं एकल महिला हुनुहुन्छ । तपार्ईंको बालबच्चा कोही पनि छैन ?
—छैन, मेरो कोखमा बच्चा राख्नै पाएको थिएन । मेरो जीवनको सहारा नै मेरो श्रीमान हो । श्रीमान बित्नु भएपछि म एक्लै भएँ ।

 तपाईं कतिवर्षको हुनुभयो ? अनि अहिले तपाईं कहाँ कोसँग बस्नुहुन्छ ।

— म अहिले ८० वर्षकी भएँ । पोहोर साल भूकम्पले घर नभत्काएसम्म म दथल घरमै बस्थें । अहिले त्यो घर भत्केकोले म छुगाउँमा भाईको घरमा बस्छु । मेरो आफ्नो छोरी नभए पनि भाईको छोरी सुधाले मलाई हेरिरहेकी छिन । उनकै भरमा छु म ।

तपाईं हरेक दिन छुगाउँदेखि पाँगा लाछीसम्म कसरी आउनु हुन्छ ? 

—म छुगाउँदेखि यहाँसम्म हरेक दिन पैदलै आउँछु, पैदलै फर्किन्छु ।

तपाईं यो ज्येष्ठ नागरिक सेवा केन्द्रमा कहिलेदेखि आउनु भएको ?

—सुरुदेखि नै म आईरहेको छु । कहिं कतै जानु प¥यो भनेमात्र हो नत्र म संधै आउँछु । विहान ९ बजे खाना खान्छु । खाना खाएर घरमा एकछिन आराम गर्छु । अनि विस्तारै यहाँ आउँछु । यहाँ आउँदा केन्द्र खुलिसकेको हुन्छ ।

तपाईंलाई यहाँ आएर कस्तो महसुस भैरहेको छ ?

— ओहो ! यो ठाउँको बारेमा, यहाँका छोरी बुहारीहरुको बारेमा कति प्रशंसा गरुँ ? हामीजस्ता उमेर पुगेका ज्येष्ठ नागरिकहरुको लागि यो सेवा केन्द्रत स्वर्गजस्तो लाग्छ । स्वर्ग कस्तो छ भनेर कसैले देखेको छैन । स्वर्गमा खानपिनको कमि हुँदैन । मन आनन्द हुन्छ । जे पनि राम्रो मात्र देखिन्छ भन्थ्यो । मेरो लागि त यहाँ पनि त्यस्तै छ । यहाँ विभिन्न उमेर समूहका महिलाहरुसँग भेटघाट हुन्छ । हामीलाई आफ्नो नाम भनेर हाजिर गराउँछ । पहिले आफ्नो नाम नै भन्न आउँदैनथ्यो । डर लाग्थ्यो अब त्यस्तो छैन । अनि ध्यान गर्न लगाउँछ । योग गर्न लगाउँछ । भजन किर्तन गराउनु हुन्छ । १२÷१ बजेतिर चिया विस्कुट÷कहिले  पाउरोटी नास्ता दिनुहुन्छ । ४ बजेतिर खाजा खुवाउनु हुन्छ । खाजा खाएर हामी विस्तारै आ–आफ्नो घर लाग्छु ।
         यहाँको खाजा या खाना कस्तो लाग्छ तपाईंलाई ?

 — यहाँ खाजा या खाना एकदम मिठो छ । यहाँ सबैलाई समान व्यवहार हुन्छ । पेटभरि खान पाइन्छ । हप्तामा एक दुई जनाले हामीलाई भोजन गराउन आउनु हुन्छ । उहाँहरुले पैसा दिनुहुन्छ । यहाँका स्वयंसेवकहरुले नै खाजा या खाना बनाएर खुवाउनु हुन्छ । किनकी यहाँका बहिनीहरुलाई हाम्रो स्वाद थाहा भइसकेको छ । हामीलाई के हुन्छ, के हुँदैन सबै थाहा पाइसक्नु भएको छ । हामी घरमा हुँदा बरु समयमा खाजा खाँदैनथ्यौ होला यहाँ त घडी हेरेर खुवाउनु हुन्छ । घरमा विहान पकाईराखेको खाजा या खाना खानु पर्छ । हरेक दिन दिउँसो खाजा बनाएर खानु सम्भव पनि छैन । यहाँ त तातो तातो मिठो खान पाइन्छ ।

यहाँ आएर दिनका दिन खाजा खाएर जानु पर्दा तपाईंलाई कस्तो महसुस हुन्छ ? 

— रमाइलो लाग्छ । बरु कहिले कहिं मनमा कुरा खेल्छ । दिनको ८०/९० जनालाई पकाएर खुवाउनु पर्छ, कति गाह्रो भयो होला ? संधैभरि यसरी खुवाउन पैसा कहाँबाट आउँछ ? भनेर मनमा पीर पर्छ । तर यहाँ कोही न कोही हामीलाई खुवाउन आइरहेका छन । सहयोग दिनेहरु पनि आइरहनु भएको छ । ती सहयोग दिन आउनु हुनेहरुलाई हामी भित्री हृदयदेखि नै जय होस भनेर मंगल कामना गर्दछु । उहाँहरुको हरेक काम सफल होस
यसरी नै मनमा दयाभाव जागिरहोस भनेर आशिर्वाद दिन्छु । यस केन्द्रको अक्षयकोष स्थापना गर्ने भनेकोले म पनि आजिवन सदस्य बनेकी छु । मेरो भाई बुहारीले पनि सहयोग गरेको छ ।

तपाईंको सन्तान छैन भनेर तपाईंलाई मनमा अपशोच लाग्दैन ?

जवानीमा अलि अलि मन खिन्न हुन्थ्यो । पछि भगवानले नदिएको के गर्ने भनेर मनमा राखें । मेरो सन्तान नभए पनि मेरा आफन्तहरुले मलाई धेरै धेरै माया गरी राखेका छन । पाँगा तःगुथिले पनि मसँग एक पैसा लिएको छैन । सबैकुरामा छुट दिनु भएको छ । अझ म मरेंभनें मेरो लास पनि उठाई दिन्छु भन्नु भएको छ । त्यसैले मलाई कुनै चिन्ता छैन । दुई तीन जना छोरा हुनेहरुको पनि कसैले नहेरेर दुःख पाइरहेको देखेको छु । कोही आमालाई यहाँ छाडेर आफ्नो परिवार विदेशमा बस्न गएका छोराहरु पनि देखेकै छु । छोरी छोरी भइकन पनि आफ्नो साथमा छैन । त्यसैले सन्तान हुनु र नहुनुमा मलाई कुनै अपशोच छैन । कुनै चिन्ता छैन । बरु यो सेवा केन्द्र बन्द होला कि भन्ने मात्र चिन्ता छ । यो सेवा केन्द्र नभएको भए हामी कहाँ गएर दिन काटुँ जस्तो लाग्छ । त्यसैले म सबैसँग हार्दिक अनुरोध गर्दछु कि जसरी पनि यो सेवा केन्द्र निरन्तर चलिरहोस । यही मेरो कामना छ ।

No comments:

Post a Comment