Thursday, February 9, 2017

पाँगामा चार शहिदहरूको सालिक अनावरण

पाँगामा चार शहिदहरूको सालिक अनावरण


कीर्तिपुर सन्देश

कीर्तिपुर नगरपालिका वडा नं.९ सालिकमा शहिद दिवसको उपलक्ष्यमा गत माघ १६ गते आइतवार एक कार्यक्रमका बीच जहाँनिया राणा शासनको विरुद्ध लडेका चार जना शहिदहरुको अर्धकदको सालिक अनावरण गरिएको छ ।

     उक्त स्थानमा २०१३ साल मंसिर १८ गते सोमबार थीरबम मल्लको सालिक माथि राखेर तल एकातिरमात्र चार शहिदहरुको सानो मूर्ति राखेर स्थापना गरी उक्त स्थानलाई शहिदपथ भन्ने नामाकरण गरिएको थियो । चारजना शहिदहरुभन्दा माथि थीरबम मल्लको सालिक राखेको कारण तत्कालीन पाँगाबासीले थीरबम मल्लको सालिक हटाई दिएका थिए । त्यतिबेला देखि सालिक विहिन रहेको स्तम्भमा शहिदपथ उपभोक्ता समितिको पहलमा शुक्रराज शास्त्री जोशी, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको अर्धकदको सालिक स्थापना गरी अनावरण गरिएको थियो ।

उपभोक्ता समितिका अध्यक्ष मेनूका महर्जनको सभापतित्वमा भएको उक्त सभाको प्रमुख अतिथि की.न.पा.का कार्यकारी अधिकृत सुमन कुमार कार्कीले अनावरण गर्नु भएको थियो । उक्त सभामा अन्य अतिथिहरुमा पूर्व राज्यमन्त्री दिलिप महर्जन, शहिद स्मृति व्यवस्थापन समितिका संयोजक नारायण महर्जन, ज्येष्ठ नागरिक क्लब पाँगाका अध्यक्ष इन्द्रमान महर्जन, समाजसेवी अर्जुन महर्जन लगायतका हुनुहुन्थ्यो ।
समाजसेवी अर्जुन महर्जनले चार जना शहिदहरुको परिचय दिनुका साथै कार्यक्रमको औचित्य बारे प्रकाश पार्नु भएको थियो ।

मन्तव्य राख्नेक्रममा पूर्व राज्यमन्त्री दिलिप महर्जनले नेपालको राजनैतिक आन्दोलनमा नेवारहरुको अग्रणी भूमिका रहेको उल्लेख गर्नुहुँदै १९९७ सालमा राणा शासकले झुन्ड्याएर मारेका चार जना शहिदहरुमा तीन जना त नेवार रहेको बताउनु भयो । संविधान सभाबाट संविधान बनाउने ७ सालदेखिको चाहना पुरा भएको छ । तर त्यसमा पनि हामी नेवारहरुले पहिचान पाएको छैन भन्नुभयो ।

मन्तव्यको क्रममा नारायण महर्जनले देशमा विभिन्नकालखण्डमा भएका विभिन्न आन्दोलनबाट राजनैतिक परिवर्तन भयो । संविधानसभाबाट संविधान पनि बनाइयो तर नेपाली जनताले आफ्नो अधिकार प्राप्त गर्न सकेको छैन भन्नुभयो ।
प्रमुख अतिथि सुमन कुमार कार्कीले कीर्तिपुरको विकासको लागि प्रत्येक कीर्तिपुरवासी जागरुक हुनु पर्ने बताउनु भयो । सभापति मेनूका महर्जनले सालिक बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै सभा विसर्जन गर्नुभयो ।

स्मरणरहोस उक्त सालिक बनाउन करिब २ लाख रुपैयाको लागत परेको थियो । जसमा कीर्तिपुर नगरपालिका, झीगु तिबः बचत तथा ऋण सहकारी संस्था लि., शंखापुर बहुउद्देश्यीय सहकारी र स्थानीय वासीको सहयोगमा बनाइएको हो । उक्त स्थानमा पूर्वतिर शुक्रराज शास्त्री जोशी, दक्षिण धर्मभक्त माथेमा, पश्चिम दशरथ चन्द, उत्तर गंगालाल श्रेष्ठको सालिक राखिएको छ ।

No comments:

Post a Comment