Sunday, February 12, 2017

साँखुमा पहिचानको लागि नागरिक आन्दोलन

साँखुमा पहिचानको लागि नागरिक आन्दोलन



श्रीकृष्ण महर्जन/
बालानन्द पौडेलको नेतृत्वमा सरकारले निर्माण गरेको गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको सीमा तथा संख्या निर्धारण आयोगलाई नेपालका संचार जगतले भ्रम फैलाउने ढंगवाट स्थानीय निकाय पुनर्संरचना आयोग भनी प्रचार गर्दै आएको अवस्था छ भने सोहि आयोगको प्रतिवेदनमा ऐतिहासिक एवं सांस्कृतिक रुपमा महत्वपूर्ण र नेवाः समुदायको सभ्यतासंग जोडिएको साँखु अर्थात शंखरापुर क्षेत्रको पहिचान समाप्त पार्ने योजना बनाएको भन्दै नागरिकहरु कडा आन्दोलनमा उत्रेका छन् ।

शंखरापुर नगरपालिकालाई कागेश्वरी मनहरा नगरपालिकामा समावेश गरि शंखरापुरको पहिचान समाप्त पार्न लागेका कारण स्थानीयवासी आन्दोलनमा उत्रेका हुन ।

सुरुमा राजनीतिक पार्टीका नेताहरुकै अगुवाइमा संघर्ष समिति गठन गरेको थियो भने सो समितिले औपचारिकता मात्र दिई ज्ञापन पत्र दिने कार्य गरेका र पछिललो समयमा आई आन्दोलनलाई वीचमा नै छाड्ने अवस्था आएपछि जनस्तरवाटै आन्दोलनलाई जारी राखेको  छ ।

नागरिक स्तरवाट शंखरापुर नगरपालिका बचाउ संघर्ष समिति गठन गरि सशक्त आन्दोलन घोषणा गर्दै दिन दिनै आन्दोलन गर्दै आइरहेको अवस्था छ । माघ २५ गते साँखु क्षेत्रमा रहेका सम्पूर्ण स्कूल बन्द गरेको थियो भने २४ गते साँखुमा रहेका सरकारी कार्यालयहरु मालपोट कार्यालय, नापी कार्यालय, हुलाक कार्यालय, इलाका प्रशासन कार्यालयदेखि विद्युत प्राधिकरणको कार्यालयमा तालाबन्दी गरेको थियो ।

त्यसै गरि गत माघ २३ गते शंखरापुर नगरपालिकाको कार्यालय साथै १५ वटै वडा कार्यालय समेत तालबन्दी गरेको थियो । आन्दोलनकै क्रममा २६ गते बुधवार विहान ५ बजेदेखि ११ बजे सम्म साँखु बन्द आह्वान समेत गरेको अवस्था छ । प्रत्येक बर्ष साँखुमा मेला हुने परम्परा अनुसार अहिले पनि साली नदिमा मेला भइरहेको अवस्थालाई ध्यानमा राखी दिनभरी बन्द नगरेको स्थानीयवासीले बताएका छन् ।

आज भन्दा करिव ३३ सय बर्ष अघिदेखि अस्तित्वमा रहेको शंखरापुर नगरपालिका ऐतिहासिक एवं सांस्कृतिक रुपले महत्वपूर्ण एवं नेवाः समुदयायको सभ्यतासंग पनि जोडिएका कारण शंखरापुर नाम स्वयं पहिचान बनिसकेको अवस्थामा कागेश्वरी मनहरा नगरपालिकामा राखी शंखरापुरको पहिचान समाप्त पार्ने खेल सुरु गरेका कारण स्थानीयवासी पहिचानको लागि आन्दोलनमा उत्रेको स्थनीयवासी  प्रकाशमान सक्वले बताउनु भएको छ ।  

1 comment: