Sunday, February 12, 2017

ज्येष्ठ नागरिक सेवा केन्द्र पांगा सबैको आस्थाको केन्द्र बन्दै

ज्येष्ठ नागरिक सेवा केन्द्र पांगा सबैको आस्थाको केन्द्र बन्दै




कीर्तिपुर सन्देश साप्ताहिक/
                 आजको समयमा मानिसहरुमा व्यक्तिगत चिन्तन हावी हुँदै गइरहेको छ । संयुक्त परिवारको चलन पनि हट्दै गइरहेको अवस्था छ । पारिवारिक व्यस्तताको कारणले ज्येष्ठ नागरिकहरु एक्लै घरमा बस्न बाध्य हुुनु परेको छ । दैनिक समय बिताउन कठिन भएको अवस्थालाई ध्यानमा राखी “सेवा नै धर्म हो” भन्ने मूल नारा र आदर्श लिएर २०७३ साल बैशाख ५ गतेदेखि सुरु भएको पाँगा लाछीमा रहेको ज्येष्ठ नागरिक सेवा केन्द्र अहिले सबैको आस्थाको केन्द्र बनेको छ ।

              बोर्डिंग स्कुलमा साना नानीहरुलाई दे केयर भनेर राख्दा अभिभावकले महिनाको हजारौं रुपैया बुझाउनु पर्छ । तर ज्येष्ठ नागरिक सेवा केन्द्रमा जाने ज्येष्ठ नागरिकहरुले बिना पैसा दिउँसो चिया र खाजा खान पाइन्छ । विहान १० बजेदेखि साँझ ५ बजेसम्म विभिन्न क्रियाकलाप गरी आरामले दिन बिताउन पाइन्छ ।

           ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाको विकास र सेवाको लागि भनेर आई.एन.जि.ओ र एन.जि.ओ मार्फत महिनाको लाखौं रुपैया हडपिनेहरु पनि यहाँ नभएको होइन । ज्येष्ठ नागरिकको नाममा आएको बजेट विभिन्न ठाउँमा घुमेर, वर्षको एकचोटि घुमघाम गरेर बजेट सकाउनेहरु पनि नभएका होइनन् ।

           ज्येष्ठ नागरिक सेवा केन्द्र पांगाका स्वयंसेवीहरुले विना तलब पुरै सेवाभावले ज्येष्ठ नागरिकहरुको सेवा गरिरहनु भएको छ । जसबाट खुसी भएर उहाँहरुलाई सहयोग गर्न देश विदेशबाट समेत सेवा केन्द्रमा आउन थालेका छन ।

                गत माघ २२ गते शनिवार एकैदिनमा त्यहाँ तीनवटा कार्यक्रम भएको थियो । उज्ज्वल शिशु निकेतन एकेडेमीका प्रिन्सिपल दिलमान महर्जनको १६ औं विवाहोत्सव आफ्ना श्रीमती सारिका महर्जन, बुबा हिरामान, आमा दयालक्ष्मी, छोरी समृद्धि र छोरा स्वच्छन्द र अन्य साथीहरुको साथमा ज्येष्ठ नागरिक सेवा केन्द्र पाँगामा आई केक काटेर ज्येष्ठ नागरिकहरुलाई भोजन दान गर्नु भै मनाउनु भयो । उक्त अवसरमा उहाँहरुलाई सुखमय सफल दाम्पत्य जीवनको लागि ज्येष्ठ नागरिकहरुको तर्फबाट शुभाशिर्वाद दिइएको थियो ।

              त्यस्तै पाँगाकी चेली रितु डंगोल जो आफ्नी श्रीमान नरेन्द्र श्रेष्ठको साथ अस्ट्रेलियाको मेलबोर्न शहरमा व्यापार व्यवसाय गर्नुहुन्थ्यो । आफ्नो घरायसी कामले नेपाल आउनु भएको अवसर पारेर उहाँ पनि आफ्नी श्रीमानको साथमा माघ २२ गते ज्येष्ठ नागरिक सेवा केन्द्र पाँगामा आउनु भयो । त्यहाँको गतिविधि बुझ्नुभयो र उहाँहरुको व्यवहार र सेवाभावबाट प्रभावित भएर ज्येष्ठ नागरिकहरुको सेवा गर्न टेवा पुगोस भनेर रु.३५ हजार सहयोग प्रदान गर्नुभयो । श्रीमान श्रीमती आधा दिनसम्म ज्येष्ठ नागरिकहरुसँग बसेर रमाएर जानुभयो । अष्ट्रेलिया पुगेर पनि सहयोग गर्ने बचन दिएर जानुभयो ।

              त्यस्तै पाँगाकै मनीष महर्जन र सरस्वती महर्जनले आफ्नो छोरा मिराज महर्जनको श्रीपञ्चमीको दिन ब्रतबन्ध गरेको खुशीयाली बाँड्न केन्द्रमा आउनु भयो । दिनभरि ज्येष्ठ नागरिकहरुसँग रमाइलोसँग दिन बिताएर आफ्नो छोराको सुन्दर भविष्यको लागि आशिर्वाद लिएर जानुभयो ।

               उक्त अवसरमा मनीष दम्पतिले सेवा केन्द्रका पदाधिकारीहरुलाई दोसल्ला ओढाई सम्मान पनि गरिएको थियो । यसरी हरेक मानिसको मन जित्न सेवा केन्द्र सफल भएको छ । एक दुई दिन विराएर त्यहाँ भोजन गराउन कोही न कोही आइरहनु भएको अध्यक्ष दुर्गा कुमारी महर्जनले बताउनुभयो ।

                 उक्त केन्द्रमा ८० देखि ९० जनासम्म ज्येष्ठ नागरिकहरु दिनहुँ आउनु हुन्छ । उहाँहरुलाई हिरानानी महर्जनले योग सिकाउनु हुन्छ । अहिले त स्वस्थानी ब्रत कथा सुरु भएदेखि जनसेवा उच्च मा.वि.का पूर्व प्रधानाध्यापक रामदेवी महर्जनले स्वस्थानी वाचन गरी सुनाइरहनु भएको छ ।उक्त सेवा केन्द्रमा दिन बिताउन पाएर ज्येष्ठ नागरिकहरु खुशी भएका छन । साथै उहाँहरुका सन्तानहरु पनि खुशी भएको देखिन्छ ।

                                 आमा दिनभरि घरमा बस्दा घरमा बुहारी– सासु बीच कहिले कहिंं ठाकठुक हुन्थ्यो । सासु–ससुरा दिनभरि सेवा केन्द्रमा बसेर आउँदा पहिलेजस्तो ठाकठुक हुन बन्द भयो । घरमा शान्तिको बास भएर छोराहरु खुशी भए । सासु–ससुरालाई खाजा बनाएर खुवाउन परेको कारण आफ्नो काममा जान नपाएका बुहारीहरु पनि खुशी भएका छन । यसरी खुशी भएर केही न केही सहयोग गर्नेहरु पनि नभएका होइनन् । निस्वार्थ भावनाले गरेको सेवाभावले सबैजना खुशी भएका छन । सबैको आस्था केन्द्र बनेका छन ज्येष्ठ नागरिक सेवा केन्द्र पाँगा ।

 यदि कसैले ज्येष्ठ नागरिक सेवा केन्द्र पाँगालाई सहयोग गर्न चाहनु हुन्छ भने अध्यक्ष दुर्गा कुमारी महर्जनको मोबाईल नं. ९८४३६४६३३३ वा सचिव हिरादेवी महर्जनको मोबाईल नं. ९८४३५७०००० मा सम्पर्क राख्नु सक्नु हुन्छ ।

विदेशमा बस्नुहुने महानुभावहरुले आर्थिक सहयोग गर्न चाहनु हुन्छ भने एस डेभलपमेन्ट बैंक कीर्तिपुर शाखामा रहेको ज्येष्ठ नागरिक सेवा केन्द्र पाँगाको चल्ति खाता नं ००३०००००००९३२०१ मा जम्मा गर्न सक्नु हुन्छ ।



No comments:

Post a Comment