Saturday, January 21, 2017

कीर्तिपुर नगरपालिकाको आ.व.२०७४/०७५ को बजेट सार्वजनिकीकरण

कीर्तिपुर नगरपालिकाको आ.व.२०७४/०७५ को बजेट सार्वजनिकीकरण



कीर्तिपुर नगरपालिकाको २५ औं नगर परिषदको निर्णय सार्वजनिकी करण कीर्तिपुरको हिलसाइड होटलमा गत पौष २८ गते सम्पन्न गरियो ।

की.न.पा.का कार्यकारी अधिकृत सुमन कुमार कार्कीको सभापतित्वमा भएको उक्त कार्यक्रमको सांसद राजन के.सी.ले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नु भएको थियो । उक्त सभामा अतिथिको रुपमा सांसाद रुपा महर्जन, विनोद श्रेष्ठ, काठमाडौं जि.वि.स.का प्रतिनिधि दिपक के.सी., महिला संजालका उपाध्यक्ष यमुना महर्जन, सल्लाहकारहरु प्रा.डा. हिरा बहादुर महर्जन, शुक्रसागर श्रेष्ठ र ई.मथुरा डंगोल हुनुहुन्थ्यो ।

कार्यक्रमको जानकारीको साथै स्वागत मन्तब्य बरिष्ठ लेखा अधिकृत सानुबाबु परियारले दिनु भएको थियो ।
कार्यकारी अधिकृत सुमन कुमार कार्कीले आ.व. २०७४÷०७५को लागि रु.३६ करोड ७५ लाख १८ हजारको  बजेट सार्वजनिकीकरण गर्नुभयो । जसमा चालू तर्फ १० करोड ५७ लाख ५० हजार रहेको छ भने पूँजीगत तर्फ रु.२६ करोड १७ लाख ६८ हजार बजेट विनियोजन गरेको थियो । उहाँका अनुसार वडाको विकास बजेटलाई प्राथमिकता दिइएको, नगरबासीलाई दक्ष र सक्षम बनाउन विभिन्न शिर्षकमा शीपमुलक तालिम दिइने, कीर्तिपुर नगरपालिकाको भवन बनाउन ४ करोड ३० लाख रुपैया बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा कीर्ति अध्ययन तथा अनुसन्धान मण्डलले तयार पारेको “कीर्तिपुरको संक्षिप्त चिनारी” नामको पुस्तकको पनि विमोचन गरिएको थियो । विमोचन कार्यक्रममा उक्त पुस्तक तयार पार्ने संस्थाका अध्यक्ष वा लेखकहरु मध्ये कोहि पनि त्यहाँ उपस्थित देखिएन । जसले गर्दा त्यहाँ उपस्थितहरुले चित्त दुखायो ।
यस्तो अनुसन्धानको पुस्तक तयार पार्नु चानचुन मेहेनतले पुग्ने कुरा होइन । त्यत्रो मेहेनत गरेर तयार पारेका लेखकहरुलाई सम्मान नगर्नु नगरपालिकाको ठूलो भूल हो । कार्यक्रम पछि यस सम्बाददाताले मण्डलका अध्यक्ष प्रयाग मान प्रधानसंग सम्पर्क राख्दा नगरपालिकाले उहाँहरुलाई सूचना नै नगरेको बताउनुभयो । पुस्तकको आइएस बीएन नम्बर पनि लिएको छैन । जसले गर्दा यो पुस्तक नेपाल बाहिर जान सकिंदैन । न त इन्टरनेटमै राख्न सकिन्छ ।

यो हतारमा गरिएको काम हो । उक्त कार्यक्रममा प्रमुख अतिथि सांसद राजन के.सी.ले आफ्नो मन्तव्य राख्नेक्रममा भन्नुभयो, “हामी सबैजना एक ढिक्का भयौं भने कीर्तिपुर नगरपालिकालाई नमूना नगरपालिका बनाउन सकिन्छ । कीर्तिपुर नगरपालिकामा दक्षिणकाली नगरपालिका पनि गाभ्ने कुरा आइरहेको छ । त्यसो भयो भने हाम्रो जिम्मेवारी अझ बढ्ने छ।

सांसद रुपा महर्जनले कीर्तिपुर नगरपालिका गठन भएको २० वर्ष पुगे पनि यहाँ खासै विकास हुन सकेको छैन । पानीको समस्या ज्यूँका त्यूँ नै छ । सबै एक ढिक्का भएर लागेमा कीर्तिपुरको समस्या समाधान गर्न सकिन्छ भन्नुभयो ।

सांसद विनोद श्रेष्ठले नगरको विकासमा राजनीति नगरी सबै एक ढिक्का भएर लागेमा नगर विकास हुने बताउनु भयो ।
उक्त कार्यक्रममा हालसालै थाईल्याण्डको पटायामा शहरमा सम्पन्न आठौं विश्व शारिरीक सुगठन प्रतियोगितामा काश्य पदक बिजेता ननीता महर्जन बज्राचार्यलाई नगद रु.१० हजारसहित दोसल्ला ओढाई सम्मान पत्रका साथ सम्मान गरिएको थियो ।

No comments:

Post a Comment