Friday, September 9, 2016

“जिउँदो लाशको मुर्दो आवाज” जेल डायरी — ४

“जिउँदो लाशको मुर्दो आवाज” जेल डायरी — ४ 
२०६७÷०६÷०८ शुक्रवार दोस्रो दिन


अदालतबाट पहिलो म्याद थप

म हनुमान ढोका पुगेको दोस्रो दिन बिहान ५ बजे मेरो निद्रा खुल्यो । यसो हेरेको त बाटोभरि लाइनका लाइन मानिसहरू मस्त निद्रामा सुतिरहेका थिए । कोठातिर हेरें । हरेक कोठाको ढोका खुल्लै रहेछ । त्यहाँ त महिला थुनुवाहरू पनि रहेछन् । उनीहरूको कोठामा बाहिरबाट हतकडीको ताला लगाईएको थियो । पुरुष थुनुवाहरूको कोठामा भने ढोका नै लगाएको थिएन । एकजना प्रहरी बरण्डामा पालो बसिरहेको थियो । यो ठाउँमा आजभन्दा करीव चालीस वर्ष पहिले पनि म आएको थिएँ । त्यतिबेला भारतले नेपालको सुस्ता र महेशपुरमा अतिक्रमण गरेको थियो । त्यसको विरोधमा भारतीय दुतावास लैनचौरमा ढुङ्गामुढा गर्न गएको थिएँ । त्यतिबेला प्रहरीले हामीलाई गिरफ्तार गरेर यहाँ दुई रात थुनेको थियो । त्यतिबेला त यति थुनुवाहरू थिएन । कोठामा दिनभरि ताला लगाइ राख्थ्यो । पिशाव फेर्न र खाना खानमात्र ढोका खोल्थ्यो । मलाई पिशाव लाग्यो ।

पिशाव फेर्न म तल ओर्लें । मैले त्यो ठाउँको राम्ररी निरीक्षण गरें । यो घरलाई पहिले रातो घर मामाघर भन्ने ठाउँको बीच भागमा एउटा सानो चोक थियो । चोकको दायाँ बायाँ अर्थात् उत्तर दक्षिण लाइनको दुईटा भाग थिए । त्यो भाग जोड्न एउटा बरण्डा थिए । माथिदेखि नै खुला भएको चोक थियो । त्यहाँबाट आकाश देखिन्थ्यो । म विस्तारै भ¥यांङ्गको बार समातेर तल ओर्लें । पन्ध्र खुड्किला रहेछ । तल हिलटेक कम्पनीको ठूलठूला दुईटा ट्याकीहरू थिए । पानी थाप्न हुनेगरी दुईटै ट्यांकीमा धाराको तुति राखेको थियो । बरण्डाको मुनि नुहाउने दुईटा कोठा थिए । त्यसपछि एक लाईनले ५ वटा ट्वाईलेटहरू थिए । एउटामा महिला शौचालय भनेर लेखिराखेको रहेछ । म एउटा ट्वाईलेटभित्र गएँ । ढोका लगाएर चुकुल लगाउन खोजेको त चुकुल नै थिएन । पानी बाल्टिन ढोकानिर राखेर दिसा बसें । बाहिर आएर हातमुख धोएँ । माथि आएर एकछिन बसें । हातमा घडी थिएन । कति बज्यो थाहा भएन ।

एकछिन पछि “अय उठ, तल हिंड” भनेर एकजना प्रहरी लट्ठी घुमाउँदै आयो । बाटोमा सुतिरहेकाहरू आ–आफ्नो ओढ्ने–ओछ्याउने समेतेर कोठामा गए । महिला सेलको ढोका पनि खुल्यो । रातभर पिशाव गर्न नपाएकाहरू हस्याङ्ग फस्याङग गर्दै चर्पीतिर लागे । उतरतिरको कोठाहरूबाट पनि ग्वारग्वार्ती मानिसहरू तल ओर्ले । त्यो सानो चोकमा ठेलमठेल गरेर बस्दा पनि अटेन । भ¥यांङ्गको खुडकिलामा समेत बसे । म पनि लंङ्गडाउँदै तल गएँ । भ¥याङ्ंगमै उभिएँ । महिलाहरूलाई बरण्डामा राख्यो । पन्ध्र मिनेटपछि माथि जाउ भन्यो । म पनि विस्तारै माथि गएँ । बरण्डामा एउटा भित्ते घडी रहेछ । विहानको ६ बजिसकेको घडीले जनाइरहेकोछ । ब्रस गर्नुप¥यो । आपूmसँग केही थिएन । यस्तो सामान्य सामान किन्न आठ नम्बर कोठामा पसल रहेछ । आठ नम्बर कोठामा गएर एउटा ब्रस र टूथपेस्ट लिएँ । ब्रस गरेर आएँ । एकछिन पछि किटलीमा चिया राखेर बेच्न ल्यायो । बाजिगर र मैले चिया पिएँ ।

बिहानको सात बज्यो । थुनुवाहरूको भेटघाट सुरु भयो । तल ढोकाबाट थुनुवाहरूको नाम लेखेर एउटा चिट माथि पठाउँदोरहेछ । माथि पालोमा बसेको प्रहरीले नाम बोलाएर जम्मा पार्छ अनि एकैचोटि चार पाँचजनालाई हतकडीमा मालाजस्तै उनेर तल पठाउँदो रहेछ ।

अब एकछिनमा मलाई भेट्न मेरा साथीभाइहरू, आफन्तहरू र परिवारका मानिसहरू आउनेछन् । मेरा पार्टीका नेताहरूले मलाई छुटाउन आउनेछन् । प्रधानमन्त्री र गृहमन्त्री मेरै पार्टीका हुन् । मैले गर्दै नगरेको अपराधमा कसरी सजाय पाउँछु र ? मेरो सम्पूर्ण ध्यान बरण्डामा रह्यो । तर कोही पनि आएन । कसैले पनि मलाई भेट्न आएन । मेरो मन छटपटाउन थाल्यो । बाहिर को आएको छ भनेर थाहा पाउन झ्याल छैन ।
नौ बजे एकजना केटा ‘नजरराम महर्जन’ भन्दै कराएर आयो । उसको हातमा टिफिन क्यारियर थियो । मैले टिफिन क्यारियर लिंदै सोधें, ‘कसले ल्याएको यो ?’

“तपाईंको छोराले दिएर गएको ।” यति भनी त्यो केटा गयो । छोराले मलाई भेट्दै नभेटीकन गयो । किन होला ?
भात खाने बेला भयो । घरबाट ल्याएको खाना बाजिगर र मैले बाँडेर खाएँ । मैले प्रहरीले दिएको खाना खाइनँ । बाजिगरले नै खायो । कति खान सकेको होला ।

दश बजे पालोमा बसिरहेको प्रहरीले मेरो नाम लिएर बोलायो । ओहो ! को भेट्न आएको होला भनेर उत्सुक हुँदै बरण्डामा गएँ । मेरो दुईटै हातमा हतकडी लगाई दियो । एउटा कागजको टुक्रा दिंदै तल जान भन्यो । गेटमा गएँ । हिजो मलाई हनुमान ढोका पु¥याउने प्रहरीहरू आएका रहेछन । उनीहरूसँग बाहिर गएँ । बाहिर गेटमा अर्कि महिला प्रहरी पनि आएकी रहिछिन् । दुबैजना सादा पोशाकमा आएका रहेछन् ।

“कहाँ जाने ?” मैले उत्सुक भएर सोधें ।
“म्याद थप्न अदालत जाने ।” प्रहरीले भन्यो ।
“एकछिन पर्खनुस् मेरो घरका मान्छेहरू आएका छैनन् । उनीहरू आएपछि मात्र जान्छु ।” मैले भनें ।
“अदालतबाट म्याद नथपेसम्म कसैलाई भेट्न दिंदैन । बरु छिटो म्याद थपेर आउँ अनि तपाईंका मानिसहरूसँग भेट गर्न पाउनु हुनेछ ।” प्रहरीले भन्यो, ‘हामी ट्याक्सीमा जानुपर्ला ।’
“हुन्छ, ट्याक्सी खोजेर ल्याउनुस् ।” मैले भनें ।
महिला प्रहरीले ट्याक्सी खोजेर ल्याइन् । विवश भएर म उनीहरूसँग गएँ । उनी अगाडि सीटमा बसिन् । म र अर्को प्रहरी पछाडि सीटमा बस्यौं । आकाश बादलले ढाकेको छ । पानी पर्लाजस्तो लाग्छ ।
“मेरी छोरीहरू कहाँ छन् ?” मैले बाटोमा सोधें ।
“एउटा संस्थाको संरक्षणमा पठाइएको छ ।” महिला प्रहरीले जवाफ दिइन् ।
“अनि मेरो घरको साँचो कोसँग छ ?”
“हामीसँग छ । हामीले ताला लगाएर शिलबन्दी गरेर आएका छौ । घरका मान्छेलाई भन्नुहोला त्यो ताला नतोड्नु होला ।” पुरुष प्रहरीले भन्यो ।

हामी सरकारी वकिल कार्यालय पुग्यौं । त्यहाँ उपस्थिति जनाएर जिल्ला अदालत लगे । एउटा झ्यालमा मलाई देखाउन लग्यो । फाँटवालाले न्यायाधीशको नम्बर लेखीदियो । मलाई इजलाश नं.३ मा लगे । कोठाभित्र पस्ने बित्तिक्कै मैले न्यायाधीशलाई प्रणाम गरे । न्यायाधीशको अगाडि मेरो फाईल राखीदियो । न्यायाधीशले सरसर्ती फाइल हेरेर मलाई पुलुक्क हेर्नुभयो । अनि प्रहरीतिर हेरेर भन्नुभयो, “दुईटा एन.जि.ओ.को झगडामा विचरो बुढो मान्छेलाई हतकडी लगाएर ल्याउनु भएको ? राम्ररी छानबिन गरेर पो ल्याउनु पर्छ । ल हतकडी खोल्नुस् ।”
प्रहरीले मेरो हतकडी खोली दियो । मलाई लाग्यो अब म छुट्छु होला ।

“तपाईंलाई घटनास्थलबाट गिरफ्तार गरिएको थियो ?” न्यायाधीशले मसँग सोध्नुभयो ।
“होइन श्रीमान, एउटा कुरा बुझ्नुछ अफिसमा एकचोटी आउनु भनेर कीर्तिपुर थानाको ईंन्स्पेक्टरले बोलाएर गएको थिएँ । त्यहाँबाट कालीमाटी महिला सेलमा ल्याएर थुनेको थियो । नत्र यो घटना घटेकै थिएन । ममाथि भूmठो आरोप लगाइएको हो श्रीमान ।”

“तपाईको खुट्टा कहिले कहाँ कसरी भाँचेको थियो ?”
“पाँच दिन पहिले आफ्नै घरको आँगनमा मर्केको थियो ।”
“हिरासतमा प्रहरीले तपाईंमाथि कुनै दुव्र्यवहार ग¥यो कि ?”

“अहिलेसम्म त केही गरेको छैन । केरकारमा लगेर खुट्टा भाँच्नुपर्छ भन्छन् श्रीमान ।”

“त्यस्तो केही गर्न पाईंदैन । त्यस्तो ग¥यो भने मलाई भन्नुहोला । तपाईंसँग अरू कुनै रोग छ ?”
“मलाई डायबिटिज टाइप २ रोग लागेको छ । हिजोदेखि औषधी खान पाएको छैन श्रीमान । अहिले नै मेरो आँखा धमिलो हुन थालिसकेको छ ।”

“के हो उहाँलाई औषधी खुवाउनु पर्दैन ?” न्यायाधीशले प्रहरीलाई भन्नुभयो ।

“हाम्रो सेलमा राखेको होइन । हनुमान ढोकामा राखेको थिएँ । अब गएर भनूँला ।” प्रहरीले जवाफ दियो ।
न्यायाधीशले फाइलमा केही लेखेर दिनुभयो । महिला प्रहरीले फाइल लिइन र बाहिर फाँटवाला कहाँ मलाई लिएर गइन् । एउटा रजिस्टरमा मलाई सहि गर्न लगायो । म प्रहरीहरूसँग अदालतबाट बाहिर आएँ । मलाई चिया पिउन मन लाग्यो । मैले प्रहरीहरूलाई भनें, ‘यहाँ एक कप चिया पिउँ न । तपाईहरू पनि पिउने हो कि ?’
“होइन । हामी चिया पिउँदैनौं । तपाई पिउनुस् ।” उनीहरूले भने ।

मैले बिना चीनिको एक कप दूधवाला चिया पिएँ । एउटा चुरोट पनि सल्काएँ । पुरुष प्रहरीले ट्याक्सी खोजेर ल्यायो । त्यही ट्याक्सीमा बसेर फर्कियौं ।

“कति दिनको म्याद थप्यो ?” मैले बाटोमा सोधें ।
“तपाईंलाई त न्यायाधीशले माया गर्नु भएको छ । हामीले पन्ध्र दिनको म्याद मागेको थिएँ । जम्मा तीन दिनको म्याद थप्नु भएको छ । अब १० गते फेरि आउनु पर्छ । चाँडै खाना खाएर बस्नुहोला ।’ पुरुष प्रहरीले भन्यो ।

हनुमान ढोका प्रहरी परिसरमा मलाई जिम्मा लगाएर उनीहरू फर्के । म माथि पुग्ने बित्तिक्कै मेरो हतकडी खोलीदियो ।

“कति दिनको म्याद थप्यो ?“ कोठामा बस्ने साथीहरूले सोधे ।
“पर्सिसम्मको लागि मात्र म्याद थपेको छ ।”

“ए ! तपाईं छुट्नु हुनेछ । अब दुईचोटीसम्म मात्र म्याद थप्न पाइन्छ । हामीलाई त पहिलो पटक पन्ध्र दिन दोस्रो पटक सात दिनको म्याद थपेको थियो । अब पर्सि पेशी छ ।” अलि बुज्रुक टाइपको व्यक्तिले भन्यो ।

यस्तै अनेकौं किसिमको गफ गर्दागर्दै समय वितेको चालै पाइन । तीन बजे प्रहरीले मलाई फेरि बोलायो । म गएँ । मलाई हतकडी लगाएर तल पठायो । मलाई भेट्न छोरा र बुहारी आएका रहेछन् । उनीहरूसँग भेटें । छोराले मलाई ओछ्याउने म्याट र ओढ्ने कम्बल ल्याइदियो । मैले कम्बल फर्काइ दिएँ । म्याट्मात्र लिएँ । अनि पाँगा घरको ढोकामा लगाएको ताला नतोड्नु भनें । ट्रयाक सुट र फेर्ने लुगा ल्याइदिनु भनें । यतिकैमा समय सकियो भनेर प्रहरीले मलाई फर्काई ल्यायो ।

साँझ साढे पाँच बजेतिर “ल, तल जाऊँ, तल जाऊँ भनेर एकजना प्रहरीले लट्ठी घुमाउँदै तल चोकमा उपस्थित हुन आदेश दियो । म विस्तारै उठें । लंङ्गडाउँदै तल ओर्लें । मानिसले चोक भरिसक्यो । ठेलमठेल गरेर मानिसहरू बसिरहेका थिए । माथि बरण्डामा महिलाहरूलाई उभ्याइराखेका थिए । एक जना प्रहरी हवल्दार एउटा रजिस्टर र एउटा फाइल लिएर आयो । उसले हामीलाई अर्ति दिन थाल्यो । जिन्दगीमा कहिल्यै अपराध नगर्न र अनुशासन नतोड्न सुझाव दियो । त्यसपछि थुनुवाहरूको नाम लिएर बोलाउन थाल्यो । जसको नाम लिन्छ, उसले यस सर भन्नु पर्दोरहेछ । मेरो नाम पनि बोलायो । मैले पनि यस सर भनें । सबैको हाजिर गरिसके पछि “ल आ–आफ्नो ठाउँमा जानु” भन्यो । केटाहरू एकैचोटि हारारा हुरुरु माथि आउन खोज्दा मलाई घचेटेर झण्डै खस्न लागेको थिएँ ।

  खाना खाने बेलामा घरबाट ल्याएको खाना नै खाएँ । त्यो रात पनि म बरण्डामा नै बाजिगरसँग सुतें । बाजिगरलाई बेलुका अण्डा र चिया खुवाएँ । मेरो मनले यस्तै हो भन्ने ठानीसकेको छु । रातभर मस्तिले सुतें ।

No comments:

Post a Comment