Saturday, September 3, 2016

कीर्तिपुरको थाहांबहा स्थित लहनामा प्रहरीद्वारा छापा

कीर्तिपुरको थाहांबहा स्थित लहनामा प्रहरीद्वारा छापा
राजमान महर्जन गिरफ्तार पछि धरौतिमा रिहा



कीर्तिपुर सन्देश
गत भाद्र १३ गते सोमबार विहान अचानक महानगरीय प्रहरी बृत्त कीर्तिपुरका प्रमुख डिएसपि डा. मेखबहादुर खत्रीको नेतृत्वमा आएको प्रहरी टोलीले कीर्तिपुर नगरपालिका वडा नं. १ थाहाँबहालमा रहेको लहना रेष्टुरेन्टमा छापा मारे ।

लहना रेष्टुरेन्ट कीर्तिपुरमा मात्रै हैन राजधानीमा नै चर्चित छ । लामो समयदेखि चर्चामा रहेको सो रेष्टुरेन्टमा प्रहरीले छाप मारेको विषयमा सम्पूर्ण कीर्तिपुरवासीले चासो लिएका छन् ।

महानगरीय प्रहरी बृत्त कीर्तिपुरका प्रमुख डिएसपि डा. मेखबहादुर खत्रीको नेतृत्वमा आएको प्रहरी टोलीले  लहनामा आउने पाहुनाहरुको लागि खुवाउन रक्सी बनाउने कत्त, भाँडाकुँडाहरु समेत जफ्त  गरेको थियो । प्रहरीले लहनावाट ९ वटा कत्त राख्ने ड्रम, रक्सी बनाउने फोसि, डुबुली, घैंटो समेत प्रहरी कार्यालयमा ल्याए । लहनाको संचालक को हो भन्दा राजमान महर्जन ‘जापान’ अगाडि आए पछि उहाँलाई लिएर प्रहरी अफिसमा आएको थियो । सोमवारका दिनमा  लहनाका संचालक एवं स्थानीयवासी राजमान महर्जनलाई प्रहरीले गिरफ्तार गरि कीर्तिपुरस्थित प्रहरी कार्यालयमा ल्याएको हो ।

‘विक्रम संवत २०६३ साल भाद्र २२ गते नेवाः तजिलजि, संस्कृति जगेर्र्ना गर्न भनि कीर्तिपुर नगरपालिका वडा नं. १ स्थित थांबहाल टोलमा खोलेको लहना हो । जसको उद्घाटन संस्कृतिविद एवं तत्कालिन नेपालभाषा एकेडेमीका चान्सलर सत्यमोहन जोशीले गर्नु भएको’  कुरा लहनाका संचालक राजमान महर्जनले बताउनु भएको छ । कीर्तिपुर सन्देश साप्ताहिका सम्बाददाताले डिएसपि खत्रीसँग जिज्ञासा राख्दा दर्ता र कहिं कतैबाट स्वीकृति नलिई भट्टि पसल चलाईरहेको भन्ने जन गुनासो आएपछि हामीले छापा मारेका हौं भनी बताउनु भयो । उहाँले भन्नु भयो ‘अवैध रुपमा रक्सी बनाएर बेच्नु गैर कानूनी हो, हामीले सबुत प्रमाण सहित गिरफ्तार गरेर ल्याएका छौं । गैर कानुनी काम गर्न हामी कसैलाई छुट दिने छैनौं । अन्तशुल्क कार्यालयमा भाँडाकुँदासहित बुझाउने छु । त्यहाँबाट जे कारवाही हुन्छ, हुन्छ ।’




प्रहरी परिसरमा रहनु भएका राजमानसँग तपाईंलाई गिरफ्तार गरेर ल्याउनु भएको हो भनी जिज्ञासा राख्दा उहाँले ‘होइन त्यसको संचालक, अध्यक्ष म भएको कारण म आफै उपस्थित हुन आएको हुँ ।’
राजमान महर्जनको भनाई  अनुसार लहना खोलेपछि विभिन्न कार्यालयमा गरेर दर्ताको लागि कुरा गर्दा ‘संग्रहालय दर्ता गर्ने कुनै कानुन बनेको छैन । कानुन बनेपछि सम्पर्क राख्नु आउनु होला भनेको थियो । त्यसैले लहना एउटा संगहालयको रुपमा संचालित भैरहेको हो । नेवाः परिकार, नेवाः भोज खानको लागि आन्तरिक पर्यटकहरु मात्र होइन विदेशी पर्यटकहरु पनि आउँछन् । उनीहरुले नेवाः परिकार मागे पछि त्यसमा रक्सी, जाँड सबै पर्छन । हामीले हामीलाई चाहिने जाँड,रक्सीमात्र उत्पादन गर्छौ । बाहिर ग्यालेन का ग्यालेन बेच्दैनौं । हाम्रो रक्सी बनाउने कत्तको वैज्ञानिक परिक्षण गरियोस् शिलबन्दी रक्सीभन्दा कुनै मान्यमा कमि छैन ।’ लहनाका संचालक महर्जनले भन्नुभयो ‘मलाई जेल पठायो भने जेलमै सफाई अभियान चलाउँछु । संसार सफाई गर्न हिंडेको मान्छे मलाई केही लोभ छैन । नेवाः लहना अन्तर्गत जाँड रक्सी पर्छ कि पर्दैन, हामीले हाम्रो संस्कृति हाम्रो परम्परा चलाउन पाउने कि नपाउने यो सवाल दरो रुपमा उठाउँछु ।’ प्रहरीले राजमान महर्जनलाई अन्त शुल्क कार्यालय कालीमातीमा पठाईएको छ ।

राजमान महर्जनले आफ्नो उपनाम मानव राखी संसारमा सर सफाई अभियान संचालन गर्दै जीवन विताउदै आएका हुन । उहाँ नेपालका विभिन्न जिल्लादेखि विश्वका विभिन्न मुलुकमा पनि सर सफाई गर्दै  आइरहेको छ । आउने माघ महिनामा १० लाख मानिसहरु उतारेर काठमाडौं सफाई गर्ने अभियानमा हुनुहुन्छ ।
सोमबार भएको उक्त घटना पछि मंगलवार स्थानीय मानिसहरु नेवाः पोशाक लगाएर साँस्कृतिक बाजा धिमे बजाएर प्रहरी कार्यालय कीर्तिपुरमा पुगेका थिए ।

कीर्तिपुरका थांबहाल टोलका स्थानीयवासी धेरै मात्रामा सहभागी भएका थिए । स्थानीयवासी प्लेकार्ड सहित सहभागी भएका थिए ।  प्रहरीले राजमानलाई कलंकीस्थित करदाता सेवा राजश्व कार्यालयमा लगेको थियो । स्थानीय मानिसहरु त्यहाँ पनि बाजा बजाएरै पुगेका थिए । राजश्व कार्यालयमा पुगेपछि नेवाः संस्कृतिमा जन्मदेखि मरणसम्म चाहिने जाँड रक्सी घरेलु उत्पादनको रुपमा मान्यता दिनुपर्ने लहना पक्षले मांग गरे । अन्त शुल्कको नियम अनुसार जानुपर्ने एकातिर छ भने नेवाः संस्कृतिसँग सम्बन्धित जाँड रक्सीको उत्पादन र बिक्री वितरण बारे पनि सल्लाह भएको थियो । राजश्व कार्यालय करादाता सेवाका उपसचिव टंकप्रसाद पन्थीले कानुन बमोजिम अगाडि बढ्ने बताउनु भयो । लामो बहस पछि अन्ततः नेवाः लहनालाई ४० हजार रुपैयाँ धरौति राख्न लगाउने निर्णय भएपछि ४० हजार धरौति बुझाएर राजमान घर फर्केका छन् ।

1 comment:

  1. जव कुनै देश समाप्त पार्नु छ भने सवभन्दा पहिला त्यहाकाे ऐतिहासिक, सांस्कृतिक पहिचान मेटाउने काम हुन्छ रे । अहिले कथित सडक विस्तारका नाममा काठमाण्डाैका ईतिहास मेटाई रहेका छन्, उपत्यकाको नेवारी संस्कृति माथि कानुनि च्याखें दाउ राखेर एउटा जिबन्त संग्रहालयको अस्तित्व समाप्त गर्ने कुत्षित मनसाय लिएको देखिन्छ |

    ReplyDelete