Saturday, August 27, 2016

सार्वजनिक सुनुवाईको प्रभाव

सार्वजनिक सुनुवाईको प्रभाव
नयाँबजारको बाटो निर्माण, एम्बुलेन्स नगरपालिकामा


कीर्तिपुर सन्देश
कीर्तिपुर नगरपालिकामा अहिलेका कार्यकारी अधिकृतको आगमन संगै कीर्तिपुरवासीले ठूलो आशा राखेका थिए । सोही अनुकुल उहाँले कीर्तिपुरवासीलाई केही गर्न खोज्नु भएको आभास  दिलाउन केही हदसम्म उहाँ सफल भएको पनि देखिन्छ ।

केही दिन अघि सामुदायीक सेवा केन्द्र कीर्तिपुर र महा नगरीय प्रहरी बृत्त कीर्तिपुरको संयुक्त आयोजनामा उहाँको प्रमुख आथित्यतामा कृष्ण क्याटरिंगको हलमा सार्वजनिक सुनुवाई  कार्यक्रम भएको थियो । त्यस कार्यक्रममा यस साप्ताहिकका प्रतिनिधिले कीर्तिपुर लोकतान्त्रिक चोकको उकालोमा धेरै दिनदेखि बाटो बिग्रेको छ कहिलेसम्म बनाउनु हुन्छ भनेर की.न.पा.का कार्यकारी अधिकृत उद्धव प्रसाद रिजालसंग जिज्ञासा राखेको थियो ।

सो सम्बन्धमा कार्यकारी अधिकृतले समय सिमाभित्र सकाउनु पर्ने काम भइसक्यो । अब त्यो बाटो पनि छिट्टै बनाउने प्रक्रिया चलाईसकेको बताउनु भएको थियो ।

त्यसको एक हप्ता भित्र नै गत भाद्र १ गतेदेखि कीर्तिपुरमा बाघभैरव जात्रा सापारु जात्राको बेला काम सुरु गरेर अहिले बाटोमा नयाँ ढलान भैसकेको छ ।  त्यस्तै यस सम्वाददाताले नगर प्रमुखसंग कीर्तिपुर नगरपालिकाको सवारी साधनहरु विभिन्न स्थानमा किन वेवारिसे अवस्थामा छाडिएको भनी प्रश्न सोधेका थिए । त्यस विषयमा कार्यकारी अधिकृत उद्धव प्रसाद रिजालले त्यसबेला त केही जवाफ दिनु भएन ।  

त्यतिबेला कीर्तिपुर नगरपालिकाको एम्बुलेन्स विष्णुदेवी स्वास्थ्य केन्द्रको छेउमा फालि राखेको थियो । दुईवटा ट्रिपरहरु कृषि बागबानी केन्द्र चोभारमा, जेसीबी गाडी लेबोरेटरी स्कुलनिर बागमतीको छेउमा खुल्ला आकाश मुनी राखिएको थियो ।

अहिले एम्बुलेन्सलाई नगरपालिका क्षेत्रमा ल्याएर राखेको छ ।
त्यस्तै अरु सवारी साधनहरु पनि आफ्नो निगरानीमा ल्याउनु हुनेछ भन्ने आशा गरिएको छ ।
यो सबै सार्वजनिक सुनुवाईको उपलब्धी हो भनेर कीर्तिपुरवासीले बुझ्न थालेका छन । यस्तो सार्वजनिक सुनुवाई बराबर व्यापक रुपमा गर्नु पर्ने आवाज उठिरहेको थियो । हेरौं भविष्यमा के होला ।

No comments:

Post a Comment