Sunday, August 28, 2016

समाजसेवी इन्द्रमान महर्जनसंग एकछिन

समाजसेवी इन्द्रमान महर्जनसंग एकछिन



—रामभोला महर्जन
पाँगाको कलःगाःचा टोलमा वि.सं. १९९० साल जेठ महिनामा जन्मनु भएका इन्द्रमान महर्जनसँग  विविध विषयमा
रामभोला महर्जनले गरिएको भलाकुसारी यहाँ प्रस्तुत छ– सं
तपाईंको संक्षिप्त परिचय दिनुहोला ।
— म इन्द्रमान महर्जन बुबा चन्द्रमान महर्जन र आमा जगतमाया महर्जनको एक्लो छोराको रुपमा वि.सं.१९९० सालमा जन्मेको हुँ । मैले पाँगाको जल विनायक आधार स्कुलबाट कक्षा ८ पास गरेको छु । कक्षा ८ पास गरेपछि ५ वर्षसम्म सतुंगलको एउटा स्कुलमा शिक्षकको रुपमा काम गरेको थिएँ । शिक्षक भएर बस्न मन लागेन । त्यहाँ राजीनामा दिएर एकवर्ष भेटेनरी ट्रेडिंग लिएँ । त्यसपछि २०१९ सालदेखि भेटिनरी अस्पतालमा काम गरे २०४८ सालमा रिटायर भएँ ।
तपाईंको राजनैतिक संलग्नताको बारेमा केही कुरा बताउनुहोस ।
—मेरो राजनैतिक संलग्नता भनेको खासै कुनै पार्टीको सदस्यता लिएको छैन । २००६ सालमा पाँगाको हरिगोविन्द श्रेष्ठको आव्हानमा एयरपोर्टमा जुलुस निकाल्दा भाग लिएको थिएँ । त्यो बेला मलाई कांग्रेसको सदस्यता लिन आग्रह गरिएको थियो तर मैले लिइनँ । त्यसपछि बामपन्थी झुकावमा परें । त्यतिबेलाका युवा साथीहरु कम्यूनिस्ट पार्टीमा लागेका थिए । पुस्पलाल, मनमोहन अधिकारी लगायत नेताहरु पाँगामा आएर संगठन बनाएका थिए । त्यहाँ पनि मैले सदस्यता लिइनँ । अहिलेसम्म पनि म कुनै पार्टीको सदस्य बनेको छैन ।
अहिले तपाई ज्येष्ठ नागरिक सेवा केन्द्रमा रहेर सेवा गरीराहनु भएको छ यो कसरी हुन गयो ?
—यो ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्नु अघि यस संस्थाको अध्यक्ष श्रीमती दुर्गा महर्जन र सचिव श्रीमती हरिदेवी महर्जनले मसँग सरसल्लाह गर्न आउनु भएको थियो । उहाँहरुसंग रबिभवन र मातातिर्थमा भएको बृद्धाश्रम गएर कसरी संचालन गरिरहनु भएको छ हेरी बुझी यहाँ पनि ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्नु पर्ने आवश्यक ठानी  स्थापना भयो । यस संस्थालाई सहयोग गर्न अवसर पाउँदा खुशी लाग्यो ।
यो सेवा केन्द्रमा खाने, पिउने र मनोरंजनको कस्तो व्यवस्था छ ?
 — यस सेवा केन्द्रमा खाने, पिउने र मनोरन्जको राम्रो व्यवस्था भएको हुनाले यहाँ आउनुहुने सबै ज्येष्ठ नागरिकहरु खुशी र दंग छन् ।
संस्था गठन गर्न सजिलो छ तर चलाउन गा¥हो भन्छन्  । यस संस्थामा पनि त केही समस्याहरु होला । तपाईंले के देख्नुभयो ?
—मैले देखे सुने अनुसार सबै संस्थाहरुको समस्या भनेको आर्थिक नै हो । आर्थिक अवस्था राम्रो नभैकन कुनै पनि संस्था संचालन गर्न सक्दैन । तर यस बालकुमारी आमा समुह मार्फत संचालन भैरहेको यस ज्येष्ठ नागरिक सेवा केन्द्रमा दिनौं खर्च हुने खर्च देखेर कता कता मेरो मन चसक्क दुख्छ । कतै खर्चको अभावमा यो संस्था बन्द त हुने होइन ? त्यस्तो नहोस भन्ने कामना गर्दछु । दोस्रो व्यवस्थापन हो । तर अझसम्म यस आमा समुहले हामी ज्येष्ठ नागरिकहरुलाई केही पनि दुःख हुन दिएको छैन । हरेक दिन उहाँहरुको मेहेनत, लगनशीलता देखेर हाम्रो छोरा छोरीहरु नै भएको भएर आउँछ । किनभने उहाँहरुको लगनशीलता इमान्दारीता गर्व गर्न लायक छ ।
अब त १०० दिन नाघीसक्यो बालकुमारी आमा समुहले मात्र सेवा गरिरहन भ्याउन सक्छ ?
—मेरो मनमा पनि अब यही प्रश्नले सताउन लाग्यो । यो सेवा केन्द्र भनेको ३ महिना ६ महिना वा एक वर्षमात्र चल्ने होइन यो त सदा सदाको लागि चल्नु पर्छ । यसमा पाँगाबासीको इज्जत, मान मर्यादा पनि गाँसेर आएको छ । त्यसकारण यस संस्थालाई अरु आमा समुहहरुले पनि सहयोग गरेको खण्डमा यसलाई अझ गतिलो र प्रभावकारी संग चलाउन सकिन्छ जस्तो लाग्छ ।
अरु आमा समुहहरुले सहयोग गर्न वैधानिकता के छ ?
—ज्येष्ठ नागरिक सेवा केन्द्र काठमाडौं जिल्ला प्रशासन कार्यालयमा यही श्रावण ३१ गते दर्ता भैसकेको छ । यसबाट अब अरु संघ संस्थाहरुलाई सहयोग गर्न बाटो खुलेको छ । हामी यहाँ आइरहेका ५०, ६० जना डाँडापारीका घाम हौं । हाम्रो आयु धेरै छैन । अरु नयाँ नयाँ आउनु हुन्छ । हामीलाई जस्तै उहाँहरुलाई पनि यस्तै सेवा दिन सकोस यहि मेरो प्रार्थना छ ।
भन्ने बेलामा यहाँ जंकु भिमरथारोहण गरीसकेका ज्येष्ठ नागरिकहरुलाई राख्ने भनेको छ तर यहाँ त जंकु नभएकाहरु पनि आइरहेको देख्छु । यसमा तपाईंको के भनाई छ ?
—यसको जवाफ मसँग छैन यो बालकुमारी आमा समुहको विधि विधान अन्तर्गत पर्छ ।
यस संस्थालाई अहिलेसम्म कहाँ कहाँबाट सहयोग आएको तपाईंलाई थाहा छ ?
—मलाई जानकारी भए अनुसार अहिलेसम्म पाँगा, कीर्तिपुरका दाजु भाईहरुले मात्र होइन अरुहरुले पनि सहयोग गरिरहनु भएको छ । यस्तो सहयोग निरन्तर हुनुपर्छ ।
अन्तमा यस साप्ताहिक मार्फत केही भन्नु छ कि ?
—यस बालकुमारी आमा समुहको काम देखेर म धेरै खुशी छु । अझ पनि उहाँहरुको पाईला सफलतातिर लागीरहोस । उहाँहरुलाई धेरै धेरै धन्यवाद, साथै यस कीर्तिपुर सन्देश साप्ताहिक मार्फत मेरो कुरा छापि दिनुभ एकोमा धन्यवाद दिन चाहन्छु ।

No comments:

Post a Comment