Monday, June 24, 2013

लोकतन्त्र

अंक ९४ ने. सं. ११३३ बछलाथ्व द्वादशी बुधवाः २०७० जेठ ८ गते बुधवार May 22, 2013

लोकतन्त्र
प्रेमकृष्ण श्रेष्ठ

आँखाले ज्योती गुमाउनै लागेकी बुढी मुन्द्रीमा बस्दै छोरालाई सोध्दै – कैले आइस् बा ? के लोकतन्त्रलाई पनि साथै लिई आइस् त  ? 

छोरा – भर्खरै आउँदै । लोकतन्त्र ल्याउन बाँकी नै छ आमा । 

बुढी– देशाँ लोकतन्त्र आइसकेको गाइंगुई सुनिन्छ । होइन, यो लोकतन्त्र भनेको के हो बा ? कस्तो हुन्छ बा ? 

छोरा – बाँदरको हातमा नरिवल । 

बुढी–होइन, के भन्छस् यो । लोकतन्त्रले के हुन्छ ? के के भए बा ? 

छोरा –झुपडीहरू उजाडिए । गरीबहरू लुटिए । भाउवस्तु महँगिए । चेलिबेटी नाङ्गिए । अरू के हुनु र ? 

बुढी– लोकतन्त्रले के के हुन्छ भन्थ्यो । भगवान् कृष्णकै औतार सम्झेर लिएकी थिएँ । तँलाई चाही के दियो नि ? 

छोरा–हातमा डिग्रीको सर्टिफिकेट छ ( बेरोजगारी) । 

बुढी–खोई, म ता बुढोबैँशे आँखाले केही देख्दिन र बुझ्दिन पनि । काखमा सुतिरहेको नातीको मुख पुलुक्क हेर्छे ( यो लोकलाई पनि सुकेनाश लागेर हेट्टु बनाइसक्यो । राम्रोसँग हुर्काउन सक्या हैन । जन्मिनासाथ आमा चांहि खाइहाली । दुधै पुग्दो दिन सक्या हैन । 

छोरा – तपाईले नै भन्नु भाको होइन । हाम्री जेठानकी साली मिठूलाई एउटा केटो देखाएर अर्कै लङ्गडोसँग भिराइदिएको । हो ! दुरुस्त हामी पनि एकबाजिलाई झुकिएका छौँ , ठगिएका छौँ ( देशभित्र लोकतन्त्रको नाममा नेतातन्त्र भित्रयाएर । 

बुढी– होइन, यो नेतातन्त्र भनेको के हो ? कस्तो हुन्छ बा ? 

छोरा–पजेरोहरू भित्रिए । नेताहरू नोटिए । बङ्गलाहरू ठडिए । जताततै, जुनसुकै क्षेत्रमा नेताफन्त पुरस्कृत, नेताफन्तै हाकिम र नेताफन्तैहरूको गाथा छ । 

बुढी– होइन । त्यो हर्केको छोरा नेत्राकान्त पनि हाकिम भइसक्यो र भन्या ? 

छोरा– मैले त देशका नेताफन्तहरूका पो कुरा ग¥या । त्यो नेत्रे काँ अहिलेसम्म रहिरहनु र हेकिम हुनु । त्यो नेत्रे बसी÷त्रिसीको गोलीकाण्डमा शहीद भ’का होइनन् र भन्या । आमा पनि कस्ती भुलक्कड स्वभावकी । आफैले भन्नु भा’को होइन । गाको शन्चरको हाटाँ नेत्रेका छोराहरू मागेर     डुलिरहेका आफ्नै आँखाले देख्नु भाको भनेर । त्यो नेत्रे शहीद भएर उस्की जहानको त बिचल्लै भाको छ । अहिले येनतेनले कुल्विर साहुको गाईगोठ गरी जीविका चलाइ रहेकी छे रे नि । 

बुढी– हो त बा । कस्तो भुसुक्कै बिर्सेछु । अनि त्यो मोरो कुले (कुल्बिर ) को के हाल छ नि ? 

छोरा – मन्त्री भएको छ । पजेरो खरीद गरेको छ । 

बुढी– मन्त्री भएछ फटाहा, मोरो । गाउँमा छँदा रात्तोदिन रक्शी घोकी, होहल्ला, हुलदङ्गा गरी हिँड्थ्यो । गाउँका चेलिबेटीहरु देखी हुँदैन्थ्यो । दुनियाको सराप खप्दै हिँड्ने मोराको शहर पसेदेखि नसिब खुलेछ । अनि नेतातन्त्रले अरू के कति भए बा ? 

छोरा–के हुनु । केही नेताहरू मन्त्री भए । केही नेताहरू प्रधानमन्त्री नै भइ गए । कोही कैले आफ्नो पालो आउने हो भनी हातका औँला भाँच्दै होलान् । 

बुढी– के कति रहर गरी गोली नभनी ल्याएको लोकतन्त्र यसै दिनका लागि हुन त बा ? 

छोरा– कदापि होइन । असली लोकतन्त्र भन्नु हामी गरीबको लोकतन्त्र त आउन बाँकी नै छ । 

बुढी– ए, उसो भए लोकतन्त्र अझै आ’को नै रैनछ । अहिलेको लोकतन्त्र भनेका नेताहरूका लागि मात्र आ’का रैछ, होइन त बाउ ? अनि हाम्रो घरदैलाँ कहिले आई पुग्छ त बा, लोकतन्त्र ? 

छोरा – भोलिको सूर्यको पहिलो किरणसँगै हाम्रो घरआँगनमा लोकतन्त्र अवश्य झुल्कनेछ । त्यसैले रातको छोटो अवधिभित्र हामी गरीब जनता एकजुट भएर यो रातको अन्त्य गर्न दरिलो जनशक्तिको निर्माण गर्नु छ । निस्तेज भएर सुत्ने बेला यो छैन । नेताबाद र नाताबादले गर्भभित्र तुहाइएको शिशु लोकतन्त्रलाई पुनर्जन्म दिनु छ । त्यसैले ढिला हुन सक्छ, अहिलेलाई जान्छु । आशीष दिनुस् ( हजूरका छोरा मतिभ्रष्ट नेता नबनेस्, देशको छोरा कहलाएस् ।

बुढी– लौ त बाबु । शुभकामना, ढिला नगरेस् । जाइहाल । भोलि ब्यूतिनासाथ लोकतन्त्र दैलामा तँसँगै उभिरहेको देख्न पाएस् । 

टुकीको उज्यालो पनि सकिसक्छ । बुढी लामो सुस्केरा हाल्दै लोकसँगै भोलिको सुखद संसार देख्नका लागि सपनाको अनन्त गल्लीभित्र हराउँछे, हराउँदै जान्छे ।

No comments:

Post a Comment