Friday, May 3, 2013

दलहरु वीचको असहमति

अंक ९१ ने. सं. ११३३ चौलागा खष्ठी बुधवाः २०७० बैशाख १८ गते बुधवार May 1, 2013
 
सम्पादकीय

दलहरु वीचको असहमति

चुनाव भन्न कहिले पनि नछाड्ने र चुनावका लागि आवश्यक ऐन ल्याउन सहमति हुन नसकिरहेका नेपालका राजनीतिक दलहरु वीच कहिले सहमति हुने हो भन्न सकिने अवस्था छैन । 

चुनाव गर्नका लागि चाहिने निर्वाचन सम्वन्धी ऐनलाई अध्यादेश मार्फत ल्याउनु पर्ने हो तर दलका नेताहरु वीच नै विवाद भएपछि सो ऐन ल्याउन सकिरहेको अवस्था छैन । यस्तो अवस्थामा पनि निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरिसकेको अवस्था छ । कुनै कुनै राजनीतिक दलले त निर्वाचनका लागि दल दर्ता गर्ने र नविकरण गर्ने कार्य समेत गरेको अवस्था छ । चुनावको मिति नै घोषणा भइनसकेको अवस्थामा पनि दल दर्ता अभियान संचालन गर्नु भनेको एक ढंगवाट चुनावी माहौल तयार गर्ने रणनीति हो भन्न सकिन्छ । 

चुनावकालागि आवश्यक ऐन ल्याउनका लागि सहमति नगर्ने तर चुनावको मात्र कुरा गर्नुको अर्थ कतै प्रमुख दल भनिएका दलका नेताहरुले नै चुनावको चाहना नगराखेको त हैन भनी विचार गर्नुपर्ने अवस्था आएको छ । विपक्षी दलहरुसंग सहमति गरि ऐन ल्याउने हो भने विघटन भएको संविधानसभामा जुन ढंगवाट प्रतिनिधित्व गराएको थियो त्यो बाहेक अरु कुनै पनि ढंगवाट निर्वाचन ऐन बनाउन सक्ने अवस्था छैन । 

कुनै कुनै प्रमुख दलहरु भने विगतको प्रक्रियालाई छाडेर नया“ प्रक्रियाको नाममा आदिवासी जनजाति तथा राज्यद्वारा बहिस्करणमा पारिएका समुदायको प्रतिनिधित्व कम हुने खेलमा लागेका कारण बास्तवमा सहमति गर्न त्यति सजिलो छैन । यदि चुनावमा नै जाने हो भने सबैभन्दा पहिला ऐनलाई अध्यादेशवाट ल्याउनुपर्ने अवस्था रहेको छ ।

No comments:

Post a Comment