Tuesday, April 30, 2013

कीर्तिपुर दोस्रो लघु मेला भव्यताका साथ सम्पन्न

अंक ८२ ने.सं. ११३३ सिल्लागा दुतिया बुधवाः २०६९ फागुन १६ गते बुधवार Feb 27, 2013
 
कीर्तिपुर दोस्रो लघु मेला भव्यताका साथ सम्पन्न

राज श्रेष्ठ


फागुन १२, कीर्तिपुर । गत फागुण १२ गते सनिवार लायन्स क्लब अफ काठमाडौं कीर्तिपुरले  आयोजना गरेको “लायन्स क्लब अफ कीर्तिपुर दोस्रो लघु मेलाको उद्घाटन प्रमुख अतिथि मध्यमाञ्चल क्षेत्रीय प्रशासक उद्धव प्रसाद वास्कोटाले गर्दु भएको थियो । लायन्स क्लब अफ कीर्तिपुरका सभापति रबिन्द्र वहादुर प्रधानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथि स्थानीय विकास मन्त्रालयका सचिव केशव थापा हुनुहुन्थ्यो ।

 ऐतिहासिक नगरी कीर्तिपुर क्षेत्रका ६ ओटा टोलहरू (चीथू, इटाछेँ, बाघभैरव, सतको, लायकू र उमामहेश्वर परिसर) समेटिएको उक्त लघु मेला अवलोकन गर्न बिहान १० बजेदेखि साँझ ६ बजे सम्म नै अत्यधिक सँख्यामा स्वदेशी र विदेशी दर्शकहरूको घुँइचो लागेका थिए । मेलामा महिला तथा नीजि उद्यमीहरूले उत्पादन गरेका हस्तकला तथा घरेलु उत्पादनका सामग्रीहरूका बिक्रीस्टलहरू राखिएका थिए भने कीर्तिपुर क्षेत्रको सम्पदा झल्काउने चित्रकला र छ्वाली आर्टको प्रदर्शनी पनि गरिएको थियो । त्यस्तै कीर्तिपुरबासीका आराध्यदेवको रुपमा पुजिने बाघभैरव आजुद्यः लाई श्रीपञ्चमी मानन्धर गुठिद्वारा चढाइएको समयबजि ब्वज्याको आकर्षक प्रदर्शनी पनि राखिएको थियो । मेलामा विभिन्न सामाजिक संस्थाहरूद्वारा शिक्षा र स्वास्थ्यसँग सम्बन्धित जनचेतना मूलक पोस्टर प्रदर्शनी तथा सो सम्बन्धी सेवाप्रदान गर्न आँखा जाँच, ब्लड प्रेसर जस्ता शिविरहरू सञ्चालन गर्नुका साथै रक्तदान कार्यक्रम पनि सम्पन्न गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा ९१ जनाले रक्तदान गर्नु भएको थियो । 

मेलाको अर्को राम्रो पक्ष भनेको उक्त मेला अवधिभर प्लास्टिकका झोलाहरू तथा धुमपान निषेध गरिएको थियो । यसैगरी लायन्स क्लबसँग सम्बन्धित कार्यक्रमको जानकारी तथा लायन्स क्लब पिन म्यूजियममा लायन्स क्लबसँग सम्बन्धित विभिन्न ब्याय्चको प्रदर्शनी गरिएको थियो । साथै भुकम्प गएको बेलामा अपनाउनु पर्ने सावधानीबारे जानकारी दिन टकप्रोग्रामको आयोजना पनि गरिएको थियो । मेला घुमीवरी थकाई र भोक मेटाउन स्वादिलो नेवारी खानाका स्टलहरूको अगाडि दर्शकहरूको घुइँचो देखिन्थ्यो । मेलास्थलसम्म जाने बाटोहरूमा ठाउँ ठाउँमा स्वागतका लागि सकुनको रुपमा पानीले भरिएका र अबिरले रंगिएका गाग्रीहरू राखिएका थिए भने सांस्कृतिक तथा पर्यटकीय फोटोहरू तथा सनस्टार क्लबले बनाएको मण्डला पनि दर्शकहरूले रुचाएको मध्य एक रहेको थियो । बडेमानको आकर्षक मण्डलाले दर्शकहरूलाई थप मनोरञ्जन प्रदान गरेको थियो । 

मेलाको अर्को आकर्षण कीर्तिपुर नेवाः सांस्कृतिक संग्रहालय रह्यो । प्रायः प्रत्येक दर्शकले यो संग्रहालय अवलोकन गरेका थिए । यस संग्रहालय भित्र नेवाः संस्कृतिमा मनाइने विभिन्न चाडपर्वमा सजाइने नेवारी नसाःज्वलंको प्रदर्शनी गरिएको थियो भने चाडपर्वमा बजाइने बाजाहरूको संग्रह निक्कै आकर्षक रुपमा प्रदर्शन गरिएको थियो । लाय्कू डबलीमा दिनभर नै विविध सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । समग्रमा यो एकदिने मेला सफल रुपमा सम्पन्न भएको देखिन्छ । 

Some photos















No comments:

Post a Comment