Monday, February 4, 2013

लोसार के हो र कसरी मनाइन्छ ?

अंक ७८ ने.सं. ११३३ पोहेलागा तृतिया बुधवाः २०६९ माघ १७ गते बुधवार Jan 30, 2013

लोसार के हो र कसरी मनाइन्छ ?

आङकाजी शेर्पा किसान

(यही २०६९ माघ २९ गते ने.सं.११३३ सिल्लाथ्व पारुको दिन सोनाम लोसार पर्व परेको छ । उक्त दिन नेपाल सरकारले सार्वजनिक विदा पनि घोषणा गरेको छ । सोनाम लोसार भनेको के हो र यो कसरी मनाइन्छ भन्ने जानकारीको लागि यो लेख प्रकाशित गरेका छौं —संपादक)

२१४० छु–मो डुल्लो लोसार, अर्थात २१४० धातु जल, लिङ्गा स्त्री र वर्ग सर्प वर्षको लोसार नेपालमा शेर्पा, लामा, भोटे, ह्योल्मो, तामाङ र गुरुङ आदिले मनाउँदछन् । लोसार चाडको सम्वन्ध पुरानो साललाई विदा गर्ने र नयाँ साललाई स्वागत गर्नेसँग गाँसिएको छ । उदाहरणको लागि पश्चिम मुलुकहरू बाह्रौं महिनाको अन्तिम साँझ र नयाँ सालको पहिलो दिनलाई स्वागत गरे जस्तै हो । तामाङहरूले नयाँ साललाई ल्होछार र अन्य समुदायले नयाँ साललाई लोसार(ल्होसार भनेर सम्बोधन गरेको पाइन्छ । नेपाल लगायत जापान, चीन र हङगकङ्ग, ताइवान, कोरिया, थाइल्याङ्ग, भुटान र तिब्बतमा मनाइने लोसार (नयाँ साल) को गणना मञ्जुश्री र कालचक्र ज्यातिषशास्त्रमा आधारित छन । प्रत्येक वर्षको लोसार (नयाँ साल)को गणना र नामाकरण १२ वटा जनावरहरूको नाम, ५ वटा धातु र लिङ्गबाट हुन्छ । १२ वटा जनावरको नामहरूः मुसा(चीवा, गोरु(लाङ, बाघ(तक, ह्ये(खरायो, मेघ(डुक, सर्प(डुल, घोडा(ता, भेंडा(लुक, बाँदर(टे, चरा(च्या, कुकुर(खी र बँदेल(फक हुन । ५ धातुहरू ः माटो(स, आगो(मे, काम(सिङ, फलाम(च्या र पानी(छयु हुन् भने २ लिङ्गहरू पुरुष(फो र स्त्री(मो हुन् । १२ जनावरको नाम, ५ धातु र २ लिङ्गको सहायताले १२० वर्षसम्मको गणना गर्न सकिन्छ ।

नेपालमा हालसम्म तोलो लोसार, सोनाम लोसार र ग्याल्वो लोसार गरी तीन प्रकारको लोसार मनाईने गरेको पाइन्छ । तोलो लोसार प्रत्येक वर्ष मञ्जुश्री ज्योतिष शास्त्रमा आधारित पात्रोको एघारौं महिना वा पुष महिनामा पर्दछ । प्राकृतिक रुपमा सूर्य उत्तर दिशा फर्कने, रुख विरुवाको नयाँ पालुवा फेरिने र यहाँबाट नै रात छोटो र दिन लामो समेत हुने खालको परिवर्तन हुने भएकोले यसलाई नयाँ सालको रुपमा मनाएको पाइन्छ । यो तोलो ल्होछार गुरुङ्ग र पश्चिम नेपालका हुम्ला र जुम्ला क्षेत्रका केही समुदायले मनाइन्छ ।

सोनाम लोसार प्रत्येक वर्ष मञ्जुश्री पात्रोको बाह्रौं महिनाको पहिलो दिनबाट शुरु हुन्छ । कालचक्र ज्योतिष शास्त्रमा माघे संक्रान्तिबाट नयाँ खेतीपातीको कार्य शुरु हुने भएकोले किसानहरूले यसलाई नयाँ साल (लोसार) को रुपमा मनाएको विश्वास गरिन्छ । त्यसैले यस लोसारलाई किसान लोसार भन्ने पनि गरिन्छ । नेपालमा सोनाम लोसार तामाङ र ह्योल्मो समुदायहरुले मनाइन्छ ।

ग्याल्पो लोसार यो लोसार कुन ज्योतिष शास्त्रमा आधारित छ भन्ने यकिन छैन । यद्यपि हिमाली आदिवासीको पात्रो (धतु) अनुसार नयाँ सालको पहिलो दिनलाई लोसारको रुपमा मनाएको देखिन्छ । यो सोनाम लोसार मंगोल बादशाह चाङमिच खाँले तीब्बतको राजा मिञागको शासन लिएको विजय उत्सवको रुपमा मनाएको विश्वास गरिन्छ । यो लोसार शेर्पा, लामा तथा भोटे समुदायहरूले मनाइन्छ ।

घर रङ्गाउने र खाप्से बनाउने ः लोसार शुरु हुनुभन्दा केही महिना अगाडिदेखि नै लोसारको पूर्व तयारीको क्रममा घरहरूमा रङ्ग पोत्ने, लोसारको लागि आवश्यक लुगाहरू सिलाउने र लोसारको लागि किनमेल गर्ने गर्दछन् । लोसार सुरु हुनुभन्दा हप्ता दश दिन अगाडि खाप्से (मैदाको पिठोबाट बनाइने विभिन्न आकार प्रकारको रोटीको परिकार) बनाइन्छ ।

लोफुतः लोफुत (अन्न रोपेर उमार्ने) आफ्नो ठाउँको हावापानी अनुसार लोसारको पहिलो दिनसम्ममा उम्रिने गरी एउटा भाँडामा माटो र वालुवा मिसाएर त्यसमा गहुँको बीउ राखेर उमारिन्छ । यसरी उम्रेको गहुँलाई नयाँ सालको नयाँ बालीको रुपमा पूजा गरिन्छ ।

मैला फाल्ने र गुथुक ः लोसार शुरु हुनुभन्दा २ दिन अगाडि अर्थात् ङिस्यु गु (औंसीको अगिल्लो दिन) मा आफ्नो घरको भित्री भागहरू   पुरै सफा गरिन्छ । यसरी घर सफा गर्दा निस्केको फोहोरलाई ग्रह दशाको प्रतिक ठानेर सो फोहोरलाई दोबाटो वा चौबाटोहरूको चोकमा फालेर आ(आफ्नो परिवारको ग्रह दशालाई शान्त र विसर्जन गरिन्छ । यही दिन साँझ नौ प्रकारको अन्नहरू मिसाएको खाना गुथुक खाइन्छ । गुथुकमा आँटाको डल्ला भित्र सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घ्यू र नुन आदिका सानो टुक्रा राखेर पकाएको आँटाको एक एक डल्ला सबैको भागमा राखिन्छ र गुथुक खानुभन्दा अगाडि सो आँटाको डल्लो भित्र कसको भागमा के परे भनेर सबैले अगाडि खोलेर हेरिन्छ । सेतो कपडाको अर्थ कामना पूरा हुने, गहुँको अर्थ सम्पत्ति बढ्ने, कागजको अर्थ विद्वान हुने, खुर्सानीको अर्थ खरो बोली बोल्ने, कोइलाको अर्थ कपट मन हुने, घ्यूको अर्थ चिप्लो बोली बोल्ने र नुनुको अर्थ योजना सफल हुने भनेर अर्थ लगाइन्छ । बौद्ध, कपन, स्वयम्भूका साथै गाउँघरको मुख्य गुम्बाहरूमा विदाइ हुने सालको ग्रह दशाले नयाँ सालमा निरन्तरता नपाओस् भनेर ग्रह दशा शान्त र विसर्जन गर्न गुम्बाहरूमा विहानदेखि नै ङिस्युगु पूजा गरिन्छ । यो पूजा सक्नासाथ अधिकांश गुम्बाहरूमा लोसारको विदा शुरु हुन्छ र लामाहरू लोसार चाडको लागि सबै आ(आफ्ना घर जान्छन् ।

सजावटः( लोसार सुरु हुनुभन्दा १ दिन अगाडि अर्थात औंसिको दिन सबैले आफ्नो घरलाई विभिन्न सामाग्रीहरू प्रयोग गरेर सम्झाइन्छ । यसरी घरहरू सजाउँदा विशेषत सम्बोटा लिपिमा टासी देलेक लेखिएका वाक्यांश र अष्ट मंगलको चिन्हहरू सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनहरूमा देखिन्छ । गाउँघरमा आगोको धुँवाले पुरै कालो भएको भित्ता, दलिन र खम्बाहरूमा सेतो पिठोले अष्ट मंगल लेखिएपछि घर धेरै उज्यालो देखिन्छ । अष्टमंगल लेख नजान्नेहरूले अष्ट मंगलको प्रतिक बुढी औंलाले पीठोको आठवटा थोप्ला बनाइन्छ । यही दिन विशेष गरी पूजा कोठालाई पूर्ण रुपले सिंगारेर भगवानको प्रतिमूर्ति वा फोटो अगाडि नै स(साना सातवटा भाँडामा क्रमशः मुख धुने जल (अध्यम), गोडा धुने जल (पाद्यम), पूmल (पुष्पे), धुप (धुपे), छयोमी (आलोक), केशरको जल (गन्धे) र भोजन प्रतिक तोरमा (नौवेद्य) सजाएर राखिन्छ । साथै भगवानको प्रतिमूर्ति वा फोटो राखिएको स्थान (छयोखाङ) अगाडि पुङ्गी अम्जो (गधाको कानको आकारमा बनाएको विशेष प्रकारको मैदाको रोटी) लाई सात वा नौ चाङ लगाइ त्यसमाथि दीर्घ आयुको प्रतिक कछुवाको आकार बनाएको रोटी, लोसारको बेला आफ्ना नातेदार, इष्टमित्रहरूलाई आशिर्वाद दिंदा खुवाउन विशेष प्रकारको काठको भाँडामा राखिएको छिमार (भुटेको पिठोमा घिउ र चिनी मिसाएको), काठको पोङ भित्र राखेको छयाङ फु (अमृत जलको प्रतिक पेय पदार्थ), ग्रह दशाको प्रति रक्षा गर्न राखिएको “डला” (तरवार वा काट्ने हतियार), पञ्च बुद्ध, पञ्च तत्व र पाँच प्राकृति शक्तिको प्रतिक बोसको डण्डामा बेरिएर राखेको पञ्चरङ्गिन कपडा र विभिन्न प्रकारको रोटी, मिठाइ तथा विस्कुटहरू सजाएर राखिन्छ । लोसारका पाहुनालाई बसाल्ने ठाउँ र खुवाउने खानाहरू सबै तयार पारेर राखिन्छ ।

लोसारको पहिलो दिन गर्ने कार्यहरू :—

चोखो पानी :– लोसारको पहिलो दिन विहान सबेरै तीन चार बजे उठेर हात मुख धोए पछि सिधै जमिनबाट पानी निस्कने धारामा गएर धारालाई करक्याङ (घिउको थोप्ला), खादा र धुप चढाएर पूजा गरेर पानी थापेर घरमा ल्याइन्छ । धारामा पानी लिन सबैभन्दा पहिला पुग्नेको होड नै चल्छ । साङ सेरकिम ः यसरी ल्याएको पानी सर्वप्रथम भगवानलाई तिङ (भगवानलाई पानी चढाउने स(साना सात वटा भाँडा) मा हालेर चढाइन्छ र साङ सेरकिम (अशुद्धलाई चोख्याउने) पूजा गरिन्छ । नयाँ सालको खान परिकार पहिले भगवानलाई चढाउन लोसारको खानाहरू डेसिल (चामलको खानाको परिकार) खाप्से (रोटीको परिकार र अन्य लोसारको खाना सबैभन्दा पहिले भगवानलाई चढाइन्छ ।

आशिर्वादः घरको मुली व्यक्तिले छिमारः (सगुनको प्रतिक सेतो पिठोको परिकार) र अमृत जल (छयाङ फु) लाई ३ पटक आकाशतिर छर्किसकेपछि एक चम्चा हत्केलामा राखेर खाइन्छ र अलिकति सगुनको लागि दायाँ कुममा छर्किन्छ । त्यसपछि घरका सबै सदस्यहरूले नयाँ वा सफा लुगा लगाएर लोसारको छिमार खाना तयार हुन्छन् । छिमार दिंदा पहिला एक चम्चा हत्केलामा खानाको लागि दिइन्छ र अलिकति सगुनको लागि केटा हो भने दायाँ र केटी भए बायाँ कुममा छर्किन्छ । छिमार छर्किंदा दिनेले “टासी देलेक फुन्छोम छोक” र लिनेले “तेन्दु देवर थोपर स्योग” भन्छन् । छिमार सँगसँगै छयाङफु (अमृत जल) पनि लिइन्छ । घर परिवारका सबैले छिमार खाईसकेपछि सगुनको रुपमा सेतोको प्रतिक चामलबाट बनेको डेसिल खान्छन् । डेसिल पछि खाप्से र अन्य खानाका परिकारहरू खाँदै मनोरञ्जन गर्दै रमाइलो गर्दछन् । लोसारको पहिलो दिन आ(आफ्नै घरमा बसिन्छ । लोसारको पहिलो दिन शुभ तिथि भएमा घरको अगाडि आँगनमा राखिएको पुरानो ध्वजालाई झिकी नयाँ ध्वजा ठडान्छ । यदि यो दिन ध्वजा ठडाउन शुभ दिन नपरेमा अन्य शुभ दिनहरूमा ठडाइन्छ ।

लुङदार र पिकनिकः लुङदार टाङने प्रचलनको शुरुवात भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपछि धर्मप्रचार गर्न देवलोकमा पुग्दा देवताहरू र असुर वीचको लडाईमा देवताहरू पराजित भएपछि भगवान बुद्धले ल्हयी ओङ्बु ग्याचेन (इन्द्र भगवान) मार्फत दिनुभएको ग्याल्जेन चेमु (विजय शक्ति मन्त्र) प्रचार भएपछि देवताहरूले विजय प्राप्त गरेकोले त्यसबेलादेखि ग्याल्जेन चेमु मन्त्र लेखिएको लङ्दार टाङ्ने प्रचलन सुरु भएको हो । लङ्दारको पाँच रंगको अर्थ पञ्चबुद्ध (ग्याल्वा रिङा) को रङ हो । लङदारको सेतो रङको अर्थ बैरोचना बुद्ध (नम्बर नाङजे, निलो रङ अक्षोभ्य बुद्ध (दोर्जे सेम्बा), पहेलो रङ रत्न सम्भव बुद्ध (रिङछेन जङदेन), रातोको अमिताभ बुद्ध (नाङवाङ थाये), हरियोको अमोदसिद्धि बुद्ध (तोन योत ठुप्पी) हो । गणितीय ज्योतिष विद्याको आधारमा लुङदारमा पाइने पाँच रङलाई धातुको रङ मानिन्छ । जस अनुसार सेतो(फलाम, नीलो(पानी, पहेंलो(माटो, रातो(आगो र हरियो(काठ धातु हुन् । लुङदामा पाइने पाँच रंगले प्रकृतिका पाँच वस्तुलाई पनि जनाउँदछ । निलो आकाश, सेतो बादल, रातो आगो, हरियो पानी, पहेंलो धरती हुन् । लङदार टाङ्नु अगाडि लङदारलाई धर्मगुरुबाट अभिषेक (रप्ने) गरिन्छ ।

लोसारको दिनदेखि पूर्णिमासम्म धर्म गुरुहरू र आफ्ना मान्यजनहरुकोमा गएर छिमार खाई आशिर्वाद लिइन्छ । साथै आफ्नो जन्म मिति अनुसार शुभ दिनमा आफ्नै घरमा र अग्ला र स्वच्छ डाँडामा दीर्घ आयु, सु(स्वास्थ्य र सफलताको कामना गर्दै व्यक्तिगत र सामुहिक तरच्यो (ध्वजा) ठड्याउने र लुङदार (पञ्च रङ्गिन पताका) टाँगिन्छ । यसरी ध्वजा ठड्याएर र लुङदार टाँगेपछि पूजा गरिन्छ र अन्तमा सबैले हातमा सेतो सगुनको प्रतिक पिठो र चामल हातमा लिएर २ पटक आकाशतिर उचाल्दै तेस्रो पटक चाहिं “कि कि सो सो होर ग्यलो” भनेर छर्किन्छ । लोसारको दिनदेखि पूर्णमासम्म काठमाडौं उपत्यकाको बौद्ध, स्वयम्भू, काठे सिम्भू, नमोबुद्ध र जामचोकमा तरच्यो (ध्वजा) ठड्याउने र लुङदार टाँगेर कि कि सो सो होर ग्यालो भन्नेहरूको ठूलो भीड लागेको हुन्छ । शेर्पा सेवा केन्द्र टुसाल, बौद्धमा शेर्पाहरूको सामुहिक ल्हप्सो पूजा गरिन्छ । अमेरिका, बेलायत, यूरोप, जापान, कोरिया, लगायत विभिन्न देशमा रहेका शेर्पाहरूले पनि सामुहिक ल्हप्सो पूजा गर्दछन् । लोसार सुरुभएदेखि फाल्गुण पूर्णिमासम्म नातेदार, गाउँले र आफ्नो मिल्ने समूह मिलेर घरभोज र वनभोज खान्छन् ।

No comments:

Post a Comment