Thursday, February 7, 2013

बाटो बन्द गरेको १ घण्टामा नै समस्या समाधान

अंक ७९ ने.सं. ११३३ पोहेलागा एकादशी बुधवाः २०६९ माघ २४ गते बुधवार Feb 6, 2013

बाटो बन्द गरेको १ घण्टामा नै समस्या समाधान

कीर्तिपुर सन्देश

गत हप्ता विहिवार अर्थात् माघ १८ गते दिउँसो १ बजेदेखि २ बजेसम्म कीर्तिपुरको नयाँबजारको लोकतान्त्रिक चोकदेखि नगरमण्डप श्री कीर्ति विहारसम्मको बाटो स्थानीयवासीले बाटोमा ढुङगा राखी बन्द गरियो । सवारी आवागमनमा बाधा पुग्यो । बाटो खुलाउन प्रहरी आए । बाटो बन्द गरिरहेकाहरूले आफ्नो समस्या बताएपछि प्रहरी पनि चूप लागे ।

कीर्तिपुरको नयाँबजारस्थित ढोकासी टोलमा ढल जाम भएर बाटोबाट  ढल निकासको फोहर पानी हप्ता दिनदेखि बगिरहेको थियो । जसले गर्दा बाटोमा हिंड्ने वटुवाहरूले नाक थुनेर हिंड्नु परिरहेको थियो भने सवारी साधन आउँदा त्यो फोहर पानीको छिंटाबाट बच्न प्रयास गरिरहनु परेको थियो । कीर्तिपुरस्थित खानेपानी कार्यालयमा जानकारी दिंदा पनि कुनै वास्ता गरेन । १७ गते खानेपानीका मानिसहरू आएर हेरेर गए तर बनाउनतिर लागेन । १८ गते बनाउन आउँछु भनेको थियो । १ बजेसम्म पनि बनाउन नआएपछि स्थानीयवासीले बाध्य भएर बाटोमा ढुङ्गा राखी बाटो बन्द गर्नुप¥यो । बाटो बन्द भएपछि प्रहरी सक्रिय भए । खानेपानीका सम्बन्धित व्यक्तिलाई लिएर प्रहरी सो स्थानमा आइपुगे । त्यसपछि बल्ल खानेपानीको कार्यालयका प्रमुखसमेत उपस्थित भएर ढल जाम खोलेर समस्या समाधान गरियो ।

स्मरण रहोस् गत हप्तको बुधवार माघ १७ गते मात्रै कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकामा ‘खानेपानीको के काम’ शिर्षकमा समाचार प्रकाशित भएको थियो । त्यसको भोली पल्ट नै माघ १८ गते सो विषयलाई लिएर स्थानीयवासी सडकमा उत्रेका थिए ।  हप्तादिनसम्म वास्ता नगर्ने खानेपानी कार्यालय, बाटो बन्द हुने वित्तिक्कै सक्रिय भएर एक घण्टामा समस्या समाधान गरेको थियो । यसबाट समस्या समाधान गर्न बाटो बन्दै गर्नु पर्ने हो ? भन्ने प्रश्न उठ्न थालेको छ । खानेपानीले वास्ता नगर्दा कीर्तिपुरमा ठाउँ ठाउँमा पानीको पाईप चुहिरहेको छ । के खानेपानीको काम केवल ग्राहकबाट पैसा उठाउनु मात्र हो ?

No comments:

Post a Comment