Wednesday, January 24, 2024

  कविता निरज मानको एउटा जिन्दगी छ 


निरज मान सिंह



भाग्यको छानोमा प्वाल कत्ति धेरै

प्वालबाट छानेर आएको 

स–सानो किरण कत्ति धेरै !

हरेक विहान

रेडियो र टेलिभिजनमा बज्ने

धार्मिक विज्ञापन जस्तै

सामाजिक संजालका वालमा

हल्लाको पोस्टर 

हल्ला गरिरहे जस्तै,

जिन्दगी–

अलिकति सादा छ,

अलिकति रंगिन

अलिकति नाफामा

अलिकति घाटामा छ,

अलिकति आकारको

अलिकति निराकार छ,

सपना–

अलिकति बाँझो छ,

अलिकति दलदलमा छ,

अलिकति तृष्णा छ,

अलिकति भोक, आशा छ,

अलिकति रिस,

अलिकति घमण्ड,

अलिकति अनुराग,

अलिअलि सप्पै... 

सप्पै छ...,

एउटा जिन्दगी छ ।

बजारमा किनबेच हुन्छ

हल्ला–

सपना–

सौन्दर्य–

भ्रम–

श्रम–

बिचार–

चापलूसी–

बिश्वास–

अनि

इष्र्या–

तर;

आफुसंग त्यहि सादा लक्ष्य छ  

त्यो पनि लिलाममा छ ।

एउटा जिन्दगी छ 

त्यो पनि अन्यौलमा छ ।


No comments:

Post a Comment