Saturday, December 23, 2023

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुल्ला पत्र

 सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुल्ला पत्र

२०८० कार्तिक २५ गते कीर्तिपुरमा प्रधानमन्त्री प्रचण्ड

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू, म तपाईले चुनावमा प्रथम पटक भाग लिनु भएको काठमाडौं जिल्ला क्षेत्र नं.१० कीर्तिपुरका बासिन्दा नजरराम महर्जन हुँ । पेशाले अहिले म पत्रकारीता क्षेत्रमा छु । २०६४ सालको संसदीय चुनावमा तपाईंलाई हाम्रो क्षेत्रबाट भारी बहुमतले जिताएर पठाएको थिएँ । तपाईं प्रधानमन्त्री पनि बन्नुभयो । तर ६ वर्षसम्म तपाईंले यस क्षेत्रको लागि खासै केहि गर्नु भएन । तपाईंसँग भेट्न महाराजलाई भेट्नु भन्दा पनि गाह्रो भयो । तपाईंले केहि गर्नु भएको भए पनि तपाईंको कार्यकर्ताहरुको अहंमता, जनताको पीर मर्काको वास्ता नगर्ने, जनताभन्दा माथि बस्न चाहनेले गर्दा २०७० सालको चुनावमा तपाईं तेस्रो पोजिशनमा झर्नु भयो । २०७४ सालको चुनावमा कीर्तिपुरका बासिन्दाहरुको अपमान गर्दै बाहिरका मानिसलाई माओवादीले उम्मेदवार बनाईयो । जसले ७० सालको चुनावमा बम राखेर कीर्तिपुरमा आतंक मचाएको थियो । कीर्तिपुर जनता कसैको गुलाम होइन, सचेत जनता हुन । जसले गर्दा तेस्रो स्थानबाट माथि आउन सकेन । २०७९ को आम चुनावसम्म आइपुग्दा तपाईंले कीर्तिपुरका बहुसंख्यक जनता नेवारलाई अपमान गरेर गैर नेवार त्यो पनि खासै नचिनेकोलाई उम्मेदवार बनाएर पठाउनु भयो । जसले गर्दा तपाईंको पार्टी रास्वपा र राप्रपाभन्दा तल अर्थात ५ औं स्थानमा झरियो ।

की.न.पा. वडा नं.५ मा रहेको ५ वटा पोखरीहरुको लालपुर्जा राम्ररी हेर्नुहोस जग्गाधनी नाम थरमा मिनाहा लेखिएको छ ।



नापी विभागको नापी चार किल्ला खोलिएको यसमा पनि कसैको नाम छैन अर्थात सार्वजनिक नै छ ।


स्थानीय चुनावमा पनि गठबन्धनबाट ४ वटा वडा अध्यक्ष र केही नसस दिन्छु भन्दा नमानेर मेयर नै ताकेर गठबन्धन भत्कायो । आखिर चुनावमा नराम्रोसित हार खानु प¥यो । ७४ सालको चुनावमा एउटा वडा अध्यक्ष र केही नसस जितैको थियो । यो पाली बिउ पनि रहेन ।

पार्टीलाई माथि उठाउन अहिले नेकपा माओवाद केन्द्रले दिलोज्यानले लागिरहनु भएको छ । वडा वडामा पार्टी कमिटि निर्माण गर्दै हुनुहुन्छ । चुनावको एक वर्ष अगाडि यतिको चलखेल गरेको भए चुनावको नतिजा अर्कै हुन्थ्यो । खैर ढिलो भए पनि बुद्धि आयो । अर्को चुनावसम्म तपाईंको नेता कार्यकर्ताहरु जनतासँग भिजेर निरन्तर सक्रिय रहेमा पाँच वर्षपछि केहि हुन्छ कि भन्ने आशा गर्न सक्छ ।


यो कि.नं.१९    ५ रोपनी ११ आनाको पोखरी हो । २०७२ साल भूकम्पले भत्काएका घरहरुको भग्नावशेषले पुरिएको यो पोखरी यसपाली पोखरी बचाउ अभियान सर्वदलिय जनसमुदायले भग्नावशेष हटाएर पोखरी नै बनाएको छ ।

गत २०८० कार्तिक २५ गते शनिवार कीर्तिपुरको बाघभैरव ब्याङ्केटमा “कीर्तिपुरका जनतासँग प्रधानमन्त्री प्रचण्ड साक्षात्कार कार्यक्रम राख्नु भयो । तपाईंलाई हामीले धुमधामले स्वागत गरेका थियौं । हलभित्र खचाखच भरिएर बाहिर पनि त्यतिकै जनता उभिएर सुनिरहेका थिए । जनताको गुनासो व्यक्त गर्नेक्रममा मैले पनि एउटा गुनासो राखेको थिएँ । तपाईंले खुब ध्यान दिएर सुन्नु भयो । आफ्नो मन्तव्य राख्नेक्रममा तपाईंले यो बारे के कसो बुझेर छिट्टै निर्णय दिने वचन दिनु भएको थियो । यो कुरा तपाईंले बिर्सिनु भयो कि ! म फेरि यहाँ दोहो¥याउँछु—

कीर्तिपुर न.पा. वडा नंं ५ स्थित २ वटा सार्वजनिक पोखरीहरु कि.नं. १९को ५ रोपनी ११ आना र कि.नं. १०७को ७ रोपनी २ आना क्षेत्रफलको दुईवटा सार्वजनिक पोखरीहरु अहिले व्यक्तिगत नाममा गैसकेका छन । जवकि २०२१ सालको नापीमा र फिल्ड बुकमा जग्गा धनीको महलमा मिनाहा लेखिएको थियो । त्यो सार्वजनिक पोखरीमा चोभारका समीर जङ्ग कार्कीले आफ्नो नाममा लालपुर्जा बनाएर ल्याइसकेको छ । तैपनि उनीहरुले आजसम्म भोग चलन गर्न आएको छैन । 

यो कि.नं.१०७ क्षेत्रफल ७ रोपनी २ आनाको पोखरी हो । 

सो जग्गा किन्नको लागि ग्राहकहरु आउँदा संयोगवश म त्यहाँ पुगेको थिएँ । त्यसपछि यो सबै पोल खुलेको हो । पद्यमा अर्याल भुमिसुधार मन्त्री हुँदा भूमि आयोग गठन भएको थियो । सो आयोगमा उजुरी दिएर दुईचोटि सर्जमिन पनि भैसकेको थियो । मन्त्री परिषदबाट पास गराएर सार्वजनिक घोषणा गर्छु भन्नु भएको थियो । तपाईंहरुको प्रतिगमन विरुद्धको आन्दोलनले गर्दा ओलीको सरकार ढल्यो । पद्यमा अर्यालको मन्त्री पद पनि गयो । त्यसपछि शशि श्रेष्ठ भुमिसुधार मन्त्री हुनुभयो । उहाँ पाँगाका स्ववासीहरुको लालपूर्जा वितरण गर्न आउनु हुँदा उहाँलाई पनि भेटेर सो कुरा भनेको थिएँ । उहाँले साथीहरुलाई मकहाँ पठाई दिनुस म हेरेर निर्णय गरिदिन्छु । त्यसपछि के भयो थाहा भएन ? तपाईंको पार्टीका स्थानीय नेताहरुलाई भनेको थिएँ तर के भयो आजसम्म थाहा छैन । अहिले फेरि सर्वदलिय समिति बनेको छ । जसको संयोजकमा नेकपा माओवादी केन्द्र कीर्तिपुर नगर कमिटिका उपाध्यक्ष बैकुण्ठ महर्जनलाई चुनिएको छ । 


 यो एउटै पोखरी हो । माछा पालनको लागि सूर्यज्योति क्लबले दुई खण्ड बनाएको हो । यो पोखरीको संरक्षण सूर्य ज्योति क्लबले गरिरहेको छ । यो कि.नं.१०७ क्षेत्रफल ७ रोपनी २ आनाको पोखरी हो । 

यो एक महिनाभित्र के भयो भएन केहि खबर छैन ।

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू, पटक पटक विक्री गरिएका ललिता निवासको जग्गा सरकारीकरण गर्न सक्नु हुने तपाईंको सरकारले यी पोखरीहरुलाई सार्वजनिक बनाउन किन गाह्रो भयो ? के हामी कीर्तिपुरवासी बसका बस रिजर्भ गरेर सिंह दरवार घेर्न आउनु प¥यो कि वालुवाटार घेर्न आउनु प¥यो ? यस्तो अवस्था नआवोस भन्ने चाहन्छु । हाम्रो समस्या बारे पाँगाका चेली माओवादी नेतृ रुपा महर्जन श्रेष्ठलाई यो बारेमा सबै जानकारी दिइसकेको छु । उहाँले पनि यो कुरा भुमिसुधार मन्त्री राजिता गौतम र प्रधानमन्त्रीलाई जानकारी गराएर छिट्टै निर्णय गराउने प्रयास गर्ने वचन दिनु भएको थियो । प्रयास मात्र होइन, काम हुनु प¥यो ।

आजलाई यति अरु पछि लेख्न नपरोस । धन्यवाद

नजरराम महर्जन

पत्रकार/सामाजिक अभियन्ता


No comments:

Post a Comment