Friday, June 10, 2022

कीर्तिपुरमा नेकपा एमाले किन क्लिन स्वीप भयो ?

 कीर्तिपुरमा नेकपा एमाले किन क्लिन स्वीप भयो ?

नजरराम महर्जन

गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा धमाधम आइरहेका छन । धेरैजसो ठाउँमा निर्वाचित जन प्रतिनिधिहरुले पदबहाली पनि गरिसकेका छन । यसै सन्दर्भमा काठमाडौं जिल्ला कीर्तिपुरमा पनि जन प्रतिनिधिहरुले कार्यभार सम्हाली सकेका छन । कीर्तिपुरमा लाल किल्ला ढल्यो भन्ने विभिन्न अनलाईन र पत्रिकाहरुमा समाचार आइरहेका छन । कुनै समय कीर्तिपुर लाल किल्ला थियो होला तर अहिले छैन । विगत २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा (एमाले) ले कीर्तिपुर नगरपालिकामा मेयर उपमेयरसहित ७ वटा वडा जितेका थिए । 

उही २०७४ सालमा भएको प्रदेश र संघीय चुनावमा नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रको गठबन्धन हुँदा पनि प्रदेश र संघको सांसद नेपाली कांग्रेसका राजन के.सि र पुकार महर्जनले जितेका थिए । दुईटा पार्टीको गठबन्धन हुँदा पनि नेपाली कांग्रेसलाई हराउन नसकेको ठाउँ कसरी लाल किल्ला हुन्छ ? 

         २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको टिकट वितरणमा जनताको भावनाको कदर नगरिएको कारण झिनो मतमा नेपाली कांग्रेस हारेको थियो । २०७९ सालसम्म आउँदा नेकपा एमाले पार्टीमा धेरै उथल पुथल भैसकेको छ । प्रधानमन्त्री के.पि.ओलिले सांसद विघटन गरी प्रतिगामी कदम चाल्दा त्यसको विरोधमा कीर्तिपुरमा विरोध जुलुसको साथै मशाल जुलुस समेत निकालेका थिए । पछि नेकपा एमालेबाट फुटेर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भयो । कोही एमालेमै रह्यो । एमालेको महाधिवेशन हुँदा दुई गुट छुटियो । नगर अध्यक्षसमेत चुन्न सकिएन । जिल्लाबाट नाम पठाएर राधाकृष्ण बस्नेतलाई नगर अध्यक्ष बनाइयो । जसलाई एक पक्षले स्वीकारेको देखिंदैन । एमाले पार्टी भित्रै कीर्तिपुर नगरपालिकामा पक्ष विपक्ष स्पष्ट रुपमा देखिन थाल्यो ।

पुराना पदाधिकारीहरुलाई दोहो¥याउने विश्वासमा तत्कालिन नगरप्रमुख, उपप्रमुख लगायत सबै जनप्रतिनिधिहरुले बैशाख ८ गते नै सामुहिक राजिनामा दिए । नेकपा एमालेले पुरानालाई नै टिकट दिने भएपछि सबै कार्यकर्ताहरुमा उत्सुकता थियो । 

         तर उम्मेदवार दर्ता गराउन जाने दिन बैशाख १२ गते पुराना मेयर र उपमेयरलाई टिकट नदिइकन नयाँ उम्मेदवार मेयरमा केशरत्न बज्राचार्य र उपमेयरमा बिन्दु महर्जनलाई टिकट दिइयो । त्यस्तै वडा नं.१,२,३ र १० का वडाध्यक्षहरुलाई पुनः टिकट दिइयो । तर वडा नं.६ र ९ का वडाध्यक्षहरुलाई टिकट दिइएन ।

उम्मेदवार दर्ता गराउने दिन बैशाख १२ गते नेकपा एमालेको पार्टी कार्यालयमा कार्यकर्ताहरुले टिकट वितरण विरुद्ध नारा लगाए, अफिसको बेञ्च बाहिर ल्याएर भाँचिदियो । त्यतिबेला कार्यकर्ताहरुले बालकोटबाट टिकट ल्याउँदैमा जित्छ र ! भोट कसले दिन्छ ? कसले प्रचार प्रसार गर्छ ? यो सबै हामीले गर्ने हो । हामी भोट दिंदैनौं, भोट माग्न पनि जाँदैनौं भनेका थिए । 

नेकपा एमालेका कार्यकर्ताहरु यो उम्मेदवारीबाट असन्तुष्ट छन भन्ने नगरभरि खबर फिजियो । अर्कोतिर नेपाली कांग्रेस र जनता समाजवादी पार्टी बीच गठबन्धन भयो । रुख चुनाव चिन्ह लिएरै जसपाका उपमेयरले चुनाव लड्ने भएपछि कार्यकर्ताहरुमा उत्साह पैदा भयो । नेपाली कांग्रेसको २०७४ सालमा ६६१६ मत थियो भने तत्कालिन नयाँशक्तिका उपमेयर उम्मेदवार हाल जसपाकाले ३९१३ मत पाएका थिए । जो त्यतिबेला तेश्रो भएका थिए । यी दुई समूहको मत जोडदा ९५०० मत नाघ्छ । 

     कीर्तिपुरमा यति मत आएपछि चुनाव जित्न सक्ने विश्वास भयो । २०७४ सालको चुनावमा नेकपा एमालेले ७३६० मत पाएका थिए । ने.का.ले ६६१६ मत पाएका थिए । चुनाव प्रचारको क्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामा उत्साह थियो । संघीय सांसद एवं केन्द्रिय सदस्य राजेन्द्र कुमार के.सि, बागमति प्रदेश सांसद एवं क्षेत्र नं.१० सभापति पुकार महर्जनसमेत घरदैलो कार्यक्रममा सरिक हुन्थ्यो । एमालेहरुको त्यस्तो वजनदार कोही नेता चुनावी प्रचार प्रसारमा देखिएन ।

उम्मेदवार दर्ता गराईसकेपछि एमालेका केही नेताहरु र माओवादी केन्द्रका नेताहरु बीच अघोषित गठबन्धन भयो । मेयरमा एमालेले माओवादीलाई सघाउने, उपमेयरमा माओवादीले एमालेलाई सघाउने आन्तरिक सहमति भयो । एमालेलाई सहयोग गर्न भनेर माओवादीले उम्मेदवार दिइसकेका ३ वटा वडा वडा नं.५, ६ र ९ मा वडाध्यक्ष उम्मेदवार फिर्ता लियो । यो खबर मतदाताहरुमा पुग्यो । माओवादीका मतदाताहरुले आपूmहरुको अपमान भएको ठान्यो । माओवादी नेताहरुको कुरा मान्नुभन्दा पनि विद्रोह गरेर धेरैजसोले वडामा रुखलाई भोट दियो । जस्तै वडा नं.५ मा २०७४ मा माओवादीले ४६० मत पाएका थिए । एमालेले ७०८ र विजयी ने.का.ले ८९३ मत पाएका थिए । जम्मा १८० मतको फरक थियो । यसपाली माओवादी वडाध्यक्ष उम्मेदवार नहुँदा एमालेले ७३१, नेपाली कांग्रेसले १३४७ मत लियो । पहिले १८० मत फरक परेको थियो भने अहिले ६ सय मतको फरकले जित्यो । यो सबै माओवादीमा जाने मत नेताहरुको दास बन्नबाट विद्रोह गरेर एमालेलाई जसरी पनि हराउने चाल चल्यो । नेकपा एमालेका मेयर उम्मेदवार केशरत्न बज्राचार्यले ५५०७, उपमेयर बिन्दु महर्जनले ७२०६ मत पाएका छन । मेयरको भन्दा उपमेयरको १६९९ मत बढी छ । त्यस्तै माओवादी केन्द्रको मेयर उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले ४०९० मत पाएको छ । उपमेयर सुशिला बस्नेतले २२४० मात्र पाएका छन । मेयर र उपमेयरले पाएको मतको भिन्नता १८५० रहेको छ ।  यसरी माओवादी र एमालेवीच अघोषित गठबन्धन भएको देखिन्छ । जबकि नेपाली कांग्रेसको मेयर उम्मेदवार राजकुमार नकर्मीले ९०४३ मत पाएका छन भने उपमेयर शुभलक्ष्मी शाक्यले ८६६५ मत पाएका छन । दुवैजनाको मत भिन्नता जम्मा ३७८ मात्र रहेको छ । यसबाट के देखिन्छ भने नेपाली कांग्रेस सबै एक ढिक्का भएर चुनाव लडेका छन भने अरु पार्टीहरु आन्तरिक रुपमै विभाजित थिए । २०७४ सालमा नेपाली कांग्रेसले वडा नं.४,५ र ८ तीन वटा वडा जितेका थिए । यो पालि एमालेको वडा नं.८ मा दलित महिला निर्विरोध चुनेका र वडा नं.२ मा नेपाली कांग्रेसले उम्मेदवार नदिंदा दलित महिला सदस्य चुनेको छ । त्यस्तै वडा नं.१० मा माओवादीको पनि दलित महिला सदस्य निर्विरोध निर्वाचित भएको बाहेक अरु कहिं जित्न सकेन । जब कि २०७४ सालमा माओवादीले वडा नं ८ मा एकजना र वडा नं.१० मा तीनजना नगर सदस्यहरु जितेका थिए । यसरी नेकपा एमालेले दुई तिहाई बहुमत पाएको कीर्तिपुर नगरपालिकामा एमाले क्लिन स्वीप भएका छन । २०७४ मा ७४४ मतले हारेका राजकुमार नकर्मीले ५ वर्षपछि एमालेलाई ५ दोब्बर अर्थात ३५३६ मतले पराजित गर्न सफल भएको छ ।

यदि निवर्तमान मेयर र उपमेयरलाई एमालेले दोहो¥याएको भए कसले जित्छ कसले हार्छ भन्न सक्दैनथ्यो । तर नेपाली कांग्रेसले जिते पनि यतिका फरक मतले जित्ने थिएन । यतिका फराकिलो मतले एमाले हार्ने थिएन । जसपा र नेपाली कांग्रेसको गठबन्धन हुने बितिकै जित्छ भन्ने चर्चा भयो । जसले गर्दा जित्ने पार्टीलाई भोट दिन मतदाताहरु उत्साहित भए । जसपाका उपमेयरका उम्मेदवार शुभलक्ष्मी शाक्य विगतको चुनावमा हारेको थियो । यसपाली जसरी पनि जिताउनु पर्छ भनेर महिलाहरु जुटे ।

नेकपा (एमाले) पार्टी विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेर ठूलो हानी पुगेको वडा भनेको वडा नं.६ हो । वडा नं.६ मा नेकपा एमालेले ८१९ र नेकपा एसले ८७० मत प्राप्त गरेका छन । दुवै मत जोडदा १६८९ हुन आउँछ । जब कि नेपाली कांग्रेसका उम्मेदवार खिरमान सिंह बस्नेत (पृथ्वी)ले १३३३ मत ल्याउँदा विजयी भएको छ । नेपाली कांग्रेसले वडा नं.१, वडा नं.७ र वडा नं.१० का उम्मेदवारहरु जो २०७४ सालमा हारेका उम्मेदवारहरुलाई नै टिकट दिएको छ । जुन ३ वटै वडामा नेपाली कांग्रेसले जितेको छ ।

   नेकपा एमालेले ४ जना वडाध्यक्षहरु वडा नं.१, २, ३ र १० लाई दोहो¥यायो । कामको लागि चर्चित वडा नं.६ र ९ लाई टिकभट दिएन । यसरी पक्षपात टिकभट वितरणले गर्दा नेकपा एमालेका कार्यकर्ता एमालेलाई हराउननै तल्लिन भयो । जसको कारण कीर्तिपुरमा नेकपा (एमाले) क्लिन स्वीप भयो । यसबाट नेताहरुले पाठ सिक्नु पर्ने हो । खल्तिबाट निकालेको नामले चुनाव जित्दैन भन्ने ज्ञान प्राप्त गर्छ कि !


No comments:

Post a Comment