Thursday, May 5, 2022

कीर्तिपुर नगरपालिका गठबन्धनका उपमेयर उम्मेदवार शुभलक्ष्मी शाक्य (सुनिता) सँगको भलाकुसारी

 कीर्तिपुर नगरपालिका गठबन्धनका उपमेयर उम्मेदवार शुभलक्ष्मी शाक्य (सुनिता) सँगको भलाकुसारी



   कीर्तिपुर सन्देश साप्ताहिक/  

   कीर्तिपुर नगरपालिका वडा नं. ६, चोभार निवासी शुभलक्ष्मी शाक्य (सुनीता) कीर्तिपुर नगर क्षेत्रमा परिचित नाम हो । कीर्तिपुरको राजनैतिक आन्दोलन, महिला सशक्तिकरण, सहकारी अभियान, सामुदायिक वन विकासका क्षेत्रमा आफ्नो पहिचान बनाईसकेका व्यक्तित्व समेत हुन् । भूमिगत माओवादी आन्दोलनवाट आफ्नो राजनैतिक यात्रा शुरु गर्नु भएका शाक्य हाल जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय परिषद सदस्य, काठमाण्डौ जिल्ला उपाध्यक्ष र कीर्तिपुर नगर अध्यक्ष हुनु हुन्छ ।   

जनता समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेससँगको गठबन्धन हुँदा रुख चिन्ह बाट उम्मेदवारी दिनु भएको हो ।
           देशकै सफल सामुदायिक कलेजहरु मध्येमा गनिने सहीद स्मारक कलेजको व्यवस्थापन समितिको सदस्यका रुपमा समेत सक्रिय भूमिका निर्वाह गरि रहनु भएका वहाँ शिक्षा क्षेत्रमा समेत परिचित नाम हो । वहाँले कीर्तिपुर नगरपालिका कार्यालयको महिला विकास समितिको उपाध्यक्षमा रहि समग्र नगरवासी महिलाहरु माझ आफ्नो कार्यक्षमता प्रदर्शन गरि सक्नु भएको छ । कीर्तिपुर नगर क्षेत्र भरका महिलाहरुलाई समेटेर बनाइएको महिला संजाल र त्यसको अगुवाईमा गठन भएको महिला सहकारीको नेतृत्व समेत वहाँले नै गर्नु भएको हो ।


२०६२/६३ को जनआन्दोलनमा महिलाको नेतृत्व गर्दैै जुलुस प्रदर्शनको अगुवाई गर्दै

        त्यस्तै उपत्यकाकै अग्रणी र चोभारलाई एक पर्यटकिय गन्तव्यका रुपमा उभ्याउन सफल जलविनायक सामुदायिक वन उपभोक्ता समूहको सचिवका रुपमा समेत क्रियाशिल हुनु हुन्छ । कीर्तिपुर नगर क्षेत्रको पहिलो बचत तथा ऋण सहकारी संस्था प्रगतिशील साकोसको दुई कार्यकाल अध्यक्षका रुपमा आफ्नो नेतृत्व दिई सक्नु भएका शाक्यले भर्खरै स्वराज कृषि सहकारी संस्थाको नेतृत्व समेत सम्हालेकी छिन् । हिमाल सिमेण्ट कम्पनीको प्रदुषण तथा सुख्खा बन्दरगाहका कारण चोभारवासीलाई भएको अन्यायका विरुद्धमा भएको आन्दोलनका दौरान पटकपटक प्रहरी हिरासत समेत भोग्नु भएको थियो । 


२०६२/६३ को जनआन्दोलनमा महिलाको नेतृत्व गर्दैै जुलुस प्रदर्शनको अगुवाई गर्दै

      नागरिक सरोकार समाज कीर्तिपुरका सचिव, कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्रका कार्य समिति सदस्य तथा विभिन्न क्लब, सामाजिक अभियानहरुमा समेत उत्तिकै सक्रिय शाक्य २०७४ सालको स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति पार्टीका तर्फवाट उपप्रमुखको उम्मेदवार हुनु हुन्थ्यो भने आसन्न २०७९, बैशाख ३० को निर्वाचनमा पनि उपप्रमुखको उम्मेदवार हुनुहुन्छ तर यस पटक नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको गठबन्धनका तर्फवाट सोही पदको प्रतिस्पर्धी हुनु भएको छ । यसै सन्दर्भमा प्रस्तुत छ, वहाँसंग आउँदो स्थानीय तहको निर्वाचनका सन्दर्भमा लिइएको समसामयिक अन्तर्वार्ता ।

प्रश्न १ः तपाईको चुनाबी अभियान कस्तो चल्दैछ ? अब १० दिन पनि वाँकी छैन । 

      गठबन्धनको मु्ख्य दल नेपाली काँगे्रससंग समन्वय गरी १० वटै वडाका सबै टोलबस्तीमा पुगिरहेका छौं । दुवै पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुकको साथ र सहयोगमा सबै नगरवासीको सक्रिय सहभागितामा चुनाबी अभियानको रफ्तारलाई बढाएका छौं । गठबन्धनको साझा चुनाबी घोषणा पत्र, एजेण्डा, कार्यक्रमका आधारमा नगरवासीहरुमा मतदानका लागि अनुरोध गर्दै हिडेका छौं । चुनाबी कार्यक्रम तथा अभियान निकै उत्साहजनक रुपमा अगाडि वढिरहेको छ ।

प्रश्न २ः आगामी निर्वाचनमा ५ दलिय गठबन्धन गर्ने कुरा अन्तिममा आएर दुई दलको मात्र कसरी सिमित हुन पुग्यो ? 

          पक्कै पनि ५ दलिय गठनबन्धन नै हुन सकेको भए केन्द्रिय गठबन्धनको भावना स्थानीय स्तरमा सहज रुपमा साकार हुन सक्थ्यो । ५ भन्दा पनि कीर्तिपुरमा ४ दल मात्र अस्तित्वमा छन् । त्यसका लागि हाम्रो दलका तर्फवाट हदैसम्मको लचिलो ढंगले हामी प्रस्तुत भयौं । तर गठबन्धनका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का विचमा केहि विषयमा अन्तिम घडिमा आएर सहमति हुन नसकेपछि २ दल मात्र अघि बढ्ने यो परिस्थिति निर्माण भएको हो ।

प्रश्न ३ः तपाईहरुको गठबन्धन भित्र पनि चुनाब चिन्ह सम्वन्धी, पार्टीगत तथा कार्यकर्ता तहमा विभिन्न बेमेल, असन्तुष्टीका कुराहरु सार्वजनिक रुपमा नै वाहिर आई रहेका छन् नि ? त्यसलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ? 

            पार्टीगत रुपमा बेमेलका कुराहरु त खास छैन । चिन्हका हकमा मतदानमा सहज होस् भन्ने हिसावले सबैले रुख नै लिने तय गरिएको हो । खासगरी नेपाली काँग्रेस जस्तो पुरानो र लोकतान्त्रिक पार्टीमा उम्मेदवार चयनका क्रममा सर्वसम्मत हुने कुनै सम्भावना रहन्न, भएन । त्यसकारण उत्पन्न परिस्थिति हो यो । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा यस क्षेत्रका माननीय साँसद राजेन्द्र के.सी., क्षेत्रिय सभापति तथा प्रदेश सांसद माननीय पुकार महर्जन, जिल्ला उपसभापति, मेयरका उम्मेदवार दाजु राजकुमार नकर्मी तथा नगर सभापति दाजु कृष्णमान महर्जन सहित नगर भित्रका सबै पार्टी नेतृत्व, कार्यकर्ता शुभेच्छुकको पहलमा यसको पनि धेरै हद सम्म समाधान भैसकेकोछ । अब गठबन्धन भित्रका सबै नेता, कार्यकर्ता सबैको ध्यान बैशाख ३० मा नै केन्द्रित छ । मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्यहरु सहितको सबै प्यानलाई नै अत्यधिक वहुमतले विजय गराउन सबै जना आतुर हुनु हुन्छ । 

प्रश्न४.ः नगरवासीको घरदैलोमा जाने क्रममा के नयाँ अनुभूति गर्नु भएको छ? 

           यो भन्दा अघि २०७४ सालको निर्वाचनमा सहभागी भएकी थिएँ । मैले त्यस दौरानमा नगरवासीवाट ठूलो माया र सद्भाव पाएको थिएँ । प्राविधिक हिसाबमा नेतृत्व गर्ने अवसर गुमाउन पर्यो । यस पाली केन्द्रिय गठबन्धनको सबैभन्दा ठूलो दलसंगै मिलेर घरदैलोमा जाँदा अहिले झन बढी माया र सद्भाव पाएकी छु । यसपाली जहाँजहाँ गएँ सबैमा भिन्दै उत्साह अनि खुशिको माहौल छ । आत्म विश्वास र बिजयको भाव सहितको शुभकामना पाईरहेकी छु । सबै तिर कीर्तिपुर नगरपालिकालाई नगरवासीको मुख्य सेवक वा सहयोगीको भूमिकामा पाउने अपेक्षा र विश्वास व्यक्त गर्नु भएको पाएकी छु । हाम्रो गठनबन्धनले यसलाई पूरा गर्ने प्रतिवद्धता गरेका छौं ।

प्रश्न ५ः गठनबन्धनका तर्फवाट कीर्तिपुर नगरपालिका संचालन गर्ने नयाँ सोच, योजना के बनाउनु भएको छ?

      नगरपालिका भनेको नगरवासीको सबभन्दा नजिकको सरकार, अभिभावक हो । त्यहाँवाट पाईने सेवाहरु लिनका लागि जाउँ जाउँ लाग्ने अवस्था वा वातावरण हुनु पर्छ भन्ने हाम्रो मान्यता हो । अहिले नगरपालिकामा सकेसम्म जान नपरे हुन्थ्यो भन्ने आम नगरवासीको धारणा छ । नगरपालिकामा सुशासन शव्दको उच्चारण धेरै सुनिए पनि नगरपालिकाको स्थिति त्यसको ठिक उल्टो छ । हामी यसलाई पूरै बदल्नेछौं । जन्म, मृत्यु, जस्ता व्यक्तिगत घटना दर्ता तथा नाता प्रमाण पत्र नगरवासीको घरघरमा पुर्याउने व्यवस्था गर्नेछौं । त्यस्तै सामाजिक सुरक्षा भत्ता समेत घरघरमा पुर्याउने व्यवस्था गर्ने छौं ।

         नगरपालिकामा विद्यमान व्यक्तिगत, राजनैतिक वा अन्य सम्वन्धका आधारमा कुनै पनि सेवा दिने वा लिने प्रवृत्तिको अन्त्य गर्नेछौं । जनप्रतिनिधी, कर्मचारी संयन्त्र र तिनीहरुले प्रयोग गर्ने प्रविधी भनेको नगरवासीहरुको सेवाका लागि हो भन्ने भावनालाई हामी व्यवहारमा उतार्ने छौं । 

           नगरको आवश्यकता अनि कीर्तिपुरवासीको ईच्छा र आकाँक्षा परिपूर्तिका लागि नगरपालिकाको अहिलेको वजेटले पुग्दैन । तर बिडम्बना भन्नु पर्छ, विगतको सबै वर्ष नगरपालिकाको बजेटको उल्लेख्य अंश कार्यान्वय नभई फिर्ता हुने परिस्थिति रह्यो । त्यसैले हामी उपलव्ध सबै साधन श्रोतको समयमै सहि सदुपयोग गर्ने कुरामा प्रतिवद्ध छौं । नयाँ साधन, श्रोत जुटाउने मामिलामा पनि योजनावद्ध ढंगले अगाडि वढ्नेछौं । बजेट तथा योजना निर्माण र कार्यान्वयनमा सर्वपक्षिय सहभागिता र सरोकारवाला पक्षले अपनत्व महसुुस गर्ने वातावरण बनाउनेछौं । विकास निर्माणमा रहेको अघोषित सिण्डिकेट, उपभोक्ता समितिका नाममा ठेकेदार परिचालित हुने परिपाटीलाई हामी निरुत्साहित गर्नेछौं । वडातहमा समेत मेलमिलाप केन्द्र गठन गरी न्यायिक समितिको काम कार्वाहीलाई पारदर्शी अनि छिटोछरितो बनाउनेछौं ।

         अहिले पनि युवा, महिला, बालवालिका, ज्येष्ठ नागरिकहरुहरुले विविध समस्या झेल्नु परेको छ । त्यसलाई हटाउन प्रभावकारी कार्यक्रम तथा संयन्त्र बनाई अघि वढ्नेछौं । विशेषतः युवा तथा महिलाहरुको समग्र हितसंग जोडिने गरी स्वरोजगारी र क्षमता अभिवृद्धिका कार्यक्रमलाई अभियानका रुपमा नै संचालन गर्नेछौं ।

      योजनावद्ध विकासलाई हामी प्राथमिकता दिनेछौं । समुदायले प्रत्यक्ष लाभ र अनुभूति गर्न सक्ने किसिमवाट शिक्षा, स्वास्थ्य, सम्पदा, स्थानीय भाषा, संस्कृति, पर्यटन विकाससंग सम्वन्धीत योजनाहरु संचालन गरिनेछ । नेवाः दे गु नेपाल मण्डलसंग अडान पत्र कार्यान्वयनमा सहकार्य गर्नेछौं । सार्वजनिक सम्पत्तीको अभिलेख राखी समुदायवाट संरक्षण र समुदायले नै उपयोग गर्ने वातावरण निर्माण गर्नेछौं । वातावरण, खानेपानी तथा सरसफाई क्षेत्रमा विशेष ध्यान दिने छौं । नगरको आर्थिक तथा पूर्वाधार विकासमा सहकारी तथा निजी क्षेत्रको सहभागितालाई जोड दिने छौं । सामुदायिक वन उपभोक्ता समूहहरुसंग नगर क्षेत्रको पर्यापर्यटनको विकासका लागि सहकार्य गर्नेछौं ।

       कीर्तिपुर नगरपालिकालाई नगरवासीको सरकारका रुपमा स्थापित गर्न लागि पर्ने छौं । हामी सदैव पार्टी संगठन तथा पार्टीका आदरणीय नेतृत्वको मार्गदर्शन र अभिभावकत्वमा अघि वढ्नेछौं । छिमेकी स्थानीय सरकार तथा प्रदेश सरकार, संघीय सरकार अनि अन्य दातृ निकाय एवं संस्थाहरुसंग सहकार्यको वातावरण निर्माण गर्ने छौं ।

प्रश्न ६ः तपाई महिला सशक्तिकरण आन्दोलनमा निरन्तर होमिनु भएको व्यक्तित्व पनि हुनु हुन्छ, महिला लक्षित खास योजनाहरु पनि बनाउनु भएको छ कि?

      विगत समयमा जनप्रतिनिधि विहिन अवस्थामा मैले नगर महिला विकास समितिको उपाध्यक्ष भई सेवा गर्ने अवसर पाएको थिएँ । त्यो छोटो कार्यकालमा पनि मैले नगरपालिका भरका दिदीवहिनीहरुको क्षमता अभिवृद्धि तथा स्वरोजगारीका लागि नयाँ अवधारणा सहित काम थालेको थिएँ । समय र प्रविधि अझै धेरै अघि वढि सकेको छ, स्थानीय आवश्यकता र सम्भावनालाई हेरेर नगरवासी दिदीवहिनीहरुसंगै वसेर महिला लक्षित योजनाहरु हामी बनाउनेछौं । र वहाँकै प्रत्यक्ष सहभागितामा कार्यान्वयन पनि गर्ने छौं । त्यसलाई सहज बनाउन अघि भने जस्तो युवा, महिला, बालवालिका, ज्येष्ठ नागरिकहरुहरुसंग सम्वन्धीत प्रभावकारी कार्यक्रम तथा संयन्त्र बनाई अघि वढ्नेछौं । विशेषतः युवा तथा महिलाहरुको स्वरोजगारी र क्षमता अभिवृद्धिका कार्यक्रमलाई अभियानका रुपमा संचालन गर्नेछौं ।

प्रश्न ७ः २०७४ सालको निर्वाचनमा पनि चर्चाका विच तपाई सफल हुन सक्नु भएन, यस पाली तपाईको मुख्य प्रतिस्पर्धा कोसंग छ र जितको सम्भावना के छ ?

       मैले अघि पनि भनें, २०७४ सालमा नगरवासीवाट धेरै माया र सद्भाव पाउँदा पाउँदै पनि प्राविधिक हिसाबले मात्र पछि परेको हो । नगरपालिकाको जिम्मेवारीमा नभए पनि म अन्य विभिन्न अभियान तथा संस्थाहरु मार्फत नगर क्षेत्र भित्र सदैव क्रियाशिल नै रहेकी छु । नगरवासीहरुको सबै दुःखसुखमा एकाकार भए अघि वढ्ने गरेकी छु । नगरवासी दिदीवहिनी तथा दाजुभाईहरुसंगको मेरो निरन्तरको सम्पर्क सम्वन्ध अनि केन्द्रिय गठबन्धनको सबै भन्दा ठूलो दलसंगै मिलेर घरदैलोमा जाँदा अहिले पाइरहेको माया र सद्भावका आधारमा बनेको उत्साहको माहौललाई आँकलन गर्दा नगरवासीको सेवा गर्न जिम्मेवारी पाउने, निर्वाचित हुने कुरामा निकै आशावादी रहेकी छु । तर पनि प्रतिस्पर्धा नेकपा (एमाले) संग नै देख्छु र नेकपा (माओवादी केन्द्र) लाई पनि मैले धेरै कमजोर पाएकी छैन । 

प्रश्न ८ः अन्तमा छुटेका केहि कुरा भए नगरवासी पाठक समक्ष राख्न सक्नु हुन्छ । 

       खास वाँकी त छैन । लोकतन्त्रको अत्यन्त सुन्दर पक्ष भनेको आवधिक निर्वाचन हो । म आम नगरवासी दिदीवहिनी दाजुभाई मतदातहरुलाई नगरपालिकाको निर्वाचनको यो विशेष अवसरमा आफ्नो भाग्य र भविष्य फैसला आफैं गर्नुहोस् । एक पटक, एक दिन विवेक पुर्याएर पाँच वर्षका लागि नगरवासीको साँचो सेवा गर्ने सेवक चुन्नुहोस् भन्ने अपील गर्दछु ।

प्रश्न ९ः व्यवस्तता बाबजुद समय दिनु भयो, धन्यवाद । साथै, विजयको शुभकामना ।

              कीर्तिपुरको अग्रणी पत्रिका कीर्तिपुर सन्देशमा मलाई आफ्ना कुरा राख्ने अवसर दिनु भयो । र विजयको शुभकामना पनि दिनु भयो, यसका लागि धेरै धेरै धन्यवाद तपाई सहित तपाईको पत्रिकाको टिमलाई ।


No comments:

Post a Comment