Wednesday, April 27, 2022

एमालेले शाक्य र महर्जनलाई किन टिकट दिएन ?

 एमालेले शाक्य र महर्जनलाई किन टिकट दिएन ?


समाचार विश्लेषण  श्रीकृष्ण महर्जन

आउँदो बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावका लागि एमालेले अधिकांश निर्वतमान जन– प्रतिनिधिहरुलाई फेरि पनि टिकट दिएका छन् । अधिकांश उम्मेदवार बन्न पाउनेहरु उत्साहित भएका छन् । तर काठमाण्डौ महानगरपालिका मेयर विद्या सुन्दर शाक्य र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनलाई भने पार्टीले टिकट दिएन । एमालेले मेयरमा केशव स्थापितलाई टिकट दिएको छ । त्यसै गरि कीर्तिपुर नगरपालिकाका मेयर पदका लागि केशरत्न बज्राचार्यलाई टिकट दिएका छन् । 


यी दुई निवर्तमान मेयरहरुलाई एमालेले टिकट नदिनुका कारणका बारेमा विशेष गरि नेवाः समुदाय र पार्टी कार्यकर्ताहरुमा ब्यापक चासोको विषय बनेको छ । नेवाः समुदायले झन यी दुबै जना निर्वतमान मेयरहरुले समुदायका लागि धेरै काम गरेको भन्दै आएको अवस्थामा पार्टीले टिकट नदिनु भनेको कतै नेवाः समुदायका लागि नै काम गरेका कारणले पार्टी भित्रको लविङले यस्तो अवस्था आएको त हैन भनी प्रश्न गर्न स्वभाविक नै हो । काठमाण्डौका मेयर विद्या सुन्दर शाक्यले काठमाण्डौ महानगरपालिका भित्रका धेरै नै सम्पदाहरु पुनः निर्माण गरेका थिए । टोल टोलमा रहेका देवघरहरु पुनः निर्माण गरेका थिए ।

          विशेष गरि संस्कृतिलाई जिवन्तता दिन धेरै नै कामहरु गरेको नेवाः समुदायले महसूस गरिरहेको अवस्था छ । सबैभन्दा बढि विद्या सुन्दर शाक्यकै पालामा सम्पदाहरु पुनः निर्माण गर्ने र सम्पदाका लागि काम गरेको नेवाः समुदायले महसूस गरेकै हो । काष्ठमण्डप जस्तो सम्पदालाई पुरानै प्रविधिमा पुनः निर्माण गरि विश्वलाई नै एक किसिमले सन्देश दिने काम विद्या सुन्दरले नै गरेको सम्पदाप्रेमिहरुले बताइरहेका छन् । नेवाः समुदायका लागि अत्यन्तै महत्वपूर्ण काम भनेको भाषाको सवालमा स्थानीय पाठ्यक्रम स्थानीय मातृभाषा नेपालभाषामा पठन पाठनको सुरुवाट गर्ने काम पनि विद्या सुन्दर शाक्यले नै गरे । काठमाण्डौ महानगरपालिकाले येँ देय् म्हसीका पाठ्यक्रम तयार गरि स्कूलमा लागू गरेका कारण नेवाः समुदायमात्र हैन अन्य मातृभाषी समुदाय पनि उत्साहित भएका छन् । त्यसैले नेवाः समुदायको तर्फवाट उहाँलाई विभिन्न नेवाः संघ सस्थाहरुले सम्मान पनि गरेका थिए । नेवाः एकता दिवसमा समेत विद्या सुन्दर शाक्यलाई सम्मान गरेका थिए । यी कामहरु र समुदायसंग सम्वन्धित कुरालाई विश्लेषण गर्ने हो भने कतै विद्या सुन्दर शाक्यले नेवाः समुदायका लागि धेरै काम गरेका कारण, स्थानीय पाठ्यक्रम नेपालभाषामा येँ देय् म्हसीका तयर गरि पठन पाठन सुरु गर्नु भएकै कारणले उहाँलाई यस पटक टिकट नदिएको हो त भनी प्रश्न उठ्नु स्वाभाविक नै हो । 


  कीर्तिपुर नगरपालिकामा निर्वतमान मेयर रमेश महर्जनकै पालामा अहिले सम्ममा सबैभन्दा बढि सम्पदाहरु पुनः निर्माण भए । दाफा खलःहरुलाई जिवन्त राख्नेदेखि पोखरीहरु निर्माण गर्ने कार्य भएका । धेरै नै सम्पदाप्रेमिहरुले कीर्तिपुरमा मल्लकाल पछि रमेश कालमा सबैभन्दा बढि सम्पदा पुनः निर्माण भए भनी टिप्पणी समेत गरेका थिए । काठमाण्डौ महानगरपालिकामा स्थानीय पाठ्यक्रम स्थानीय मातृभाषा नेपालभाषामा पठ्न पाठन सुरु गरेपछि कीर्तिपुरमा पनि मेयर महर्जनले सुरु गरे । त्यति मात्र हैन मेयर महर्जनले कीर्तिपुर सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्ने र कानुन समेत बनाए । जुन समुदायसंग अत्यन्तै सम्वन्धित विषय हो । कीर्तिपुर सांस्कृतिक संरक्षित क्षेत्र सम्वन्धि ऐनले नेवाः समुदायका लागि मात्र हैन नेपालका आदिवासी जनजाति र सम्पदाप्रेमिहरुका लागि पनि उत्साहको विषय बनेको छ । कतै मेयर महर्जनले समुदायका लागि यस्ता महत्वपूर्ण कार्य गरेका कारणले नै मेयरको टिकट निदएकै त हैन भनी प्रश्न उठ्नु स्वभाविका नै हो । 


काठमाण्डौ महानगरपालिकाका निर्वतमान मेयर विद्या सुन्दर शाक्य र कीर्तिपुर नगरपालिकाका निर्वतमान मेयर रमेश महर्जनले नेवाः समुदायका लागि गरेका उदाहरणीय कार्यको प्रसंशा समुदायले निरन्तर रुपमा गर्नेछ । यी कामहरु इतिहासमा कायम हुनेछ । निर्वतमान मेयरहरु शाक्य र महर्जनका कामलाई अव नगरपालिकामा आउने नेतृत्वले निरन्तरता दिनुका साथै अझ थप समुदायका लागि काम गर्नु जरुरी छ । 

कीर्तिपुर सन्देश साप्ताहिक संयुक्तांक ५४३ मिति २०७९ बैशाख १४ गते प्रकाशित


No comments:

Post a Comment