Tuesday, August 3, 2021

नेपाल र ओलम्पिक खेल

 नेपाल र ओलम्पिक खेल



प्रदिप महर्जन

नेपालमा ओलम्पिक मुभमेन्ट सन् १९६३ देखि सुरु भएको पाइन्छ । सन् १९६२ मा नेपाल ओलम्पिक कमिटि गठन भएको थियो भने त्यसको लगतै १९६३ सालमा सरकारी मान्यता पाएर कार्यान्वयनमा आएको थियो । यस वीचमा हालसम्म ११ जना नेपाल ओलम्पिक कमिटिका अध्यक्षहरु भैसकेका छन । नेपाल ओलम्पिक कमिटिको स्थापना भए देखि २०२० को टोकियो ओलम्पिक सम्म पुग्दा सन् १९६८ मा बाहेक सबै ओलम्पिकमा सहभागिता जनाउँदै आएको छ । यो समेत गरेर नेपालले १४ संस्करणसम्म सहभागिता जनाइसकेको छ तर पनि ओलम्पिकको मेडल तालिकामा नाम दर्ता गराउन सकेको छैन ।

सन् १९८८ को सिउल ओलम्पिकमा भने नेपालका विधान लामाले टेक्वान्डो खेलमा कास्य पदक जितेका थिए । तर यो खेल त्यतिखेर प्रदर्शन खेलको रुपमा मात्र संलग्न गरेकोले त्यसलाई मान्यता दिएन । हालसम्म नेपालका ९२ जना खेलाडीहरुले ओलम्पिकमा सहभागिता जनाइसकेका छन् तर कुनै खेलाडीले पनि राष्ट्रको लागि पदक दिलाउन सकेका छैनन् ।




प्रत्येक ओलम्पिकमा म्याराथन दौडमा सहभागिता छुटेको छैन तर सो खेलमा उत्कृष्ट प्रदर्शन भने ह्याट्रिक गर्न र रेकर्ड राख्न सफल वैकुण्ठ मानन्धरले उत्कृष्ट प्रदर्शन गरेको पाइन्छ । उहाँले १९७६, १९८०, १९८४ र १९८८ मा गरी चार पटक सहभागिता जनाएकोमा ५०औं, ४६ औं र १९८० को मस्को ओलम्पिकमा ३७ औं स्थान सम्म हासिल गर्न सफल भएका थिए । १४ पटक ओलम्पिक खेलमा सहभागिता गरुन्जेल सम्म पञ्चायत कालमा बाहेक बहुदलिय प्रजातन्त्र स्थापना पछि प्रत्येक समयमा नेपाल ओलम्पिक कमिटिको अध्यक्ष पदमा खिचातानी भएको पाइन्छ । अत्यधिक राजनीतिकरणले गर्दा सरकार परिवर्तन सँगै नेपाल ओलम्पिक कमिटिको अध्यक्ष पदमा पनि प्रत्यक्ष प्रभाव परिरहेको देखिन्छ । राखेप र नेओक वीच खिचातानी भएको छ । ओलम्पिक खेल जगतमा नेपाल भन्दा अत्यन्त सानो र गरिब देशहरुले पनि पदक तालिकामा आफ्नो देशको नाम लेखाउन सफल भएको देखिन्छ तर नेपाल यस ३२ औं संस्करण सम्म पनि आफ्नो राष्ट्रिय रेकर्ड तोड्ने लक्ष्य लिएर खेल महा कुम्भमा पुग्छन् । किन देशको करोडौं खर्च गरेर मात्र सहभागिता जनाउने र फर्कने मात्र गरिरहेका छन ? यसको जिम्मेवारी कस्ले लिने ? प्रशिक्षण छैन, एउटा प्रशिक्षण गर्दै गर्छ अर्को खेल स्थल पुग्ने नेपालको लागि नौलो कुरा होइन । यस ३२ औं संस्करण टोकियो ओलम्पिकमा पनि नेपाल ओलम्पिक कमिटिले नेपालगञ्ज म्याराथन विजेता गोपी चन्द्र पार्कीलाई सहभागिता गराउने भनेर अभ्यास गरिरहनको लागि भनेको र सोही अनुसार एक वर्षदेखि अभ्यास गरिरहेका धावक जान पाएन र अर्कैलाई लगेको भनी धावक गोपी चन्द पार्कीले दुःख पोखेका छन् । नेपाल हालसम्म पनि छनोट चरण पार गरेर कुनै पनि पटक सहभागि भएको छैन । प्रत्येक पटक वाइल्ड कार्ड अन्तर्गत सदस्य एनओसीहरुलाई पठाउने कोटाको आधारमा माात्र सहभागिता जनाउने र पदाधिकारीहरु पनि भ्रमण गर्ने र भत्ता पचाउनको लागि मात्र जाने प्रकृतिले गर्दा पनि नेपाली खेलमा सधार नआएको सजिलै अनुमान गर्न सकिन्छ । खेलाडी भन्दा बढी पदाधिकारी खेलस्थल पुग्नु । खेलभन्दा असम्बन्धित व्यक्तिहरु खेल व्यवस्थापक एवं पदाधिकारी बनाउनु जसले गर्दा नेपाली खेलस्तर खस्कनुका उदाहरुणहरु हुन । खेल पदाधिकारीहरु खेलस्थल नपुगी अन्यत्र घुम्न हिड्नु नेपाली खेल जगतको नियती भैसकेको छ । यस ३२ औं संस्करणमा पनि ४ खेलका ५ खेलाडी गौरिका सिंह र अलेक्जेण्डर शाह पौडी १०० मिटर फ्रिसटाइल तर्फ, कल्पना परियार सूटिङ, सरस्वती चौधरी १०० मि. दौड, सोनिया भट्ट जुडो छन तर यिनीहरुको साथमा अरु २१ थप पदाधिकारीहरु गरी कूल २६ जनाको समूह जापान पुगेका छन । जसमा तुलसा गौतम कवड्डी खेलका अध्यक्ष जूडो खेलको म्यानेजर भएर जानु भएको छ । उहाँको सर्वत्र आलोचना भइरहेको छ । नेपाली ओलम्पिक कमिटिको महासचिव निलेन्द्रराज श्रेष्ठलाई सोधिएको एक प्रश्नको जवाफ दिंदै खेल क्षेत्रमा आफ्नो सम्पूर्ण जीवन लगानी गरेका व्यक्तिहरुले ओलम्पिक हेर्ने चाहना गरेका हुन्छन् त्यसैले पनि यसरी समूह विभाजन गरेर लानु पर्नेै भन्ने बताउनु भएको छ । 

यसरी राष्ट्रको करोडौं पैसा खर्च गरेर खेलाडी भन्दा अत्यधिक पदाधिकारीहरु कहिले सम्म लगि राख्ने ? अहिले पनि राष्ट्रिय रेकर्ड तोड्ने जस्तो झिनो उयदेश्य लिएर कहिले सम्म सहभागी गराइराख्ने ? खेलमा हारजित हुन्छ तर सम्मान जनक हार वा पदक कै लक्ष्य राखेर प्रतिस्पर्धाबाटै छनौट भएर जाने खेलाडी तयार गर्नु पर्ने अहिलेको आवश्यकता हो ।

नेपालका कल्पना परियारले गत शनिवार १० मिटर एयर राइफल इभेण्टमा आफ्नो ६१४.५ अंकको रेकर्ड तोड्दै ६१६.८ अंक बनाएर ५० जना सहभागी भएको इभेण्टमा ४६ औं स्थान हासिल गरी प्रतियोगिताबाट बाहिरिएको छ भने अर्को जूडो खेलाडी सोनिया भट्ट (१९वर्ष) पनि रुसी खेलाडी डोल्गोभा इरिनासँग १ मिनेट १६ सेकेण्डमै इप्पोनको आधारमा पराजित भै प्रतियोगिताबाट बाहिरिएकी छिन । सोनिया भट्टले ४८ के.जि. तौल समुहमा खेल्नु भएको थियो । मंगलवार भएको १०० मिटर फ्रिस्टाइल पौडीमा  आफ्नो हिटमा जितेर पनि समूह चरणबाट अलेक्जेण्डर शाह खेलबाट बाहिरिए । यद्यपि उनले सबैले जस्तो राष्ट्रि रेकर्ड ५५.३८ सेकेण्डलाई तोड्दै ५३–४१ सेकेण्ड कायम गर्न भने सफल भए । मंगवारै भएको ट्रायथल खेलमा संसारकै सबैभन्दा सानो देश वर्मुडाका डफि डेलिभरले स्वर्ण पदक दिलाएको छ तर हामी भने राष्ट्रिय रेकर्ड तोडेकोमा गर्व गरेर बस्नु पर्नें अवस्थामा छौं । यो अवस्था कहिलेसम्म रहने हो सम्बन्धित निकायले सोच्ने हो कि ? हालसम्म नेपाल ओलम्पिक कमिटीमा अध्यक्ष भएकाहरु यस प्रकार छन । 

१.स्व.बशुन्धरा शाह (सन् १९६२–१९६७) 

२.स्व.खड्ग ब.शाह (१९६७–१९७७ 

३.स्व.शरद चन्द्र शाह १९७७–१९८८ 

४.स्व. इन्द्र ब.शाही १९८९–१९९०, 

५.स्व.युधा विक्रम शाह १९९२–१९९३, 

६.केशव स्थापित १९९३–१९९५, 

७.गोविन्द राज जोशी १९९५–१९९७, 

८.जीवन राम श्रेष्ठ १९९७–१९९७, 

९.रुक्म शमशेर जवरा १९९८–२००६, 

१०. ध्रुब बहादुर प्रधान २००६–२०१५ 

११.जीवन राम श्रेष्ठ २०१५ देखि हालसम्म


No comments:

Post a Comment