Saturday, June 19, 2021

पानी र रोपाईसंग सम्वन्धितः सिथि नखः


 पानी र रोपाईसंग सम्वन्धितः सिथि नखः



श्रीकृष्ण महर्जन

विश्वभरीकै आदिवासीहरुको आफ्नै किसिमले उत्पादन गर्नेदेखि पकवान बनाई खाने चलन छ । प्रथाजन्य संस्था र प्रथाजन्य कानुन समेत भएका आदिवासीहरुले प्रकृतिलाई देवताको रुपमा पुजा गर्ने र प्रकृतिलाई विशेष प्रथमिकता दिई विभिन्न संस्कार संस्कृतिहरु संचालन गर्दै आएका छन् । अहिलेको समयमा प्रकृति विनास गरेका कारण नै विभिन्न समस्याहरु आइरहेको कुरा सबैको ध्यान गइरहेको अवस्था छ । यसै वीच नेपालका आदिवासीहरुले पनि विभिन्न प्रकारका संस्कार र संस्कृतिका कारण प्रकृतिलाई सम्मान गर्दै आएका धेरै उदाहरुणहरु छन । यस्ता उदाहरुहरु मध्ये एक हो नेवाः आदिवासीहरुको पर्व सिथि नखः ।

काठमाण्डौ उपत्यकाका आदिवासी नेवाःहरुले मनाउने विभिन पर्वहरु मध्ये पानीको मुहान सफा गर्ने विशेष प्रकारको पर्व भनेको सिथि नखः हो । यो पर्व रोपाईसंग पनि सम्वन्धित छ । सिथि नखःको दिनदेखि रोपाईको लागि तयारी हुने र यो दिनलाई म्हयाय्मचा नखः पनि भन्ने गरिन्छ । सिथि नखः कृषिसंग सम्वन्धित अन्तिम पर्व हो । यो पर्वपछि एक पटक अव रोपाई सकिएपछि गथांमुगः पर्व मनाउने गरिन्छ । प्रत्येक बर्ष जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवाः समुदायले मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान वः बनाई खने गरिन्छ । नेवाः समुदायमा ऋतु अनुसारको चाडपर्व अनुसारका पकवान खाने प्रचलन रहेको  छ । त्यस्तै पर्वमध्ये एक हो सिथि नखः पर्व ।

सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् । वर्षात्को बेला बगेर आउने भेल र फोहरपानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस भनी पानीको मुहान र स्रोतको वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो । साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षात्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरेको हो । त्यसैगरि सिथि नखःको दिनमा रोपाईको लागि खेतमा घरेलु मल समेत राख्न जानै पर्ने चलन अहिले सम्म पनि रहेको छ । यो पर्व पानीको मुहान, रोपाईको तयारीका साथै विभिन्न परिकार बनाई खाने विशेष प्रकारको नेवाः आदिवासीहरुको पर्व हो भन्न सकिन्छ ।

सिथि नखःको दिनमा आफ्नो खेटमा एक भारी भएपनि घरेलु मल लाने चलन अहिले सम्म पनि नेवाः समुदायमा चलन छ । यसको अर्थ सिथि नखःको दिनदेखि नै रोपाईका लागि खेटमा निरन्तर रुपमा जाने र रोपाई नसके सम्म अरु कुनै पनि काममा ध्यान दिन नहुने मान्यता छ । 

त्यसैले नै होला सिथि नखःदेखि गथांमुगः नखःको अघिल्लो दिन सम्म कुनै पनि परम्परागत बाजा धिमे बाजा, खिं बाजा, धाः बाजा लगायत बाजा बजाउन नहुने र कुनै पनि नाच समेत देखाउन नहुने मान्यता छ । 

गथांमुगःको दिनदेखि मात्रै मनोरञ्जन गर्नुपर्ने मान्यता भएकै कारणले सो दिनदेखि मात्र लाखे नाच निकाल्नेदेखि विभिन्न नाचहरु प्रदर्शन गर्ने नेवाः समुदायमा चलन रहेको छ ।

नेवाः समुदायले आफ्नो कुललाई पुजा गर्ने भनेको कुलदेवतालाई पुजा गर्ने हो । आदिवासी नेवाः समुदायको शक्तिको श्रोतको रुपमा लिने पुर्खा नै हुन । पुर्खाले नै हस्तान्तरण गर्दै आएका संस्कृति, सभ्यतालाई निरन्तरता दिने र आफ्नो भूमिका बस्दै नेवाः भएर बाच्न पर्ने मान्यता रहेको छ । त्यसैले प्रत्येक बर्ष पुर्खालाई पुजा गनेृ दिनको रुपमा दिगुपुजा अर्थात देउली पनि मनाउदै आएका छन् । आफ्ना पुर्खालाई पुजा गर्ने दिगुपुजाको अन्तिम दिन पनि सिथि नखः नै हो । अरु बेलामा दिगुपुजा गर्न नपाउनेहरुले सिथि नखःकै दिनमा दिगुपुजा गर्ने चलन रहेको छ ।

जे होस सिथि नखः आदिवासी नेवाःहरुको संस्कृतिसंग मात्र हैन प्रकृतिसंग, पानीसंग र रोपाईसंग पनि सम्वन्धित एक महत्वपूर्ण नखः अर्थात पर्व हो ।

No comments:

Post a Comment