Friday, June 18, 2021

हामीले के पि किन हटाउन सकेनौं ?

 हामीले के पि किन हटाउन सकेनौं ?



प्रशान्त महासागर

केपी अर्थात खड्ग प्रसाद ओली शर्मा नामैमा दुई जात रहेको व्यक्ति हाल सम्माननीय प्रधानमन्त्री । देशको गौरव । राष्ट्रको एक हाँक यानि कि शान । बोलीमा उन्नति प्रगति प्रचूर मात्रामा भएको एक ओली हाल सबैको लागि एक गोली बराबर नै छ । 

उहाँ देखि सबै त्राहिमाम नै छन् । सत्ता र शक्ति उहाँका दुई पाउ हुन्  जसको कारण अगाडि जस्ले जे व्याख्या विश्लेषण गरिए तापनि उहाँको सामु सबै नतमष्टक नै छन् र श्रापित होला, हुँला भनी सबै उहाँमाथि भक्तिभाव दर्शाउनमै तल्लिन देखिन्छन् । कुनै पार्टिले या कुनै विचारले उहाँलाई जति नै प्रतिगामी भनिए तापनि त्यसको सार निष्कर्ष सत्य हुन् भन्ने कुनै कोहीले प्रमाणित गर्न सकेका छैनन् । यसैको फाईदा अनुरुप सत्ता र शक्ति आफैमा आश्रित गरि गराई कसैले  कुनै मुद्दा उहाँविरुद्ध सत्य सावित गरिदिएको खण्डमा राजीनामा दिने झठो आश्वासन दिंदा नि होला भन्दै त्यसकै दौडमा सबै लागेका छन् । फलतः विहान देखि दिउँसोभर विश्व सामु अब म प्रधानीमन्त्री बन्दिन् । यहाँ प्रधानमन्त्री बनिरहनुको पनि कुनै औचित्य छैन् भन्नुहुन्छ भने राती पुनः म पनि प्रधानमन्त्री बन्छु भनी दावी गर्न पुग्छ । र फेरि संसद विघटन गराई कोरोनाको महामारीमा देशलाई चुनावको उपहार स्वरुप तदर्पण गर्न पुग्दछ । तर बुझ्ने कस्ले ? विरोध प्रतिरोध गर्छन् अब कस्ले ? जनताले अक्सिजन र अस्पतालमा बेड नपाएर छट्पटि सासको आहुति दिनु परिरहेको कालखण्डमा त्यसको जोहो गर्न छोडि मतपत्र छाप्ने सोच धम्की देशले पाउँछ भने यो जस्तो क्रुर दर्दनाक यथार्थता नेपालीको अरु के हुनसक्छ ? यो पहिलो प्रश्न जस्को जवाफ नेपालीले एक दिन खोज्नेछ ।

त्यस्तै अर्को, देशले स्थिर सरकार पाएको बेला नेपालीहरुको टाउकोमा औसत बैदेसिक ऋण २८००० प्रतिव्यक्ति चलिरहेको थियो । अब आजको दिनसम्म पुग्दा ५३००० प्रतिव्यक्ति त्यही ऋण हुनपुगेको छ । प्रत्येक वर्ष ८३३३ रुपैयाँ नखाएको विष प्रतिव्यक्ति तिर्नुपर्छ आकडाले जनाएको, जनाउँदा नि त्यसको खोज प्रतिकार नेपालीले गर्न सकेनन् । यो स्वर्गीय मदन भण्डारीको भाषामा एउटा सेतो हाती फालेर हजार हाती पालेको नतीजा मात्र हो जसको परिणाम भोग्न बाँकी नै छ । हुन त यसको विरोध उहाँले २०४६ सालमा गर्नु भएको थियो र राजतन्त्र ढालिएको त्यसको निष्कर्ष पनि हो । 

एक हिसाबले त्यो रक्तवीज बनेको छ अहिलेको परिप्रेक्ष्यमा । र नेपालको सन्दर्भमा राजा फाल्नु श्रापित हुनु सिद्ध भए झै लागी रहेको छ । भत्ता र सत्ताको खेलमा जनता मूकदर्शक मात्र हुनु कोही त यहाँ कलंकित छ भन्नु स्वतः सिद्ध हुन आउँछ । यो पनि  पर्खाइकै विषय हो ।

हिजो हामीले राजतन्त्र फाल्ने बेला ढाल्ने बेला हामीसँग न सूचना छ न त प्रविधि नै थियो । न कुनै हतियार न त कुनै स्पष्ट योजना नै थियो । राजा भएन् भन्यौ सोच्यौं त्यही ठीक मान्दै दिनरातको संघर्षले त्यो प्राप्ति ग¥यौं । अफसोच साथ भन्नैपर्छ भएका जति पनि विकास छन् ती नष्ट गर्न नै हामीले राजतन्त्र फालेको प्रमाण ग¥यौं । र त्यतिबेला हामीसँग दुई विचार काँग्रेस र कम्युनिष्ट मात्र थिए पन्चायत ढाल्न । र सहजै ढाल्यौं पनि । नाफा र स्वार्थविना देशले निकास र उन्नति प्रगति पावस् जनताले सोचे । ताली त्यसैमा बजाए । र त्यो धेरैबेर बजेनन् । सत्ता लुछाचुडिको घृणित कार्यहरुले गर्दा बहुदलिय प्रजातन्त्र नेपालको लागि श्रापित भन्दै पूनः लोकतान्त्रिक गणतन्त्रको परिकल्पना नै मुख्य निचोड मान्न थाले । जनतको लागि सही र व्यवस्थित शासन भनेकै गणतन्त्र हो भाषामा चर्को स्वर बोल्न थालिइयो । सबै सत्य नै होला मान्न सिकिइयो । र त्यतिबेला पनि बयलगाढा चढेर हामी अमेरिका पुग्न सक्दैनौं बडो मिठासको कुरा चलेको थियो । विडम्बना नै भन्नुपर्छ आज त्यही स्वर त्यही आवाज त्यही बयलगाढाको सवारमा छ । यो सबैलाई थाहा भएको यथार्थता हो । तर कसैले त्यतिबेला हाम्रो लक्ष्य र यात्रा अमेरिकाको होईन् भनेनन् । र त बयलगाढा चढेर अमेरिका पुग्ने राजनीति हाम्रो बनाउनेको हातमै बाघडोर पुगे । देशले विकास भन्दा नि विनासकै लक्ष्य अवलोकन गरे । उखानमै राज्यभार विसाए । अन्तत श्री ५ को अन्त्यले श्री ६ र श्री ७ मात्र जन्मिए । ती जन्मले बयलगाढाको अन्त्य चाहेको सबैले मनन गर्न थालेका छन् । बारबार संसदमाथि कु गर्दा त्यसको निराकरण नहुनुले अब देशमाथि नै अर्को संकट पो आउने हो कि....? यो प्रश्नको पनि जवाफ प्रतिक्षारत नै छ ।

२०४६ सालमा हामीसँग काँग्रेस र कम्युनिष्ट मात्र थिए । २०५२ सालपछि हामीसँग माओवादी भए । जनमोर्चा लगायत क्रान्तिकारी भन्दै अनेक पार्टिसँगसँगै जसपा पन्चायतवादी राजनैतिक मैदानमा देखा परे । देशको मुद्दालाई सम्बोधन गर्ने बाचा सबैले गरे । देशमा ठूला ठूला महलहरु बने । कलकारखानाहरु नष्ट भए । स्वार्थको लागि बन फडानी सहजै गरि होटेल रिसोर्ट प्रयाप्त मात्रामा निर्माण भए । रोजीरोटीको लागि मलेसिया लगायत खाडिमा मुलुकमा नेपाली बेच्ने योजनाबद्ध कुराहरु भए । ठगी भ्रष्टाचार बलात्कार सामान्य सिद्धान्त संगत कुराहरु जस्तो देश भोगे । काँग्रेस ७० सालमा लुट्न नसकेको देश कम्युनिष्टहरुले ३ वर्षमा लुटे । तर पनि जनताले त्यसको हिसाब मागेनन् । कारण उसको भोक नै थियो । 

आफैलाई बेचेर भएको पनि आफ्ना उसलाई पाल्नु थियो जन्मेर उसले सिकेको त्यति नै हो । यी बाहेक पनि टेलिफोन युग पार गरि ऊ मोवाइल युगमा पुगी सकेको छ । टिभी त्यागी मोवाइलमै व्यस्त रहने उसको जिम्मा बनी सकेको छ ।  गाउँ गाउँको सहर सहरको प्रतिनिधित्व गर्ने, जागरणमा ल्याउने अनेक पत्रिकाहरु छ्यापछ्याप्ति छन् । 

गोरखापत्र विरुद्धका अनेक जनभावनाहरु छन् । माओवादीसँग गृहयुद्ध गर्ने तालिम छन् । काँग्रेससँग विचार र व्याख्या लगायत आह्वान गर्ने कुशल कार्य जसपासँग छन् । पन्चायतसँग राजा आउ देश बचाउ नारा छन् । 

विदेशी दलाल पूँजीपति भन्दै चिच्याउने अनेक संगठन एवम् साना ठूला पार्टिहरु छन् । अफसोचको कुरा गलतको अन्त्यको निम्ति ती सब एक ठाउँमा छैनन् । ओली हटाउन आन्दोलन गर्ने क्षमता र लक्ष्य कोही व्यक्ति पार्टिसँग छैनन् । हामी जनतासँग यति धेरै विचार र योजना हुँदा एक व्यक्ति र शक्तिको पराष्ट गर्न सकिरहेका छैनौं ।  न विकास छ न त व्यवस्था नै राम्रो छ तरपनि हामीले त्यसबाट मुक्ति पाउन सकिरहेका छैनौं । 

शायद त्यो हाम्रो बेकुफी हो या अरुको खूबी.....त्यो हामीले पहिचानमा ल्याउन सक्नुपर्छ । नत्र हामी नेपाली हुनेछैनौं । हिजो हामीसँग दुई दल मात्र हुँदा राजा फाल्न सक्नेहरुहरुले आज अनेक दल लगायत मानवाधिकार एवम् विश्व परिवेक्षकहरु हुँदा नि त्यसको निकास खोज्न नसक्नुको मुख्य कारक तत्व के हो ? यो पनि विचाराधिन प्रश्न नै हो । यसको पनि जवाफ आउनु बाँकी छ । 

हुन त स्वयम् शासनमा विराजमान शक्तिलाई समेत एमाले ओलि मन पर्न छोडि सकेको परिप्रेक्ष्यमा पनि पदच्युत गर्न गराउन नसक्नु मुख्य कारक के हो ? आखिर के हो ? कतै हामी पनि प्रतिगामी सरकार भयौं कि ? हुनसक्छ मात्र होईन् भयौं नै कारण देश भन्दा ठूलो आफ्ना स्वार्थहरु हामीले मान्यौं । 

राजनीतिलाई पेशाको दर्जामा राख्यौं । र त २०४६ सालपछि जति पनि बाँचेका छन् ती बाहेक कोही कुनै पनि पार्टिमा नौलो नेतृत्वको नयाँ नेता कहींबाट उदय भएनन् । संसद बृद्धाश्रम बन्दा नि त्यसको प्रतिकार कसैले गरेनन् कारण उसलाई अर्थात जनतालाई हुन त यो देशमा जनता नै छैनन् तर पनि बसोबास गरिरहेका प्राणीको मान्यताले तिनीहरुलाई आफ्नो पेट र परिवार भन्दा अरु केही सोच्ने फुर्सद  भएनन् । देशको लागि केही गर्न नसक्नेहरुले देशले के दियो त्यो सोच्ने अधिकार पनि कसैलाई छैन्, सोच्नु पनि बेकारकै कुरा हुन् । यो यथार्थमा नेपालीहरु कहिल्यै परेनन् । फलतः गाउँ त्याग्यो सहर पस्यो । सहरको कोलाहल सिवाय आफु, अरु अर्थको जीव बनेको पत्तो पाउन सकिएनन् । 

स्वतन्त्र छु भन्दै दुई छाकमा बन्दि बनेको चाल नपाउँदा शिक्षा र स्वास्थ्यले आफ्नै अस्मितामाथि बारबार बलात्कार गरिरहेको यथार्थता कहिल्यै बुझ्न सकिएनन् । गाउँ रित्तो र पाखो बाँझो हुँदा नि मातृत्वको याद नहुनु आफैलाई श्रापित पारेको चेत नखुलेसम्म प्रधानमन्त्री बन्ने सबै ओली नै बन्छन् । अनि प्रतिज्ञा गर्नु पर्दैन् भन्दा मुसुक्क राष्टूपति हाँसी नै रहन्छ ।  कोभीडको भ्याक्सिन भारतबाट खरिद किन्ने कि रसियाबाट कमिसनमै विवाद भई जनता मरिरहन्छन् । हुन त यो देशमा जनता छँदैछन् । कोही मर्छ एउटा पार्टिले मेरो आफ्नो सदस्य भन्दै झण्डा ओढाई दिन्छ । पर कतैबाट ओली बा “ए ! मेरो पार्टिको रहेनछ” भन्दै नयाँ उखान खोजमा युद्धस्तरमा लागी पर्छ । अनि विषम परिस्थितिमा पनि अम्बाको पात रस पिउने लगायत बेसार पानी नै जीवन हो भन्दै प्रधानमन्त्री बनी रहन्छ । दुईतिहाई अभिमत पाएर इतिहास रच्ने युगको युग-पुरुष विना काम आलोचित हुनु सिवाय नौलो कुनै कार्य हुन नसक्नु श्रापित भए सरह नै हो । र आफु कहाँ र कुन भन्ने परिभाषासंगत भएन् भने त्यहाँबाट गरिने र देखिने दृष्य त्यस्तै हुनेछ । दृष्यलाई परिवर्तन गर्न नसक्नुमा सबै त्यसैको लागि लामबद्ध हुनु नै हो । सत्य र निष्ठा स्वार्थको लागि धारण गर्ने राजनैतिक कवज मात्र हो । यो जनता नभएको देशको यथार्थता हो । र राजनीति पेशा बन्छ, बनीरहन्छ । ओली पछि जो आउँछ त्यो पनि ओली नै बन्छ यो रक्तवीज चरित्र हो । सबैले देश नसोचेसम्म यस्तै हो । 


No comments:

Post a Comment